दाङ, चैत्र १७ । दाङको प्रगन्ना सिचाई आयोजनामा कुवेत फण्डले लगानी गर्ने भएको छ । बिहीबार सिंचाई मन्त्री दीपक गिरी र कुवेत फण्डका प्रतिनिधि बीच भएको भेटवार्ताले यस्तो निर्णय गरेको हो ।
नेपालका विभिन्न सिंचाई आयोजनाहरुमा लगानी गरिरहेको कुवेत फण्डले पछिल्लो पटक दाङको देउखुरीस्थित प्रगन्ना सिंचाई योजनामा लगानी गर्न लागेको हो । यसअघि फण्डले बर्दियाको बबई सिंचाई आयोजना, बागमती सिंचाई आयोजनामा लगानी गरेको थियो ।
नेपालको कृषि क्षेत्रमा बढी लगानी गरिरहेको फण्डलाई भर्खरै सुरु भएको दाङ बृहत् सिंचाई योजनामा लगानी गर्न मन्त्री गिरीले आग्रह गर्नुभयो । ‘दाङ कृषिको उर्बर भूमि हो, त्यहाँका धेरै मानिस कृषि कर्म गर्छन्, सिंचाईको असुविधा छ, त्यसैलाई मध्यनजर गरेर सुरु गरिएको यो योजनामा लगानी गर्नुपर्यो’, मन्त्री गिरीले भन्नुभयो ।
फण्डका प्रतिनिधिले नेपालका थप योजनाहरुमा लगानी गर्न आफूहरु इच्छुक रहेको भन्दै त्यसका लागि सकारात्मक रहेको बताएका थिए । योजनाका बारेमा थप अध्ययन गरेर निर्णयमा पुग्ने उनीहरुले बताए । भेटमा सिंचाई मन्त्रालयका सचिव रामानन्द यादव पनि सहभागी हुनुहुन्थ्यो ।
दाङको ६० हजार हेक्टर भूमिमा सिंचाई सुविधा पु¥याउने उद्देश्यले बृहत् दाङ उपत्यका सिंचाई योजना शुरु भएको छ । अहिले योजनाको विस्तृत सम्भाब्यता अध्ययनको काम भइरहेको छ । सल्यानको शारदा नदीमा ड्याम निर्माण गरेर त्यहाँको पानी दाङमा ल्याउने गरी आयोजना शुरु भएको हो । त्यसबाट ५ मेगावाट विजुली निकाल्ने समेत लक्ष्य छ ।
