मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नवीन अभिलाषी,
दाङ, असार २९ । दाङ हापुरका कुमार भण्डारी अहिले १३ वर्ष पुग्नुभयो । जन्मिदा सामान्य जस्तो देखिए पनि बिस्तारै उहाँलाई अरु भन्दा भिन्नै रुपले हेर्न थालियो । आफूसँगैका बालबालिकाहरु जस्तै बोल्न सक्ने, हिड्न, दौडिन, खेल्न र स्मरण गर्नसक्ने गरी कुमारको मानसिक विकास हुन सकेन ।

सँगैका साथीहरु अहिले ६÷७ कक्षामा पढ्दै गर्दा कुमार अहिले पनि कापीमा गोलो गोलो बनाएरै बस्नुहुन्छ । हुन त उहाँ विद्यालयमा भर्ना भएको धेरै भएको छैन । उहाँको अवस्था अनुसार सामान्य विद्यालयमा भर्ना हुन नसक्ने भएपछि सुस्तमनस्थिति भएका बालबालिकाहरुसँगै उहाँ पनि घोराहीस्थित बालविकास प्राविमा भर्ना हुनुभयो । त्यहाँ बसेर पढ्न थालेको दुई वर्ष पुगेको छ । सामान्य बालबालिकाहरुको जस्तो उहाँको स्मरणशक्ति विकास हुन नसकेपछि सुस्तमनस्थिति भएका बालबालिकाहरुको समूहमा बसेर उहाँले पढ्न थाल्नुभएको हो । यसबीचमा उहाँलाई सामान्य अक्षरहरुको उच्चारण मात्र आउँछ ।

त्यस्तै पर्सेनीकी यमुना भण्डारी पनि सुस्तमनस्थिति हुनुहुन्छ । उहाँले विद्यालयमा आवासिय भएर पढ्न थालेको २ वर्ष भयो । उहाँले पनि सामान्य अक्षरहरुको उच्चारण गर्न सक्नुहुन्छ । यस्तो अप्ठेरोको बाबजुत पनि सामान्य विद्यार्थीहरुले जस्तै पढ्न बाध्य छन् । हो अहिले दाङका सुस्तमनस्थिति भएका बालबालिकाहरुले सामान्य विद्यार्थीहरुले जस्तै पढ्न बाध्य भएका छन् । सुस्ममनस्थिति भएका बालबालिकाहरुलाई पढाउने छुट्टै विधि तथा प्रक्रियाहरु भए पनि दाङमा त्यस्ता बालबालिकाहरुको अध्ययनका लागि व्यवस्था गर्न सकिएको छैन । अहिले घोराहीको प्रावि बालमन्दिरमा बौद्धिक अपाङ्गता भएका ४० जना बालबालिकाहरु रहेका छन् । जसमध्ये २२ जना त्यस्ता बालबालिकाहरु होस्टेलमा बस्दै आएका छन् । दाङका मात्र नभएर छिमेकी जिल्लाहरु रुकुम, प्युठान र रोल्पाका बौद्धिक अपाङ्गता भएका बालबालिकाले प्रावि बालमन्दिरमा पढ्न आएका छन् ।

अहिले ती सुस्तमनस्थिति भएका बालबालिकाहरु दाङमा कति छन् भन्ने तथ्याङ्क अहिलेसम्म कुनै निकायहरुसँग छैन । तर, विभिन्न विद्यालयको सम्पर्कमा आएका विद्यार्थीहरुलाई जिल्लाका तीन स्थानमा राखेर सामान्य विद्यार्थीहरुलाई जस्तै पढाउँदै आइएको छ । घोराही, देउखुरीको सिसहनियाँ र उरहरीको विद्यालयमा राखेर अध्ययन गराइएको छ । तर, उनीहरुले बुझ्ने, उनीहरुलाई सिकाउने विधि र प्रक्रिया अनुसार शिक्षण गर्न समस्या भएको रमिता खड्काले बताउनुभयो । ‘यी विद्यार्थीहरुलाई पढाउने, उनीहरुलाई बुझाउने शिक्षण पद्धति बेग्लै हुन्छ । तर, विद्यालयसँग केहि छैन, स्रोतसाधन नहँुदा अरु विद्यार्थीहरुलाई जस्तै पढाउन बाध्य छौं’, उहाँले भन्नुभयो, ‘बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई अलग्गै कक्षामा राखेर पढाउने गरे पनि उनीहरुका लागि चाहिने शिक्षण सिकाईका सामग्रीको व्यवस्था गर्न सकिएको छैन ।’

सबै बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु एउटै कक्षामा पढ्छन् । उनीहरुको बुझाइको स्तर फरक पर्दै गएको भए पनि उनीहरुका लागि छुट्टै कक्षा र शिक्षकको व्यवस्था गर्न विद्यालयले सकेको छैन । विद्यालयमा ७ वर्षदेखि पढ्दै आएका बालबालिकाहरु पनि छन् भने केहि महिनादेखि पढ्दै आएका बालबालिकाहरु पनि त्यहि कक्षामा छन् । ‘उनीहरुलाई व्यवहारिक रुपमा सिकाउनुपर्छ, जस्तो कि सियोमा धागो हाल्न, काठका टुक्राहरु टिप्न, सामानहरु चिन्न, उनीहरुलाई मनोरञ्जन दिएर खेलाउँदै सिकाउँदै गर्ने पद्धतिको विकास गर्नुपर्छ’, शिक्षिका खड्काले बताउनुभयो, ‘सात वर्षदेखि कापीमा गोलो बनाउनेहरु पनि छन्, उनीहरुलाई अब कसरी सिकाउने ? धेरै समस्या छ । उनीहरुलाई त विशेष व्यवस्था गर्नैपर्छ ।’

त्यस्ता बालबालिकाहरुका लागि होस्टेल पनि उपयुक्त भवनमा रहेको छैन । भवनको माथिल्लो तलामा  होस्टेलको व्यवस्था हँुदा उनीहरुलाई उक्लिन र झर्न समस्या हुने गरेको देखिन्छ । अहिले सम्बन्धित निकायहरुबाट उनीहरुका लागि सहज शिक्षा प्राप्त गर्ने वातावरण नबनाइदा असामान्य अवस्थामा रहेका उनीहरुले सामान्य विद्यार्थीहरुले जस्तै पढ्न बाध्य भएका हुन् । उनीहरुको अध्ययनका लागि छुट्टै शिक्षण सिकाई प्रक्रिया लागु गर्न सकिएको छैन ।

जिल्ला शिक्षा कार्यालयले त्यस्ता बालबालिकाहरुका लागि मासिक २ हजार ५ सय रुपैयाँका दरले उपलब्ध गराउँदै आएको छ । त्यो रकमले ती विद्यार्थीहरुको अध्ययन र विकासका लागि खर्च पु¥याउनुपर्ने बाध्यता रहेको छ । ‘त्यहि २ हजार ५ सयले उनीहरुको खाना, उनीहरुको शिक्षा, उनीहरुलाई बस्ने बास, सरसफाईलगायतका सबै व्यवस्था मिलाउँदामिलाउँदै पुग्दैन’, शिक्षिका मञ्जु पौडेलले बताउनुभयो, ‘यस्ता बालबालिकाहरुको शिक्षाका लागि प्रयाप्त छात्रबृत्तीको व्यवस्थाका साथै शिक्षकलाई तालिमको व्यवस्था पनि हुनुपर्ने हो ।’

दाङमा सुस्त मनस्थिति अभिभावक संघ पनि छ । संघका अध्यक्ष युवराज अधिकारीका अनुसार जिल्लामा १ सय ५० बढी बालबालिकाहरु रहेका छन् । सुस्त मनस्थिति बालबालिकाको विकासका लागि संघ गठन गरिएको हो । तर, काम खासै केहि गर्न नसकेको अधिकारीले बताउनुभयो । सुस्त मनस्थिति भएका बालबालिकाहरुका लागि सरकारले केहि बजेट छुट्याए पनि उनीहरुको सर्वाङ्गीण विकासमा ध्यान दिन नसकेको उहाँको भनाइ रहेको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post