मेगराज खड्का,
रुकुम, मंसिर १ । रुकुमको चुनवाङ राजनीतिक वृत्तमा निकै चर्चित ठाउँ हो। यहीँ बसेको तत्कालिन नेकपा माओबादीको केन्द्रीय समितिको बैठकले लामो समयदेखि जारी सशस्त्र युद्धको अन्य गरेर शान्ति प्रक्रियामा जाने निर्णय गरेको थियो।
शान्ति स्थापना भएको १० वर्षपछि ऐतिहासिक अनी द्वन्द्व प्रभावित रुकुमको यस गाउँमा हालैमात्र गाडी पुगेको छ। दाङको घोराहीबाट छुटेको सिस्ने हिमाल यातायात समितिको ना ३ ख ८७१३ नम्बरको गाडी पहिलो पटक चुनवाङको गैरिगाउँ पुगेको हो। गाउँमा गाडी पुर्याउने सिस्ने हिमाल बस तथा मिनीबस यातायात व्यवसायी समिति सदस्य भुवन भुसाल र गाडी चालक चुडामणि बिकसँगै गाडीलाई पनि स्थानीयहरुले फूलमाला र अविरले स्वागत गरेका थिए। यो सडक खण्ड द्वन्द्वका क्रममा तत्कालिन नेकपा माओवादीले रुकुम रोल्पाका नागरिकलाई जनश्रमदानमा लिएर खनेको सहिद मार्ग हो। जुन सडक खण्ड दाङको घोराही–रोल्पा होलेरी–घर्तिगाउँ हुदै बागमारा भएर रुकुमको चुनवाङसम्म पुगेको थियो। चुनवाङबासीलाई बिगतमा दाङ, नेपालगञ्ज र काठमाडौं जान रुकुम सदरमुकाम खलंगा वा दुई घण्टा हिँडेर रोल्पाको बागमारा जानुपर्ने बाध्यता रहेको थियो। पहिलो पटक गाडी पुगेपछि चुनवाङमा खुशियाली छाएको स्थानीय गोविन्द पुनले जानकारी दिए। उनका अनुसार गाउँसम्मै गाडी सञ्चालनमा आएपछि चुनवाङसँगै वरपरका आधादर्जन गाविसका वासिन्दालाई आवतजावतमा सहज भएको छ। अब रुकुमको पूर्वी गाविसहरु महत, रुकुमकोट, काँडा र मोराबाङ लगायतका स्थानीयहरु चुनवाङबाटै गाडी चढेर दाङ र काठमाडौंसम्म पुग्न सक्छन्। यसले रुकुम सदरमुकामसम्म जाने र बास बस्ने खर्च घटाउने पुनले बताए। राप्ती यातायात समिति, जलजला यातायात समिति र सिस्ने हिमाल यातायात समितिको त्रिपक्षीय सहमति अनुसार चुनवाङसम्म गाडी पुगेको हो भने अब यी तीनवटै समितिको सहकार्यमा नियमित यातायात सञ्चालन हुनेछ। अब दाङको घोराहीबाट रुकुम चुनवाङका लागि र रुकुमको चुनवाङबाट दाङको घोराहीको लागि प्रत्येक दिन बिहान एउटा गाडी छुट्नेछ।
रुकुम, मंसिर १ । रुकुमको चुनवाङ राजनीतिक वृत्तमा निकै चर्चित ठाउँ हो। यहीँ बसेको तत्कालिन नेकपा माओबादीको केन्द्रीय समितिको बैठकले लामो समयदेखि जारी सशस्त्र युद्धको अन्य गरेर शान्ति प्रक्रियामा जाने निर्णय गरेको थियो।
