मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ १५ । सरकारले डा. गोविन्द केसीका सबै माग पुरा गर्ने भएको छ । सरकारले माग पुरा नगरेको भन्दै डा. केसी ११ औं अनसन बस्न दाङ पुगेका छन् । डा. केसी पुनः अनसन बस्न लागेपछि सरकारले उनीसँग विगतमा गरेका सम्झौता र हाल राखेका माग पुरा गर्न तीनवटा समिति गठन गरेको हो ।

डा. केसीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी बनाउँदै पारित गर्नुपर्ने, प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता हुनुपर्ने र विगतमा अनशनका क्रममा भएका सहमति अनुरुप दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाउनुपर्ने तीन बुँदे माग राख्नुभएको छ ।

प्रधानन्यायाधीश कार्कीमाथि लगाइएको महाअभियोगको प्रस्ताव फिर्ता लिने निर्णय भइसकेको छ, महाअभियोग फिर्ताको निर्णयसँगै संसद समेत सुचारु भइकेको छ । संसद सुचारु भएसँगै संसदमा विचाराधिन विधेयकलाई जनतामुखी बनाउन छलफल अगाडि बढाउने विषयमा समेत सरकार तयार भएको छ ।

स्वास्थ्यमन्त्री गगन थापाका अनुसार डा. केसीसँग विगतमा भएको सम्झौता अनुसार मन्त्रीपरिषदले न्यायिक छानबिन समितिमा सदस्य नियुक्त गरेको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित समितिमा डा. उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखाका सहसचिव सदस्य हुनुहुन्छ । यसअघि उक्त समितिमा डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरिएको थियो । तर, डा. गिरीको नाममा डा. केसीले आपत्ती जनाएपछि उहाँको स्थानमा मन्त्रीपरिषद्ले नयाँ डा. देवकोटालाई नियुक्त गरेको हो । न्यायिक समितिका सदस्यहरुलाई प्रधानन्यायाधीसले सपथ खुवाउनु पर्ने हुन्छ । सपथ खुवाउने कार्यक्रम १६ गतेका लागि तय भएको मन्त्री थापाले जानकारी दिनुभयो ।

यस्तै, सरकारले ऐन, नियम अध्ययन समितिको म्याद समेत थप गरेको छ । विश्वविद्यालय अनुदान आयोगका प्रमुख परासर कोइरालाको संयोजकत्वमा रहेको उक्त समितिमा डा. लक्ष्मीप्रसाद मैनाली, विष्णु खनाल, अभि सुवेदी र प्रत्युष वन्त सदस्य हुनुहुन्छ । मन्त्री थापाका अनुसार डा. केसीसँग बिगतमा भएको सम्झौता अनुसार अनुगमन समिति गठन भएको छ । डा. कपिल श्रेष्ठको संयोजकत्वमा गठित समितिमा डा. शरद वन्त, अधिवक्ता ज्योति बानियाँ, प्रधानमन्त्री कार्यालयका सहसचिव, स्वास्थ्य मन्त्रालयका सहसचिव, शिक्षा मन्त्रालयका सहसचिव र विश्वविद्यालय अनुदान आयोग सहसचिव सदस्य हुनुहुन्छ ।

मन्त्री थापाले राप्तीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कार्य अगाडि बढिसकेको जानकारी दिनुभयो । उहाँले यसका लागि स्वास्थ्य मन्त्रालयले २५ करोड रुपैयाँ बजेट पनि बिनियोजन गरिसकेको बताउनुभयो । ‘पाँचनम्वर प्रदेशमा राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने काम अगाडि बढिसकेको छ,’ उहाँले भन्नुभयो, ‘प्रतिष्ठान निर्माणका लागि विधेयकको ड्राफ्ट समेत बनाइसकेका छौं ।’

उहाँले यही विषयमा भोलि सोमबार दुई वजे सामाजिक न्याय समितिको बैठक बस्न लागेको समेत जानकारी दिनुभयो । मन्त्री थापाका अनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गत देशका सातवटै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने कार्य समेत अगाडि बढिरहेको छ ।
भरतपुर,  जेठ १४ । भरतपुर महानगरपालिकामा १ लाख भन्दा बढी मत गणना हुँदा पनि मेयरमा कसले बाजी मार्ला भन्ने अड्कल लगाउन धेरैलाई समस्या भएको छ । अब बाँकी ३ वटा वडाको मत गणना बाँकी छ । समाचार तयार पार्दासम्म नेकपा एमालेका मेयरका उमेदवार देवी ज्ञवाली ११४५ मतले अघि देखिएका छन् ।
उनलाई पराजित गर्न रेणुले बाँकी प्रत्येक वडाबाट करिब ३८५ मतले अग्रता कायम राख्नैपर्ने हुन्छ, जुन अत्यन्त चुनौतिपूर्ण देखिन्छ ।

हुनत नेपाली कांग्रेसको गढ मानिएका वडा भए पनि दाहाललाई सोचेअनुसार कांग्रेस कार्यकर्ताले मतदान गरेको पाइएन । ज्ञवालीले अहिलेसम्म मेयरमा ३९७५० मत प्राप्त गरेका छन् भने दाहालले ३८६०५ मत प्राप्त गरेकी छन् । कांग्रेसको गढ मानिएको वडा नम्बर १८ मा वडाध्यक्षसहित प्यानलमै कांग्रेस विजयी भए पनि मेयरमा दाहाललाई यो वडाबाट कांग्रेसको ६२ प्रतिशत मात्रै मत परेको छ । कांग्रेसको करिब ५ प्रतिशत मत एमालेलाई परेको छ ।

वडाध्यक्षमा दिपक लामा प्यानलसहित नै विजयी भएका हुन् ।  अब बाँकी १९, २० र २१ नम्बर वडा पनि कांग्रेसको गढ भएकाले अझै पनि आफ्नो पक्षमा मत खस्न सक्ने दाहालको आकलन छ । वडा नम्बर १९ मा जम्मा २८६० मत खसेको छ । शारदानगर, गुञ्जनगर, किरणगंज, लगायतका क्षेत्र त्यो वडामा पर्छन् । त्यसैगरी वडा नम्बर २० अन्तर्गत भिमनगर, सिमलटारी, दद्रेनी लगायतका क्षेत्र पर्छन् । वडा नम्बर २१ मा पार्वतीपुर, मनिपुर लगायतका क्षेत्र पर्छन् । कांग्रेसकै क्षेत्र मानिए पनि अहिलेसम्म उनलाई सोचेअनुसारको मत नआएकाले समस्या पर्दै गएको स्थानीय नेता तथा कार्यकर्ताको भनाई छ ।

१७ र १८ नम्बर वडा पनि कांग्रेसकै वडा मानिएको भए पनि दाहाललाई उल्लेख्य मत आएन । ६, १५ र २५ नम्बर वडाबाट भने दाहाललाई  कांग्रेसको राम्रै मत परेको थियो । २९ वटा वडा रहेको भरतपुरमहानरमा १ लाख १२ हजार ७४१ मत खसेको छ ।
नवीन अभिलाषी,
दाङ, जेठ १४ । शनिबार बिहान ११ वजे घोराही टेकेका प्रा.डा. गोविन्द केसी केहि समय आराम गरे । त्यसपछि राप्ती उपक्षेत्रीय अस्पतालमा पुगेका डा. केसी आफै अलमलमा परे । शनिबार ४ वजेदेखि राप्ती उपक्षेत्रीय अस्पताल परिसरमै सत्याग्रह सुरु गर्ने उद्देश्यसहित काठमाडौँबाट दाङ झरेका थिए–केसी । तर, उनले अनसन बस्नका लागि राप्ती उपक्षेत्रिय अस्पतालमा एउटा कोठा सम्म पाएनन् ।

कहिले जिल्ला प्रशासन कार्यालय पुगे त कहिले आई.एन.एफ.को कार्यालयले छोडेको खण्डहर जस्तो भवनमा पुगे । राप्ती उपक्षेत्रीय अस्पतालका आधा दर्जन बढी बडेमानका भवनहरु समेत अवलोकन गर्दा केसीले अनसन बस्नका लागि सुरक्षित र राम्रो कोठा पाउन सकेनन् । अन्ततः उनी ट्राफिक चोक नजिकै रहेको सत्यसाई मन्दिरको धर्मशालामा अनसन बस्ने करिव–करिव टुगो लाग्यो ।

दाङबाटै सत्याग्रह सुरु गर्ने योजनासहित डा. केसी काठमाडौँबाट हिडेदेखि नै खुट्टा कमाएको राप्ती उपक्षेत्रीय अस्पताल प्रशासनले आफ्नो कमजोरी देखाएको छ । अस्पतालका सुविधा सम्पन्न मानिएका ठूला भवनहरुमा डा. केसीले अनसन सुरु गर्नका लागि कुनै कोठाहरु उपलब्ध गराउन सकेन । विभिन्न बहानामा डा. केसीलाई अस्पताल प्रशासनले बाहिरै अनसन बस्ने व्यवस्था मिलाउनका लागि निमित्त मेडिकल सुपेरिटेन्डन्ट डा. जनार्दन पन्थी खटिएका थिए । अस्पताल प्रशासनले माथिको आदेश अनुसार डा. केसीलाई अस्पताल बाहिर राख्न खोजेको बुझिएको छ ।

अस्पतालमा राम्रो शौचालयको सुविधा नभएको भन्दै निमित्त मेडिकल सुपेरिटेन्डन्ट डा. पन्थीसहितको टोलीले डा. केसीलाई सिरडी सत्य साई मन्दिरको धर्मशालामा पु¥याएका थिए । त्यसको अलावा डा. केसी सत्याग्रहमा बस्ने भएपछि उनको स्वास्थ्य व्यवस्थापनका लागि आवश्यक उपकरण नभएको भन्दै प्रशासनले खुट्टा कमाइरहेको छ । आईसियूको व्यवस्था नभएको, राम्रो शौचालयको सुविधा नभएको, मानिसहरुको आवागमन बढ्ने भएपछि भर्ना गरिएका बिरामीहरुलाई असर पर्ने भन्दै अस्पताल भन्दा बाहिरै अनसनमा बस्ने व्यवस्था मिलाउने निमित्त मेडिकल सुपेरिटेन्डन्ट डा. पन्थीले बताए ।

डा. केसीलाई प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले समेत सुविधा सम्पन्न नभएको स्थानमा अनसन बस्दा समस्या आउन सक्ने दाङमा अनसन नबस्न सुझाव दिए । सरकारले घोषणा गरे अनुसार दाङमा मेडिकल कलेज स्थापनाको सुरुवात गर्नुपर्ने माग पुरा गर्न दाङ झरेका डा. केसी प्रमुख जिल्ला अधिकारीलाई भेट्न गएका थिए । भेटका क्रममा प्रमुख जिल्ला अधिकारी काफ्लेले स्वास्थ्यमा आउन सक्ने समस्यालाई व्यवस्थापन गर्न जिल्लामा सुविधाहरु नभएको बताए ।

एकदिन रोकियो सत्याग्रह
प्राध्यापक डाक्टर गोविन्द केसीले शनिबारदेखि सुरु गर्ने भनिएको सत्याग्रह एक दिनका लागि रोकिएको छ । सरकारले २०७३ साल मंसिरमा घोषणा गरे अनुसार दाङमा मेडिकल कलेज स्थापनाको सुरुवात गर्नुपर्ने, चिकित्सा शिक्षा विधेयकलाई संशोधन गरेर पारित गर्नुपर्ने, प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव फिर्ता गर्नुपर्नेलगायतका मागहरु पुरा गर्न दवाव दिने योजनासहित घोराही आइपुगेका केसी शनिबारैदेखि अनसनमा बस्ने कार्यक्रम थियो । तर, स्वास्थ्य मन्त्रीको आश्वासनपछि डा. गोविन्द केसीको अनसन आइतबार दिउँसो १२ वजेसम्मका लागि रोकिएको हो ।

स्वास्थ्य मन्त्री गगन थापाले डा. केसीलाई फोनमार्फत् कुरा गर्दै आइतबार दिउँसो १२ वजेसम्म एक किसिमको निकास निकाल्ने आश्वासन दिएका थिए । स्वास्थ्य मन्त्री थापाको आश्वासनलाई कुर्दै डा. केसीले आफ्नो अनसनको समय तालिकालाई पछि सारेका हुन् । सरकारी चिकित्सा क्षेत्रको सुधारका लागि १० आंै पटक अनसनमा बसेका डा. केसीले सरकारसँग भएका सम्झौताहरु कार्यान्वयनका लागि दाङबाट दवाव सिर्जना गर्ने बताए ।

पाँच वर्षभित्र सबै प्रदेशमा मेडिकल कलेज निर्माण गर्ने सम्झौता अनुसार दाङमा पनि त्यो आयोजना सुरु हुनुपर्ने थियो । तर, अहिलेसम्म मेडिकल कलेज निर्माण बारे कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेन । डा. केसी शनिबार नै अनसन बस्ने तयारी गरिरहदा आइतबार मध्यान्न १२ वजेसम्म सम्झौताको सुनुवाई गर्न अल्टिमेटम दिएका छन् ।

सत्याग्रह कहाँ हुन्छ ?
यदि सरकारले डा. केसीलाई चित्त बुझ्दो जवाफ दिन सकेन भने आइतबार दिउँसो २ वजेदेखि सत्याग्रह सुरु हुनेछ । सत्याग्रहका लागि उनी धर्मशालामा जानेछन् । राप्ती उपक्षेत्रीय अस्पतालमा सत्याग्रह सुरु गर्न नमिल्ने अवस्था आएपछि डा. केसी ट्राफिक चोकस्थित सिरडी सत्य साई मन्दिरको धर्मशालामा बस्ने करिव पक्का भएको छ ।

अनसनका लागि ठाउँ खोज्न अस्पताल प्रशासनको टोली दिनभर भौतारी रहँदा अस्पताल प्रशासनलाई नै डा. केसीलाई अस्पतालमा बस्न नदिएको टिप्पणी गर्न सुरु भएको छ । नागरिक स्तरबाट अस्पतालभित्रै अनसनमा बस्ने व्यवस्था मिलाउनुपर्ने दवाव आउन सुरु गरेपछि सरकारी तथा प्रशासन पक्ष भने डा. केसीलाई बाहिर नै अनसन बसाउने मनस्थितिमा देखिएको छ ।

दलहरुलाई टाउको दुखाई
दाङमा हुने भनिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषय रोकिएको लामो समय भइसकेको थियो । यो विषयमा दलहरुले आफ्नो क्षेत्रबाट पहल गर्दै आएका थिए । तर, नजिक आएको स्थानीय तहको निर्वाचनकै समयमा डा. केसी अनसन बस्ने नै गरी दाङ झरेपछि दलहरुलाई टाउको दुखाईको विषय भएको छ । चुनावी प्रसारप्रसारको कार्यक्रमलाई तीव्रता दिनुपर्ने समयमा केहि समय डा. केसीको आन्दोलनमा पनि खर्चिनुपर्ने, केसीको अवस्थामा जुनसुकै मोड आउन सक्ने र त्यसले जिल्लाको माहोल परिवर्तन गर्ने र त्यसले निर्वाचनमा असर गर्ने नेपाली काँगे्रसका एक नेताले बताए । बाहिरी रुपमा डा. केसीको सत्याग्रहलाई दलहरुले स्वागत गरेको भएपछि त्यति ध्यान नदिएको पाइएको छ ।

दाङ, जेठ १४ । इस्लाम धर्मावलम्बी मुसलमानको रमजान पर्व शनिबारदेखि सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत्अनुसार नवौं महिना ‘रमजानल मुबारक’ मा विश्वभरका इस्लाम धर्मावलम्बी मुसलमान एक महिनासम्म रोजा (व्रत) बस्छन् । आठौं ‘साबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा बस्न सुरु हुन्छ ।

इस्लामका पाँच आधार स्तम्भ इमान (आस्था), नमाज (प्रार्थना), हज (तीर्थ), जकात (दान) र कल्मामध्ये रोजा (व्रत) एक खम्बा हो । अरू महिनाका तुलनामा ‘रमजानल मुबारक’ महिनालाई मुसलमानले पवित्र महिनाका रूपमा विश्वास गर्छन् ।

दाङ, जेठ १४ ।
राप्तीका साहित्यकारहरु दाङमा भेला भएका छन् । राप्ती साहित्य परिषद्को १३ आंै अधिवेसन तथा ४१ आंै स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा राप्तीका पाँचै जिल्लाका साहित्यकारहरु दाङमा भेला भएका छन् । राप्ती साहित्यको विकासक्रमलाई उनीहरुले समीक्षा गर्दै यसको प्रभावको मूल्याङ्कन गरेका छन् ।

नेपाली समाजको परिवर्तनका लागि साहित्यले पु¥याएको योगदानको बारेमा चर्चा गर्दै उनीहरुले साहित्यको साखलाई बचाई राख्नका लागि हाम्रै समाजका विषयहरु लेख्न आबस्यक रहेकोमा जोड दिएका छन् । साहित्यको मुलधारमा आएको परिवर्तनले नेपाली समाजमा समेत प्रभाव पार्ने भन्दै साहित्य आफैमा संवेदनशील क्षेत्र रहेको उनीहरुको भनाई रहेको छ ।

दाङसहित प्यूठान, रोल्पा, सल्यान र रुकुमका साहित्यकारहरु सहभागी छन् । राप्ती साहित्य परिषद्को पहिलो दिनको कार्यक्रमअन्तर्गत शनिबार पुरस्कार वितरण तथा सम्मान कार्यक्रम र कवि गोष्ठी भएको छ । शनिबार दिउँसो नेपाल पत्रकार महासंघ घोराहीको सभाहलमा सुरु भएको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा सहभागी भएका साहित्यकारहरु शनिबार बेलुका राप्ती साहित्य परिष्दमा कवि गोष्ठी गरी रचना बाचनको रसस्वादन गरेका छन् ।

परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायण गुरुको प्रमुख आतिथ्यता र बरिष्ठ साहित्यकार गिरिराज शर्माको विशिष्ठ आतिथ्यतामा सुरु भएको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा परिषद्ले वितरण गर्ने पुरस्कारहरु स्रष्टालाई वितरण गरिएको थियो । यो वर्ष राप्ती साहित्य परिषद्मा स्थापना गरिएका १७ वटा पुरस्कारहरु वितरण गरिएको पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।

यसवर्षको राप्ती साहित्य पुरस्कार डा. नेत्र एटमलाई प्रदान गरिएको छ, भने राप्ती सिर्जना पुरस्कार श्रीधर पौडेललाई प्रदान गरिएको छ । त्यस्तै नन्दहरी साहित्य पुरस्कार कुलराज राजभण्डारी, विष्णु नुमा साहित्य पुरस्कार विमला डाँगी विकलतालाई, डोमादेवि साहित्य पुरस्कार लोक आलोकलाई, ऋषि लक्ष्मी साहित्य पुरस्कार अर्जन पौडेललाई, देविचन्द्र साहित्य पुरस्कार गोपाल भुसाल अभिलाषीलाई, अपामुकुन्द प्रज्ञा पुरस्कार सूर्य विसीलाई, गोपाल चन्द्र प्रज्ञा पुरस्कार प्रद्युम्न पोख्रेललाई र गोमादेवि कला पुरस्कार कमला भारतीलाई प्रदान गरिएको छ ।

यस्तै हरिप्रसाद मीना पाण्डेय कला साहित्य पुरस्कार रेशम विसीलाई, खोपीलाल हुकुमादेवि छन्द पुरस्कार सिर्जना शर्मालाई, पण्डीतकपिल मुनी भक्तकुमारी शिवाकोटी स्मृति पुरस्कार लिला गम्भीर थारुलाई, पद्मप्रसाद रुपसाप्रज्ञा पुरस्कार प्रकाश केसीलाई, तिलका तुल्सीराम आचार्य स्मृति साहित्य पुरस्कार डा. मधुसुदन लामिछानेलाई, चक्रपाणी लक्ष्मी स्मृति छन्द पुरस्कार डिल्लीराज श्रीधरलाई, तिलसरी दल अतिरिक्त पुरस्कार भावेश भुमरीलाई प्रदान गरिएको छ ।

यस्तै प्युठानमा बसेर लामो समयदेखि राप्ती क्षेत्रको साहित्यिक विकास र सिर्जनाको क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुको साथै राप्ती साहित्य परिषद्मा पुरस्कार समेत स्थापना गर्नुभएको बरिष्ठ साहित्यकार भुपेन्द्र सुवेदीलाई अभिनन्दन समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषद्का सचिव रमेश सुवेदीले गर्नुभएको थियो ।

यसैबीच राप्ती साहित्य परिष्दको १३ आंै अधिवेसन तथा ४१ आंै स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमअन्तर्गत शनिबार बेलुका कवि गोष्ठी समेत भएको छ । राप्ती साहित्य परिषद्को सभाहलमा टम्म भरिएका राप्तीका साहित्यकारहरुले आफ्ना सिर्जनाहरु सुनाएका थिए । राप्ती साहित्य परिषद् रुकुम शाखाको आयोजना तथा पञ्चरत्न शिविरको स्थानीय व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको थियो ।


दाङ, जेठ १४ । घोराही उपमहानगरपालिका वडानम्वर ७ मा कांगे्रस र एमाले बीच कडा टक्कर हुने भएको छ । दुवै पार्टीमा राजनीतिक तथा सामाजिक क्षेत्रमा अगुवाई गरिरहेको उम्मेदवार तोकेपछि तीब्र प्रतिष्पर्धा देखिएको हो ।

अहिले उक्त वडामा नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य भिमप्रकाश खड्का र एमाले नेता खोपिराम चौधरीले वडाध्यक्षमा टिकट पाउनुभएको छ । चौधरीलाई एमालेले सर्वसम्मत वडाध्यक्षमा अगाडि सारेको छ, भने कांग्रेसबाट खड्कासहीत एक दर्जनले वडाध्यक्षमा दावि गरेका थिए । अन्ततः कांग्रेसले वडानम्वर ७ मा खड्कालाई टिकट दिएको छ ।

कांग्रेसका खड्का सामुदायिक वनको आन्दोलन नेतृत्व गरी अहिले सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ, भने एमालेका चौधरी पनि सामाजीक क्षेत्रमा क्रियाशील व्यक्ति हुनुहुन्छ । दुवैले पार्टीले टिकट दिएपछि जीत्ने दावीसमेत गर्नुभएको छ । एमाले नेता चौधरीले आफूले सामाजिक क्षेत्रको नेतृत्व गर्दै काम गरिरहेको बताउँदै वडा अध्यक्ष भएर त्यस क्षेत्रमा सामाजिक सेवा गर्ने इच्छा व्यक्त गर्नुभयो । उहाँले अहिले सौडियारमा रहेको अस्थायी वडा कार्यालयलाई सोही स्थानमा स्थायी वडा कार्यालय बनाउने पहिलो आफ्नो मिसन रहेको बताउनुभयो ।

उहाँले त्यस क्षेत्रको आर्थिक विकासका लागि सर्रा–सौडियार जोड्ने बाटो पिच हुनुपर्ने भन्दै त्यो पनि आफ्नो अर्काे मिसन भएको बताउनुभयो । चौधरी गैर सरकारी क्षेत्रमा पनि नेतृत्व गर्दै अघि बढिरहनुभएको छ । गैरसरकारी क्षेत्रमा चौधरीको नाम अग्रपङ्तिमा आउने गर्दछ । चौधरीकै पहलमा साविक सौडियारमा विभिन्न वडाहरु आर्थिक आयआर्जनका विभिन्न कार्यक्रमहरु पनि सञ्चालन भइरहेका छन् । चौधरी मिलनसार र सहयोगी मानिनुहुन्छ ।

त्यस्तै कांगे्रसका नेता खड्काले सबैको सहयोग भएमा आफूले स्थानीय निर्वाचन जित्ने दावि गर्नुभयो । त्यस क्षेत्रमा कांग्रेस बलियो रहेको भन्दै वडाध्यक्ष बनेर त्यस क्षेत्रको विकास गर्ने आफ्नो उद्देश्य रहेको बताउनु भयो । सामाजिक र राजनीतिक क्षेत्रलाई एकैसाथ अगाडि बढाउनु भएका खड्का सबैसामु परिचित नै हुनुहुन्छ । जनभावना अनुसार आफू काम गर्न तयार रहेको भन्दै पार्टीले आफुलाई नै टिकट दिने विश्वास उहाँले व्यक्त गर्नु भयो ।

साविक सौडियार गाविसमा खड्का कांग्रेसका पुराना, सिनियर, सबैसँग मिल्ने खुवी भएका र अत्यन्तै सहयोगी नेताकारुपमा चिनिनुहुन्छ । क्षेत्रनम्वर ३ बाट कांग्रेस नेता खड्काले सभासदमा समेत दावी गर्नुभएको थियो । यता नेकपा माओवादी केन्द्रले वडानम्वर ७ मा बुद्धिप्रकाश चौधरीलाई उठाएको छ । समाचार गणतन्त्र दैनिकले छापेको छ ।

दाङ, जेठ १३ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल दलित संघ दाङ क्षेत्र नं. ४ ले तुलसीपुर उपमहानगरपालिकाको मेयर, उपमेयर र वडाध्यक्ष जस्ता महत्वपूर्ण प्रमुख पदमा पार्टीले दलितलाई उम्मेदवारको छनोट नगरेको भन्दै घोर आपत्ती जनाएको छ ।

नेपाल दलित संघ क्षेत्रनम्वर ४ का उपाध्यक्ष रमेश विश्वकर्मा र सचिव किरण विश्वकर्माले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले दलित संघमा आबद्ध कुनै पनि दलितलाई प्रमुख पदका लागि उम्मेदवार छनोट नगरेप्रति घोर आपत्ती जनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै तुलसीपुर उपमहानगरपालिका वडानम्वर ७ का जुझारु, कर्मठ र क्षमतावान योग्य नेता नेपाल दलित संघका केन्द्रीय सदस्य जोगेन्द्र विश्वकर्मालाई पार्टीले वडाध्यक्ष पदको उम्मेदवार नदिएको र उहाँको स्थानमा अर्को व्यक्तिको नाम छनोट गरेको भन्दै उक्त निर्णय पार्टीले तत्काल फिर्ता नलिए नेपाल दलित संघ क्षेत्रनम्वर ४ ले पार्टीको कुनै पनि गतिविधिमा सहभागिता र सहयोग नगर्ने विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।