मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नवीन अभिलाषी,
दाङ, जेठ ६ । नारायणप्रसाद शर्मा र नेत्रलाल अभागी दाङको कम्युनिष्ट आन्दोलनका जुझारु पात्र हुन् । तर, यी दुई बीच कहिल्यै मित्रता देखिएन, यहाँसम्म कि एकले अर्काको कामप्रति सन्तुष्ट जनाउने ठाउँ देख्दैनन् ।

यहि बीचमा नेत्रलाल अभागीले लेखेको कविता हो ‘एउटा चिठी गुन्यूको नाता पर्ने दाइलाई’ शीर्षकको कविता र यो कविता नेत्रलाल अभागी र नारायणप्रसाद शर्मा बीचको आन्तरिक द्वन्द्व देखाउने एउटा झिल्को हो । नारायण गुरुका साली नाता पर्ने विष्णु पौडेलसँग नेत्रलाल अभागीले विवाह गरेका थिए । श्रीमती तर्फबाट नाता पर्ने नारायण गुरुप्रति लक्षित गर्दै अभागीले लेखेको यो लामै कविता हो । यो कविता चर्चित कविता संग्रह ‘सतिसाल मात्र ठिंग उभिन सक्छ’ मा संग्रहित छ । नेत्रलाल पौडेल ‘अभागी’को जीवनको सबैभन्दा महत्वपूर्ण पाटो राजनीतिक जीवन हो । यति हुदाँहुदै पनि अभागीको साहित्यिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान छ ।

वि.सं. २००१ पुस २७ गते दाङ जिल्लाको धर्ना गाविस वडा नं. २ सिसैपुर गाउँमा जन्मिएका नेत्रलाल पौडेलसँग नारायणप्रसाद शर्माको भेट भने धेरै पछि भयो । २०१७ सालतिर भरतपुरमा रहेको विद्यालयका हेडमास्टर थिए रामसुरत झा । उनले विद्यार्थीहरुलाई हेपाहा प्रवृत्ती देखाउने गरेको त्यस समयका विद्यार्थीहरुको आरोप मात्र थिएन हेडमास्टरलाई निकाल्नुपर्छ भन्ने आन्दोलन समेत चलाइरहेका थिए । त्यो आन्दोलनमा काम गरिरहेका नारायणप्रसाद शर्मासहित केहि विद्यार्थीहरु निस्कासनमा पनि परे । त्यसको प्रतिवाद स्वरुप फेरि आन्दोलन गर्दा नारायण गुरु जेल परे । त्यसको तीन वर्षपछि २०२० साल साउनमा छुटे पनि मात्र नारायण गुरु र नेत्रलाल अभागीको भेट भएको थियो । विद्यालयमा भएको त्यो चर्चित विद्यार्थी आन्दोलनको समयसम्म नेत्रलाल गुमनाम थिए । त्यो समय नेत्रलाल मौन थिए । त्यो आन्दोलनमा कुनै पक्षता देखाएका थिएनन् अभागीले ।

नारायण गुरुको भनाईमा त्यसपछि मात्रै अभागी राजनीतिमा आएका हुन् । ‘अभागी अत्यन्तै कमजोर आर्थिक अवस्थाबाट अगाडि आएका हुन् । उनले धेरै दुःख गरेर पढेका हुन् । २०२२ सालतिर जस्तो लाग्छ बी.ए. अनर्सको अध्ययन पुरा गरेपछि उनी बढी बढि चर्चामा आए’, घोराही काठेकोहोलस्थित आफ्नै निवासमा कुरा गर्दै नारायण गुरुले बताए, ‘अभागी मेरो नातेदार हुन् । उनलाई मेरो सालीसँग विवाह गराईदिने, व्यवस्थापन गर्ने काम मैले नै गरेको थिएँ ।’  

वि.सं. २०२३ बाट नेत्रलालले शिक्षण पेसा सुरु गरे । अभागीले शिक्षण पेसा मात्र सुरु गरेनन् । राजनीति जीवन पनि सँगसँगै सुरु गरे । एक किसिमले अभागीको राजनीतिक जीवन र मावि नारायणपुरमा शिक्षण पेसा एकै साथ चल्यो । वि.सं. २०२३ मा केन्द्रको पुष्पलाल समूह निकट रहेर अर्घाखाँची र गुल्मीको संयुक्त प्र.ने.क.पा. जिल्ला कमिटीमा रही काम गर्ने क्रममा उनले वि.सं. २०२३ मा नै कम्युनिष्ट पार्टीको गौरवपूर्ण सदस्यता प्राप्त गरेका हुन् । उनी पार्टी सदस्य बनेपछि त्यहाँ सङ्गठित भएर काम गर्न थाले । यस क्रममा उनले शिक्षण, राजनीति र साहित्य तीनै क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरे । यहि बीचबाट नारायण गुरु र नेत्रलाल अभागी विचको सम्बन्धमा फाटो देखिन सुरु भएको हो ।

‘नेत्रलाल अभागी जागिरे थिए । तर, उनी जागीरे भन्दा पनि बढि राजनीतिक रुपमा सक्रिय देखिन थाले’, गुरु बताउँछन्, ‘तर तत्कालिन प्रशासनलाई यो सह्य हुने कुरै थिएन । जस्ले गर्दा उनी प्रशासनको आँखामा परे ।’ त्यसपछि अभागी शिक्षण पेसामा आबद्ध रहिरहन सकेनन् । उनी भुमिगत भए । हिसाबले जम्माजम्मी ११ वर्ष भूमिगत कठोर राजनीतिक यात्रा उनको राजनीतिक जीवनको उत्कर्ष समय हो ।

गुरु सुनाउँछन्, ‘एक किसिमले भन्ने हो भने नेत्रलाल कमरेड चरम उग्रबामपन्थी थिए, म २०११ सालदेखि २०/२२ सालसम्म पनि चरम उग्रबामपन्थी नै थिएँ । जब म शालिन राजनीतितर्फ गए उनी उग्र बन्दै गए ।’ यहि विषयलाई नारायण गुरुले आफूहरुको बीचमा नमिलेको पाटो सम्झन्छन् । भन्छन्, ‘हाम्रो विचार नै फरक भैसकेको थियो, त्यसपछिका दिनहरुमा म पत्रकारितासँग जोडिएपछि झन् मलाई विभिन्न आरोप लगाए ।’

नारायण गुरु घोराहीबाट प्रकाशनमा आउने नयाँ युगबोध पत्रिकाको जिम्मेवारीमा रहन थाले । उनी भन्छन्, ‘पत्रकारिताको मर्म अनुसार मैले सरकारको खुलेरै बिरोध गर्न सक्दैन थिएँल भने नेत्रलालले लिएको उग्र राजनीतिको खुलेरै सपोर्ट पनि गरेन । जसका कारण नेत्रलाल अभागीले मलाई सुधारवादी, संशोधनवादी जस्ता विशेषण प्रयोग गरेर आरोप लगाए ।’

नारायण गुरु विगत केलाउँदै थप्छन्, ‘त्यो समय पत्रिका मैले सुरुवात भर्खर गरेको थिएँ । पत्रिकालाई हुर्काउनु बाध्यता थियो भने पञ्चायत बिरुद्ध लेख्नु पनि कम साहसको विषय थिएन । एकातर्फ प्रशासनले दुःख दिन्थ्यो भने अर्कोतर्फ मलाई पञ्चायतको सपोर्ट गर्यो भनेर आरोप लगाउँथे ’, गुरु अगाडि भन्दै जान्छन्, ‘जसरी मैले जनयुद्धलाई खुलेर सपोर्ट गरिनँ र बिरोध पनि गरिनँ त्यसैगरी तत्कालिन नेकपा मालेले लिएको कदमलाई पनि मैले खुलेर सपोर्ट नगरेको हो ।’

वि.संं २०३१ मा भएको चौथो महाधिवेशन पश्चात् नेत्रलाल सुदूरपश्चिमको क्षेत्रीय ब्युरोको सदस्य बने । नेत्रलाल यसरी राजनीतिमा आउने क्रममा वि.सं. २०३० श्रावण २५ गतेदेखि पूर्णरूपमा राजनीतिक गतिविधिमा समर्पित हुन भूमिगत जीवनको यात्रा सुरु गरेका थिए । उनी वि.सं. २०३६ साउनमा नेकपा (माले) को केन्द्रीय सदस्य बने । वि.सं. २०३६ अषाढ ४ गतेदेखि दाङ जिल्लामा सुरु भएको आन्दोलनको नेतृत्व नेत्रलालले गरे ।

नेत्रलालको यस्तो आन्दोलन थियो कि वि.सं. २०३६ को दाङको किसान आन्दोलनको नेतृत्व गर्दै नेत्रलालले जमिन्दार, शोषक, सामन्तको भकारी फोडी किसानहरूलाई वितरण गर्थे । उनको नेतृत्वमा शोषकलाई मोसो दल्ने, ज्वालीमा नारी हल गोरु झैँ जोत्ने जस्ता जनकार्बाही पनि भए । उनले किसानहरूलाई सङ्गठित गराई मोही बेदखली विरुद्ध, सार्वजनिक जग्गामा जग्गाधनीको हस्तक्षेप बिरुद्ध किसान विद्रोह गराए । नेत्रलालले यसरी आन्दोलनमा आफू पनि प्रत्यक्ष सरिक भई र पीडित किसानहरूलाई पनि सहभागी गराई आपूm पनि अत्यन्त जनप्रिय बन्दै किसानहरूमा वर्गीय चेतना र राजनीतिक जागरण ल्याउने क्रान्तिकारी भूमिका निर्माण गरे । तर, यस्ता कामबाट आफू सधँै टाढा रहेको नारायण गुरु बताउँछन् । उनी भन्छन्, ‘उनको कामको सपोर्ट नगरेपछि उनले कवितामै घोचपेच गरे ।’

अहिले नारायण गुरु नेत्रलाल अभागीले त्यो समयमा लिएका नीति विचार तथा कार्यक्रमहरु प्रति सन्तुष्ट छैनन् । नेकपा माओवादीले १० वर्ष युद्ध गरेर जसरी सम्झौताको कसीमा आईपुग्यो । त्यो स्तरसम्म पनि नेत्रलाल र तत्कालिन नेकपा मालेको ऐजेण्डा जनताको पक्षमा नदेखिएको गुरुको बुझाई छ । पछि नेकपा मालेले आफ्ना एजेण्डा निर्णय नै गरेर छोडेको घोषणा गरेको भन्दै गुरुले नेत्रलाल उग्र स्वभावका भएको विश्लेषण गर्छन् ।
तिलू गुरूङ/

हाम्रो प्रेमको सम्बन्ध, टुट्न नपाई आऊ
जिन्दगीको रेल गाडी, छुट्न नपाई आऊ !

घाम पानी सहिरहेछु, खुला आकाश मूनि,
आँधी’ हुरी असिनाले, चुट्न नपाई आऊ !

दुनियाँले चियो चर्चा, खेदो गर्दा प्रेममा,
रक्तचाप बढी मुटु, फुट्न नपाई आऊ !

तिम्रो बाटो कुर्दाकुर्दै, कतै ग्रसित भई,
मुर्छित परी मलामी, जुट्न नपाई आऊ !
धाधिङ

नारायण चापागाई/

दिलमै हान्यौ तिम्ले, सकिनँ त्यो गोली छेकेर
साउने झरीझैं उर्लेको आँसुको खोली छेकेर ।
रूँदा रूँदा शरिर पनि थला परिसक्यो मेरो
भक्कानिदै अब सकेन रुने यो बोली छेकेर ।

                          ******
चन्द्रमाले लुकी–लुकी बादलुलाई छुँदा सानु
मैले तिम्लाई माया गर्दा आधी रात हुँदा सानु ।
मुखमा हेर्दै भन्थ्यौ माया छुट्छ कि खै भोली
अंगालोमा बेरी तिम्ले भक्कानिदै रूँदा सानु !
                   
                                 ******
हाम्रो माया लैजानु, दिदीलाई बेस हुन्छ
अमेरीकामा’ नि हजुरको नेपाली भेष हुन्छ ।
तपाई सारा दुनियाँ, घुमिहिडेँ पनि दिदी
तपाईका लागि प्यारो नेपाल देश हुन्छ ।

सुमन सापकोटा ‘यौटा अपवाद’/ अचानक ब्यूझिएँ । निन्द्रादेवि भागिसकेकी थिइन् । मनभित्र अनेक तरङ्ग आए गए । तर, जति गर्दा पनि निन्द्रा फिटिक्कै आएन । सोचेँ आजकल त निन्द्राले पनि भाउ खोज्न थालिसक्यो । यति के सोचेको थिएँ । निन्द्रा झन् आउनै मानेन । पर हुत्याएको ल्याप्टप् काखमा ल्याएँ । वाईफाई डिस्कनेट देखायो । ‘थुक्क वाईफाई पनि सुतिसकेछ’ मनले सराप्यो ! अनि सिधै माइक्रोफसफ्ट २००८ खोलेँ अनि किबोर्डमा ढौडिएका औलाले यौटा दृश्य देख्यो ‘नदेखिएको दृश्य !’

                                                                  ***********
तेस्रो पटक भेट हुँदै थियो उसँग । यसपाली म कुरिरहेको थिएँ । मनमा उमङ्ग थियो, उत्साह थियो.. । सायद आफूलाई मन परेको मान्छे भेटिदा जो कोहीलाई पनि यस्तै हुन्छ ।
टन्टलापुरे घामले तालु सेकिरहेको थियो । तर, पनि मलाई पोलिरहेको थिएन लाग्थ्यो उसँगको भेटको शीतलतासामु यो ताप केही होइन । घण्टी बजाएँ ।
‘काँ छौ ?’
‘आउदैछु ..काँ आऊँ ?’ उत्तर सितै प्रश्न पनि गरी ।
‘सिधै आऊ मलाई देख्छ्यौ ?’ मैले भनेँ ।
“भनेसी मलाई देखिरहेका छौ ?’ उत्तरको अपेक्षा ऊ प्रश्न नै गर्थी प्राय..।
‘मनमा डेरा जमाएर आँखामा बसिरहने मान्छेलाई नदेखेको पल त कुन होला र ?’ म पनि उत्तर जस्तै प्रश्न गर्न गरिदिम् झैँ लागेको थियो । तर, गरिनँ लाग्यो उससँगको प्रश्न उत्तर दिनभरि पनि सकिँदैन ‘त्यसैले छिटो आउने खुरूखुरू ..ल बाई’ भन्नेर उस्को रिप्लाई नै नसुनि फोन काटिदिएँ ! सुनेको भए अर्काे उत्तर दिनु पथ्र्याे ।
टाठाबाट देखेँ ऊ यतै आइरहेकी थिई । यता उता हेर्दै आएको उसको आगमन यस्तो लाग्थ्यो मानांै ऊ कुनै मणी हराएर खोज्दै हिडेकी छे । त्यो दृश्य हेरिरहेँ ..सोचेँ उसँग नदेखिऊँ उसलाई अगाडि जान दिऊँ र पछाडिबाट सप्राइजका रूपमा आफू देखिऊँ । तर, त्यसो गर्न मनले दिएन.. । मनलाई उसँग भेटिनु नै हतार थियो ।
‘कत टाइम लाको.. । मान्छे मर्न लाइसकेँ ?’ रिसाएझैँ  मायालु पारामा प्रश्न गरेँ ।
‘काँ लुकेको ? खोज्दाखोज्दा मलामी जस्तै लखतरान परेँ ।’
उल्टै प्रश्न पो गर्छे !
‘तिम्रो मनमा.., अनि आफ्नो मन आफैले कसले देख्छ र ?’, मैले पनि यसैै उत्तर फर्काई दिएँ ।
‘गफाडी कहिँ को..’, मीठो स्वरमा भनी.., धन्न प्रश्न चाँही गरिन यस पटक ।
पहिलाका भेटभन्दा थोरै भिन्न देखिएकी थिई.., भिन्न नभनौं थोरै होची ।
तुरून्त मेरो दृष्टि उसका खुट्टामा परे हिल लगाएकी रहिनछ । जिस्किने मुड चलेको थियो ।
‘कसरी सर्लक्क बढेको ? हिल भाच्या हो र ?’
यति के भन्न भ्याको थेँ आँखाका परेला उप्काएर हेरी खाऊँला झंै गरेर तर मायालु पाराले !
म मोहित थिएँ उसको त्यो हेराईप्रति । हेरिरहुँ जस्तो ।
किताबमा लेखिएको हुन्छ भन्छन् । तर, आँखाको भाषा नै सबैभन्दा शक्तिशाली हुँदो र’छ । त्यसैले पठ्न किताब नचालिदो रहेछ आँखा भए पुग्छ त्यति बेला मैले यस्तै अनुमान गरेँ अनुमान के अनुभवै गरेँ। उसका आवाज पनि कति मीठो..सुनूँ सुनूँझैं लाग्ने, जे बोले पनि मीठो सायद् मायाको मीठासले झन् मीठो सुनाई दियो मलाई !
घर पुगियो उसका अंकल अनि आन्टी हुनुहुँदोरहेछ । अड लागिरहेको थियो भेट्न । बुढाबुढीले के सोच्ने हुन् ! तर, पनि भेटे औपचारिक अनौपचारिक केही कुरा भए ।
म हतारिए जान । म होइन हामी । ऊ सोध्न डराइरहेकी थिई म सोध्न कर गरिरहेको थिएँ आँखैले । उस्ले आँटै गरेर सोधी एकछिन ऊसँग लाइबेरी गएर आउँछु ल । त्यति बेला लाग्यो ऊ नै हो मेरा आँखाको भाषा बुझ्ने मान्छे । आन्टी सकारात्मक भइन् बुढा कड्किए अनि हुत्तिएर निस्किए पनि ।
मनमा नरमाईलो त लागिरहेको थियो । तर, अभिभावकको नाताले त्यो सहि नै थियो । केहिछिनको अनुरोध पछि आन्टीको करले पनि बुढा मान्न बाध्य नै भए । धन्यवाद दिन मन लागेको थियो, तर दिइनँ । बस् ‘राम्रोसँग बस्नुहोला, आफ्नो केयर गर्नुहोला जान्छु ल !’ यति भनेँ अनि औपचारिक बन्दै दुई हात जोरेँ अनि निस्किएँ ऊसँगै ।

                                                                     ***********
लाइबेरी जान्छु भन्नू त केवल बहाना मात्र थियो । हामी यौटा सुन्दर ठाउँमा जान चाहन्थ्यौ । जहाँ मान्छेको थुप्रो नहोस् । जहाँ होहल्ला नहोस् । होस् त केवल चराचुरूङ्गीको मीठो चिरबिर, मन्द गतिमा बगेको खोलाको कलकल, अनि हामी दुईका मायाका मीठा संवाद । उस्ले मेरा हात समातेकी थिई अनि मैले उस्का । हामी निर्धक्क हिडिरहेका थियौँ । कसैको डर चिन्ता केही थिएन, थियौं त सँगै हुनुमा खुसी थियौं । सँगै हिडिरहनुमा खुसी थियौं । हाम्ले कल्पना गरेको ठाउँ त पाएनांै तैपनि एउटा शान्त क्याफेमा छि¥यौं, जहाँ ग्राहकको उपस्थिति निकै कम थियो । एक किसिमले शान्त थियो जहाँ उस्का र मेरा मायाका कुरा सुन्ने कान टाढा थिए ।
‘कस्तो लाग्यो ठाउँ ?’, टेबलमा बस्दै गर्दा मैले सोधेँ ।
‘तिमीसँगै भएको ठाउँ पनि नराम्रो मान्छु होला र ?’, हल्का मुस्कुराएर उत्तर दिई ।
‘कुरा गर्नमा तिमी पिएच्डी गर ! नेपालै उत्कृष्ट ¥याङ्क ल्याउँछेऊ !’, उसैैगरी उत्तर फर्काई दिएँ ।
‘त्यो त म सक्छु, तर अगाडि भएको प्रतिस्पर्धीसँग चाही निकै डर लाग्छ’, प्रशंसा गरेझैं मलाई नै पेच् हानी ।
‘गफाडी’ म पनि हाँस्दै भनिदिएँ ।
‘के ल्याऊँ सर ?’ मेनु तेस्र्याउँदै वेटर बोल्यो ।
‘यौटा हट कफी..एक भेज मस्म अनि यौटा फ्रेस सलाद’, मेनुतिर हेर्दै नहेरी अडर दिई !
‘तिम्लाई मन त पर्छ नि ?’, वेटर टाठा पुगेसी मात्र सोधी ।
‘खाइसकेपछि सोध्नुपर्ने ! अल्लि छिटै भएन र ?’, म हाँस्दै भनँे ।
‘त्यसपछि पनि सोध्छु’. आँखा तरेझैँ बोली ।
उस्को त्यो आँखा तराई नै सुन्दर थियो । मनमोहक । र हेरिरहूँ जस्तो र म हेरी नै रहेँ !
‘कति राम्री छ्यौ’, उस्को त्यो हेराईमा भुल्दाभुल्दै फुत्त वाक्य निस्किएछ ।
‘रूपमा सौन्दर्यता नखोज प्रिय’, मसँग नजिकिदै मेरा हात समात्दै उस्ले भनी !
उस्को त्यो स्पर्शले नै मलाई फिदा बनाइदिएको थियो, जीवनकै सुन्दर क्षण जस्तो लागिरहेको थियो त्यतिबेला । हामी नजिकिएका थियौं एकदमै नजिक । जहाँ उस्को तातो श्वासको अनुभूति सजिलैसँग गरिरहेको थिएँ । छुट्टै दुनियाँमा आएको जस्तो लाग्यो । हाम्रा आँखा जुधिरहेका थिए ‘सृष्टि’, मैले भनेँ ।
‘हजुर’, तातो स्वास कानमा पु¥याउँदै उस्ले बोली ! भित्र कता–कता काउकुति लागेजस्तो भइरहेको थियो । उस्को त्यो हेराईमा छुट्टै सौन्दर्य थियो , बोलीमा माधूर्यता अनि अनुहारमा चाञ्चलता देखिएको थियो । हामी झन् नजिकियौं । हाम्रा ओठहरू नजिकिए एकदमै नजिक जहाँ ओठहरू आपसमा स्पर्श गरिरहेका थिए । म बोल्न चाहन्थेँ । तर, त्यहाँ खाली ठाउँ नै कहाँ थियो र ! हाम्रा ओठहरू नबोली मायाका भाव साटिरहेका थिए । मेरा हात उस्को शरीरमा चलबलाइरहेका थिए ।
थाहा थिएन कुन अदृश्य शक्तिले त्यस्तो प्रेरणा गराइरहेछ । ऊ पनि मस्त थिई अनि म पनि..। सायद हामी एकाापस सँगै हुनुमा मस्त थियौं ।
‘आई लभ् यु’ ओठबाट ओठ छुट्याएर अँगालोमा टाँसिदै लाढे स्वरमा मेरो कानमा आएर बोली !
‘लभ् यु टु’, उस्का सुन्दर नयनलाई हेर्दै मैले प्रत्युत्तर दिएँ ।
‘यो समय कति रमाइलो है ! तिमी छौ तिमीसँग मेरा यी कुरा छन्, कसम कैले भुल्न सक्दिन यो समय..बेस्ट टाइम अफ् माई लाईफ’, थौरै भावुक हुँदै ऊ बोलिरहेकि थिई । भुल्न त म पनि कहाँ सक्थेँ र स स्मृतिमा आजीवन कैद भइसकेका थिएँ ती सम्झना जुन ऊ टाढा भए पनि उस्का प्रतिबिम्ब भएर साथमा रहने वाला थिए ।
‘एक्सक्यूजमी’, वेटर उभिरहेको रहेछ ।
‘यस’ उस्लाई हेरेर टोलाइरहेको म थोरै सतर्क हुँदै बोलेँ ।
खाजा राखिदियो अनि थोरै मुस्कुराउँदै वेटर गयो । खाजा खायौँ ।
‘बाहिर गएर आइसक्रिम खानुपर्छ है !’, त्यहाँबाट बाहिर निस्कदै गर्दा उस्ले भनेकी थिई। खाजा खाएसी आइसक्रिम खाने उस्को आदतको म ज्ञाता बनिसकेको थिएँ ।
‘ओके’, मैले भनेँ ! हामी रोडमा आइपुगेका थियांै । फुटपाथ मै राखिरहेको रहेछ । तर, त्यहाँ मलाई खानु मनै थिएन । भनेँ, ‘पर राम्रो ठाउँ छ त्यही खाने ल ।’
‘नाई  यहि त छ मजा, यही खानुपर्छ’, उस्ले अड्डी लिई । मैले मान्नै कर लायो । ऊ निकै फुरूङ्ग थिई अनुहार झन् उज्यालो बनेको थियो । ‘सधै यस्तै खुसी बनिराख ल !’ मनमनै भनेँ । छुट्टै आनन्दका थिए ती पलहरू।
‘तिम्ले आइसक्रिम किन्दै गर म रिक्सा रोक्दै गर्छु अनि यो सहर , यो भीडलाई हेर्दै खाँदै जानुपर्छ’, निर्देशन दिँदै ऊ सडकको छेउमा रिक्सा रिजर्भ गर्न गइरहेकी थिई। पसलेले आइसक्रिम मेरो हातमा थमाइदिई सकेको थियो । टाढाबाट रिक्सा आउँदै थियो । ऊ मलाई एकदमै मीठो मुस्कान सहित पछाडि फर्केर नसालु नजरले हेरी अनि अगाडि मात्र के फर्किन लागेकी थिई टाढाबाट हुइकिदै आएको मिनीबसले उस्लाई धक्का दियो । उ रगताम्य लडी । ‘सृ..ष्टि......’ म सहरले नै सुन्ने तरिकाले चिच्याएँ । टाउको भनन्न घुमियो । लाग्यो सारा पृथ्वी नै घुमिरहेको छ र केही छिनमा प्रलय हुँदैछ । मेरो मनमा  प्रलयभन्दा पनि ठूलो धक्का त यसै पनि गएको थियो । असारको बाढीको भेलभन्दा पनि ठूलो भेल मेरा आँखाबाट झरिरहे । अचानक छागाबाट निर्ममतापूवक लडेको मान्छे जस्तै चेतनाबिहीन बनेछु । पूरै अध्यारो देखेँ । उभिरहेको छु वा पल्टिरहेको आफैलाई थाहा थिएन । चेतनारहित पर्खाल भत्किए झै भत्किएँ । सारा सपना भत्किएका थिए ! खस्नका निम्ति धरातलभन्दा माथि हुनुपर्छ भन्थे म जमिनमै उभिएर खसेको थिएँ..मेरो शरीरबाट हाडजति सप्पै निकालेजस्तै लल्याक्लुलुक बनिसकेको थियो र झ्याप्पै पल्टिएँ बेहोसीमा ।


                                                                       ***********

‘ओए के भयो ?’, अर्काे खाटमा सुतिरहेको साथी करायो । मेरो उत्तर नै नसुनी निदाएछ ।
‘ओहो ! सपना पो थियो ?’
पहिलोपटक आफैप्रति आफैलाई अविश्वास लागिरहेको थियो ।
ढाड दुखिरहेको थियो । नमज्जासँग पल्टिएछु । श्वासको गति उति बेला जस्तै तीव्र नै थियो । हतार–हतार लाइट बालेँ । कोठाका सबै संरचना एकटक हेरिरहेँ। ऐनामा आफ्नै अनुहार अर्कैको जस्तो लाग्यो रातै भएको थियो । आजसम्म त्यस्तो अनुहार म आफैले देखेको थिइनँ । शरीरबाट पनि अनवरत पसिनाका धारा बगिरहेका थिए । मुसलधारे पानीमा भिजेजस्तै बनेको रहेछ ओच्छ्यान । सोचेँ मुसलधारे पानीले त शरीर भिजाउँछ । तर, यो मन ? केल्ले भिजायो ? पैला बाजी राख्दा पनि पिउन नसकेको म त्यतिबेला एक वोतल नै पानी पिइदिएछु । धड्कनको गतिलाई घटाउन आफूलाई धारामा गएर फिजाइरहेँ । ज्यानले हल्का महसुस ग¥यो ।


                                                                        ***********
को थिई ? किन आई ? अनि त्यो अघिको रमाइलो ? अनि त्यो बिभत्स घटना ? यस्ता लाखौं प्रश्न जुर्मुराए । तर, अहँ ! कुनै निकासा पाएनन् ती प्रश्नहरूले ।
सपना थियो ससपना नै सोचेर भुल्न चाहेँ, तर एउटा प्रश्नले दिमाग घुमाइरह्यो, ‘के सुख अनि दुःख पनि त्यो सपना जस्तै क्षणिक छन् ?’
......प्रश्नमात्रै आयो उत्तर आएन ।
दाङ, बैशाख ८ । यस वर्षको राप्ती साहित्य पुरस्कार डा. नेत्र एटमलाई दिइने भएको छ । त्यस्तै, राप्ती सिर्जना पुरस्कार नङ्ग्याइएकी द्रौपदी खण्डकाव्यका लागि श्रीधर पौडेललाई प्रदान गरिएको छ ।

राप्ती साहित्य परिषद् पुरस्कार छनौट समितिको बैठकले परिषद्मा स्थापित विभिन्न पुरस्कारहरु प्रदान गर्न स्रष्टाहरु छनौट गरेको हो । उक्त अभिनन्दन तथा पुरस्कारहरु परिषद्को आगामी जेठ १३ र १४ गते घोराहीमा हुने ४१ औं स्थापना दिवस तथा १३ औं अधिवेशनका अवसरमा प्रदान गरिने परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार छनौट समितिको बैठकले यस वर्ष नन्दहरि साहित्य पुरस्कार दाङका कुलराज राजभण्डारीलाई, विष्णु–नुमा साहित्य पुरस्कार रोल्पाकी विमला डाँगी ‘विकलता’ लाई, डोमादेवी साहित्य पुरस्कार रोल्पाकै लोक आलोकलाई र ऋषि–लक्ष्मी साहित्य पुरस्कार दाङका अर्जुन पौडेल ‘अर्जुन शर’लाई दिने निर्णय गरेको छ ।

त्यसैगरी देवीचन्द्र साहित्य पुरस्कार दाङका गोपाल भुसाल अभिलाषीलाई, अपामुकुन्द प्रज्ञा पुरस्कार सूर्य बिसीलाई, गोपालचन्द्र प्रज्ञा पुरस्कार प्रद्युम्न पोख्रेललाई, गोमा देवकोटा कला पुरस्कार कमला भारतीलाई र हरिप्रसाद–मीना पाण्डेय कलासाहित्य पुरस्कार रेशम विसीलाई प्रदान गर्ने निर्णय गरिएको खनालले बताउनुभयो ।

त्यस्तै, खोपीलाल हुकुमादेवी छन्द पुरस्कार रुकुमकी सिर्जना शर्मालाई, पण्डित कपिलमुनि भक्तकुमारी शिवाकोटी स्मृति पुरस्कार लीला गम्भीर थारुलाई, पद्मप्रसाद–रुपसा प्रज्ञा पुरस्कार प्रकाश केसीलाई, तिलका–तुल्सीराम आचार्य स्मृति साहित्य पुरस्कार सल्यानका डा. मधुसुदन लामिछानेलाई, चक्रपाणि–लक्ष्मी लोकेश्वरी स्मृति छन्द पुरस्कार दाङका डिल्लीराज श्रीधरलाई र दिलसरी–दल अतिरिक्त पुरस्कार प्यूठानका भावेश भूमरीलाई दिने निर्णय गरिएको खनालले बताउनुभयो ।

सोही अवसरमा राप्ती क्षेत्रमा साहित्यिक विकास र सिर्जनाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुका साथै परिषद्मा पद्माकुल हाँस्यव्यङ्ग्य पुरस्कार स्थापना गर्ने प्यूठानका वरिष्ठ साहित्यकार भुपेन्द्र सुवेदीलाई अभिनन्दन गर्ने निर्णय गरिएको अध्यक्ष खनालले बताउनुभयो । खनालका अनुसार छनौट समितिको संयोजकमा परिषद्का संस्थापक अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद शर्मा, सदस्यहरुमा उत्तमकृष्ण मजगैंया, सुशील गौतम, टीकाराम उदासी र शारदा शर्मा रहनुभएको थियो ।

पछिल्लो समयकी चर्चित गायिका हुन्– भूमिका गिरी । स्टेज क्विनका नामले समेत परिचय बनाएकी यी सुन्दरी दाङमा जन्मेर काठमाडौँलाई कर्मथलो बनाउँदै आएकी छन् । बाल्यकालदेखि नै कलाकारिता क्षेत्रप्रति झुकाव राख्दै आएकी उनको लोक गायनमा एउटा छुट्टै परिचय बनेको छ । लोकगीत गाएर देशविदेश समेत घुम्न सफल गिरीलाई  १० प्रश्नः

तपाईं त गायिका मेकअप खासै चाहिँदैन होला हैन ?
म पनि महिला नै हुँ । महिलालाई मेकअप त चाहिहाल्छ नि । तर म हल्काफुल्का गर्छु । धेरै चाहिँ हैन । हिरोइनले जस्तो घन्टौँ लाग्दैन । धेरै समय भए पुग्छ ।

फेसनप्रति कतिको रुचि छ ?
रुचि छ, किन नहुनु नि । लगाउन चाहिँ यो ज्यानलाई कम्फर्टेबल फिल हुने साधारण पहिरन नै लगाउँछु । फेसनेबल ड्रेस मनपर्छ । अहिलेसम्म किनेको महँगो पहिरन भनेको सारी हो । तीजको कार्यक्रमका लागि किनेको । अब फेरि यस्तै किन्ने हो ।


तपाईंलाई आफ्नो के सुन्दर लाग्छ ?
खासै यो भन्ने छैन । म आफूमा भन्दा पनि बढी अरूलाई सुन्दर देख्छु ।

पुरुषको के कुरा मनपर्छ ?
पुरुषको अङ्गभन्दा नि हेयर स्टाइल मनपर्छ । जसमा हसिलो सुहाउँदो चेहेरा होस् र गेट आधुनिक होस् ।

मनपर्ने खाना नि ?
खानामा प्रायः थकाली सेट मनपर्छ । त्यसैले डिसका रूपमा प्रायः भेज खानेगर्छु । यसले मेरो स्वास्थ्यलाई फिट राख्ने काम गरेको छ ।

पर्स बोक्न बिर्सिएर अप्ठ्यारो परेको छ ?
अहिलेसम्म त्यस्तो अप्ठ्यारो परेको छैन । किनकि प्रायः यताउता हिँड्ने भनेपछि पर्स अनि पैसाको म्यानेज पहिले नै गरिसकेकी हुन्छु ।

कस्तो डेटिङ प्लेस मनपर्छ ?
डेटिङ प्लेस यो, त्यो भन्ने छैन । मन परेको मान्छे सँगै भएपछि ठाउँले के फरक पार्छ र ? अनि डेटिङ अफरभन्दा नि प्रपोज धेरै आउँछन् । यो ज्यानले खोजे जस्तो नभेटेर होला प्रस्ताव स्वीकार्न सकेकी छैन ।

कोसँग डेटिङ जाने रहर छ ?
डेटिङप्रति त्यति चाख छैन । मलाई यो, त्यो रोज्नु पनि छैन । जसलाई मनले चाहन्छ, त्योसँगै हो डेटिङ जाने, जीवन बिताउने । जीवन बिताउनेसँग नै डेटिङ आन्नदित होला ।


जवानीलाई कसरी हेर्नु भएको छ ?
जवानी जीवनको एक अमूल्य उपहार हो । जीवनमा हरेक कुराको विशेष महत्व हुन्छ । जसले जवानी चिन्न सक्छ । त्यो नै सफलताको शिखर चुम्छ जस्तो लाग्छ मलाई । त्यसैले हरेकले जवानी चिन्नु जरुरी छ ।

आँखा लाउने पनि त होलान् नि ?
अरुको मनभित्रको कुरा के थाहा । तर मन पराएर प्रेम प्रस्ताव राख्ने धेरै छन् । अहिले पनि आइरहेका छन् । प्रस्ताव राख्नेलाई सहर्ष सम्मान गरी धन्यवाद दिन्छु ।
                                                                                                                             रातोपाटीबाट

दाङ, चैत्र १८ । आज शुक्रबारबाट दाङलगायत देशभर चलचित्र ‘पलास’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो चलचित्र प्रदर्शनमा आएको हो ।

अभिनेत्री रेखा थापाको प्रमुख भूमिका रहेको पलासमा अयुव केसी र कामेश्वर चौरासियाको समेत अभिनय देख्न पाइन्छ । करिब एक वर्षको अन्तरालमा अभिनेत्री रेखाको चलचित्र दर्शक माँझ आएको हो । त्यसैले पनि चलचित्रको ब्यावसाय हुने अनुमान गरिएको छ ।

सेन्सर बोर्ड चलचित्र बालबालिकाका लागि रोक लगाउदै प्रदर्शन अनुमती दिएको हो । सम्बाद एडल्भ भएका कारणले चलचित्रले पनि एडल्भ सर्टिफिकेट पाएको छ ।

कृषा चौलागाइले बनाएको यो चलचित्रमा रेखाले आफु भन्दा धेरै कान्छो हिरो कामेश्वरसँग रोमान्स गरेकी छन् । चलचित्रमा रेखाको एक्सन समेत रहेको प्रचार गरिएको छ । चलचित्र सुवास कोइराले निर्देशन गरेका हुन् ।
शरद रेग्मी,
तुलसीपुर, चैत १७ । नयाँ वर्षको अवसर पारेर तुलसीपुर नगर जेसीजले सांगीतिक कार्यक्रम गर्ने भएको छ । जेसीजले बिहीबार रिपोटर्स क्लव नेपाल दाङ शाखामा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ वर्षको अवसरमा वैशाख १ गते सांगीतिक कार्यक्रम गर्न लागेको जनाएको हो ।

जेसीजका अध्यक्ष बिमल पौडेलको अध्यक्षता तथा जेसीजका एरिया डी कोर्डिनेटर जीवराज खरेलको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक मोहन स्वर्णकारले जेसीजको भवन निर्माणका कार्यक्रमको आयोजना गर्न लागेको बताउनुभयो । साथै कार्यक्रममा बोल्दै स्वर्णकारले कार्यक्रममा रामजी खाँड, कालीप्रसाद बास्कोटा, सुनिल गिरी, सचिन पौडेललगायतका स्थानीय कलाकारहरुको प्रस्तुति रहने बताउनुभयो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि खरेलले तुलसीपुर नगर जेसीजलाई बलियो बनाउनका लागि सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको बताउनु भयो । साथै खरेलले विभिन्न गतिविधि गरेकै कारण तुलसीपुर नगर जेसीजले नेपालमै पहिचान बनाउन सफल भएको भन्दै सांगीतिक कार्यक्रम सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा समेत गर्नु भयो । सो अवसरमा बोल्दै अध्यक्ष पौडेलले आफनो कार्यकालमै तुलसीपुर नगर जेसीजको भवनको शिलान्यास गर्ने बताउनु भयो ।

सबैको सहयोगमा नयाँ वर्षको अवसर पारी मनोरञ्जन प्रदान गर्नुका साथै अर्थिक सहयोग समेत संकलन गर्न कार्यक्रमको आयोजना गरिएको भन्दै सहयोग गर्न सबैमा आग्रह गर्नुभयो । साथै अध्यक्ष पौडेलले म्युजिकल कन्र्सट सम्पन्न गर्नका लागि प्रशासनबाट स्वीकृति लिनेलगायतका सम्पूर्ण काम सम्पन्न भएको भन्दै बैशाख १ गते अरनिको मैदानमा आएर जेसीजको भवन निर्माण गर्ने अभियानमा सहयोग गरिदिन सबैमा आह्वान गर्नुभयो ।

सो अवसरमा रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी र एस टि एन च्यानलका प्रबन्धक दुर्गा गिरीले जेसीजको सांगीतिक कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्नका लागि सहयोग गर्ने बताउनुभयो । पत्रकार सम्मेलनको सहजीकरण तुलसीपुर नगर जेसीजका सहसचिव लोकमान रिजालले गर्नु भएको थियो ।