मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

निशानदाजु भट्टराई,
दाङ, असार २७ । सम्झौता भएको लामोसमयसम्म दाङका पुलहरुको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । जिल्लाका विभिन्न स्थानहरुमा पुल निर्माणको काम तीब्ररुपमा अगाडि बढाइएको भए तापनि सम्झौता भएको समयभित्र पुलको निर्माण कार्य सम्पन्न हुन सकेको पाइएको छैन ।

लमही–तुलसीपुर सडक खण्डमा पर्ने अधिकांश खोलाका पुल निर्माण नहँुदै अलपत्र परेका छन् । जसका कारण जनताले आवतजावतमा सास्ती खेप्नुपरेको छ । वर्षैपिच्छे समयमा पुल निर्माण नहुने समस्याले दङाली जनताले आवतजावतकाक्रममा अप्ठ्यारो बेहोर्नुपरेको छ । पुल निर्माणको सुरुकै चरणमा गुणस्तरहीन कामसमेत भएको अनुगमनकाक्रममा फेला परेको थियो । कटुवा खोला पुलको निर्माणमा गुणस्तरहीन बालुवा प्रयोग गर्न थालिएको भन्दै नमुनाका रुपमा परिक्षण गर्न ल्याइएको बालुवा गुणस्तरहीन नै भएको भेटिएको थियो ।

पुलको निर्माणका लागि बबई खोलाबाट ल्याएको बालुवामा माटो मिसिएको पाइएकाले त्यो बालुवा प्रयोगमा डिभिजन सडक कार्यालय दाङले रोकसमेत लगाउनुपरेको थियो । पुलको निर्माणमा प्रयोगका लागि बालुवा ल्याइएको भए पनि जिल्लाका सरोकारवाला निकायहरुको पहलमा सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराई उक्त बालुवा प्रयोगमा रोक लगाइएको हो । सम्बन्धित निर्माण कम्पनी र सडक डिभिजन कार्यालय दाङको लापरबाहीका कारण वर्षैपिच्छे पुल निर्माण कार्यले गति लिन सकेको छैन । केही दिन अघि मात्रै कटुवा खोलामा गतिलो डाइभर्सन समेत नबन्दा टिप्पर पल्टिएको थियो ।

ठूलो जन धनको क्षति नभए पनि टिप्पर पल्टिएपछि त्यहाँ आवतजावतमा निकै समस्या भएको थियो । सरोकारवालाको निरन्तर निगरानी र कडाई नगरेकै कारण निर्माण व्यवसायीहरु सम्झौताको समयावधीभित्र काम नगरेको नागरिकको गुनासो छ । स्टिमेट अनुसार नै निर्माण सामग्रीहरुको प्रयोगमा कडाई गरिने भनी सडक कार्यालयले चेतावनी दिए पनि त्यो व्यवहारमा अझै लागु हुन सकेको छैन । वर्षातको मौसम लागिसक्दापनि पुल निर्माणले गति लिन नसक्दा जनताहरुलाई सास्तीमाथि सास्ती थपिएको छ ।

चालु आवमा सुरु भएका पुलहरुको निर्माण कार्य आधा पनि सकिएको छैन । यद्यपि, जिल्लामा थप ७ वटा पुलको निर्माणका लागि ठेक्का आह्वान भइसकेको छ । जिल्लामा निर्माणाधीन पुल मात्र नभएर यसपूर्वका पुलहरु पनि ठेकेदार कम्पनीहरुसँग भएको सम्झौता समय भन्दा धेरैपछि मात्र निर्माण सम्पन्न भएको मध्यपश्चिम सडक डिभिजन कार्यालयको तथ्याङ्कले देखाएको छ । यही आउँदो असोज मसान्तभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता गरिएका जिल्लाका चारवटा पुलमध्ये दुईवटा पुलको निर्माण कार्य समयमै नसकिने निश्चितप्रायः भइसकेको सडक कार्यालयले जनाएको छ । जसमा पश्चिम दाङको भमके खोला पुलको मात्र निर्माण कार्य सम्पन्न भएको छ ।

कार्यालयका ईञ्जिनियर कल्पना अधिकारीले जिल्लाको देउखुरीस्थित पिपरी खोलामा निर्माणाधीन पुलको निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । तर, अन्य दुईवटा पुलको निर्माण कार्य आधासमेत पुरा भएको छैन । मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङका अनुसार लमही–तुलसीपुर सडक खण्डअन्तर्गत कटुवा खोला, पत्रे खोलासंगै गुर्जे, सक्राम खोलामा पुलको निर्माण कार्य अत्यन्तै सुस्त गतिमा अघि बढेको छ । कटुवा खोला र पत्रे खोलाको पुल निर्माण सम्पन्न गर्ने समय आगामी असोज मसान्तभित्र मात्र रहे पनि त्यो समयमा पुल सम्पन्न हुने अवस्था नरहेको कार्यालयको भनाइ छ ।

सम्बन्धित निर्माण कम्पनीले आफ्नो फर्म दोस्रो फर्मद्वारा टेण्डर हाल्दा उनीहरुमा दायित्वबोध नहुने गरेको तथा एउटा निर्माण कम्पनीले धेरै ठेक्काको जिम्मेवारी लिने र कुनै पनि काम जिम्मेवारी रुपमा सञ्चालन नगर्दा पुल निर्माणको योजनाहरु अलपत्र पर्ने गरेका छन् । कटुवा खोला र पत्रे खोलाको निर्माण गर्ने जिम्मेवारी पाएको शंकरमाली निर्माण सेवाले पुल निर्माणको काम कछुवाको गतिमा अगाडि बढाएको छ ।

२०७१ साल कार्तिकमा ठेक्का सम्झौता भएको कटुवा र पत्रे खोलाको पुल निर्माण २४ महिनाभित्र सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो । यद्यपि, पुल निर्माणलाई सोचेअनुरुप अघि नबढेपछि निर्माणको जिम्मेवारी पाएको शंकरमाली निर्माण सेवाका दाङ प्रतिनिधि पदम शर्माले देशमा देखिएको अस्थिरताका कारण देखाउँदै समयमा निर्माण गर्न नसकेको बताउँदै आउनुभएको छ । तर, समयमै पुल निर्माणका लागि नागरिक समाज दाङका सचिव चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण भुसाललगायतले यसपूर्व सडक डिभिजन कार्यालय र सम्बन्धित निर्माण कम्पनीका प्रतिनिधिलाई दवाव दिँदै आउनु भएको छ । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post