मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ ३ ।  जिल्लामा पशुपालनतर्फ बाख्रापालनमा कृषकहरूको आकर्षण बढ्दो छ । विगतमा परम्परागत रूपमा बाख्रा पाल्दै आएका किसानहरू पछिल्लो समय व्यावसायिक बाख्रापालन गर्न थालेका हुन् । दातृनिकाय तथा सरकारी कार्यालयबाट समेत अनुदानका कार्यक्रम सञ्चालन गरिएपछि युवा कृषकको यसप्रति आकर्षण देखिएको छ ।

जिल्ला पशु सेवा कार्यालयका अनुसार गत वर्षभन्दा यो वर्ष बाख्रापालक किसान बढेका छन् । जिल्लामा अघिल्लो आर्थिक वर्षमा व्यावसायिक रूपमा ४८ ओटा फार्म सञ्चालनमा थिए । यो वर्ष मात्रै १७ फार्म दर्ता भई ६५ पुगेको वरिष्ठ पशु विकास अधिकृत डा. शरणकुमार पाण्डेले बताए । चालू आवको चौमासिकसम्म फार्म दर्ता गराउन दर्जन बढी कृषकले प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।

कार्यालयले अनुदान वितरणका लागि व्यवसायीले उपलब्ध गराएको सूचना, व्यावसायिक योजना र योग्यताको आधारमा व्यवसायीहरू छनोट गर्दछ । जिल्लामा वार्षिक २० करोडबराबरको खसीबोकाको मासु उत्पादन हुने गरेको पशु चिकित्सक डा. खिमानन्द खनालले बताए । सजिलै विक्री हुने र आम्दानीसमेत खर्चअनुसारको हुने भएकाले बाख्रापालनमा व्यवसायीहरू हौसिएका हुन् ।

कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका बाङ्गेशाल, तिराम, हंशपुर, मर्कावाङ, ओखरकोट, पकला, दाखाक्वाडी, मरन्ठाना, रम्दी, बिजुलीलगायतका क्षेत्रमा व्यावसायिक रूपमा बाख्रापालन गरिएको छ । यी क्षेत्रमा कम्तीमा ४० देखि अधिकतम २ सय ५० ओटा बाख्रा फार्म रहेको कार्यालयको तथ्याङ्क छ । सबैभन्दा धेरै बाङ्गेशाल, तिराम, मर्कावाङ र हंशपुरमा व्यवसायीहरू छन् ।

कार्यालयले बाख्रापालन गर्ने युवा व्यवसायी तथा कृषकलाई हाल ८५ हजार रुपैयाँ अनुदान दिँदै आएको कार्यालय प्रमुख डा. पाण्डेले जानकारी दिए । उनका अनुसार खोर निर्माण तथा व्यवस्थापनका लागि ५० हजार, खोप, सुई, औषधिका लागि २० हजार र बोका खरीदका लागि १५ हजार रुपैयाँ कृषकहरूको व्यावसायिक उन्नतिका लागि अनुदान दिने गरिएको हो ।

Abroad Study
«
Next
»
Previous