कांग्रेस र माओवादीबीच कांग्रेसले गृहसहित १४ र माओवादीले अर्थसहित ८ मन्त्रालय लिने सहमति भएको सार्वजनिक भएको छ। गठबन्धनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहभागी भए कांग्रेसले १२ मन्त्रालय मात्रै पाउने सहमति भएको एक नेताले बताए।
सरकार विरुद्ध अविश्वास प्रस्ताव साउन ६ गते संसदमा पेश हुँदैछ। त्यसपछि पनि सरकार बन्न केही समय लाग्ने भएकाले अहिले नै पार्टीबाट को को मन्त्री भन्ने टुंगो लागि नसकेको कांग्रेस नेता रमेश लेखक बताउँछन् ।
‘अविश्वासको प्रस्ताव बहुमतबाट पारित गर्ने गृहकार्यमा छौं’, उनले भने,‘त्यसपछि मात्र सरकारमा को को जाने भन्ने विषयमा छलफल गर्छौं ।’ तर कांग्रेस सांसद र शीर्ष नेताहरु यसको तयारीमा लागिसकेका छन्। सभापति शेरबहादुर देउवाले कतिपय आकांक्षीहरुलाई व्यवस्थापन गर्न पदाधिकारी तथा केन्द्रीय सदस्य चयनलाई मन्त्रिपरिषद विस्तारसँगै अगाडि बढाउने रणनीति बनाएका छन् ।
कांग्रेस–माओवादी गठबन्धन निर्माणको गृहकार्यमा नेतृत्वदायी भूमिका खेलेका नेता बिमलेन्द्र निधि उपसभापति बनेमा सरकारमा सहभागी हुने छैनन् । त्यस्तो अवस्थामा मन्त्रिपरिषदमा कांग्रेसको नेतृत्व गृह मन्त्रालय सहित नेता कृष्णप्रसाद सिटौलाले गर्ने देउवा निकटका एक नेताले बताएका छन्। त्यस्तै अर्जुननरसिंह केसी, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र डा. प्रकाशशरण महतमध्ये एक, बालकृष्ण खाँड र शंकर भण्डारीमध्ये एक, महालक्ष्मी उपाध्याय डिना र ईश्वरी न्यौपानेमध्ये एक, फरमुल्लाहमन्सुर र अमरेसकुमार सिंहमध्ये एकजना मन्त्री बन्ने सम्भावना छ ।
त्यस्तै भीष्मराज आङ्दम्बे र मीन विश्वकर्मा पनि सभापति देउवाको गुटबाट मन्त्री बन्ने सम्भावना रहेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको सिफारिसमा दुई वा तीन जनालाई मात्रै मन्त्री बनाउने देउवाको तयारी छ। पौडेलको तर्फबाट कमला पन्त र नवीन्द्रराज जोशीको नाम मन्त्री बन्नेहरुको सुचीमा अगाडि छ। त्यसबाहेक डा। शेखर कोइरालालाई पौडेलले सिफारिस नगरे देउवा आफैले मन्त्रिपरिषदमा पठाउने सम्भावना रहेको देउवा निकटका ती नेताले बताए। तर डा. शेखर कोइरालाले आफुले परराष्ट्र पाएमात्र सरकारमा जाने इच्छा देखाएका छन्।
नेता सिटौलाको सिफारिसमा भने गगन थापा र भिमसेनदास प्रधानमध्ये एक तथा तारामान गुरुङ र सुधिरकुमार शिवाकोटीमध्ये एक जना मन्त्री हुने सम्भावना छ। मधेशी मोर्चा सरकारमा सहभागी नभएमा पाउने थप २ मन्त्रालयमा कांग्रेसले थारु, मधेशी वा जनजाति समुदायबाटै मन्त्री बनाउने भएको छ।
