मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, बैशाख १ । सल्यानमा बनेका ग्रामीण सडकको अवस्था दैनिक रूपमा जीर्ण हुँदै गएको छ । केही वर्ष अघि ट्र्याक खोलिएका ती सडकको स्तरोन्नति नहुँदा दिन प्रतिदिन बिग्रिँदै गएको हो । सदरमुकाम र ग्रामीण क्षेत्र जोडिएका ती सडकमा वर्षा याममा हिलैहिलो हुने हिउँदमा धुलाम्यै हुँदा सर्वसाधारणलाई सास्ती हुने गरेको छ ।

सदरमुकामदेखि सल्लीबजार, रामपुर, लेखपोखरा, झिम्पे, स्यानीखाल, दमाचौर, बडागाउँ, कालागाउँलगायतका स्थानसम्म सडक सञ्जाल जोडिएको छ । यी सडकमा सरकारी निकायबाट ट्र्याक खोल्ने कामबाहेक अरू केही नभएको स्थानीयले बताए ।

विकासको नाममा सडकको ट्र्याक खोले पनि मर्मत र स्तरोन्नतिका लागि कुनै काम नभएको स्थानीयको दुखेसो छ । राजनीतिक भागबन्डा र स्वार्थपूर्तिका लागि काम हुने हुँदा भएका काम पनि गुणस्तरयुक्त नभएको उनीहरूको आरोप छ ।

अदुवा, सुन्तला, कागती, तोरी, बदाम आदि नगदे बालीका लागि प्रचुर सम्भावना रहेको यस जिल्लामा निर्माण गरिएका कृषि सडक बेवारिसे हुन थालेका छन् । प्रायः ग्रामीण सडकमा पुल नबन्दा स्थानीयले वर्षा याममा सास्ती खेप्नु परिरहेको छ भने निर्माण कार्य थालिएका पुल पनि छिटो नबन्दा स्थानीयले कष्ट पाइरहेका छन् ।

पुल निर्माण नहुदाँ सो सडकमा वर्षा यामको समयमा गाडी गुड्दैनन् । सो सडकमा ८ महिना मात्रै यातायात सञ्चालन हुने गर्छ । बाढी आएको समयमा बाढीले ढुंगा बगाउने तथा घर बनाउनका लागि सो खोलाबाट बालुवा तथा ढुंगा निकाल्नले जोखिम मोल्दै यातायातका साधनहरू खोलाबाटै गुड्ने गरेको कुमाख मालिका गाउँपालिका–३ का सञ्जिव शर्माले बताए । ‘स्थानीयको विवादका कारण सडक बनाउन जमिन नभएपछि खोलामा बाटो बनाउनुपरेको छ,’ उनले भने ।

सो ठाँउमा दैनिक रूपमा बसलगायत एम्बुलेन्स, मोटरसाइकल, ट्याक्टर आदि सवारीसाधन चल्ने गर्दछन् । खोला सडकजस्तै देखिन थालेको छ । गोलकपुर खोला र जिमाली खोलामा संगम त्रिवेणी र स्यानीपिपलमा पुलको आवश्यकता भएको स्थानीयको भनाइ छ ।

सडक सुधारोन्मुख भए पनि झन्डै चार किलोमिटर खोलामा सडक भएकाले बाह्रै महिना गाडी सञ्चालन गर्न नसकिएको अर्का स्थानीय लोकेन्द्र थापाले बताए । सुरुमा जमिनको विवादका कारण सडक निमार्णमा समस्या भए पनि अहिले जग्गाको विवाद अन्त्य भएको थारमारे चोरपानी वडागाउँ, चियापानी रागेचौर हुँदै स्यानीपिपल सडक उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर रानाले बताए । ‘स्थानीयलाई सडकको आवश्यकता र महत्व बोध भएकाले १ सय ८ घरले सडकको नाममा जग्गा दान गरिसकेको र मुआब्जा पनि पाइसकेका छन्,’ उनले भने । यसैबीच त्रिवेणी खोलामा पुल निमार्णका लागि सडक विभागले सर्भेको काम सम्पन्न गरेको जनाएको छ ।
राजधानीबाट

Abroad Study
«
Next
»
Previous