मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

टीका बस्नेत,
‘कैलाश रोका मगर’ यो नामको पछाडि सपनाको यायावर जोड्दा अन्यथा हुँदैन । आफ्नो भूमिमा क्रिकेटका फसल उमार्ने सपना बोकी ३ दशकदेखि निरन्तर कैलास क्रिकेटकै लागि दौडिरहेका छन् । दाङको क्रिकेटको विकासका लागि सिंगो बैंस रित्याएका उनी पछिल्लो पुस्ताका लागि अपरिचित जस्तै छन् ।

आज भन्दा उनन्तिस वर्षअघि बाउसँगै दाङ भित्रिएका कैलास उसै दिनदेखि आजसम्म उही सपनाको फेरो समाएर दौडिरहेका छन् । क्रिकेटको उर्वरभूमि भारतको देहरादुनमा संगालेको ‘क्रिकेट सपना’ कै आधारले उनलाई टिकाएको छ–दाङको भूमिमा ।
नौवर्षे बालापनमा छोपेको व्याड–बलकै साहाराले कैलासले देहरादुनको ए.आर.भी. इनटरकलेजलाई देहरादुनमा चिनाउने मात्र गरेनन्, आफ्नो पौरखले देहरादुनको प्रतिनिधित्व गर्दै प्रान्त स्तरसम्मका १ दर्जन बढी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे ।
नेपाली पात्रो अनुसार २०२८ साल मंसिर १६ गते भारतको देहरादुनमा गणेशप्रसाद रोकामगर र स्व. कर्मसरा रोका मगरका पाँचौं सन्तानका रुपमा जन्मिएका कैलास भच्र्यौल दुनियामा अपरिचित पात्र मानिन्छन् र त उनको नाम सर्च गर्दा सर्च गर्दा गुगल डट कम डट एन पीले कैलास पर्वतका दृश्यबाहेक अर्थोक पहिल्याउँदैन ।

‘सर हामको क्रिकेटका सामान दिजिए’, फुटबल, भलिबल खेल्दै गरेका विद्यार्थीको हुलबाट निस्किएर एउटा ख्याउटे केटोले बोलेको आवाजले गम्भीर बनेका पद्मोदय पव्लीक विद्यालय भरतपुरका प्रधानाध्यापक गोविन्द न्यौपानेले भोलिपल्टै एकसेट क्रिकेटका सामग्री ल्याइदिए । त्यही सामग्रीले भरपुरमा क्रिकेटको बिजारोपण गरेका कैलास देहरादुनदेखिकै क्रिकेटका सहयात्री भाइ अशोक रोका मगर र पदम पुनसँगै दाङमा ‘क्रिकेट क्यारिएर’ सुरु गरेका थिए । यो २०४४ सालको प्रसंग हो ।

घोराहीस्थित गणतन्त्र दैनिकको समाचार कक्षमा गफिदै गर्दा उनले अञ्जुम सिद्धिकी, राजेन्द्र श्रेष्ठ, नारायण गुरुङलाई धेरै पटक सम्झिए । ‘यहाँहरुकै कारण दाङमा क्रिकेट खेल्न सुरु भएको थियो । मेरा भाइहरु अशोक रोका मगर, पदम पुन र मैले उहाँहरुले सुरु गरेको क्रिकेटलाई निरन्तरता दिएका हौं ।’


कैलासले सुनाए, ‘अञ्जुम सिद्धिकीको कप्तानीमा २०४३ सालमा दाङले पहिलोपल्ट राष्ट्रिय क्रिकेट प्रतियोगितामा डेभ्यू गरेको थियो । आदरणीय दाइहरु राजेन्द्र श्रेष्ठ, नारायण गुरुङ, मिन गिरीहरुले राप्ती अञ्चलको प्रतिनिधित्व गर्दै सगरमाथा अञ्चलसँग भिड्नुभएको थियो । लज्जास्पद हारपछि दाङलाई राष्ट्रिय प्रतियोगीतामा ब्याण्ड गरिएको थियो ।’


धनगढीबाट खोसिएको साख उही धनगढीबाटै दाङले फिर्ता ल्याएको थियो–यसैका कारण दाङमा कैलाशको उचाई एकाएक चुलिएको थियो । यहाँनेर रमाइलो प्रसंग छ । २०५१ सालमा धनगढीमा राष्ट्रिय क्रिकेट प्रतिगोगिता हुँदैछ भन्ने सुनेर कैलासले आफ्नै भाइ अशोक रोका मगरको कप्नानीमा दाङको टिम बनाएछन् । टिम नै दर्ता नगरी १६ जनाको टिम बोकी कैलास धनगढी हानिएछन् । टाइसिट तानिसकेको अवस्थामा रंगशाला पुगेको दाङको टिमलाई ४३ सालको खेलकै कारण देखाई क्यानले सहभागी बनाउन नचाहेपछि प्रतियोगीतामा सहभागीताका लागि कैलासले निकै संघर्ष गरेछन् र त क्यानका तत्कालिन अध्यक्ष जयकुमार नाथ शाहले प्रतियोगीतामा सहभागी बनाएका रहेछन् ।

आफूलाई क्रिकेटको ठूलै शक्ति दाबी गर्दै आएको बिरगञ्जलाई हराएर दाङको साख बचाउने ठूलै चुनौति थियो–कैलाशसँग । सिंगै टिम कैलाशमै निर्भर थियो । खेलमा बिरगञ्जका बिरुद्ध कैलासले ३ विकेट लिएका थिए । ‘हामीले खेलमा हारेर पनि जितेका थियौं’, कैलासले भने, ‘बिरगञ्जजस्तो शक्तिशाली टिमसँग हामीले जम्मा ३० रनले मात्र पराजय भोगेका थियौं । खेलको समाप्तीपछि क्यानका अध्यक्ष जयकुमार नाथ शाहले हाम्रो खेलको प्रसंशा गर्दै आगामी दिनमा दाङलाई प्रतियोगितामा सहभागी गराउने बताउनुभएको थियो ।’

पुरानो प्रसंग सम्झदै कैलासले थपे, ‘२०४३ देखि २०५१ सालसम्मको ८ वर्ष निकै मिहिनेत ग¥यौं । हामीलाई अग्रज दाइहरुले निकै सहयोग गर्नुभएको थियो । दाइहरुको सपनामा हामीले मिहिनेत मात्र गरेका हौं । जुन मिहिनेतले ५१ सालमा सार्थकता पाएको थियो ।’

धनगढी रंगशालामा जमेको वलिङकै कारण एकाएक चम्किएका कैलास एउटा क्षेत्रीय र ६ वटा राष्ट्रिय प्रतिगोगीतामा सहभागी भए । शारिरीक अस्वस्थताकै कारण कैलासको अन्तर्राष्ट्रिय प्रतिगोगीतामा सहभागी हुने सपना पुरा हुन सकेन । दुवईमा हुने अन्तर्राष्ट्रिय प्रतियोगीताको बन्द प्रशिक्षणमा छनौट भएका कैलास बिरामी भएकाले सहभागी हुन सकेनन् ।

‘क्रिकेटमा नआएको भए म दाइहरुजस्तै लाहुने हुने थिएँ’, कैलास भन्छन्, ‘क्रिकेटकै कारण सबैतिर चिनिने भएको छु । दाङको नाम राष्ट्रियस्तरमै चिनिएको छ ।’ कैलासको खेल जीवनमा थुप्रै रमाइला पलहरु छन् । आधा दर्जन प्रतियोगीतामा दाङलाई विजय गराएका कैलासका लागि भैरहवा रंगशालामा २०५७ सालमा भएको राष्ट्रिय प्रतिगोगीता अविस्मरणीय रहेको छ । उनी भन्छन्, ‘२०५७ सालमा भैरहवा रंगशालामा कपिलबस्तुसँग भएको खेलमा नेपाली राष्ट्रिय टीमका कप्तान राजु खड्कासहित ४ जना राष्ट्रिय खेलाडीको विकेट मैले लिएको थिएँ ।’

आफू अन्तर्राष्ट्रिय प्रतियोगीता खेल्न नपाए पनि दाङका ७ जना खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागीता जनाएकोमा कैलासको मन प्रसन्न छ । यु १९ विश्वकपमा दाङका मनोज बैश्व, अनिल गुप्ता, चन्द्रकुमार पाण्डे चुन्नु, सनम श्रेष्ठ, अनुप न्यौपाने, राजवीर सिंह र यु १६ विश्वकपमा सुशान्तसिंह थापा सहभागी मात्र भएनन्, उत्कृष्ट खेलसमेत प्रदर्शन गरेका थिए ।

कुनै समय राष्ट्रिय प्रतियोगीतामा ब्याण्ड गरिएको दाङले तीन दशकको अवधीमा अभूतपूर्व प्रगति हासिल गरेको छ । हत्तपत्त नेतृत्व सम्हाल्न तयार नहुने स्वभावकै कारण कैलास नेतृत्वमा पुग्न सकेनन् । क्याड दाङको सह–सचिव भन्दा अगाडि उक्लिन सकेनन्–जसको कारण खुलाउन चाहदैनन्–कैलास । कार्यकारी नेतृत्वमा नपुगेका कैलास क्षेत्रनम्वर ५ को क्षेत्रीय सदस्य तथा छनोट समितिको उप–संयोजक भएर ५ वर्ष काम गरे । त्यस्तै क्षेत्रनम्वर ४ को सदस्य तथा छनौट समितिको सदस्यसमेत भएर ३ वर्ष काम गरे ।

दाङको क्रिकेटलाई यहाँसम्म ल्याएको जस अरुजस्तो एक्लैले लिन चाहदैनन् कैलास । उनी नारायणसिंह गुरुङ, गौरीशंकर श्रेष्ठ, बालकृष्ण शाह, मिन गिरी र राजेन्द्र श्रेष्ठलगायतका अग्रजहरुलाई बारम्बार सम्झन्छन् । त्यस्तै आफ्ना समकालिन अशोक रोकाहरु मात्र होइन देवेन्द्र सिंह ठकुरी, राजिव शिल्पाकार, मिनेश श्रेष्ठ, सुवर्ण बस्नेत र प्रदिप मजगैया र सञ्जु केसी (पुरन) प्रति सधैँ आभारी छन् । जसले विभिन्न चरणमा क्रिकेटलाई उचाइमा पुर्याउने कार्य गरिरहे ।

कैलासको निजी जीवन त्यत्तिकै रोचकपूर्ण छ । बाउले जीवनमा जम्माजम्मी चार थान श्रीमती बिहे गरे । जसबाट सिंगो क्रिकेट टिमलाई पुग्ने जति १० भाइ छोराहरु जन्माए । क्रिकेटको मोहले घर छाड्न नसकेका कैलास २०५५ सालमा बाउले खोजिदिएकी भैरहवाकी अञ्जुसँग बैबाहिक जीवन सुरु गरे । १८ वर्षे पिरियडमा मञ्जु र कैलासका ३ छोरा जन्मिएका छन् । घोराहीको गोरखा बोर्डिङमा अध्यापनरत मञ्जु श्रीमानलाई खेल क्षेत्रमा लाग्न सधैँ हौस्याइरहिन् ।

जीवनका अधिकांश समय बिन्दास मुडमा गुजारेका कैलासका भन्न नहुने केही पक्ष पनि छन् । कुनै–कुनै साँझ साथीहरुसँग हुस्कीको तालमा साथीहरुसँग गफिदै गरेका भेटिन्छन्–कैलास ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post