मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

डा. गोविन्द केसी शनिबारदेखि दाङमा सत्याग्रह सुरु गर्न लाग्नुभएको  छ । सरकारसँग यसअघि भएका सम्झौता कार्यान्वयन र प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउन संसदमा दर्ता गरिएको प्रस्ताव फिर्ता लिनुपर्ने माग डा. केसीका छन् । सरकारसँग यसअघि भएका सम्झौताअनुसार दाङमा तत्कालै मेडिकल कलेज खोल्ने भनिए पनि अहिलेसम्म काम सुरु नभएको भन्दै सोही स्थानमा सत्याग्रह सुरु गर्न लागेको उहाँले बताउनुभयो । शुक्रबार अबेरसम्म पनि त्रिवी शिक्षण अस्पतालमा बिरामीको सेवामा रहनुभएका केसीले कुरा गर्दै माग पूरा गरेर मात्रै दाङबाट फिर्ता हुने बताउनुभयो ।
यस्तो छ, उहाँसँग गरिएको कुराकानी ।

शनिबारदेखि काठमाडौं बाहिरबाट सत्याग्रह थाल्न लाग्नुभएको हो ?
काठमाडौं बाहिरका माग पूरा गर्न बाहिरबाटै अनसनमा बस्न लागेको हुँ । काठमाडौंमा बस्ने अवस्था नभएपछि काठमाडौं बाहिर पनि बस्नुप¥यो नि, हैन र ?

तपाइँ दाङमै अनसन बस्न लाग्नुभएको हो ?
अहिलेसम्म म अस्पतालमा नै छु । तर, शनिबारसम्म दाङ पुग्छु ।

तपाई पटक–पटक अनसनमा बस्नुभएको छ । तपाईले गरेका अनसनबाट केही परिवर्तन भएका छन् कि छैनन् ?
मलाई सरकार र नेताहरुले त पेलेरै लैजानुपर्छ भन्ने सोचेका छन् । तर, पेलेर लैजाने कोशिस गरे पनि दबाबको कारणले गर्दा सोचेजति गर्न सकेका छैनन् । दबाबले गर्दा केही सम्झौता कार्यान्वयनमा पनि आएका छन् । नेपाली जनताले पनि केका लागि लडेका रहेछन् भन्ने कुरा थाहा पाए, यो पनि उपलब्धि हो । जनताले गुणस्तरिय शिक्षाबाट के कारणले बञ्चित भएका रहेछौं भन्ने थाहा पाए । त्यो पनि ठूलो कुरा हो । एकीकृत चिकित्सा शिक्षा ऐन अहिले संसदमा पुगेको छ । जुन प्रतिवेदनको आधारमा बनेको हो । त्यसमा अहिले संसदमा पार्टी र माफियालाई सहयोग पुग्नेगरी संशोधनको प्रयास भैरहेको छ । हामीले त्यसमा जनतामुखि बुँदा थपेर पारित गर्नुपर्छ भनेका छौं । संसद्सम्म पुग्यो, संसदीय समितिसम्म त पुग्यो । महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिमा रहेका सदस्यहरु पनि निजी मेडिकलमा लगानी भएकाहरु नै छन् । उनीहरुमा ‘कन्फ्क्टि अफ इन्ट्रेष्ट’ देखिन्छ । जनताका लागि बोलिदिने को ? महाभियोग लाग्नुपर्ने मान्छे संसदमा छन् । तर, जो सुशासनका लागि लडेको छ उसैका लागि महाभियोग लगाउँछन् यो विडम्बना छ । बाधा व्यवधान सबैतिर छ । माफिया र नेता मिलेर विथोल्न लागेका छन् । अब विथोल्न सक्दैनन् ।

तपाईले दाङ नै सत्याग्रहका लागि रोज्नुपर्ने कारण के ?
दाङ दुई वर्षअघिको अनसनमा सरकारसँग सम्झौता गरेका थियौं । नेपालमा तीनवटा सरकारी र १८ वटा निजी मेडिकल कलेज छन् । संसारमा कहिँ पनि यस्तो हुँदैन । यो संवेदनशील क्षेत्र हो । निजी क्षेत्रमा कम्प्रमाइज हुन्छ भनेर धेरै सरकारी मेडिकल हुन्छन् । सरकारी मेडिकल बढी र निजी मेडिकल कम हुनुपर्ने हो तर नेपालमा त्यस्तो छैन ।

नेपालमा के भयो भने जोसँग करोडौं रुपैयाँ छ उसैका छोराछोरीले मेडिकल शिक्षा पढ्न पाउने भए तर पैसा नहुनेका छोराछोरीले पाउने भएनन् । सरकारसँग भएको सम्झौताअनुसार दाङमा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो । पाँच वर्षभित्र सबै प्रदेशमा मेडिकल कलेज निर्माण गर्ने तर पहिले दाङमा बनाउने भनिएको थियो । तर अहिलेसम्म केही पनि भएन । सबैभन्दा पहिले दाङमा बनाउने भनिएको थियो । बरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालो धनलाई सेतो बनाउन लागिएको बि एण्ड सी कलेजलाई सम्बन्धन दिने प्रयासमा छन् । उनले मन्त्रिपरिषमा यो प्रस्ताव लगेका थिए । तर, केही मन्त्रीको विरोधले गर्दा त्यो पारित हुन सकेन । हामीले नलडेको भए पहिले नै दिने रहेछन् ।

सुदुरपश्चिममा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो त्यसलाई रोकेर शेरबहादुर देउवा पनि माफियासँग मिलेर अर्को मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्छ भन्ने पक्षमा छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेता राजनेता मनमोहन अधिकारीको नाम बिक्री गरेर निजी सम्पत्ति कमाउनेलाई सम्बन्धन दिनुपर्छ भनेर लागिपरेका छन् । यी सबै मिलेर ऐन आउन दिएका छैनन् । संविधान समाजवादउन्मुख भए पनि दलहरु त्यसको विरोधमा छन् । यी सबै माफियासँग मिलेर व्यापार गरेका छन् ।

सरकारी मेडिकल कलेज खोल भनेर हामीले भन्दा पनि उनीहरुले भन्नुपर्ने हो । यो अवस्थाको अन्त्यका लागि पटक पटक लड्नुपरेको छ । यीनै नेताहरुले अर्बौं कमाउन सरकारी मेडिकल कलेज रोकेका छन् । दाङमा पहिले नै खोल्ने भनिएको थियो । तर, निजी मेडिकल कलेज खोल्न दौडधुप गरेर त्यहाँ खोल्न नदिने षडयन्त्र गरियो ।

त्यहाँ मेडिकल कलेज भएको भए गरिबका छोराछोरीले पनि पढ्न पाउने थिए । म दाङमा सत्याग्रहमा बसेर तिमीहरुले देश लुटेका छौ, ऐन बन्न दिँदैनौ । यो ठाउँमा पहिले नै मेडिकल कलेज बन्नुपर्ने तर अहिलेसम्म किन बन्न सकेन भनेर भन्छु । त्यहीँ बसेर लड्छु। त्यहाँका जनतासँग ऐक्यवद्धता जनाउन पनि त्यहाँ गएर लड्न लागेको हुँ । म माग पूरा भएपछि मात्रै फर्किन्छु ।

सुशीला कार्की्विरुद्धको महाभियोग प्रस्ताव फिर्ता गर्नुपर्ने हुन्छ । यो देशमा जो भ्रष्ट छन् तिनैले जेहेन्दार र निर्भिक व्यक्तिलाई महाभियोग लगाउन लागिपरेका छन् । उनलाई महाभियोग लगाएर अब आउने न्यायाधीशलाई पनि तर्साउन लागिपरेका छन् । यो हुनै दिनुहुँदैन ।  सुशासन नष्ट हुन दिनुहुँदैन । मैले मेरो कर्तव्य बुझेर सत्याग्रहमा बस्न लागेको हुँ ।
                                                                                                                                         बाह्रखरीबाट

एजेन्सी, बैशाख १९ । साँप देखेपछि जसलाई पनि डर लाग्छ । अझ गोमन साँप हो भने त तर्सेर सातो जान्छ ।
तर भारतको मध्य प्रदेशका एक व्यक्ति गोमन साँपले डसिसकेपछि त्यसलाई प्लास्टिकको बोतलमा बन्द गरेर अस्पताल पुगेका छन् । अनि त्यहाँ गएर उनले चिकित्सकहरूलाई भने, ‘मलाई यो साँपले डस्यो ।’

यसरी साँप लिएर आउने मान्छे देखेपछि सबैजना छक्क परे । प्लास्टिकको बोतलमा पाँच फीट लामो कालो गोमन देखेपछि छक्क पर्नु स्वाभाविक पनि हो ।

आफूले गोमन समात्न लाग्दा उसले टोकिदिएको र उसलाई सँगै ल्याउँदा उपचार सहज हुन सक्ने लागेको ती व्यक्तिले बताए । मोरगढीको एक घरमा साँप देखिएपछि मानिसहरूले ३२ वर्षीय मोहसिनलाई साँप पक्रिनका लागि बोलाए ।

मोहसिनले साँप त पक्रिए तर त्यसलाई बोतलमा हाल्ने क्रममा उसले उनलाई टोकिदियो । मोहसिन तत्कालै अस्पतालतिर दौडिहाले । आफूले सयवटा साँप पक्रिसकेको र पहिला पनि सर्पदंश खेपिसकेको मोहसिन बताउँछन् । अस्पतालाले उनलाई तत्कालै भर्ती गरेर उपचार शुरु ग–यो । उनी अहिले खतरामुक्त छन् ।
युएई, बैशाख १४ । ओमानमा पुगेकी बुटवलकी सरिता राना मगरले उद्दारको लागि नेपाल सरकार समक्ष अपिल गरेकी छिन् । सरिता ३ महिना पहिला भिजिट भिषामा युएई हुँदै ओमान पुगेकी हुन् । बुटवल दीपनगरका एजेन्ट कुमार अधिकारीले उनलाई भिजिट भिषामा युएई पठाएका थिए । युएई आएको १७ दिन पश्चात राना मगरलाई ओमानको मस्कटमा रहेको एक लेबर रेक्रुटमेन्ट कम्पनीलाई बेचिएको थियो ।

फोनमा कुरा गर्दै उनले भनिन्, ‘एजेन्टलाई फोन गर्दा हामीलाई वास्ता छैन भन्छ । यहाँ खान नदिने, पानी पनि नदिने र पिट्ने गरेको छ । मलाई नेपालबाट पठाउने बेलामा दुबईमा राम्रो काम छ भनेर भनेका थिए अहिले म ओमनमा छु ।’

युएईमा रहेको लेबर रेक्रुटमेन्ट कम्पनीका एजेन्ट एलिशा श्रेष्ठ र सुजन भण्डारीले राना मगरलाई १२ हजार दिर्हाममा (झण्डै ३ लाख ५० हजार रुपैयाँ) ओमानमा रहेको रिक्रुटमेन्ट एजेन्सीलाई बेचेको बताईएको छ । सरिताका अनुसार एजेन्सीले उनलाई ३ महिनादेखि एउटा कोठामा थुनेर राखेको छ ।
आफुले नेपाल फर्काउन अनुरोध गर्दा ओमानको एजेन्सीले १ हजार ओमानी रियाल मागेको सरिताले बताईन् ।

सरितालाई नेपाली एजेन्ट कुमारले एयरपोर्टमा सेटिङ गरी युएई पठाएका थिए । नेपाल एयरपोर्टमा देखाउनका लागि नक्कली क्लिनर भिषा र दुबई एयरपोर्टमा देखाउन सक्कली भिजिट भिसा थमाएर सरितालाई युएई पुर्याईएको सरिताले बताईन् । ‘मलाई छिट्टो नेपाल फर्काउनुस प्लिज, नत्र म त यतै मर्छु होला’, सरिताले भनिन् ।
एजेन्सी, बैशाख १२ । बेहुला बेहुली जग्गेमा बसिसकेपछि पनि केही विवाद निस्किएर बिहे नै रद्द भएका घटना कहिलेकाहीँ सुनिन्छन् । यसरी बिहे रद्द गराउने घटना मामूली भने हुँदैनन् र कारण पनि ठूलै हुन्छन् । तर छिमेकी देश भारतमा चाहीँ एउटा रसगुल्लाको विवादमा भैरहेको बिहे नै रद्द भएको छ ।


घटना भारत उत्तर प्रदेशको हो । एउटा अतिरिक्त रसगुल्लाको विवादमा बेहुला र बेहुली पक्षबीच झगडा हुँदा बिहे नै रद्द भएको हो । घटना गत अपि्रल १४ गतेको हो । उन्नाओ जिल्लास्थित कुर्मापुर गाउँका शिव कुमारको छिमेकी गाउँकी एक युवतीसँग बिहे हुँदै थियो । शिव कुमार जन्ती सहित बेहुलीको घर पुगिसकेका थिए । तर जब जन्तीले खाना खाने बेला भयो तब स्थिति असामान्य बन्यो ।

सबै जन्तीलाई एक एक वटा गुलियो रसगुल्ला खुवाउनका लागि बेहुलीपक्षका एक जना भान्छे खटिए । तर बेहुलाका भतिजले एउटा मात्र नभै दुईवटा रसगुल्ला लिए । यसरी नियम विपरित दुईवटा रसगुल्ला खाएकेा विषयमा रसगुल्लाको जिम्मा लिने व्यक्ति र जन्ती पक्षबीच भनाभन भयो र यसले ठूलो विवादको रुप लियो ।

तत्काले उक्त ठाउँ लडाइँ मैदानमा परिणत भयो । जन्तीतर्फका मानिसहरुले दुलही पक्षका नातेदारलाई कुटपिट गर्न थाले । बेहुला र बेहुली दुबैका बावुहरुले घटना साम्य पार्ने कोसिस गरे तर उनीहरुको केही लागेन । जन्तीहरुले बेहुलीका बाबुलाई पनि कुटपिट गरे ।

रसगुल्लाको विवादमा भएको लडाइँले उग्र रुप लिएपछि घटनालाई नियन्त्रणमा लिनका लागि पुलिसलाई नै बोलाउनु पर्यो । विवादलाई साम्य पारेर बिहेलाई पुनः अघि बढाउन पञ्चायत पनि बस्यो । तर पञ्चायतले कुरा मिलाउन सकेन । जन्तीले आफ्नो बुवालाई कुटेको घटनाबाट बेहुली आक्रोसित भइन् र आफुले बिहे नगर्ने घोषणा गरिन् । उनीसँग दुबै पक्षले अनुरोध गरेपनि उनी बिहेका लागि राजी भइनन् । अन्ततः बिहे नै रद्द गर्नुपर्यो ।
काठमाडौं, बैशाख ७ । जलवायु परिवर्तनका अनेकौं नकारात्मक प्रभावहरू विश्वमा देखिन थालेका छन् । त्यसैको एउटा प्रभाव हो– क्यानाडामा बग्ने स्लिम्स नदी चार दिनमा एकाएक ‘गायब’ हुनु ।

नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार, अनुसन्धाताहरूले यसलाई जलवायु परिवर्तनको नराम्रो प्रभावको उदाहरण बताएका छन् । वैज्ञानिकहरूले यो घटनालाई ‘रिवर पाइरेसी’ (नदीको चोरी) नाम दिएका छन् ।

कास्कावुल्स ग्लेसियरबाट निस्किने १५० मिटर चौडा स्लिम्स नदी सयौं वर्षअघिदेखि बग्दै आएको थियो । मौसम परिवर्तनका कारण ग्लेसियरको बरफ निकै छिटो पग्लिन थाल्यो र नदीको पानीको बहाव एकदमै तीव्र भयो । तीव्र प्रवाहले गर्दा नदीले आफ्नो दिशा बदलियो ।

बहावको तीव्रताले नदीको बाटो नै अर्कै बन्यो, जसले गर्दा नदी आफ्नो पुरानो ठाउँबाट झन्डै हराएजस्तो भयो । समाचारअनुसार, अब यो नदी अलास्का खाडीतर्फ बग्न थालेको छ ।

समाचारमा एक जना भूवैज्ञानिकले आफूले नदी रहेको ठाउँको यात्रा गरेको बताएका छन् । उनले भनेका छन्, ‘स्लिम्स एकप्रकारले सुकेजस्तै भएको छ । यस्तो ठूलो परिवर्तन आउन निकै लामो समय लाग्छ । विश्वव्यापी ऊष्मीकरणका कारण स्लिम्स नदी सानो धारामा परिणत भएको छ, अर्कोतिर ग्लेसियरको पानीको दिशा परिवर्तन हुनाले अलास्का नदी धेरै गुना ठूलो भएको छ । पहिले अलास्का र स्लिम्स यी दुबै नदी एउटै जस्ता थिए ।’’ 

वार्षिक भविष्यको चर्चा गर्दा जगलाग्नलाई पनि विचार गर्नुपर्ने हुन्छ । यस वर्षको जगलग्न कुम्भ हो । लग्नेश शनि एकादश स्थानमा आम्दानीको हिसाबले राम्रो भए पनि वर्षारम्भमा शनि वक्र्र भएकोमा लग्नमा केतु तथा सप्तममा राहु भएकाले पुँजी परिचालन अव्यवस्थित हुने, वैदेशिक व्यापार घाटा अप्रत्यासित रुपले बढ्ने, समाजमा अराजकता फैलिने संभावना रहन्छ ।

मेष
मेष राशिलाई यस वर्ष अढैया शनिको प्रभाव केही समयको लागि हटेको अवस्था छ । वर्षारम्भको समय शुक्र, सूर्य, बुध तथा शनिसमेत अनुकूल रहेकोले आँटेका कार्य सफल हुनेछ । परि श्रमले केही लाभ पनि मिल्नेछ । व्यापारमा सफलता मिल्नेछ । नयाँ कामहरू पनि हात पर्नेछन् । अरूको विश्वास पनि जित्न सकिनेछ । जेठ ६ गतेदेखि पुनः अढैया शनि आरम्भ हुने, छैटा गुरु तथा साउन २१ बाट चतुर्थ भावमा राहु प्रवेश हुने हुँदा समय प्रतिकूल बन्नेछ । घरेलु समस्याले प्रशस्त मात्रामा सताउनेछ । नोकरी तथा राजनीतिमा ठूलो संकटको सामना गर्नुपर्नेछ । मित्रहरूले सहयोगको नाममा षड्यन्त्र गरेर फसाउन सक्नेछन् । परिवारहरू पूर्णरूपमा टेढिनेछन् । शत्रु प्रशस्त मात्रामा बढ्नेछन् । राज्यबाट समेत झुटा आरोप लगाउने प्रयत्न हुनेछ । तपाईंका राम्रै कुरालाई पनि बंग्याउने प्रयत्न गरिनेछ ।

धर्ममा मन नजाने, शरीरमा आलस्यताले डेरा जमाउने, सानो–सानो काम गर्न पनि आँट नआउने, आर्थिक अवस्था कमजोर रहने हुँदा मानसिक तनाव प्रशस्त मात्रामा बढ्नेछ । पेटका रोग र मिर्गौला रोगले सताउने सम्भावना रहन्छ । लेनदेनमा विवादको सामना गर्नुपर्ने, पढाइमा ढिलासुस्ती हुने, सन्तानहरूसँग विमति रहने भएकोले मन अशान्त रहनेछ । भदौ २१ देखि फागुन २५ सम्म सातौं गुरुको अनुकूल प्रभावले व्यापारमा सफलता, यात्रामा लाभ, धर्ममा रुचि बढाउने हुँदा काममा र पढाइमा अपेक्षित सुधार आउनेछ । भाग्यले पनि साथ दिनेछ । मंसिर १ गतेदेखि अढैया शनिले छोड्ने हुँदा आर्थिक कठिनाइमा कमी आउनेछ । लेनदेनको विवाद हटेर जाने, नोकारी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक हुने राज्यबाट लगाइएका झुटा आरोपहरू निराधार सावित हुनेछ । आफ्नो वर्चस्व बढ्दै जाने योग भएकोले महत्ववपूर्ण कामहरू मंसिर १ पछि फागुन २५ सम्म गरी सक्नु राम्रो हुनेछ । अन्य समय संयम भएर अघिबढनु राम्रो । जेठ, साउन, मंसिर, चैत्र महिना नराम्रो रहनेछ भने असार, असोज, कात्तिक, माघ, फागुन राम्रो रहनेछन् ।

वृष
ग्रहगोचर यस वर्ष मध्य रहनेछ । वर्षारम्भमा अढैया शनिको प्रभावको साथै चतुर्थ राहुको प्रतिकूल प्रभावले समय प्रतिकूल रहनेछ । पारिवारिक समस्याले धेरै सताउनेछ । मित्रहरू मित्रका नाममा कलंक नै हुनेछन् । स्वास्थ्य कमजोर भएर काम गर्ने उत्साह पटक्कै हुनेछैन । मनमा द्विविधाले दरिलो डेरा जमाउनेछ, आर्थिक कठिानाइ प्रशस्त मात्रामा बढ्नेछ, विश्वास गरेकाले महत्ववपूर्ण समयमा धोका दिनेछन् । लेनदेनमा चर्को विवादको सामना गर्नुपर्नेछ । पेटको रोगले सताउनुको साथै आमा हुनेहरूका लागि स्वास्थ्य पनि खराब हुनेछ । घरझगडाले घरै छोड्ने स्थिति पनि आउनेछ । राजनीतिमा प्रशस्त संकटको सामना गर्नुपर्ला । नोकरीमा आउने समस्याले स्थानान्तरण हुने अथवा सेवाबाट वञ्चित हुनेसम्म अवस्था आउने सक्छ । शत्रुले खैरो खन्नेछन् ।
आफूले आफैंलाई अति कमजोर ठान्ने अवस्था आए पनि जेठ ७ गतेदेखि कात्तिक ३० सम्म अढैया शनिले छोड्ने र साउन २२ देखि राहु तृतीय हुने हुँदा समय बलियो हुनेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने, नयाँ कामको अवसर प्राप्त हुनेछ । वैदेशिक कार्यमा सुधार आउने, यात्रा गर्ने अवसर मिल्ने, प्रेम गर्नेहरूको प्रेम जीवनयात्रामा रूपान्तरित हुने । नोकरी तथा राजनीतिमा आउने समस्यालाई सजिलै पार लगाइ गुमेको स्थान पुनः फर्काउन सक्ने, आम्दानीका अवसरहरू मिल्ने, सन्तान नहुनेलाई पुत्र लाभको योग, छात्रवृत्तिमा विदेश पढ्न जाने अवसर मिल्नेछ । भुलेका मित्रहरूले आफ्नो गल्ती महसुस गर्दै क्षमायाचनासहित सहयोगको तत्परता देखाउनेछ । घर तथा सवारी जोड्ने तरखरमा भए सजिलै प्राप्त हुने योग भए पनि भदौ २२ गतेबाट फागुन २५ सम्म गुरु षष्ठ स्थानमा, मंसिर १ देखि पुनः अढैया शनि प्रवेश हुने हुँदा महत्ववपूर्ण काम साउन २२ देखि भदौ २१ सम्म गर्नु बेस हुनेछ । जेठ, साउन, कात्तिक, फागुन, चैत्र महिना राम्रो र वैशाख, भदौ, पुस नराम्रो महिनामा पर्दछन् ।

मिथुन
ग्रह गोचरले पूर्ण रूपमा साथ दिनेछ । वर्षारम्भमा ग्रह अनुकूल रहेकोले वर्षभरि नै अवस्था राम्रो बन्न सक्ने देखिन्छ । परिवारहरूको केही गुनासो रहनेछ । मित्रहरूले खासै सहयोग नगर्ने भएकोले सजक रहनुपर्ला । अरूको विश्वासमा भन्दा आफ्नो प्रयासमा काम अघि बढाउनु उचित हुनेछ । साउन २० सम्म तृतीय राहुले पराक्रमका साथै मनमा उमंग धेरै बढाउने हुँदा रोकिएका कामलाई पुरा गर्ने एवं आम्दानीका अवसरहरू धेरै मिल्नेछन् । सेवकहरूले जीउज्यान दिएर सेवा गर्नेछन् । दाजुभाइहरूमा मत रहने हुनाले टाढै रहनु होला । व्यापारीहरूको वैदेशिक व्यापारमा सोचेभन्दा बढी सफलता मिल्नेछ । राजनीतिमा पनि विदेशी मित्रहरूको सहयोगले अघि बढ्ने अवसर मिल्नेछ । नयाँ स्थान र मानको अवसर पनि प्राप्त होला । भदौ २२ देखि पढाइमा धेरै सफलता मिल्नेछ सन्तान नहुनेको पुत्र लाभको योग बन्नेछ ।

भएका सन्तानको प्रगतिले मनोवल बढ्नेछ । साहित्यकारहरूले राम्रो लेखरचना सिर्जना गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार पाउन सक्ने सम्भावना छ । पुराना प्रेमहरू विवाहमा परिणत हुनेछन् । नयाँ प्रेमको अवसर पनि मिल्नेछ । शत्रुलाई सजिलै परास्त गर्न सकिनेछ । कृषि व्यवसायीहरूले राम्रो लाभ पाउनेछन् । सिनेमा निर्माणमा संलग्नहरूका लागि यो वर्ष राम्रो अवस्था सिर्जना होला । शैक्षिक व्यवसायमा रहनेहरूले उन्नतिको फड्को मार्नेछन् । भदौ २० सम्म मित्रहरूसँग सजग रहनुहोला । साउन २२ पछि बोल्दा होस पुर्‍याउनु होला । जेठ ७ गतेदेखि कात्तिक ३० सम्म विपरीत लिंगीबाट सचेत हुनु राम्रो हुनेछ । पतिपत्नीमा विवाद हुन सक्ने भएकोले धैर्य धारण गरेर अघि बढ्दा वर्षैका सपनाहरू पूरा गर्न सकिने योग छ । वैशाख, भदौ, मंसिर, चैत्र, महिना शुभ रहनेछन् । जेठ, असोज, माघ महिना प्रतिकूल रहनेछन् ।

कर्कट
यो वर्ष ग्रह गोचर मध्यम रहनेछ । वर्षारम्भमा ग्रह अनुकूल रहेकोले शत्रु नास हुनुका साथै मित्रहरूको सहयोगले अधुरा काम पूरा हुनेछन् । नयाँ काम पाउने योग छ । नोकरीमा पदोन्नति र राजनीतिमा प्रगति सोचेभन्दा बढी नै मिल्नेछ । अरूको विश्वास पनि जित्न सकिनेछ । जोस र जाँगर बढ्नेछ । आम्दानीका अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन् । वैदेशिक कार्य र व्यापारमा सोचेभन्दा वढी सफलता रामै्र पाउने योगछ । वैवाहिक कुराहरूले उच्च स्थान पाउनेछ यो वर्ष । विपरीत लिंगी मित्रले प्रेमको प्रस्तावसँगै विदेश जान अनुरोध गर्नेछन् । गृह, रक्षा र सैन्य क्षेत्रमा हुनेहरूका लागि समय अनुकूल रहनेछ । बौद्धिक तथा लेखक वर्गले धार्मिक र सामाजिक क्षेत्रमा रामै्र फड्को मार्न सक्नेछन् । रचिएका कृतिले सम्मान पाउनेछ । शैक्षिक उन्नतिका लागि स्वदेश तथा विदेश दुवै अनुकूल रहनेछ ।

भदौ २१ देखि चतुर्थ गुरु तथा द्वितीय राहुले सोच्ने शक्तिलाई कमजोर बनाउने हुँदा घरेलु विवाद बढाउनेछ, बोल्न अलि विचार गर्नुपर्ला । धनको क्षति हुन सक्ने भएकोले धनको ढुकुटीमा कडा नजर राख्नुपर्नेछ । स्वास्थको ख्याल वर्षभरि नै गर्नुपर्नेछ । मुटु तथा मस्तिष्कमा पीडा सिर्जना हुनेछ । शत्रुले आफ्नो कमजोरी खोजिरहेका बेला मित्रहरूले गोपनियता भंग गरिदिनाले बिनाकारण फन्दामा पर्न सक्ने सम्भावना रहनेछ । पतिपत्नीबीच बढ्ने मतभेदले कार्यक्षेत्रलाई अस्तव्यस्त बनाउनेछ । नोकरीमा स्थानान्तरण र राजनीतिमा संकट पनि भदौ २२ देखि बढ्नेछ । महत्ववपूर्ण कामहरू त्योभन्दा पहिले नै गर्नु होला । निर्माण व्यवसायका व्यक्तिहरूका लागि ग्रहले वर्षभरिनै साथ दिनेछ । शैक्षिक व्यवसायमा लाग्नेले भने सबै निर्णय भदौ २१ भित्र गरी सक्नुपर्नेछ । वैशाख, जेठ, असोज, पुस महिना राम्रोमा पर्नेछ । असार, कात्तिक, फागुन महिना नराम्रो देखिन्छ ।

सिंह
समग्रमा ग्रह गोचर राम्रो रहनेछ । वर्षारम्भलाई विचार गर्दा भाग्य चम्कने देखिन्छ । धार्मिक कार्यहरूमा निकै रुचि बढ्नेछ । सामाजिक क्षेत्रमा ऐतिहासिक सफलता मिल्नेछ । बोलीको प्रभाव राम्रो रहेकोले अरूको मन जित्न सजिलै सकिनेछ । राज्यले सम्मान गर्ने, राजनीतिमा ऐतिहासिक सफलता मिल्ने योग छ । कूटनीतिक क्षेत्रमा राम्रो सफलता पाउने योग छ । नोकरीमा सम्मानयुक्त पदोन्नति र स्थानान्तरण हुनेछ । सैन्य क्षेत्रमा काम गर्ने वा सैनिकसँग काम लिनेहरूका लागि यो वर्ष निकै राम्रो रहनेछ । वैदेशिक कार्यमा सोचेजस्तै सफलता पाउनुहोला । निजी र देशको कार्यका लागि विदेश यात्रा हुने सम्भावना बलियो छ । व्यापार, व्यवसायमा राम्रै सफलता मिल्नेछ ।

पढाइमा उन्नति र बौद्धिक कार्यमा प्रगति सोचेभन्दा बढी नै होला । घरघडेरी र वहान जोड्ने अवसर मिल्नेछ । मित्रहरूले राम्रो सहयोग गर्नेछन,् परिवारबाट पनि सहयोगको अपेक्षा गर्न सकिन्छ । शत्रुमाथि ऐतिहासिक विजय गरेर विभिन्न बिघ्नबाधालाई चिर्दै अगाडि बढ्न ग्रहले साथ दिएको छ । तर मित्र र पारिवारिक सहयोगसहितको सफलता भने जेठ ६ गतेसम्म र मंसिर १ गतेपश्चात् मात्र मिल्नेछ । जेठ ७ गतेदेखि कात्तिक ३० गतेसम्म अढैया शनिको पुनः आरम्भ हुने भएकोले परिवारहरू टेढिएर घरेलु समस्याले सताउनेछ, मित्रले धोका दिनेछन् । आफूमा भएको आत्मविश्वास पनि घटेर जानेछ । राज्यबाट बिनाकारण आक्रमण हुनेछ । नोकरीमा अनायास समस्या, स्वास्थ्यमा संकट आउनुको साथै मुटु र मस्तिष्कमा समस्या आउन सक्छ । हाड, जोर्नी दुःखेर मनो बल घटाउनेछ । लेनदेनमा विवादको सामाना गर्नुपर्नेछ । राजनीतिमा आउने एकपछि अर्को समस्याले अगाडि बढ्नबाट वञ्चित गराउँला । महत्ववपूर्ण कामहरू जेठ ६ गतेअघि र मंसिर १ गतेपछि गर्दा बढी सफलता मिल्नेछ । साउन, मंसिर र चैत्र महिना अशुभ रहनेछन् । जेठ, असार, कात्तिक, माघ राम्रोमा पर्दछन् ।

कन्या
वर्षारम्भको समय ग्रह प्रतिकूल रहनेछ । सुरुमै अशुभ समाचार सुनेर चिन्तित हुनुपर्ला, स्वास्थ निकै कमजोर रहनेछ । सानातिना काममा सफलता मिले पनि महत्ववपूर्ण काममा अवरोध आउनेछ । मित्रहरूले पटकपटक धोका दिनेछन् । परिवारहरू कुरै नबुझी टेढिनेछन् । वहानले पनि दुःख दिनेछ, अरूको काम धेरै गर्नुपर्ने जस नमिल्ने हुन्छ । धातुरोगले पेटको समस्याले प्रशस्त मात्रामा सताउनेछ । लेनदेनको विवादले प्रतिष्ठामा समेत आँच आउन सक्छ । झुटा आरोप राज्यले लगाउने, नोकरीमा समस्या सिर्जना हुनेछ । राजनीतिमा पाएको मान, पद गुम्न सक्ने योग भए पनि जेठ ७ गतेदेखि कात्तिक ३० सम्म अढैया शनिले छोड्ने, भदौ २१ मा गुरु द्वितीय स्थानमा प्रवेश हुँदा योबीचको समय निकै महत्ववपूर्ण रहनेछ । मनमा उत्साह र शरीरमा स्फूर्ति बढ्नेछ । सानै प्रयासले पनि ठूलो काममा सफलता हासिल गरिनेछ । आम्दानीको स्रोतहरू चौतर्फी जुट्नेछन् ।

नोकरीमा आउने समस्यालाई सजिलै किनारा लगाउन सकिनेछ । राजनीतिमा गुमेको आफ्नो स्थान र मान फर्काउन सकिनेछ । बोलीको प्रभावमा राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिहरूसँग गरिने अन्तरक्रियाले आफू र राष्ट्र दुवैको हित हुने ऐतिहासिक कार्य गरेर अघि बढ्ने अवसर मिल्नेछ । कूटनीतिक कार्यमा असहजलाई सहज गरी कीर्तिमानी बन्ने अवसर पनि मिल्नेछ । पढाइमा उल्लेख्य सफलता मिल्नेछ । लेखन मंसिरमा उत्कृष्ट लेखक बन्ने अवसर मिल्नेछ । कानुन व्यवसायी र कानुनी अध्ययनकर्ताहरूका लागि राम्रो अवसर प्राप्त हुनेछ । अनायास आउने प्रेमको प्रस्ताव अप्रत्यासित रूपमा वैवाहिक बन्धनमा रूपान्तरित हुँदा हर्षित भइनेछ । गोपनीयता वर्षभरि नै अपनाउनु होला, शत्रुले तपाईंको छिद्र खोजिरहने भएकाले संयमित हुनु जरुरी छ । वैशाख, भदौ, पुस महिना प्रतिकूल हुनेछ भने आषाढ, साउन, मंसिर र चैत्र भने शुभ रहनेछ ।


तुला
यो वर्ष ग्रहले मध्यम फल दिनेछ । वर्षारम्भको समय अनुकूल रहनेछ । बिदेसिएर भुलेका मित्रले याद गर्नेछन् । पढाइको सिलसिलामा वर्षको सुरुमै विदेशयात्रा हुन सक्छ । व्यापारमा पूर्ण सफलता मिल्नुको साथै भुलेका प्रेमीहरूले पुनः याद गर्नेछन् । लेखन मंसिरमा राम्रै सफलता मिल्नेछ । सिनेमा क्षेत्रका हस्तीको लागि ग्रहले साथ दिनेछ । कूटनीतिक क्षेत्रमा गरेका प्रयासहरू सकारात्क रहनेछन् । साउन २१ सम्म एकादश राहुको अनुकूलता प्रशस्त धन आर्जन हुनेछ । मनमा उत्साह र शरीरमा स्फुर्ति पनि बढ्नेछ । आँटेका काम धेरै पूरा हुनेछन् । अरूबाट प्रशंसा पाउनुहोला । विवाह नहुनेका विवाह लागि शुभ वर्षमै पर्दछ, सन्तानको योग पनि बलियो छ ।

घरजग्गा र सवारीसाधन जोड्ने अवसर मिल्नेछ । नोकरीमा पदोन्नति र राजनीतिमा प्रगतिको शुभ लक्षण देखिन्छ । जेठ ७ गतेदेखि कात्तिक ३० गतेसम्म समय प्रतिकूल रहनेछ । स्वास्थमा संकट आउनाको साथै काममा बिघ्नबाधा प्रशस्त मात्रामा आउनेछ । शत्रु सक्रिय हुन्छन् । मित्र तथा परिवारले सहयोगभन्दा बढी आक्रमण गर्नेछन् । पढाइमा अवरोध आउनेछ । बुद्धिले समयमा काम नगर्दा अरूबाट आलोचित हुनुपर्नेछ । हाडजोर्नीको समस्याले मनोबल कमजोर बनाउनेछ । अरूको काम धेरै गर्नुपर्ने, जस नपाउने भएकोले सचेत हुनुहोला ।

प्रेममा खटपट र पतिपत्नीबीचको विवादले दैनिकीमा अप्ठ्यारो बनाउनेछ । सन्तानसँगको विमतिले आफूलाई कमजोर बनाउनेछ । अनावश्यक परिआउने खर्चलाई धान्न हम्मेहम्मे पर्नेछ । त्यसैले महत्ववपूर्ण काम र निर्णयहरू यो बीचमा नगरी अरू समयमा गर्दा भने सहजसित अघि बढ्न सकिनेछ । जेठ, असोज, माघ महिना नराम्रो रहनेछ भने साउन, भदौ, पुस र चैत्र महिना शुभ रहनेछन् ।

वृश्चिक
वर्षारम्भमा ग्रह सामान्य अनुकूल रहे पनि वर्षभरिको ग्रह गोचर प्रतिकूल रहने देखिन्छ । भदौ २१ सम्म गुरुको अनुकूलताले आर्थिक क्षेत्रमा सकारात्मक अवस्था रहनेछ । पढाइमा लाभ मिल्नुका साथै व्यापारमा सफलता प्राप्त होला । सन्तान पक्ष अनुकूल रहनुको साथै बोलीको प्रभावले मान्यजन आकर्षण हुने तथा बौद्धिकवर्गहरूको सहयोग, सद्भाव रहनेछ । स्वास्थ वर्षभरि नै प्रतिकूल रहनेछ । मनमा बिनाकारण त्रास सिर्जना हुनेछ, परिवारहरूको गुनासो दिनानुदिन बढ्दै जानेछ । मित्रहरूको आफूप्रति रहने नकारात्मक भावनाले सफलताका पाइलाहरू कुण्ठित हुनेछन् । शत्रुले खोइरो खन्ने र राम्रो कामलाई पनि नराम्रो बनाउने प्रयासहरू निरन्तर चालिरहनेछन् । अनावश्यक खर्च धेरै गर्नु पर्नेछ ।

नोकरीमा एकपछि अर्काे समस्या आइरहनेछ । राजनीतिमा झुटा लाञ्छना लगाएर पछि पार्ने खेलहरू प्रशस्तै हुनेछन् । मातापितासँगको सम्बन्ध पनि राम्रो हुने देखिन्न । उहाँहरूको स्वास्थमा पनि समस्या आउनेछ । भदौ २२ गतेपश्चात् गुरुसमेत प्रतिकूल हुने हुँदा समय झन् कठिन हुनेछ । खर्चको गति तीव्र हुनुको साथै गलत विचार प्रशस्त मात्रामा बढ्नेछन् । मुद्दामामिलाको सम्भावना पनि बलियो देखिन्छ । सन्तानसँग विमति हुनुका साथै एकसाथ वस्न गाह्रो हुने अवस्था आउनेछ । सानोसानो कामलाई पनि अघि बढाउने आँट आउने छैन ।

मनमा शंका उपशंकाले दरिलो डेरा जमाउनेछ । हाडजोर्नीको दुखाइ प्रशस्त मात्रामा बढ्नेछ । आर्थिक कठिनाइहरूले अस्तव्यस्त बनाउनेछ । पतिपत्नीबीच बढ्ने विवादले बिछोडको अवस्थासम्म सिर्जना गर्न सक्नेछ । धार्मिक क्षेत्रमा निराशिताले दरिलो डेरा जमाउनेछ । यो वर्ष अत्यधिक रूपले अध्यात्ममा जोेड दिनुहोला । धन माल हराउन सक्छ, सचेत हुनुहोला । असार, कात्तिक, फागुन महिना प्रतिकूल वैशाख, भदौ, असोज र माघ शुभ हुनेछन् ।

धनु
ग्रह गोचर यो वर्ष मध्यम रहनेछ । सुरुमा ग्रहले साथ दिनेछ, मन चञ्चल भए पनि धैर्य गरेर अघि बढ्दा धेरै कार्यहरूमा सफलता मिल्नेछ । शत्रुसँगको प्रतिस्पर्धामा जित हासिल गर्न सकिनेछ । आम्दानीका अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन् । विवादको सामना गर्नु परे पनि आखिर सत्यले जित हासिल गर्नेछ । जोस र जाँगर बढ्नेछ । आँटेका कामहरू धेरै पूरा हुनेछन् । नयाँ कामको अवसर पनि मिल्नेछ । पढाइमा सफलता मिल्नुको साथै बौद्धिक कार्यमा राम्रै प्रगतिको योग छ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । वैदेशिक कार्यमा पूर्ण सफता मिल्नेछ । वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । सन्तान नहुनेका लागि सन्तान प्राप्तिको वर्ष हो । छात्रवृत्तिसहितको विदेश पढ्न जाने अवसर पनि पाउनुहोला । भूमि वहान जोड्ने तरखरमा हुनुुहुन्छ भने त्यसका लागि वातावरण अनुकूल रहनेछ ।

मित्र तथा परिवारका सहयोग चाहेजति नै मिल्नेछ । भदौ २२ देखि गुरुको अनुकूल प्रभावले मनमा प्रसन्नता बढाउनेछ । नोकरीमा भनेजस्तै स्थान मान पाउने योग छ । भुलेका मित्रहरूले याद गर्दै सहयोग गर्ने मनसाय राख्नेछन् । प्रेम गर्ने अवसर पनि मिल्नेछ, राजनीतिमा राज्यका ठूला हस्तीहरूले तपाईंको आवश्यकता महसुुस गर्नेछन् । कूटनीतिक कार्यबाट राष्ट्रको हित अन्तराष्ट्रको खुस निर्माण गरी आफूलाई ऐतिहासिक व्यक्तित्वमा स्थापित गर्न सफल हुनुहोला । साउन २२ देखि अष्टमा राहुले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्नेछ । आर्थिक कारोबारमा कठिनाइ उत्पन्न हुनेछ ।

धातुरोग, मिर्गौलासम्बन्धी समस्याले चिन्तित पार्न सक्छ । हड्डी, नसाको दुखाइ सही नसक्नु हुनेछ । मनस्थिति कमजोर हुने भएकोले धैर्यमा जोड दिनु उचित हुनेछ । पानी यो वर्ष धेरै पिउनुपर्ला । धार्मिक कार्यहरूमा खासै प्रगति देखिन्न । गोपनीयता अपनाउनु बेस छ । साउन, मंसिर र चैत्र महिना अशुभ एवं जेठ, असोज, कात्तिक र फागुन शुभ छन् ।

मकर
वर्षारम्भमा ग्रह गोचर राम्रो रहे पनि शनिको प्रतिकूलताले खर्च, विवाद र चिन्ता बढ्ने योगछ । आम्दानीका मंसिरमा अवरोध सिर्जना गर्नेहरूदेखि सजग रहनुपर्ला । शत्रुले खोइरो खन्नेछन् । विश्वास गरेकाले धोका दिनेछन् । हड्डी र नसाको समस्या आउने प्रबल सम्भावना छ । जेठ ७ गतेपश्चात् कात्तिक ३० गते शनि र गुरुको अनुकूलताले भाग्य बलियो हुनुको साथै धार्मिक कार्यमा कीर्तिमानी काम गरेर बढ्दा सामाजिक कार्यमा सम्मान पाउनुहोला । पराक्रम बढ्नुको साथै अधुरा कामहरू पूरा हुने, नयाँ काम पाउने योग बलियो छ । आम्दानीका अवसर मिल्नुको साथै घरघडेरी, सवारीसाधन जोड्ने तरखरमा हुनुहुन्छ भने सहज हुनेछ । मित्रहरूबाट आर्थिक र बौद्धिक सहयोग पाउनुहोला । परिवारहरूको सहयोगले पढाइमा रुचि बढ्नुका साथै छात्रवृत्ति प्राप्त गरी परदेश पढ्न जाने अवसर मिल्नेछ ।

लेखनमा लाग्नेहरूका लागि यो समय अनुकूल रहनेछ । साहित्य, कलामा लाग्नेहरूका लागि समय राम्रो छ । व्यापार, व्यवसायमा सोचेजस्तै सफलता मिल्नेछ । वैवाहिक कुरा पनि अघि बढ्नेछ । ठूला व्यक्तिसँग अन्तरक्रिया गर्दै बौद्धिक विकास गर्ने अवसर मिल्नेछ । साउन २२ पछि राहु अष्टम भावबाट हट्ने हुँदा स्वास्थमा सुधार आउनेछ, लेनदेनका कठिनाइ पनि हटेर जानेछन् । सातौं राहुले पतिपत्नीबीचको सम्बन्धलाई भने कमजोर बनाउनेछ । नोकरीमा पदोनन्ति र इच्छित स्थानान्तरणको योग छ । राजनीतिमा उच्च पद प्राप्तिको अवसर मिल्नेछ तर त्यसका लागि जेठ ६ गतेपश्चात् प्रयास गर्दा सहजसँग सफलता मिल्नेछ । महत्ववपूर्ण निर्णयहरू भदौ २१ गतेभित्र गर्नुपर्ला । मंसिर १ गतेदेखि पुनः शनि साढेसाती आरम्भ हुने भएकोले अस्वस्थता, खर्च, विवाद र चिन्ता बढ्ने योग भएकोले संयम हुनुहोला । वैशाख, भदौ, पुस खराब महिना र असार, कात्तिक, मंसिर, चैत्र शुभ हुनेछन् ।

कुम्भ
ग्रह गोचर यस राम्रो रहे पनि भदौ २१ सम्म अष्टम गुरुले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने, वाणी अशुद्ध र धन नास हुनेछ । काममा अवरोध आउने, मनमा अशान्ति सिर्जना हुने योगछ । कुरा काट्नेहरू बढ्नेछन् । विश्वासमा धोका हुने भए पनि शनिको अनुकूल प्रभाव वर्षभरि नै रहनेछ । साउन २२ मा राहु षष्ट भावमा जाने, भदौ २२ देखि गुरु पनि अनुकूल भएकोले समग्रमा वर्ष राम्रो रहनेछ । शत्रुमाथि ऐतिहासिक विजय हासिल गर्दै आफ्नो लक्ष्यमा पुग्न सफल हुनुहोला । आँटेका अधिकांश काम पूरा हुनेछन् । मनमा हर्ष र शरीर स्फुर्ति प्रशस्त मात्रामा बढ्नेछ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । विदेशयात्रा र वैदेशिक व्यापारमा लाभ प्रशस्तै हुने देखिन्छ । आम्दानीका नयाँ स्रोतहरू जुट्नेछन् । नोकरीमा चाहेअनुसारै स्थानान्तरण हुनेछ । राजनीतिमा गुमेको स्थान पुनः प्राप्ति गर्ने वातावरण बन्नेछ ।

भाग्य बलियो हुनेछ । धार्मिक कार्यहरूमा मन जानेछ । शैक्षिक सफलताले मन प्रसन्न रहनेछ । सन्तान नहुनेका लागि भदौ २२ पछि समय अनुकूल हुनेछ । घरघडेरी र सवारीसाधन जोड्ने अवसर पनि मिल्नेछ । राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा गरिएका कूटनीतिक प्रयासहरू प्रशंसनीय हुनेछन् । विद्वान्हरूको छत्रछायामा रहेर ऐतिहासिक काम गर्नै अवसर मिल्नेछ । बोलीको प्रभावमा अरूको मन सजिलै जित्न सकिन्छ । वैवाहिक बन्धनमा बाँधिने सम्भावना बलियो छ । आफूलाई भुलेका मित्र र बिदेसिएर टाढिएका मित्र तथा परिवारजनहरूले याद गर्दै सहयोगको हात अघि बढाउनेछन् । वैशाख, साउन, मंसिर, पुस महिना शुभ र जेठ, असोज, माघ महिना अशुभ हुनेछन् ।

मीन
वर्षको आरम्भमा ग्रह गोचर राम्रो रहनेछ । व्यापारमा उन्नति गर्ने अवसर मिल्नेछ । यात्राका अवसरहरू प्रशस्त मात्रामा जुट्नेछन् । प्रेम गर्ने अवसर पनि मिल्नेछ, वैवाहिक बन्धनमा बाँधिन बलियो सम्भावना छ । बोलीको प्रभाव बढ्नुको साथै कूटनीतिमा आफ्नो वर्चस्व बढाउन सफल हुनुहोला । पतिपत्नीबीच सुमधुर सम्बन्ध गाँसिनेछ । वैदेशिक कार्यमा ठूलै फड्को मार्ने अवसर मिल्नेछ । आम्दानीको स्रोतहरू प्रशस्त मात्रामा जुट्नेछन् । शत्रु पराजय हुनुको साथै मित्र तथा परिवारको सहयोग पनि अपेक्षित पाउनुहोला । घरघडेरी र सवारीसाधन जोडने अवसर मिल्नेछ । नोकरीमा पदोन्नति र लाभप्रद स्थानान्तरण हुने योग छ । राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ । पदक प्राप्तिको सम्भावना छ । साउन २२ बाट पञ्चममा राहु प्रवेश हुने र भदौ २२ देखि गुरु अष्टमा हुने भएको हुँदा समय प्रतिकूल हुनेछ ।

धातु र मिर्गौलासम्बन्धी रोगले सताउनेछ । तत्पश्चात् वर्षभरि नै सजग रहनुपर्ला, आपसी विश्वासमा ह्रास आउने, मन अशान्त हुने, आर्थिक संकट बढ्ने, नगद कारोबार गर्दा अनावश्यक विवादमा फस्ने सम्भावना रहन्छ । पढाइमा मन नजाने, सन्तानसँग मतभेद हुने, शत्रुले आक्रमण गर्ने अवस्था सिर्जना होला । सही कार्यलाई समेत गलत बनाउने प्रयत्न हुनेछ । नोकरीमा संकट आउने, राजनीतिमा झुटा आरोप लाग्न सक्ने बलियो सम्भावना छ । यो स्थितिमा आफन्तहरूले समेत साथ नदिन सक्छन् । वैदेशिक र कूटनीतिमा समेत रहेको छाप हट्न सक्छ । सोच्ने शक्तिमा कमी आउनुको साथै निर्णयको अभाव पनि देखिन्छ । महत्ववपूर्ण निर्णयहरू भदौ २२ पूर्व नै लिनु बेस हुन्छ । जेठ, भदौ, पुस, माघ महिना शुभ र असार, कात्तिक, फागुन, महिना अशुभ हुनेछन् ।
ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’/ हरेक नयाँ साल सुरु हुँदा जो कोहीलाई पनि आशावादी बनाउँछ नै । मानिस स्वभावैले आशामुखी हुन्छ । हाम्रो मात्र होइन क्रिस्चियन देशहरूमा पनि १ जनवरीलाई नयाँ साल परिवर्तनका हिसाबले धुमधाम साथ मनाउँछन् । मुस्लिम समुदायले पनि महोरमलाई वर्ष प्रवेश उत्सवका रूपमा मनाउने गर्छन् । भारत वर्षमा मात्र अनेकौं संवत्सरहरू चलेका वा चल्दैआएका छन् । तिनमा मुख्य गरी विक्रम, शाके, मुस्लिम र इस्वी संवत् बढी चल्तीमा छन् ।

हरेक देशभित्र धेरै जाति र संस्कृति भएकाले तिनका आ–आफ्नै प्रकारका संवतहरू फेरिने अलगअलग पद्धतिहरू छन् । हाम्रो जस्तो बहुल जाति र बहुल संस्कृति भएको देशमा हरेक जातिका नयाँ वर्षका बेग्लाबेग्लै संस्कारहरू छन् । व्राह्मण, क्षेत्रीले वैशाख १ लाई नव वर्ष, राई, लिम्बू आदिले वैशाख शुक्ल पूर्णिमा (उँभौली) लाई, नेवारहरूले कार्तिक शुक्ल प्रतिपदा (न्हूँ दया भिन्तुना) लाई, गुरुङ, मगर आदिले पौष शुक्ल प्रतिपदा (तमुल्होसार) लाई, तामाङलगायतले माघ शुक्ल प्रतिपदा (सोनाम ल्होसार) लाई र हिमाली क्षेत्रका शेर्पा आदिले फाल्गुण शुक्ल प्रतिपदा (ग्याल्पो ल्होसार) लाई नयाँ वर्ष प्रवेशका रूपमा मनाउने गर्छन् । हाम्रो पञ्चांग गणनाका लागि तिथि, नक्षत्र, योग र करणका लागि शक संवत् (चैत्र शुक्ल प्रतिपदा) र गते, बार, दिन, घण्टा आदिका लागि विक्रम संवत् मेषार्क (वैशाख १ गते) लाई प्रमुख आधार मानिएको छ । यही पात्रोका आधारमा सबैले आ–आफ्ना प्रचलनअनुसारका पात्रा या क्यालेन्डरहरू बनाउँछन् । सूर्यको परमोच्चकाल मेष राशिको १० अंशा (०.१० डिग्री) मा हुने भएकाले त्यसलाई विक्रम संवत्ले बढी महत्व दिएको छ । सूर्य सिद्धान्तले पनि यही मेषार्क अर्थात् वैशाख महिनाको प्रारम्भलाई गणनारम्भ मानेको छ । तसर्थ, वैशाख १ गते जति बजे सूर्य मेष राशिमा प्रवेश गर्छ, त्यसैलाई वर्षारम्भ मानिन्छ । स्मरणीय छ, सूर्यका सहस्र नाममध्ये एक विक्रम पनि हो । विक्रम संवत् भनेको नेपालीमा सूर्य सम्वत् हो भनेर बुझ्नुपर्छ । यो आजसम्मको सबैभन्दा वैज्ञानिक गणना पद्धति हो ।

यस वर्ष चैत्र ३१ गते राति १ बजेर ४१ मिनेटमा सूर्य मेष राशिमा प्रवेश गरेका छन् । सूर्य कुण्डलीअनुसार सो समयमा नेपाली क्षितिजमा मकर लग्न, मीन नवमांश, कर्क होरा, मेष द्ेष्काण, कन्या त्रिशांश, धनु दशमांश, मेष द्वादशांश, कन्या सप्तमांश, कन्या षोडशांश तथा सिंह षष्ठ्यांश चलिरहेको छ । क्षष्टकाल ५०.३ (घ.प.) तथा विशाखा नक्षत्रको भोग्यांश ६६.४८ बाट भुक्तांश ४३.।५२ चलिरहेको सो समयम सूर्य स्पष्ट ०।०।०।०, चन्द्रमा ६।२८।४६।३६, मंगल १।०।४२।२०, बुध ०।१०।४।२३, गुरु ५।२३।२९।१०, शुक्र ११।२।६७।९, शनि ८।३।४४।२१ तथा राहु ४।७।३९।४७ डिग्रीमा रहेका छन् । गत चैत्र शुक्ल प्रतिपदा बुधबार भएकाले यस वर्षको राजा बुध ग्रह तथा वर्ष प्रवेशको बारादि शुक्रबार भएकाले मन्त्री शुक्र हुनेछन् । त्यसैगरी, सस्येश र नीरसेश सूर्य, मेघेश, फलेश र दुर्गेश बुध, रसेश मंगल, धान्येश शुक्र र धनेश शनि भई ग्रहमण्डलमा आफ्ना क्षेत्रको कार्य गर्नेछन् ।

२०७४ मा भाद्र ६ गते मंगलबार राति ११ः३३ मा सानो चन्द्रग्रहण लाग्नेछ र राति १२ः१७ मा सकिन्छ भने माघ १८ गते बुधबार खग्रास चन्द्रग्रहण लाग्नेछ । साँझ ६ः२५ मा स्पर्श भएर राति ९ बजे समाप्त हुनेछ भने जेठ २७ बाट वृहस्पति मार्गी हुनेछन् । त्यस्तै, गुरु असोज २६ मा अस्त भएर कात्तिक २४ गते उदय हुनेछन् । त्यसैगरी, शुक्र वैशाख २ गतेबाट मार्गी हुन्छन् भने मंसिर २४ मा अस्त भई फागुन ७ गते मात्र उदय हुनेछन् । गुरु–शुक्र अस्तकालमा शुभकार्य गर्नुहुँदैन भन्ने पुरानो मान्यता अथवा अन्धविश्वास पनि छ । ज्योतिषीय दृष्टिमा चाहिँ गुरुको वक्रीकाल सबैभन्दा खराब मानिन्छ भने शुक्रको वक्रीकालमा एक्सिडेन्ट ज्यादा हुन्छन् । २०७३ मा फागुनदेखि नै शुक्र वक्री भएकाले मोटर दुर्घटना ज्यादा भएका थिए । गुरु वक्रीकालमा उल्टा तथा गैरकानुनी कार्य ज्यादा हुने र जन्मकालमा ग्रहहरू कमजोर हुनेको मरण हुने वा रोग, व्याधीको प्रकोप बढ्ने ज्योतिषीय मान्यता छ । गत माघ २४ देखि गुरु वक्री भएकाले ढिला, सुस्ती, रोग, व्याधी तथा प्रदूषण आदिको प्रकोप बढेको हो भन्न सकिन्छ । तर, कर्मकाण्डमा चाहिँ अस्तलाई नराम्रो मानिएको छ । मंगलको वक्रीकालमा गुन्डागर्दी, ज्यादती, रक्तविकार आदि, बुधको वक्रीकालमा व्यापारमा घाटा, ब्रेनमा समस्या तथा शनिको वक्रीकालमा कार्य विलम्ब तथा श्वास–प्रश्वास आदिको समस्या आइपर्नेछ । यिनै वक्री ग्रहले सूर्य या चन्द्रमामाथि प्रभाव पारे भने खतरनाक हुन्छ । सबै ग्रहको परस्पर दृष्टि (एउटै रेखा) मा परे भने भूकम्प, सुनामी तथा पृथ्वीमा उथलपुथल आउनेछ । ग्रहहरूको विश्लेषण गरेर फल बताउने विद्यालाई नै ज्योतिष शास्त्र भनिन्छ । ग्रहको चुम्बकीय शक्ति मानव र जीव प्राणीहरूमा प्रवाहित भइरहेको हुन्छ ।

चुनाव हुन्छ वा हुँदैन ? सत्ता परिवर्तन हुन्छ वा हु“दैन? भन्ने कुतूहलता आम रूपमा रहनु स्वाभाविकै हो । अलिकता अदालत, प्रहरी वा सेनाको वर्चस्व बढ्न सक्नेछ। दलहरूमा एकताको शृंखला तीव्र गतिमा बढ्नेछ । वर्ष प्रवेशका हिसाबले यसपल्टका ग्रहगोचर नेपालका निम्ति त्यति खराब देखिँदैनन् । पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गर्दा रेवती नक्षत्र र मीन राशिमा चन्द्रमा रहेकाले र काठमाडौं नेपालको राजधानी भएको हुँदा नेपालको मीन राशि ठहर्छ । यसपल्ट उच्चमा शुक्र, सूर्य र धनुमा शनि रहेकाले नेपालको आन्तरिकभन्दा वैदेशिक सम्बन्ध राम्रो रहनेछ । विदेशबाट मनग्ये सहयोग आउनेछ । शुक्र बलवान् भएकाले बाटाघाटा, राम्रा भवन, मन्दिर, बाँध, पैनी आदिको निर्माण हुनेछन् भने लग्नबाट केन्द्रमा सूर्य, बुध र चन्द्रमा भएकाले राजनीति र प्रशासनमा सुधार हुनेछ । असार, साउनपछि दक्षिणी क्षेत्रमा केही गन्जागोल वा बाढीको प्रकोप बढ्नेछ ।

कन्यामा गुरुपछि भदौबाट तुलामा जाने हुँदा नेपालको लाभस्थानमा रहँदा शैक्षिक, धार्मिक तथा व्यापार–व्यवसाय लाभदायक नै रहनेछ । तर, केन्द्रको शनि मानिसहरूमा ज्यादाजसो आलस्यताले बास गर्नेछ । रोजगारीका बाटाहरू बढ्नेछन् । विशेष गरी चुनाव हुन्छ वा हुँदैन ? सत्ता परिवर्तन हुन्छ वा हुँदैन ? भन्ने कुतूहलता आम रूपमा रहनु स्वभाविकै हो । अलिकता अदालत, प्रहरी वा सेनाको वर्चस्व बढ्न सक्नेछ । दलहरूमा एकताको शृंखला तीव्र गतिमा बढ्नेछ । खेती, बालीमा भने कम प्रगतिको सम्भावना प्रबल छ । चोरी, घूसखोरी तथा बलात्कार र हिंसाका घटनामा केही न्यूनता देखिएला । नियम कानुनको परिपालनातिर समाज लागिपर्ने तथा संविधानको मजबुतीकरण हुँदै जाने देखिन्छ । चुनाव ३।४ चरणमा हुन सक्नेछ भने चुनावमा दलहरूको भन्दा धार्मिक, बौद्धिक वा क्षेत्रीयतावादीहरूको बढी गुञ्जायस रहला । प्रमुख दलहरूलाई आफ्नो वर्चस्व जोगाउन हम्मेहम्मे पर्नेछ भने धेरै दलहरू अस्तित्वबाट आझेल पर्नेछन् । यस वर्ष भदौअघि मिथुन, कन्या, धनु र मीन राशिलाई अपेक्षाकृत राम्रो रहनेछ । बन्द व्यापारमा लाभ, वैवाहिक जीवन सुखद् एवं पठनपाठनमा सन्तोषजनक रहे पनि आश्विनपछि मध्यम रहनेछ । त्यस्तै वृष, सिंह, वृश्चिक र कुम्भ राशिलाई भदौअघि मध्यम रहनेछ । खास गरी वैदेशिक व्यापार वा कारोबार र टाढाका काममा सफलता मिल्नेछ भने आन्तरिक पक्ष कमजोर रहनेछ । आश्विन उप्रान्त घरायशी खर्च, विवाद र झमेलाले सताउनेछ । मेष, कर्क, तुला र मकर राशिलाई भदौअघि कार्यमा असफलता, परेशानी, आन्तरिक खर्च एवं ऋणभारले सताउनेछ भने असोजदेखि कार्यमा सुधार, बन्द व्यापारमा प्रगति, पठनपाठनमा रुचि, मान–सममान एवं कार्य प्रगति हुनेछ ।

वैवाहिक जीवनमा मधुर सम्बन्ध बनिरहला । माथि उल्लेखित राशिका मानिसहरूका जन्मकालमा गुरु वक्री, वेधित वा नीच भएमा राजयोग भंग भई दुःख, परेशानी, मुद्दा आदि झमेला आउला । मंगल वक्री, वेधित वा नीच भए भूमिसम्बन्धी हानि बेहोर्नु पर्ला, जेल, दण्ड आइपर्ला । बुध वक्री, वेधित वा नीच भएमा साझेदारीमा झन्झट, व्यापार व्यवसायमा मन्दी एवं इष्टमित्रबाट धोका आउला । शुक्र वक्री, वेधित, नीच आदि भए प्रेममा धोका, पति–पत्नीमा मनमुटाव वा गृहकलह, गाडी एक्सिडेन्ट आदि आइपर्ला । शनि वक्री, वेधित वा नीच भए दुर्मरण, घाउ, खटिराले दुःख देला, शरीरमा रोग देखापर्ला, श्वास–प्रश्वास, मृगौला आदि रोगले सताउला । अतः एव राम्रो ज्योतिष पढेको मानिसलाई मात्र हेराएर काम गरेमा राम्रो होला । पत्थर लाएर वा पूजा गरेर ग्रहशान्ति हुँदैन । लिएर आएको कुरा भोग्नैपर्ने भए पनि खानपान, आहार, विहारले तल–माथि पर्न सक्ने हुँदा यसतर्पm ध्यान दिनु राम्रो हुनेछ । २०७४ सालले सबैको कल्याण गरोस् ।

दाङ/अबको केही समयपछि देशभर कक्षा १२ को परीक्षा सुरु हुँदैछ । शिक्षा ऐन ८ औं संशोधन पछि अब कक्षा १२ सम्मलाई विद्यालय तह मानिएको छ । र, अब एसएलसी परीक्षा कक्षा १२ मा हुने छ । कक्षा १२ को परीक्षा यसकारण पनि महत्वपूर्ण मानिन्छ कि, यसपछि नै कुनै पनि विद्यार्थी विश्वविद्यालय तहको शिक्षा हासिल गर्न योग्य हुन्छ । र, कक्षा १२ को नतिजाले जीवनमा महत्वपूर्ण भूमिका खेल्छ ।

परीक्षाका बेला कतिपय विद्यार्थीहरु यस्तो गल्ती पनि गर्छन् कि जसले गर्दा रिजल्टमा थोरै अंकमात्रै प्राप्त हुन्छ । यदी विद्यार्थीहरुलाई ती गल्तीहरुबारे परीक्षा सुरु हुनुअगावै जानकारी दिइयो र उनीहरुलाई त्यसबारे सचेत गराइयो भने परीक्षामा राम्रो गर्न सक्छन् । र, नतिजामा राम्रो अंकका साथ पास हुन सक्छन् ।

किताब रटेर मात्रै टप गर्न सकिदैन
धेरै विद्यार्थीले सोच्ने गर्छन् की, परीक्षामा टप गर्नेहरुले आफ्नो उत्तर पुस्तीकामा त्यस्तो के लेख्छन्, जसले गर्दा उनीहरुलाई ९९ या १०० नम्बर मिल्छ ?  यदी तपाईहरु पनि यस्तो सोच राख्नुहुन्छ भने यो सोचले तपाईहरुलाई पनि परीक्षा टप गर्न प्रेरित गर्न सक्छ । एउटा कुरा जान्नु जरुरी छ कि, टप गर्ने विद्यार्थीहरु किताब मात्रै रटेर बस्दैनन् । न त उनीहरु आफ्नो उत्तर पुस्तीकामा त्यो मात्रै लेख्छन् जो पाठ्यपुस्तकमा लेखिएको हुन्छ । यो आलेखमा टपर विद्यार्थीहरुको केही सिक्रेट्स उल्लेख गरिएका छन् । जसलाई अपनाएर तपाईहरु पनि परीक्षा टप गर्न सक्नुहुनेछ ।

कक्षा ११ मै १२ को पढाई
जो विद्यार्थी कक्षा १० या १२ को परीक्षामा बोर्ड फस्ट हुन्छन्, उनीहरुको जिन्दगीमा त्यो अचानक भएको चमात्कार हैन । र न त उनीहरु कुनै अमृत नै पिउँछन् । फरक मात्र यति हो कि, उनीहरु ‘स्मार्ट माइन्ड’का साथ अध्ययन गर्छन् ।  टपर विद्यार्थीहरु पहिलेदेखि नै विशेष प्रकारको तयारी गर्ने गर्छन् । जस्तै, ११ कक्षामै उनीहरुले १२ कक्षाको पढाइबारे जानकारी हाँसिल गर्ने गर्छन् । या ९ कक्षामा पढ्दा नै १० कक्षाको पाठ्यापुस्तक पढ्ने गर्छन् । कतिपय टपर विद्यार्थीहरु यस्ता पनि हुन्छन् जसले आफ्नो लक्ष्य पहिल्यै निर्धारण गरेका हुन्छन् । जस्तै कक्षा ११ मा पढ्दा नै १२ कक्षा टप गर्ने उनीहरुको लक्ष्य हुन्छ । र, त्यसका लागि उनीहरुले १२ कक्षाको परीक्षा दिएका विद्यार्थीसँग छलफल गर्ने गर्छन् । परीक्षा कस्तो थियो ? कस्ताखालका प्रश्न आए ? पाठ्यपुस्तकबाट कति प्रश्न आए ? यी र यस्ता जिज्ञासा मेटाउन उनीहरु आफूभन्दा सिनियर विद्यार्थीसँग छलफल गर्ने गर्छन् ।

‘करेन्ट इग्जाम्पल’ लेख्नु
धरै विद्यार्थी प्रश्नको उत्तर दिँदा कितावमै रेटेको उदाहरण दिने गर्छन् । तर परीक्षामा टप गर्ने विद्यार्थीहरु भने उत्तरमा ‘करेन्ट इग्जाम्पल’ दिने गर्छन् । उदाहरण प्रस्तुत गर्नुपर्ने प्रश्नमा नयाँ घटनालाई उदाहरणको रुपमा पेश गरे त्यसले उत्तर पुस्तिका जाँच गर्नेलाई पनि आकर्षण गर्न सक्छ ।