मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी


दाङ,  वैशाख १ । विक्रम संवतको पात्रो अनुसार बिहीवार २०७३ को अन्तिम दिन हो । वर्ष २०७३ मा राजनीति, सामाजिकलगायतमा कस्ता घटना घटे हामीले उतार्ने प्रयास गरेका छौं :


ओलीबिरुद्ध अविश्वासको प्रस्ताव
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बिरुद्ध कांग्रेस र माओवादीका सांसदले दर्ता गरेको अविश्वासको प्रस्ताव वर्ष २०७३ मा सर्वाधिक चर्चाको बिषय बन्यो ।

ओली सरकारले बजेट मार्फत केही लोकप्रिय कार्यक्रम सार्वजनिक गरेपछि सत्तासाझेदार माओवादीले बिचमै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर अविश्वासको प्रस्ताव दर्ता गर्यो ।  अविश्वासको प्रस्वात दर्ता गर्ने दुर्लभ संसदीय अभ्यास भएपनि अविश्वासको प्रस्तावको मतदान अगावै ओलीले राजीनामा गरेपछि प्रस्ताव तुहियो । उनले संसदमा गरेको भाषण पनि वर्ष ०७३ मा चर्चामा रह्यो ।

प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री 
ओली नेतृत्वको सरकार ढालेपछि संसदको पहिलो दल नेपाली काग्रेसको समर्थनमा तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बने । अदृष्य शक्तिको इसारामा प्रचण्ड प्रधानमन्त्री बनेको आरोप सत्ता बहिर्गमनमा परेको एमालेले लगायो । हुनपनि संविधान अस्विकार गरेको भनेका मधेश केन्द्रीत दलहरु प्रचण्डलाई भोट हाल्न संसदमा आए । ओलीले प्रचण्ड सरकारलाई ‘मेडइन सम ह्वेर, एसेम्बल इन नेपाल’ को संज्ञा दिए ।

तीनबुदे सहमति अनुसार सरकारले कार्यान्वयन नगरेको भन्दै वर्षको अन्त्यतिर मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लियो । र, विपक्षमा रहेको राप्रपाले उपप्रधानमन्त्री लिदैँ सरकारलाई काध थाप्यो ।

प्रचण्डको विदेश भ्रमण 

प्रधानमन्त्री बनेको केही समयमा प्रचण्डले छिमेकी भारत र चीनको भ्रमण गरे । सरकार गठन भएको आठ महिनामा प्रचण्डले भारतको दुइ पटक र चीनको भ्रमण गर्ने अबसर पाए ।  भारत भ्रमणको क्रममा भएका सम्भौतालाई ‘भारतीय दूतावासलाई सरकार सरह मान्यता दिएको’ सार्वभौमसत्ता सुम्पेको जस्ता आरोप सहित प्रचण्ड विबादमा तानिए ।

प्रचण्डले भारतको गोवामा भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिसँग त्रिपक्षीय भेटवार्ता समेत गरे । चैत्र महिनामा भएको चीन भ्रमणमा प्रचण्डले राष्ट्रपति सीसँग महत्वपूर्ण भेटवार्ता गरे । प्रचण्ड,मोदी र सी बीचको भेटवार्ताका क्रममा सार्वजनिक भएको फोटो समेत चर्चामा रहेको थियो । प्रधामन्त्री पत्नी सीता दाहालको फोटोले सर्वाधिक चर्चा र आलोचना सहेको थियो ।


लोकमान बिरुद्ध महाभियोग 

अख्तियार दूरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमानसिंह कार्की बिरुद्धको महाभियोग प्रस्ताव २०७३ को महत्वपूर्ण घटना भयो ।  पदीय दूरुपयोग गरेको, क्षेत्राधिकार नाघेको, प्रतिशोध साधेको लगायतका आरोप लगाउदै लोकमान बिरुद्ध एमाले र माओवादीले कात्तिक ३ मा महाभियोग प्रस्ताव दर्ता गरे ।

दलहरुले महाभियोग पारित गर्न आलटाल गरिरहेको समयमा सर्वोच्च अदालतले नियुक्तीमा अयोग्यता पुगेको ठहराउदै लोकमानलाई अटाउने निर्णय गर्यो ।

लोडसेडिङ अन्त्य

पछिल्ला बर्षमा नेपालको मुख्य समस्या बनेको लोडसेडिङ अन्त्य २०७३ को एउटा उपलव्धी हो । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ प्रमुख नियुक्त गरिएपछि काठमाडौं उपत्यका लगायत देशका मुख्य सहर लोडसेडिङ मुक्त भए ।  यही बर्ष मिटर बिगारेर बिद्युत चोरी गर्ने प्राधिकरणका कर्मचारी कार्वाहीमा परे । लोडसेडिङ अन्त्य गरेका कारण कुलमान बर्षभरी चर्चाका पात्र बने ।

संविधान संशोधन विधेयक दर्ता र फिर्ता 
सरकारले प्रदेश नम्बर पाँचबाट तराइ र पहाड अलग्याउनेगरी संसदमा संविधान संशोधन विधेयक गरेपछि मंसिर देखि चैत्रसम्म यसैको सेरोफेरोमा राजनीतिको चक्र घुम्यो । तराइ र पहाड अलग गर्न खोजिएको भन्दै पश्चिमका जिल्लाहरुमा आन्दोलन भए ।

अन्ततः सरकारले सो संशोधन विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गरायो । संशोधन विधेयकको विरोध गर्दै विपक्षी एमालेले संसद चल्न दिएन भने पाँच नम्बर प्रदेशमा समेत आन्दोलन चर्कायो ।

भारतीय राष्ट्रपतिको नेपाल भ्रमण 

झण्डै १८ बर्षपछि भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गरे । राष्ट्रपति मुखर्जीको भ्रमणका क्रममा सरकारी विदा दिएको भन्दै प्रचण्ड सरकारको व्यापक आलोचना भयो ।  भारतीका अगाडि ‘लम्पसार’ परेको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा ट्रेण्ड नै चल्यो । नेपालमा चीनको गतिबिधी बढेको तथा चिनिया राष्ट्रपतिको भ्रमण रोक्न मुखर्जीको भ्रमण भएको भारतीय सञ्चार माध्यमले लेखे । मुखर्जीको भ्रमणपछि यसैसाता राष्ट्रपति बिद्या भण्डारीले भारतको भ्रमण गर्दैछिन् ।

एमालेको मेची महाकाली अभियान

संविधानारे छरिएका भ्रमको अन्त्य र राष्ट्रिय स्वाधिनताको पक्षमा भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फागुनमा मेची महाकाली अभियानको आयोजना गर्र्यो । आन्दोलनको तेस्रो दिन सप्तरी सदरमुकाममा एमालेका सभा सकिएपछि प्रहरीले चलाएको गोली लागि ५ जनाको ज्यान गयो । सो घटनामा पार्टीको नेतृत्व पक्तिको सामूहिक हत्या गर्ने योजना रहेको एमालेले दावी गर्यो । बर्षभरी नै एमाले र मधेशी मोर्चाबीच तिक्ततापूर्ण सम्बन्ध रही रह्यो ।

राप्रपा एकता र फूट
पूर्वपञ्चहरुको पार्टी राप्रपा नेपाल र राप्रपाको एकता अर्थपूर्ण ढंगले भयो । असोज महिनामा गर्ने भनिएको एकता अन्तिम समयमा आएर स्थगित भएपनि फागुनमा राप्रपाको एकता भयो ।  तर एकता महाधिवेशन भएको एक महिनामै कमल थापालाई चुनौती दिदै डा प्रकाशचन्द्र लोहनीले नयाँ पार्टी घोषणा गरे । कोमल वली देखि रेखा थापासम्म राप्रपाको चुनावी अभियानमा सक्रिय रहे र जिते पनि । यो घटाना पनि चर्चामा रह्यो ।

राष्ट्रपतिकी छोरीको बिवाह र पूर्वराजाका नातीको ब्रतवन्ध
राष्ट्रपति बिद्यादेवी भण्डारीकी कान्छी छोरी निसाकुशुम भण्डारीको विबाह समारोहमा पूर्वराजा ज्ञानेन्द्रको उपस्थिती चर्चा र आश्चर्यको बिषय बन्यो । पछिल्लो राजनीतिक घटनाक्रम र गणतन्त्र बिरुद्ध अभिव्यक्ती दिदै हिड्ने ज्ञानेन्द्रको शितलनिवास यात्रा एउटा गजबको संयोग बन्न पुग्यो । त्यस्तै पूर्व राजा ज्ञानेन्द्रका नाती हृदयन्द्रको ब्रतबन्धमा राष्ट्रपति भण्डारीको उपस्थिती पनि चर्चाको बिषय बन्न पुग्यो ।

निर्वाचन मिति घोषणा 
झण्डै दुइ दशकदेखी हुन नसकेको स्थानीय तहको मिति घोषणा यसबर्षको महत्वपूर्ण राजनीतिक घटनाक्रम थियो । सरकारले २०७४ वैशाख ३१ गतेका लागि निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले निर्वाचनको तयारी गरकेको छ । आन्दोलनरत मधेशी मोर्चा लगायतका दलले भने वैशाख ३१ गतेको निर्वाचनमा भाग नलिने बताउदै आएका छन् ।

सप्तरी तिलाठी घटना, कञ्चनपुर गोलीकाण्ड 
२०७३ सालमा भारतीय पक्षबाट नेपाली माथि हुने गरेका ज्याजतीका घटना कम भएनन । साउन महिनामा सप्तरीको तिलाठीमा भारतीयले नेपालीमाथि आक्रमण गरे । फागुन महिनामा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली प्रहारवाट गोविन्द गौतमको मृत्यु भयो ।

उपप्रधानमन्त्रीको बरियता लफडा 
बर्षको अन्त्य तिर उपप्रधानमन्त्रीको बरियता विबादका कारण मन्त्रीपरिषद्को बैठक बस्न नसक्ने अबस्थाको सृजना भयो । राप्रपा अध्यक्ष कमल थापाले सरकारमा प्रधानमन्त्री पछिको बरियता पाउनु पर्ने अडान राखेपछि अर्का उपप्रधामन्त्री बिमलेन्द्र निधिले राजीनामा दिने सम्मका खवर बाहिर आए । बरियता विबादका कारण उपप्रधानमन्त्री मन्त्रीपरिषद् बैठकमा गएनन् ।

आइजीपी प्रकरण 

नेपाल प्रहरीको महानिरिक्षक (आइजीपी) प्रकरणलाई लिएर दलहरुबीच लामो बिवद भयो । सरकारले तेस्रो बरियतामा रहेका जयबहादुर चन्दलाई प्रहरी प्रमुख नियुक्त गरेपछि सर्वोच्च अदालतमा मुद्दा पर्यो । सर्वोच्च अदालतले नबराज सिलवाललाई प्रहरी प्रमुख बनाउन आदेश दिएपनि कार्यसम्पादन मूल्याङकन (कासमू)को आधारमा सरकारले प्रकाश आर्याललाई प्रहरी प्रमुखको जिम्मा लगायो ।

अफगानस्तानमा १३ जनाको मृत्यु 
कामका लागि अफगानस्तान गएका १३ जना नेपाली कामदारको आतंकारी हमलामा मृत्यु भएको घटना २०७३ असारको पहिलो साता भएको थियो । काबुलस्थित क्यानेडेली दूतावासमा गरिएको हमलामा १३ जना नेपाली कामदारको मृत्यु भएपछि सरकारले अफगानस्तानमा नेपाली कामदार पठाउनमा रोक लगायो ।

काभ्रे, धादिङ र जाजरकोटमा दुर्घटना 
काभ्रे, धादिङ र जाजरकोटमा भएका दुर्घटनामा ठूलो मानवीय क्षती भयो । काभ्रको वीर्ता देउरालीमा भएको बस दुर्घटनामा २६ जनाको मृत्यु भयो । त्यस्तै धादिङमा भएको दुर्घटनामा झण्डै एक दर्जनको मृत्यु भयो । फागुनमा जाजरकोटमा भएको बस दुर्घटनामा २८ जनाको मृत्यु भयो । यी घटनाको उद्धारमा सरकारले तत्परता देखायो ।

पूर्वगृहमन्त्री त्रिशुलीमा बेपत्ता 
पूर्व गृहमन्त्री माधव घिमिरेसहित उनको परिवारका सदस्इ सवार जिप त्रिसुली नदीमा खस्दा घिमिरे सहित ५ जनाको मृत्यु भयो । लामो समय खोजी गर्दा समेत घिमिरेको शव फेला पर्न सकेन । संविधानसभा निर्वाचन गराउन महत्वपूर्ण भूमिका खेलेका घिमिरे मुस्ताङको मुक्तिनाथमा पित्रृ श्राद्ध गरेर फर्केका थिए । गत बर्ष नै राष्ट्रिय गानका संगीतकार अमर गुरुङको मृत्यु भयो ।

र, यो पनि
वर्षको अन्तिम महिना चैतमा नयाँ शक्तिसहितका करिब ३ दर्जन दलले चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन पाउनुपर्ने भन्दै निर्वाचन आयोगको कार्यालय घेराउ गर्ने कार्यक्रम राखेका थिए ।  उक्त घेराउमा पूर्व प्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्राईसहित ३० बढी नेता कार्यकर्ता पक्राउ परे । प्रहरीले नियन्त्रणमा लिने क्रममा नयाँ शक्तिकी नेतृ एवं बाबुराम पत्नी हिसिला यमीले लगाएको नारा चर्चामा रह्यो । ‘यो देश खारेज गर’ भन्दै नारा लगएको भन्दै सामाजिक सञ्जालमा ट्रण्ड नै चल्यो । जसका कारण उनले पत्रकारसम्मेलन गरेरै माफी मागेकी थिइन् ।                                                                                         लोकान्तरबाट

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post