मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

टीका बस्नेत,
दाङ असार २८ । बागमारे गाविस–१ का दीलबहादुर नेपालीको परदेशको पीडा भुलाउने माध्यम तरकारी खेती बनेको छ । धन आर्जन गर्ने अभिलाषा बोकेर मलेसिया प्रवेश गर्नुभएका नेपालीले मलेसियामा भोगेको पीडा स्वदेश फर्केर सुरु गरेको व्यवसायीक तरकारी खेतीले भुलाई दिएको छ ।

धन आर्जन गर्ने सपना पुरा नहुँदा निरास भएर जीवन बिताइरहेको समयमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले आयोजना गरेको व्यवसायीक तरकारी खेती तालिममा सहभागी भई सीकेको सीप र कार्यक्रमबाट प्राप्त बिउबिजन प्रयोग गरी तरकारी खेती सुरु गर्नुभएका नेपाली त्यही तरकारी खेतीबाट ७ जनाको परिवारिक लालनपालन गरिरहनुभएको छ । स्थानीय हापुरे बजारमा लगेर तरकारी बिक्री गर्ने गरेको बताउँदै नेपालीले तरकारी खेतीकै सहायताले प्रवासको पीडा भुल्दै गएको बताउनुभयो ।

दुई लाखको लगानीमा २ सय मिटरको दुरीबाट पानी ल्याई सिचाईको प्रबन्ध मिलाएको बताउँदै नेपालीले भन्नुभयो, ‘तरकारी खेतीबाट ७ जनाको पारिवारिक लालनपालन गर्दै आएको छु । यसैले प्रवासको पीडा भुलाइदिएको छ ।’

त्यस्तै बागमारे–१ कै कृष्ण सारु व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । गाविसका स्थानीयहरुको जीवनस्तर माथि उकास्ने उद्देश्यले नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले गाविसमा आयोजना गरेको व्यवसायीक तरकारी खेती तालिममा सहभागी भएर व्यवसाय सुरु गर्नुभएका सारुले तरकारी खेतीबाटै ४ जनाको पारिवारिक लालनपालन गरेको बताउनुहुन्छ ।

त्यस्तै बाघमारेका बलबहादुर ओलीले यसवर्ष मध्य असारमै धान रोपाई सक्नुभयो । अघिल्ला वर्षहरुमा सिचाईको अभावमा खेती गर्न समस्या व्यहोर्दै आउनुभएका ओलीले नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमअन्तर्गत अगरनेटा सिचाई आयोजना सम्पन्न भएपछि मध्य असारमै खेती सम्पन्न गरेको बताउनुभयो । सिचाई आयोजनाका अध्यक्ष समेत रहनुभएका ओलीले नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले निर्माण गरिदिएको सिचाई आयोजनाबाट १४ बिगाहा जमिनमा सिचाई हुने भन्दै यसले स्थानीयहरुलाई खेतीपातीका साथै व्यवसायीक तरकारी खेती गर्न सजिलो भएको बताउनुभयो ।

त्यस्तै सहज तरीकाले पिउने पानी उपलब्ध भएपछि गाविसको वडानम्वर–६ पोखरीका स्थानीयहरुमा हर्षको सीमा नै छैन । पिउने पानीको अत्यन्तै समस्या बेहोरिरहेका पोखरीका स्थानीयहरु नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले यसैवर्ष छर्छरे खानेपानी योजनाको इन्टेक निर्माण गरिदिएपछि उनीहरुले सहज रुपमा सफा पानी पिउन पाएका छन् । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमकै कारणले आफूहरुलाई पिउने पानी सहज भएकोमा हर्षित हुँदै स्थानीय डम्बर बुढाले भन्नुभयो, ‘सफा पिउनेपानीका लागि असाध्यै समस्या थियो गाउँमा इन्टेक निर्माण भएपछि सफा पिउने ेपानीका लागि सहज भएको छ ।’ बुढामात्रै होइन पोखरीका अधिकांश स्थानीयबाट एउटै साझा आवाज निस्कन्छ, ‘गाउँमा इन्टेक निर्माण भएपछि हामीलाई सजिलैे पिउने पानी उपलब्ध भएको छ । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमलाई धन्यवाद दिन्छौं ।’

बागमारेका दीलबहादुर, कृष्ण, बलबहादुर र डम्वर प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । बागमारेमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम सुरु भएसँगै गाविसका सैयौं स्थानीयहरु लाभान्वित भएका छन् । सरकारबाट प्राप्त हुने ५० लाख बराबरको नियमित बजेट विकास निर्माणमै खर्चने हुँदा चाहे अनुसार सीपमुलक र व्यवसायीक तालिम सञ्चालन नहुँदा जीवनस्तर माथि उकास्न नसकिरहेका गाविसबासीहरुका लागि नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम बरदान सावित भएको छ । जलवायु अनुकुलन गर्नुका साथै स्थानीयहरुलाई व्यवसायीकतातर्फ लाग्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सुरु भएपछि स्थानीयहरु हर्षित भएका मात्रै छैनन्–आफ्नो दैनिकीलाई थप सहज बनाउँदै लगेका छन् ।

नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले बागमारे गाविसमा १ करोड बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गरेको थियो । युरोपियन युनियन, युके एड र युएनडिपिको सहयोगमा कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले गाविसमा कृषि र पशुपालन, वन तथा जैविक विविधता, वैकल्पिक उर्जा प्रवद्र्धन, जलवायु परिवर्तन तथा अनुकुलन , मानविय स्रोत क्षमता विकास तथा जीविकोपार्जन र मानव स्वास्थ्य गरी ६ किसिमका कार्यक्रम सञ्चालन गरेको सामाजिक परिचालक सुशीला वलीले बताउनुभयो । उहाँले कार्यक्रमअन्तर्गत गाविसका ९ वटै वडामा सीपमुलक, विकास निर्माण, जलवायु अनुकलनका लागि कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

गाविसवासीहरुलाई बिउ भण्डारण, बाली चक्रिय प्रणाली, मौरीपालन, भिरालो जग्गामा खेती प्रविधि, गह्रा सुधार, थोपा सिचाई, सिचाई कुलो, जुठेल्नाको पानी संकलन, आकाशे पानी ट्यांकीमा संकलन कार्यक्रम सञ्चालन गरेको भन्दै सामुदायिक परिचालक वलीले बेमौसमी तरकारी खेती, जैविक तथा प्रांगारिक मल, व्यवसायीक तरकारी खेती, घरबारी बगैचा र कृषि बालीमा लाग्ने रोग नियन्त्रण सम्बन्धि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले वन तथा जैविक विविधता कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता महासंघ र मानव कल्याणलगायतका संघसंस्थाहरुको सहकार्यमा  जलवायु परिवर्तन अनुकुलन कार्यक्रम सञ्चालन गरेको वलीले जानकारी दिनुभयो । त्यस्तै गाविसका महिलाहरुलाई साक्षर बनाउनुका साथै सचेतनाका लागि होर्डिङ वोर्ड राख्ने, पोष्टर टाँस्ने र भित्ते लेखनलगायतका कार्यक्रमहरु सञ्चालन गरेको वलीको भनाइ छ ।

विश्वमा तापमान बृद्धिसँगै विकशीत मुलुकहरुले उत्सर्जन गरेको कार्वन मोनोअक्साइडलगायत विभिन्न हानीकारक ग्यासको सन्तुलन गर्दै जैविक वातावरण सन्तुलनका लागि गाविसमा कार्यक्रम सञ्चालन गरेको भन्दै सामाजिक परिचालन वलीले कार्यक्रमबाट गाविसबासीहरु अत्यन्तै लाभान्वित भएको दावी गर्नुभयो । बागमारे गाविसका लागि १ करोडको वजेट विनियोजन गरिएको भए तापनि ५२ लाख ३१ हजार बराबरको लागतमा कार्यक्रम सञ्चालन गरेको वलीले बताउनुभयो ।

दाङका गोवर्डिहा, गोल्टाकुरी, गंगापरस्पुर, बेला, राजपुर, हाँसिपुर, ढिकपुर र बाघमारे गाविसमा लागु गरिएको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमअन्तर्गत दाङका लागि ८ करोड २८ लाख २५ हजार बिनियोजन गरिएको जिल्ला संयोजक राम थापाले बताउनुभयो । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दाङमा अत्यन्तै प्रभावकारी भएको भए तापनि यस वर्ष ४ करोड २५ लाख मात्रै खर्च भएको जिल्ला संयोजक थापाको भनाइ छ ।  जलवायु अनुकुलन सहयोग कार्यक्रम जैविक विविधताको संरक्षण तथा विकाश निर्माणका लागि फलदायी भएको गाविस सचिव शिवराज केसीले बताउनुभयो ।  

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post