मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २८ ।  कुनै अकल्पनीय घटना नभए आगामी बैशाख ३१ गते २० वर्षपछि देशमा स्थानीय तहको चुनाव हुने निश्चित छ । यदि स्थानीय निकायको चुनाव भएमा राजनीतिक अस्थिरता केही हदसम्म कम हुनेछ । १५ वर्षदेखि कर्मचारीको भरमा चलेका स्थानीय निकायले जनप्रतिनिधि पाउनेछन् । अझैं भनौं, ‘स्थानीय तहमा जनताको शासन चल्नेछ ।’

मौसमी गर्मीसँगै चुनाव हुने भएपछि अन्यत्र जस्तै तुलसीपुर उपमहानगरपालिकामा पनि चुनावी सगर्मी दिनप्रतिदिन उत्तिकै बढिरहेको छ । संघीय संरचना बनेपछि नगरपालिकाबाट उपमहानगरपालिका बनेको तुलसीपुरमा कसले जीत्ने भन्ने विषयमा दलहरुबीच प्रतिष्पर्धा छ ।

स्थानीय निकायको चुनाव दुई दशकपछि हुन लागेकाले पनि हुनसक्छ मेयर र उपमेयरका आकांक्षी पनि धेरै छन् । एमालेको तर्फबाट ०५४ सालमा मेयर जीतेका ढुण्डिराज लामिछाने, लामिछानेसँगै उमपेयर जीतेका घनश्याम पाण्डे र एमाले दाङमा सचिव हिराचन्द्र केसी मेयरका प्रमुख दावेदारका रुपमा अघि सर्नुभएको छ । लामिछाने ०५४ सालको चुनावमा ४ हजार ६ सय ६२ मत प्राप्त गरी नेपाली काँग्रेसका उम्मेदवार शंकरप्रसाद आचार्यलाई १ हजार ९ सय ४३ मतले पछि पार्दै विजयी हुनुभएको थियो । आचार्यले २ हजार ७ सय १३ मत ल्याएउनुभएको थियो । लामिछाने जनतामाझ स्वच्छ छवि र विकासप्रेमी नेताका रुपमा चिनिनुहुन्छ । उहाँले यससपटक फेरि मेयर भएर अघिल्लो कार्यकालमा बाँकी रहेका काम पुरा गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

एमालेबाट मेयरमा अर्का बलियो दाबेरका रुपमा रहेका पाण्डेले ०५४ सालको स्थानीय निकायको चुनावमा विजय हासिल गर्नुभएको थियो । उनले ४ हजार ७ सय ३८ मत प्राप्त गरी प्रतिष्प्रर्धी शंकर केसीलाई २ हजार १ सय ३ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको थियो । केसीले २ हजार ६ सय ३५ मत मात्रै ल्याउनुभएको थियो । त्यसैगरी एमालेबाट मेयरका अर्का आकांक्षी हिराचन्द्र केसी युवा संघको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष समेत हुनुहुन्छ । राजनीतिमा अत्यन्तै आशा लाग्दा युवा नेता केसी प्रष्ट वक्ताका रुपमा चिनिनुहुन्छ । राजनीतिमा युवा पुस्तालाई स्थापित गर्न र तुलसीपुरको विकासका लागि आफूले मेयरमा दाबी गरेको केसीले बताउनुभयो ।

त्यस्तै एमालेबाट नवराज लामिछानेले पनि मेयरमा इच्छा देखाउनुभएको छ । तर, उहाँलाई तुलसीपुर उपमहानगरपालिका वडानम्वर ६ को वडा अध्यक्षमा टिकट दिइने एमाले स्रोतले बताएको छ । एमालेबाट उपमेयरको रेसमा माया आचार्य, विनोद शर्मा, तारा देवकोटा र रेखा आचार्य हुनुहुन्छ ।

यसपाली तुलसीपुर उपमहानगरपालिकामा नेपाली काँग्रेसका धेरैले मेयरमा इच्छा देखाएका छन् । काँग्रेसबाट पूर्व सांसद गेहेन्द्र्र गिरी, जिल्ला सभापति कीर्तिबहादुर खड्का, निर्वतमान जिल्ला सभापति घणश्याम रेग्मी, नेताहरु तेजबहादुर बस्नेत, जगतबहादुर खड्का र किरणबहादुर शाह मेयरको रेसमा हुनुहुन्छ । गिरी काँग्रेस दाङका पूर्व सभापतिसमेत हुनुहुन्छ । उहाँ खरो स्वभाव र प्रष्ट वक्ताका रुपमा परिचित हुनुहुन्छ । ‘म टिकटका लागि दश ठाउँ जाँदैन’, गिरीले भन्नुभयो, ‘पार्टीले टिकट दियो भने चुनाव लड्छु र जित्छु ।’ ६ जना मेयरको रेसमा भए पनि गिरीले नै टिकट पाउने काँग्रेसको उच्च स्रोत बताउँछ । काँग्रेसबाट उपमेयरमा सुष्मा गिरी, पवित्रा धिताल, सुरेश हमाल, तेजबहादुर कार्कीलगायतकाले इच्छा देखाउनुभएको छ ।

त्यसैगरी माओवादी केन्द्रबाट केन्द्रीय आयोजक कमिटी सदस्य रामजी थारु र साउने थारु मेयरका आकांक्षी हुनुहुन्छ । यी दुईमा रामजी अगाडि रहेको बताइन्छ । माओवादी स्रोतका अनुसार रामजीले चुनाव लड्दैन भने मात्रै साउनेले टिकट पाउनुहुनेछ । माओवादी केन्द्रमा सुशीला दाहाल उपमेयरकी एक्लो दाबेदार हुनुहुन्छ ।

खासगरी तुलसीपुर उपमहानगरपालिकामा एमाले र काँग्रेसकै प्रतिष्पर्धा छ । २०६४ सालको संविधान सभाको चुनावमा दाङका पाँचवटै क्षेत्र जितेको माओवादी तुलसीपुर उपमहानगरपालिकामा एमाले र काँग्रेसको तुलनामा  कमजोर मानिन्छ । माओवादी फुटेर झुन्ड–झुन्ड हुनु र उसको नेतृत्वले जनचहाना अनुसार काम गर्न नसक्नु यसका मुख्य कारण हुन् । २०५४ सालको स्थानीय निकायको चुनावमा साविकको तुलसीपुर नगरपालिकामा एमाले कब्जा जमाएको थियो । यहाँको मेयर र उपमेयर सहित ७ वडामा एमालेले जितेको थियो भने काँग्रेस र राप्रपाले १÷१ वटा वडामा मात्रै वडा अध्यक्ष जितेका थिए । २०७० मा दाङका पाँचै क्षेत्र जितेको काँग्रेस र ०५४ सालको स्थानीय निकायको नतिजा आफ्नो पोल्टामा पारेको एमाले र आआफ्नो साख जोगाउने गरी चुनावमा होमिदैछन् ।

बिगतका चुनावको नतिजा अनुसार आंकलन गर्ने हो भने यसपटकको स्थानीय तहको चुनावमा तुलसीपुर उपमहानगरपालिकामा एमाले र काँग्रेस मध्ये कसले जित्छ ? केही भन्न सक्ने स्थिति छैन । मतदाताहरु पहिले जस्तो पार्टी भन्दा पनि विकासका लागि स्पष्ट भिजन दिनसक्ने नेतालाई मतदान गरेर जिताउने बताउँछन् । गणतन्त्र दैनिकले छापेको छ । 

Abroad Study
«
Next
»
Previous