घोराहीको मावि रझेनाका विद्यार्थीहरुले लागुऔषध आफूले पनि प्रयोग नगर्ने र अरुलाई पनि प्रयोग गर्न नहुने सल्लाह दिने प्रतिबद्धता जनाएका छन् । दाङ महिला जेसीजले मावि रझेनामा सञ्चालन गरेको लागुऔषध दुव्र्यसनी न्यूनीकरणका लागि आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुले लागुऔषध दुव्र्यसनी न्यूनीकरणको क्षेत्रमा काम गर्ने बताएका छन् ।
दाङ महिला जेसीजका अध्यक्ष निरजा पोख्रेलको अध्यक्षता तथा मावि रझेनाका प्रधानाध्यापक उद्धव पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा लागुऔषध दुव्र्यसनी न्यूनीकरणको अभियानमा काम गर्दै आउनुभएका वसन्त पुनले विद्यार्थी जीवन जोखिमयुक्त जीवन भएको बताउनुभयो । धेरै राम्रा सम्भावनाहरु विद्यार्थी जीवनमा हुँदाहुँदै पनि धेरै विद्यार्थी लागुऔषधको सिकार हुने गरेको उहाँले बताउनुभयो ।
लहलहैका कारण, विभिन्न भ्रम र प्रलोभनका कारणले विद्यार्थीहरुले लागुऔषध प्रयोग गर्ने गरेको र क्रमशः दुव्र्यसनीको सिकार भई आफू, परिवार, समाज र सिंगो देशलाई प्रभाव पार्ने गरेको उहाँको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मावि रझेनाका प्रधानाध्यापक पौडेलले विद्यार्थी जीवन सिक्ने समय भएकाले आफू, समाज र देशलाई सहि बाटोमा लैजाने कुरा मात्र सिक्न आग्रह गर्नुभयो । विद्यार्थीहरु समाजका सचेत व्यक्तिहरु भएकाले समाज भइरहेका ठीक बेठिक कुराहरुलाई सच्याउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा दाङ महिला जेसीजका संस्थापक अध्यक्ष निर्मला शर्मा, त्रिभुवननगर जेसीजका अध्यक्ष दीपक शर्मा, विद्यार्थीहरु प्रकाश रायमाझी र पञ्चमाया गिरीलगायतले बोल्नुभएको थियो । शारदा ज्ञवालीले जेसीज आस्थापाठ गराउनु भएको कार्यक्रममा उपस्थित सबैलाई कार्यक्रम संयोजक मंगला राणाले स्वागत गर्नुभएको थियो, भने कार्यक्रमको सहजीकरण महासचिव शारदा घर्तीले गर्नुभएको थियो ।
आज प्रशिक्षण
जिल्लामा सञ्चालन भएको लागुऔषध बिरुद्धको सचेतना अभियान अन्तर्गत आज घोराहीमा वृहत प्रशिक्षण कार्यक्रम हुने भएको छ । सामुदायीक प्रहरी सेवा केन्द्र दाङले सञ्चालन गरेको सचेतना कार्यक्रमअन्तर्गत आज घोराहीमा यस क्षेत्रका टोल विकास संस्थाहरुका लागि सचेतना प्रशिक्षण कार्यक्रम हुने भएको हो ।
बजार क्षेत्रमा रहेका टोल विकास संस्थाका पदाधिकारीहरुका लागि सचेतना कार्यक्रमको आयोजना गरिएको केन्द्रका सचिव आर.के. शीतलले जानकारी दिनुयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक धिरजप्रताप सिंह र वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सूर्यबहादुर थापाले प्रशिक्षण दिने पनि उहाँले जानकारी दिनुभयो । साथै उहाँले आज बिहान ७ वजेदेखि घोराही उपमहानगरपालिकाको सभाहलमा सुरु हुने सचेतना कार्यक्रममा सहभागी हुन सम्पूर्ण टोल विकास संस्थाका पदाधिकारीलगायत सम्बन्धित सम्पूर्ण संघसंस्था, पत्रकारलगायत सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।
