मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नवीन अभिलाषी,
दाङ, साउन २६ । आदिवासी समुदायसँग जोडिएका पहिचानका विषयहरु यतिबेला संकट परेका छन् । आदिवासी जनजातिहरुले पहिचानका रुपमा उठाएका भाषा, संस्कृति, भेषभुषा, रहनसहनलगायका तमाम विषयहरु क्रमशः धरासायी भएर जाने क्रममा रहेका छन् ।

आदिवासी समुदायको अधिकारका लागि आवाज उठाउँदै आएका निकायहरुले राज्यकै कमजोरीका कारण आदिवासी जनजातिहरुको पहिचानमा खिया लाग्न थालेको आरोप लगाउँछन् । जिल्लामा जनजाति समुदायअन्तर्गत थारु, मगर, गुरुङ्ग, अन्त्याल, कुसुन्डालगायतका केहि जातिहरु प्रमुख रुपमा रहेका छन् । तर, ती जातिहरुसँग भएका भाषा, भेषभुषा, चार्डपर्व, संस्कृतिलगायतका विषयहरुको संरक्षणका लागि ठूलो चुनौती बनेको छ ।

यस विषयमा केहि व्यक्तिहरुले निरन्तर रुपमा आवाजहरु उठाउँदै आएको भए पनि संरक्षण र सम्बर्धनमा पछिल्लो पुस्ताको चासो कम देखिएको पुरानो पुस्ताको आरोप छ । त्यतिमात्र हैन राज्यकै बेवास्ताकै कारण आफूले आफ्नो पहिचानका विषयहरु गुमाउँदै जान थालेको समेत आदिवासी अधिकारको क्षेत्रमा काम गर्नेहरुले बताउँछन् ।
नेपालबाटै लोप हुने खतरामा रहेको जाति हो–कुसुण्डा । देशभर ४÷५ सयको संख्यामा मात्र रहेको यो जातिको भाषालाई टिगिगेपन भनिन्छ । यो भाषा विश्वका कुनै पनि जातिका भाषासँग एउटा अक्षर पनि नमिल्ने कुसुण्डा समुदायका मानिसहरु बताउँछन् । तर, यो भाषा नेपालमै राम्रोसँग बोल्नसक्ने एक जना मात्र भएको नेपाल कुसुण्डा विकास समितिका अध्यक्ष धनबहादुर कुसुण्डाले बताउनुभयो । छिटफुट रुपमा बोल्नसक्ने १२÷१५ जना भए पनि राम्रोसँग बोल्नसक्ने नेपालमै एकजना मात्र रहेकाले उहाँको शेषपछि भाषा नै लोप भएर जाने खतरा उहाँले आंैल्याउनुभयो । यसको साथै कुसुण्डा समुदायले मनाउने चार्डपर्व, संस्कृतिका विषयहरु त अहिले झनै खतरामा रहेको उहाँको भनाइ रहेको छ ।
यस्तै दाङ जिल्लामा थारु समुदायको बाहुल्यता रहेको छ । नेपालको जनगणना २०६८ अनुसार जिल्लाको थारु समुदायको जनसंख्या २९ दशमलव ५ प्रतिशत रहेको छ । जिल्लामा नेपालीपछिको सबैभन्दा धेरै बोलिने भाषा थारु भाषा नै हो । कुल जनसंख्याको २८ दशमलव १२ प्रतिशतले मात्र थारु भाषा बोल्ने गरेका छन् । थारु भाषा लोप हुने खतरामा तत्काल नरहेको भए पनि भाषामा खिया लाग्ने अवस्था रहेको थारु अधिकारकमी सोगतवीर चौधरीले बताउनुभयो । दाङकै उपत्यका र देउखुरी उपत्यकामा छुट्टाछुट्टै भाषा बोलिने गरेको छ ।
यो भाषाको संरक्षण गर्नु त्यति चुनौतीपूर्ण नभएको भन्दै चौधरीले भाषागत शुद्धतामा व्यापक परिवर्तन आएको जानकारी गराउनुभएको छ । यस्तै थारु समुदायले लगाउने केहि गरगहनाहरु लोप भएर गैसकेको समेत बताउनुभएको छ । थारु समुदायका प्रमुख पर्वहरु दसै, माघी, अस्टम्कीलगायका चार्डहरु मनाउने शैलीमा पनि धेरै मिसावट भइसकेको उहाँको अध्ययन छ ।
पछिल्लो समयमा पहिचानको मुद्धालाई जोडसँग उठाउने समुदाय हो–मगर समुदाय । मगर समुदायले प्राचिनकालदेखि मनाउँदै आएका चार्डहरु, रहनसहनमा बद्लाव आएको छ । १८ मगरात खाम भाषा संरक्षण, सम्बर्धन समितिका केन्द्रीय कोषाध्यक्ष सविना बुढाले महिला पुरुषहरुले लगाउने पोषाकहरु अहिले कुनै–कुनै मेला महोत्सबमा मात्र लगाउने गरिएको बताउनुभयो । कुनै जातिले आफ्नो भेषभुषा विशेष अवस्थामा मात्र लगाउने वातावरण हुनु संग्रालयमा राखिएको बराबर हुनु उहाँले तर्क गर्नुभयो ।
अहिले महिलाहरुले लगाउने रातो चोली, रातै घलेकी, पहेलो माला, छिटबुट्टे लुंगीहरु र पुरुषहरुले लगाउने पोषाकहरुको लगाईमा समेत कम भएको  र विकृति देखिएको बताउनुभयो । यस्तै उहाँले अहिले एक छड्के घलेकी लगाउने विकृति आएको बताउनुभयो । बुलाकी, फुली, रंय माला अहिले लोप हुने अवस्थामै रहेको जानकारी दिनुभयो । त्यस्तै मगर समुदायले धुमधामका साध मनाउँदै आएको भुमे नाचमा अहिले डिस्को मिसिने गरेको समितिका कोषाध्यक्ष बुढा मगरले बताउनुभयो ।
यस्तै गुरुङ समुदायले आफ्नो पहिचान लोप हुने खतरामा रहेको भन्दै चिन्तामा छ । गुरुङ समुदायमा महिलाहरुले लगाउने रातो चोली, घलेक, मेख्ला, ठ्यांग्रो, रैयालगायतका गहनाहरुको प्रयोग कम देखिएको छ भने पुरुषहरुमा कछाड, भांग्रा, आसकोट, कमेचलगायतका पोषाकहरु कमैले लगाउने गरेको तमु ह्युल छोज घिका जिल्ला अध्यक्ष खुमबहादुर गुरुङले जानकारी दिनुभयो । यस्तै सोरठी, घाटो र सालैजो गीत र नाचहरु अहिले हराईसकेको उहाले जानकारी दिनुभयो । जिल्लामा करिव तीन सयको हाराहारीमा रहेका गुरुङ समुदाय जिल्लाको तुलसीपुर क्षेत्रमा बढि बसोबास गर्ने गरेको पाइएको छ ।
आदिवासी समुदायभित्र छन्त्याल समुदाय पनि रहेको छ । जिल्लामा ६० घर अन्त्याल समुदायका रहेको नेपाल छन्त्याल संघले बताउँछ । माघि पर्व विशेष रुपले मनाउने अन्त्यालले केहि समयदेखि आम नेपाली समुदायको रुपमा विभिन्न चार्डपर्वहरु मनाउँदै आएका छन् । अन्त्याल समुदायले लगाउने विशेष प्रकारको चोली, घलेक, लुंगी, रुवी माला हमेल जस्ता पोषाक र गहनाहरु अहिले पुर्खाहरु बसेको स्थानमा खोज्नु पर्ने अवस्था रहेको नेपाल छन्त्याल संघका जिल्ला अध्यक्ष जगत अन्त्यालले बताउनुभयो ।
आदिवासीहरु अहिले पनि अधिकारकै लागि लडिरहेका छन् । राज्यले उचित अधिकार नदिएको गुनासो गरिरहेका छन् । राज्यले अधिकार दिदैमा राज्य कमजोर नहुने बताउँदै उनीहरुले आदिवासी जनजातिहरुलाई अधिकार सम्पन्न गराए राष्ट्रियता बलियो भएर जाने उनीहरुको तर्क रहेको छ । उनीहरुले मातृ भाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था, जातिगत समुदायको एकीकृत बस्ती विकासको व्यवस्था, भाषा, संस्कृतिको संरक्षणका लागि राज्यले निश्चित नीतिहरु तय गर्नुपर्ने कुसुण्डा समुदायका धनबहादुर कुसुण्डाले बताउनुभयो ।  

Abroad Study
«
Next
»
Previous