मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

भरतपुर, जेठ १५ । माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ ।

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतगणना अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएका हुन् । ‘म शौचालय गएको बेला मतगणनास्थल रणमैदान भयो’, उनले संचारकर्मीहरुसँग भने – ‘मतगणना अनिश्चितकालका लागि स्थगित गरिएको छ ।’

बर्बर जंगली हमला: देवी
यता, एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले माओवादीले मतपत्र च्यातेकोमा कडा शब्दमा निन्दा गरेका छन् । ‘चुनाव हार्ने डरले बर्बर जंगली हमला भयो, यो लोकतन्त्रको उपहास हो ।’, मतगणनास्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै ज्ञवालीले भने – ‘सत्तारुढ दलको यो घृणित कार्यको जति निन्दा गरे पनि पुग्दैन ।’ उनी च्यानल गेटभित्रबाट पत्रकारहरुलाई प्रतिक्रिया दिँदै थिए ।

भरतपुरको मेयरमा एमालेका ज्ञवाली र माओवादीकी रेणु दाहालबीच रोमाञ्चक प्रतिस्पर्धा चलिरहेका बेला माओवादीका तर्फबाट मतगणनास्थलमा एजेण्ट बसेका दुईजनाले मतपत्र च्यातेका हुन् । मतपत्र च्यातिएपछि एकाएक मतगणना बिथोलिएको हो ।

मत गणनास्थलमा मेयर पदका उम्मेदवार रेणु दाहालको एजेण्ट बसेका बसेका माओवादीका मधु न्यौपानेले मतपत्र च्यातेका हुन् । न्यौपाने माओवादीको चितवन जिल्लाका वाईसीएल इन्चार्ज हुन् । न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माओवादीका कारण भरतपुरको मतगणना अन्यौलग्रस्त बनेको छ ।
काठमाडौं, जेठ १४ । काठमाण्डौ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले भारी मतले विजय हाशिल गरेका छन् ।

शाक्यले आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा १८ हजार बढी मतले काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् ।

यद्यपि, अन्तिम परिणाम सार्वजनिक गरिएको छैन् । केही बेरमा औपचारिक घोषणा गरेर मात्रै मत परिणाम सार्वजनिक गरिने काठमाडौँ महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काठमाण्डौं महानगरको उपप्रमुखमा भने नेपाली कांग्रेसका हरिप्रभा खड्गी विजयी हुनु भएको छ ।
काठमाडौं, जेठ १३ ।  नेकपा एमालेको विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकाको मेयरमा निश्चित भएको छ । काठमाडौं महानगरपालिकामा अब १० हजार मत गन्न मात्र बाँकी हुँदा शाक्यलाई १८ हजारको मत अग्रता भएकाले जित शुनिश्चित भएको हो ।

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा मेयरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य आफ्नो अग्रतालाई फराकिलो पारे पछि विजय घोषण गर्ने मात्र बाँकी छ । काठमाडौं महानगरपालिकाको १० हजार मत गन्न बाँकी रहँदा एमाले उम्मेदवार शाक्य भारी मतले विजयी हुने निश्चित भएको हो । एमालेको उम्मेदवार शाक्य पछ्याइरहेको नेपाली कांग्रेस मेयर राजुराज जोशी ४०६९० मत रहेको छ ।तेस्रो स्थानमा पछ्याइरहेकी विवेकशील नेपाली दलकी रन्जु दर्शनाको मत २२ हजार ३०७ पुगेको छ । त्यस्तै साझा पार्टीका किशोर थापाले १७ हजार ४७३ मत पुर्याएका छन् भने माओवादी उम्मेदवार सर्वोत्तम डंगोलले ७३३५ मत पाएका छन् ।

१ लाख ८६ हजार ८३२ मत गनिसक्दा एमालेका शाक्यले ६१ हजार ४२८ मत पाएका छन् भने कांग्रेसका जोशीले ४३ हजार ४६१ मत पाएका छन् । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गीको जित सुनिश्चित भइसकेको छ । १० हजार मत गन्न बाँकी हुँदा उनले एमाले समर्थित राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठलाई २२ हजार भन्दा बढी मतान्तरले पछि पारेकी छन् ।


खड्गीले ५५ हजार ८४५ मत प्राप्त गरेकी छन् भने राजारामले ३३ हजार ९९ मत पाएका छन् । तेस्रो स्थानमा साझा पार्टीकी निरुपमा यादवले १० हजार ९४५ मत पाएकी छन् भने माओवादी उम्मेदवार सुशीला पौडेलको ९६७२ मत छ ।
काठमाडौं, जेठ १३ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको विमान दुर्घटना भएको छ। विमान लुक्ला विमानस्थलको रनवेबाट केही बाहिर गई दुर्घटना भएको प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिए। गोमा एअरको सेरिजको कल साइन भएको विमान ल्यान्डिङका क्रममा दुर्घटनामा परेको हो ।

अधिकारीका अनुसार एअर होस्टेसलाई उद्दार गरी उपचारका लागि अस्पताल लगिएको छ भने क्याप्टेनसहित दुईजनाको उद्दार भैरहेको छ। विमानमा अन्य यात्रु नभएको अधिकारीले बताए।  गोमा एअरको कार्गो विमान मौसम खराबीका कारण दुर्घटना भएको अनुमान गरिएको छ।

काठमाडौं, जेठ १३ – काठमाडौं महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यको जित सुनिश्चित देखिएको छ । गन्न बाँकी मतभन्दा शाक्य र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार राजुराज जोशीबीचको मतअन्तर संख्या धेरै छ । आजको नयाँ पत्रिकामा खबर छ ।

काठमाडौं महानगरमा अब १३ हजार मत गन्न बाँकी छ । तर, निकटतम प्रतिद्वन्द्वी र शाक्यबीचको मतअन्तर १७ हजार २ सय ४ छ । शाक्यका निटकतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशी हुन् । उनले शुक्रबार बेलुकासम्म ४० हजार ६ सय ९० मत पाएका छन् । तर, शाक्यले ५७ हजार ९ सय ५७ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरमा एक लाख ९३ हजार मत खसेको थियो । त्यसमध्ये एक लाख ७० हजार मत गनिसकिएको छ । राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रमुख दीपेन्द्र अधिकारीका अनुसार अब १०, १४ र १६ नम्बर वडाको मात्रै मत गन्न बाँकी छ । ‘महानगरपालिकाको मत करिब–करिब अब अन्तिम चरणमा पुगेको छ । अब तीनवटा वडाको मात्रै मत गन्न बाँकी छ ।

आइतबारसम्ममा सकिने हाम्रो अनुमान छ । मतगणनाको काम तीव्र गतिमा अघि बढेको छ,’ मुख्य निर्वाचन अधिकृत अधिकारीले भने । यसैबीच, शुक्रबार राति १० नम्बर वडाको मतपरिणाम सार्वजनिक भएको छ । सो वडामा कांग्रेसको प्यानलै विजयी भएको छ ।
काठमाडौं, जेठ १२ । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यको जित सुनिश्चित भएको छ । जारी मत गणना अन्तिम चरणमा पुगेको छ र, उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार राजुराज जोशीले हार स्वीकार गरेका छन् ।

१ लाख ७४ हजार मत गणना हुँदा शाक्यले ५७ हजार ४७३ मत पाएका छन् भने जोशीले ४० हजार २६९ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २० हजार ८७९ मत पाएकी छन् भने साझा पार्टीका किशोर थापाले १६ हजार १७६ र माओवादीका सर्वोत्तम डंगोलले ६ हजार ६८० मत पाएका छन् ।

मत परिणामबारे कुरा गर्दै कांग्रेस उम्मेदवार राजुराज जोशीले हार स्वीकार गरेका छन् । उनले भने, ‘भोलि मतगणना स्थलमा जान्छु । विद्यासुन्दरलाई बधाई पनि दिन्छु ।’ उनले विवेकशील र साझा पार्टीका उम्मेदवारले आफ्नो धेरै भोट काटेको विश्लेषण सुनाए । उनले भने, पार्टीको आन्तरिक कलह र दुई पार्टीर्ले धेरै भोट काट्यो । उनीहरुको यति मत आउँछ भन्ने सोचेको थिइनँ ।’

राजुराजले आफ्नो भूमिका महानगरमा नै हुने बताए । आफ्नो पार्टीले पनि थुप्रै वडाहरुमा जितेको भन्दै उनले भने, ‘पार्टीको तर्फबाट महानगर नै हेर्छु र राम्रो काममा सहयोग र अरुमा खबरदारी गर्छु ।’

काठमाडौं, जेठ १२/ संघीय गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनको दोस्रो चरण बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी संघीय गठबन्धनले जेठ १३ देखि १८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। आन्दोलनका कार्यक्रममा १८ र १९ गते मधेस, थरुहट र लिम्बुवान बन्द गर्ने उल्लेख छ।

निर्वाचन कार्यतालिकाअनुसार १९ गते उम्मेदवारी मनोनयनको दिन हो। आफ्ना कार्यकर्ताविरुद्धका झूठा मुद्दा खारेज नभएको, क्षतिपूर्ति नदिइएको र आफूसँग भएका ११ बुँदे र ३ बुँदे सम्झौता कार्यान्वयन नगरेको आरोप विज्ञप्तिमा लगाइएको छ। राष्ट्रिय जनता पार्टी, नेपालसहितका दललाई निर्वाचन चिह्न नदिएको, थपिएका २२ स्थानीय तह अपुग भएको तथा स्थानीय तहहरुको सीमांकन अवैज्ञानिक रहेको गठबन्धनको भनाई छ ।

यसैगरी मतदाता नामावलीमा नाम छुटेकाहरुको नाम समावेश गर्ने वातावरण नबनाइएको गठबन्धनका अध्यक्ष महन्थ ठाकुरको विज्ञप्तिमा उल्लेख छ। आन्दोलनका कार्यक्रम अनुसार १३ गते जिल्ला सदरमुकाम, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा मशाल जुलुस गर्ने उल्लेख छ। १४ गते लाठी जुलुस गर्ने तथा निर्वाचन केन्द्रमा संघर्ष समिति गठन गर्ने उल्लेख छ। १५ वृहद अन्तर्क्रिया गर्ने तथा गणतन्त्र दिवसका अवसरमा सहिदको सम्मानमा मैनबत्ती तथा श्रद्धाञ्जली सभा राख्ने गठबन्धनले जनाएको छ।

यस्तै १६ गते जिल्लाका हरेक स्थानीय तहका निर्वाचन कार्यालयमा तालबन्दी र घेराउ गर्ने र १७ गते जिल्ला सदरमुकामहरु र स्थानीय तहहरु तथा हाटबजारमा मशाल जुलुस प्रदर्शन गर्ने उल्लेख छ। १८ र १९ गते मधेस, थरुहट र लिम्बुवान बन्द गर्ने र उम्मेदवारी प्रक्रियालाई सक्रियाताका साथ अवरोध गर्नेसहितका आन्दोलनका कार्यक्रम गठबन्धनले सार्वजनिक गरेको हो।