मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ १२ । चालु आर्थिक वर्षको नौ महिनामा दुई हजार क्विन्टल जडिबुटी रुकुमबाट जिल्ला बाहिर निकासी भएको छ । साउनदेखि वैशाखसम्ममा सो परिमाणको विभिन्न प्रजातिका जडीबुटी जिल्ला बाहिर निकासी भएको हो । जिल्ला वन अधिकृत जगन्नाथप्रसाद जयसवालका अनुसार गत वर्ष जिल्लाबाट तीन हजार ४२८ क्विन्टल जडीबुटी निकासी भएको थियो ।

कार्यालयका अनुसार जिल्लाबाट पाखनबेद, जटामसी, पदमचाल्लो, यार्सागुम्बा, टिम्मुर, अमला, पावनको बोक्रा, धुपीसल्लाको पातलगायत जडीबुटी निकासी भएको छ । जडिबुटी निकासीबाट रु २० लाख ५५ हजार राजस्व सङ्कलन जयसवालले बताउनुभयो । जडीबुटी निकासीबाट रु तीन करोडभन्दा बढी रकम भित्रिएको छ ।

जडीबुटी उत्पादनका लागि कार्यालयले जिल्लाका विभिन्न ठाउँमा पकेटक्षेत्र घोषणा गरी किसानलाई अनुदान समेत प्रदान गर्दै आएको छ । टिम्मुरखेती, रोजमेरी, पदमचाल्लो, धूपीलगायत जडिबुटी उत्पादनका लागि अनुदान उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

दाङ, जेठ ११ । जिल्लामा एक वर्षको अवधिमा ८ लाख ९२ हजार ५ सय ३१ किलो सल्लाको खोटो विक्री भएको छ । खोटो विक्रीबाट प्यूठानका वन समूहहरूले ८० लाख ४० हजार ९ सय २२ रुपैयाँ आम्दानी गरेको जिल्ला वन कार्यालयले जानकारी दिएको हो ।

जिल्लाका विभिन्न सय वन समूहले आफ्नो वनबाट खोटो विक्री गर्ने गरेका छन् । प्रतिकिलो औसतमा ९ देखि १० रुपैयाँसम्ममा खोटो विक्री हुने गरेको छ । सो रकम उनीहरूले विद्यालय सञ्चालन, बाटो निर्माण तथा सामुदायिक कार्यका लागि खर्च गर्दै आएका छन् । खोटो विक्रीबाट राम्रो आम्दानी हुने भएपछि यस क्षेत्रमा वन समूह तथा उपभोक्ताको समेत आकर्षण बढेको वन कार्यालयका प्रमुख प्रविण बिडारीले बताए ।

‘खोटो सङ्कलनमा वैज्ञानिक ढङ्ग अपनाउनुपर्ने देखिन्छ,’ उनले भने । जिल्लामा खोटो सङ्कलनमा संलग्न कामदारलाई खोटो निकाल्ने उचित ज्ञान नहुँदा एउटै रुखमा धेरै ठाउँबाट खोटो सङ्कलन गर्ने र उमेर नपुगेका सल्लाका रुखबाट पनि खोटो निकाल्नेजस्ता कार्य हुने गरेका छन् । ‘खोटो सङ्कलनमा ध्यान नदिँदा विभिन्न समस्या आउन सक्छ,’ कार्यालयका रेञ्जर हरि पौडेलले भने, ‘समस्या समाधानका लागि खोटो सङ्कलक श्रमिक र उपभोक्ता समूहहरूलाई प्रशिक्षणसमेत दिएका छौं ।’

जिल्लामा सङ्कलन भएको खोटो कच्चा पदार्थको रूपमै नेपालगञ्ज हुँदै भारतसम्म लैजाने गरिएको छ । ‘खोटोबाट नेपालमा हालसम्म केही पनि बनाइँदैन,’ पौडेलले भने, ‘ खोटोलाई कच्चा पदार्थको रूपमै भारत निकासी गरिन्छ ।’ भारत निकासी भएको खोटोको प्रयोग कस्मेटिक सामग्रीहरू निर्माणमा हुने गरेको कार्यालयले जानकारी दिएको छ । यसका अतिरिक्त खोटोलाई तारपिन तेल र रेजिन तेलको रूपमा पनि प्रयोग गर्ने गरिन्छ ।

प्यूठानमा हाल गणपति रोजिन एण्ड टप्रेन टाइन, खनाल रोजिन एण्ड टप्रेन टाइन, दीपमाला रोजिन एण्ड टप्रेन टाइन, बुढाथोकी रोजिन एण्ड टप्रेन टाइन र माउण्ट रोजिन एण्ड टप्रेन टाइन कम्पनीले खोटो सङ्कलन गर्दै आएका छन् । तर, नियमविपरीत भएका खोटो सङ्कलन भने रोक्नुपर्ने देखिएको छ ।
                                                                                                                   शमशेर विक्रम जिसी/अभियान
दाङ, जेठ ९ । ५ करोड रुपैयाँ लगानीमा दाङको घोराहीमा होटल म्याजेष्टिक सोमबारदेखि सञ्चालनमा आएको छ । होटलको औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको हो ।

व्यवसायी वीर क्षेत्रीले सञ्चालनमा ल्याउनुभएको होटलको उहाँकी आमा फुलमनी देवि क्षेत्रीले पूजाआजा गरी उद्घाटन गर्नुभएको थियो । होटल उद्घाटन कार्यक्रममा उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रमुख एंव प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सञ्चालक क्षेत्रीका अनुसार सुरुमा १२ ओटा गेष्ट रूमसहित होटल सञ्चालनमा आएको छ । केही समयभित्र कुल ३२ रूम हुने क्षेत्रीले जानकारी दिनुभयो ।

होटलका लागि आवश्यक पर्ने अन्य भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । भवन निर्माणका लागि थप लगानी आवश्यक भएको क्षेत्रीले बताउनु भयो । होटलको सम्पूर्ण भौतिक पूर्वाधार निर्माणसहित अन्य संरचना तयार गर्न कुल १० करोड रुपैयाँ लगानी हुने उहाँले बताउनु भयो । आगामी ६ महिनाभित्र होटलको सम्पूर्ण भौतिक संरचना तयार भइसक्ने उहाँको भनाइ छ । तयार भएको आधा भौतिक संरचनाबाटै तत्काल होटल सञ्चालन गरिएको क्षेत्रीले बताउनुभयो । होटलमा १५ जनाले रोजगारी पाएको उहाँले जानकारी दिनुभयो ।

होटलले पर्यटकका लागि दुईओटा गाडीसमेत खरिद गरिसकेको छ । होटलमा विशेष गरेर नेपाली, चाइनिज, इण्डियन र साउथ इण्डियन खाना र लजको व्यवस्था रहेको छ । होटलमा दुई–दुई सय जना अट्ने दुई ओटा सेमिनार हलसमेत रहेका छन् । होटलको सुरक्षाका लागि चारैतर्फ सीसी क्यामरा जडान गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष खड्ग बुढाथोकीले दाङमा पछिल्लो समय ठूला होटलमा लगानी बढिरहेको बताउनुभयो । 
दाङ, जेठ ८ ।  बालीघरे प्रथा छाडेर यहाँका वादी समुदायका युवाहरूले सामूहिक मादल उद्योग सञ्चालन गरेका छन् । बालीघरे प्रथाबाट जीविकोपार्जन गर्न समस्या भएपछि वादी युवाहरू मिलेर त्रिवेणी गाउँपालिका–२, सिम्रुतु बजारमा आधुनिक मादल उद्योग सञ्चालन गरेका हुन् ।

त्रिवेणी वादी मादल उद्योगमार्फत आधुनिक प्रविधिबाट मादल उत्पादन गर्न थालेपछि उनीहरूको आर्थिक स्थितिमा सुधार हुँदै गएको छ । सात जना वादी समुदायका युवा मिलेर मादल उद्योग सञ्चालनमा ल्याएको सञ्चालक बुद्धिमान वादीले बताए । उनले उद्योगबाट दैनिक पाँचओटासम्म मादल उत्पादन हुने बताए ।

व्यक्तिगत रूपमा मादल उत्पादन गर्दा वादीहरूले ज्यालाबापत अन्न लिनुपर्थ्यो, अहिले व्यावसायिक मादल उद्योग सञ्चालन गर्दा नगद कारोबार हुने गरेकाले फाइदा भएको अर्का सञ्चालक गोपाल वादीले बताए । उनीहरूले उत्पादन गरेका मादल दाङ, नेपालगञ्ज तथा काठमाडौंसम्म पुग्ने गरेको सञ्चालकले बताए । स्थानीय बजारमा पनि मादलको माग बढ्दै गएको उनको भनाइ छ ।

 विभिन्न स्थानबाट छाला र काठ खरीद गरी मादल बनाउने गरेको व्यवसायी  बुद्धिमान वादीले बताए । ‘बजारको समस्या नभएकाले उद्योग फस्टाउन थालेको छ,’ उनले भने, ‘जिल्लाका विभिन्न स्थानका साथै जिल्लाबाहिरका शहरहरूमा हाम्रा उत्पादनको बजार बढ्दै गएको छ ।’ उद्योगलाई रूपान्तरण नेपाल र रुकुमेली समाज विकास केन्द्रले आर्थिक सहयोग गरेका छन् । वादीहरूले उद्योगकै रूपमा दर्ता गरी व्यवसाय सञ्चालन गरेका छन् ।

‘पहिलेपहिले बाली प्रथामा काम गर्दा जीविकोपार्जनमा समस्या हुन्थ्यो,’ गोपाल वादीले भने, ‘अहिले प्रतिपरिवार मासिक २० हजार रुपैयाँसम्म कमाइ हुने गरेको छ ।’ उद्योगमा सातै जनाले मादल बनाउने काम गर्छन् । ‘केही समयपछि सुल्पा र माटाका अन्य भाँडाकुँडाको उत्पादन पनि गर्न थाल्ने योजनामा छौं,’ गोपालले भने, ‘कमाइ राम्रो हुन थालेपछि बचतसमेत शुरू गरेका छौं ।’ पुर्खाहरूले गर्दै आएको परम्परालाई आधुनिकीकरण गरेकाले फाइदा पनि राम्रो हुने गरेको सञ्चालकहरूले बताए । उनीहरूले सरकारी स्तरबाट सहयोग भए पछिल्लो समयमा लोप हुन थालेको आरन व्यवसाय  पनि सञ्चालन गर्ने योजना रहेको बताए ।

बजारमा मादलको मागसँगै मूल्य पनि राम्रो पाएको सञ्चालकको भनाइ छ । रुकुमको बजारमा एउटा मादलको मूल्य १ हजार ५ सयभन्दा माथि पर्ने सञ्चालक बुद्धिमान वादीले बताए । उनले खलो प्रथाभन्दा यो व्यवसायमा बढी आम्दानी र सम्मान पाइने बताए ।
                                                                                                                                 प्रवीर ददेल/अभियान
दाङ जेठ ८ ।
ग्रामिण भेगका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले मुढा बुनाई तालिमको शुरुवात गरिएको छ । रुकुमेली समाज विकास केन्द्रद्धारा सञ्चालित गरिवि निवारणका लागि लघु उद्यम कार्यक्रम मार्फत रुकुम चौरजहारी नगरपालिका १४ नुवाकोटका महिलाहरुलाई तालिम प्रदान गरिएको छ ।

गाउँका महिलाहरुलाई आत्मनिर्भर बनाउन र प्रशस्त मात्रामा पाईने बाँसको सही सदुपयोग गर्न उक्त तालिमको शुरुवात गरिएको हो । गाउँका महिलाहरुलाई लघुउद्यममा आकर्षित गर्न र आत्मनिर्भर बनाउन उक्त तालिम प्रदान गरिएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक भिमबहादुर केसीले बताउनुभयो । गरिबि निबारणका लागि लघु उद्यम कार्यक्रम मार्फत गाउँका १५ जना महिलाहरुलाई सो तालिम दिईएको छ ।

लघु उद्यम कार्यक्रम अन्तरगत सस्थाले जिल्लाका विभिन्न स्थानहरुमा सिलाईकटाई, मुढा बुनाई, मोवाईल तालिम, फर्निचर तालिम जस्ता विभिन्न सीपमुलक तालिमहरु प्रदान गर्दै आएको छ । दुई महिना सम्म सञ्चालन हुने उक्त तालिमले फुर्सदमा रहेका महिलाहरुलाई स्वरोजगारमा जोड्ने रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले बताउनुभयो । शुरुमा आत्मनिर्भरका लागि प्रदान गरिएको तालिम भएता पनि पछि सीप विकास भई व्यवसायिक रुपमा लगाउने अध्यक्ष नेपालीले बताउनुयभो ।

यसै वर्षभित्र जिल्लाका करिब ३ सय ५० जनालाई विभिन्न सीपमुलक तालिमहरु प्रदान गर्ने सस्थाको लक्ष्य भएको अध्यक्ष नरबहादुर नेपालीले बताउनुभयो । 
दाङ, जेठ ६/ 'कुनै समयमा अरुको घरमा कमैया बस्दै आएका यहाँका किसान बेमौसमी तरकारीखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। आफ्नो खेतबारीमा अहिले लटरम्म काँक्रा, बोडी, करेलालगायतका तरकारी फलेका छन्, तुलसीपुर उपमहानगरपालिका उत्तरकपडादेवीका ५० वर्षीय गोकुल चौधरीले भन्नुभयो- “तरकारी खेतीको आम्दानीबाट नै आठजना परिवारको जिविकोपार्जन राम्ररी चलेको छ, सबै खर्च कटाएर यसैको आम्दानीबाट मासिक रु २० हजारसम्म बचत हुने गरेको छ।'

खेतबारीमा फलेका तरकारी उनले तुलसीपुर बजारमा ल्याएर बेच्ने गरेका छन्। काँक्रा, बोडी, करेलालगायतका बेमौसमी तरकारीे फलाएर उनले सबै खर्च कटाई मासिक रु। २० हजार आम्दानी गर्ने गरेको बताउँछन्।
पहिला पहिला अरुको खेतवारीमा ज्याला मजदूरी गरे जसोतसो जिवन निर्वाह गर्दै आएका चौधरीले अहिले आफ्नै खेतवारीमा बेमौसमी तरकारी खेतीगरेर मनग्य आम्दानी गर्न सफल भएका हुन्।

'उहाँले दैनिक रु एक हजारदेखि एक हजार पाँचसय सम्मको बेमौसमी तरकारी बेच्ने गरेको बताउनुहुन्छ। 'आफनो व्यवसायबाट म पूर्णरुमा सन्तुष्ट छु, आजभोलि कुनै साहुको घरमा ऋण लिन जानुपदैन, शिक्षा, स्वास्थ्य, घरायसी खर्च यसैबाट चलेको छ, उहाँले भन्नुभयो। ‘सबै खर्च कटाएर गत वर्ष बचेको रकमले जग्गा किनेको छु, यस वर्ष पनि करिब रु तीन लाख रकम बचत गर्ने लक्ष्य छ, उहाँले भन्नुभयो' ।

त्यस्तै सोही ठाउँ वस्ने ४४ वर्षीय शेरबहादुर चौधरीले पनि बेमौसमी तरकारी खेतीबाट ६ जनाको परिवार पाल्नुका साथै मासिक रु १७ हजार आम्दानी गर्ने गरेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ-“यसैको आम्दानीले छोराछोरीको शिक्षा, स्वास्थ्य र घरायसी खर्च टार्न सहज भएको छ, तरकारी खेतीबाट नै सबै खर्च कटाएर वार्षिक दुईलाख बचत हुने गरेको छ। '

‘यस भन्दा पहिले अरुको खेती लगाउथे, बीचमा जागिर पनि खायौँ तर त्यसले दुबै छाक खान पनि पुग्दैन्थ्यो, उहाँ भन्नुहुन्छ-हिजोआज आफ्नै जग्गामा तरकारी खेती गरी सबै खर्च कटाएर पनि वाषिक दुई तीन लाख बचत गर्ने गरेको छु।'
दाङ, जेठ ३ ।  जिल्लामा पशुपालनतर्फ बाख्रापालनमा कृषकहरूको आकर्षण बढ्दो छ । विगतमा परम्परागत रूपमा बाख्रा पाल्दै आएका किसानहरू पछिल्लो समय व्यावसायिक बाख्रापालन गर्न थालेका हुन् । दातृनिकाय तथा सरकारी कार्यालयबाट समेत अनुदानका कार्यक्रम सञ्चालन गरिएपछि युवा कृषकको यसप्रति आकर्षण देखिएको छ ।

जिल्ला पशु सेवा कार्यालयका अनुसार गत वर्षभन्दा यो वर्ष बाख्रापालक किसान बढेका छन् । जिल्लामा अघिल्लो आर्थिक वर्षमा व्यावसायिक रूपमा ४८ ओटा फार्म सञ्चालनमा थिए । यो वर्ष मात्रै १७ फार्म दर्ता भई ६५ पुगेको वरिष्ठ पशु विकास अधिकृत डा. शरणकुमार पाण्डेले बताए । चालू आवको चौमासिकसम्म फार्म दर्ता गराउन दर्जन बढी कृषकले प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।

कार्यालयले अनुदान वितरणका लागि व्यवसायीले उपलब्ध गराएको सूचना, व्यावसायिक योजना र योग्यताको आधारमा व्यवसायीहरू छनोट गर्दछ । जिल्लामा वार्षिक २० करोडबराबरको खसीबोकाको मासु उत्पादन हुने गरेको पशु चिकित्सक डा. खिमानन्द खनालले बताए । सजिलै विक्री हुने र आम्दानीसमेत खर्चअनुसारको हुने भएकाले बाख्रापालनमा व्यवसायीहरू हौसिएका हुन् ।

कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका बाङ्गेशाल, तिराम, हंशपुर, मर्कावाङ, ओखरकोट, पकला, दाखाक्वाडी, मरन्ठाना, रम्दी, बिजुलीलगायतका क्षेत्रमा व्यावसायिक रूपमा बाख्रापालन गरिएको छ । यी क्षेत्रमा कम्तीमा ४० देखि अधिकतम २ सय ५० ओटा बाख्रा फार्म रहेको कार्यालयको तथ्याङ्क छ । सबैभन्दा धेरै बाङ्गेशाल, तिराम, मर्कावाङ र हंशपुरमा व्यवसायीहरू छन् ।

कार्यालयले बाख्रापालन गर्ने युवा व्यवसायी तथा कृषकलाई हाल ८५ हजार रुपैयाँ अनुदान दिँदै आएको कार्यालय प्रमुख डा. पाण्डेले जानकारी दिए । उनका अनुसार खोर निर्माण तथा व्यवस्थापनका लागि ५० हजार, खोप, सुई, औषधिका लागि २० हजार र बोका खरीदका लागि १५ हजार रुपैयाँ कृषकहरूको व्यावसायिक उन्नतिका लागि अनुदान दिने गरिएको हो ।