मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २८ । सल्यानको दार्मा गाउँपालिका–५ गोठिवनका ३८ वर्षका टेकबहादुर बिकलाई छोरा गोविन्दले पढिरहेको गोठिवन माध्यमिक विद्यालयबाट रातो कार्ड आयो । उहाँ अचम्ममा पर्नुभयो । विद्यालयबाट रातो कार्ड किन पाइयो भनेर थाहा नपाएका टेकबहादुर कक्षा ३ मा पढिरहेको छोरा गोविन्दले कार्डमा लेखेको कुरा पढेर सुनाएपछि भने छाँगाबाट खसेजस्तै हुनुभयो ।

विद्यालयले उहाँलाई छोरालाई नियमित किन नपठाएको भनेर रातो कार्ड मात्रै पठाएको थिएन गम्भीर ध्यानाकर्षण समेत गराएको थियो । सामान्यतया फुटबलमा खेलाडीले ठूलो गल्ती गरेमा दिइने रातो कार्ड सल्यानका विद्यालयले भने छोराछोरीलाई नियमित विद्यालय नपठाउने अविभावकहरुलाई दिन थालेका छन् । टेकबहादुरले भन्नुभयो ‘पुस महिनामा रातो कार्ड पाउँदा नरमाइलो लाग्यो, त्यसपछि छोरालाई जस्तो काम परेपनि विद्यालय पठाएको छु ।’ उहाँले माघ र फाल्गुनमा भने छोरालाई नियमित विद्यालय पठाएपछि हरियो कार्ड पाएको बताउनुभयो ।

‘हामीले विद्यालयमा छोराछोरी नपठाउने अविभावकहरुलाई तिन प्रकारको कार्ड दिन्छौँ’ अन्धनाशक आधारभुत विद्यालय ढाकाडामका प्रधानाध्यापक दिपबहादुर केसीले भन्नुभयो ‘८५ प्रतिशत भन्दा बढी हाजिर हुने विद्यार्थीका अविभावकलाई प्रशंसा पत्र भनेर हरियो कार्ड, ७० देखि ८५ प्रतिशत हाजिर हुने विद्यार्थीका अविभावकलाई धन्यवाद ज्ञापन भनेर पहेलो कार्ड र ७० प्रतिशत भन्दा कम हाजिर हुने विद्यार्थीका अविभावकलाई ध्यानाकर्षण पत्र भनेर रातो कार्ड दिन्छौँ ।’ उनले महिनाको अन्तिम दिन सबै हाजिरी हिसाब गरेर मासिक रुपमा कार्ड दिइने बताउनुभयो ।

सेभ द चिल्डे«नसँगको साझेदारीमा स्थानीय गैर सरकारी संस्था दलित विकास समाज सल्यानको सहयोगमा जिल्लाका ४५ विद्यालयले अहिले यो अभियान सुरु गरेका छन् । कुमाख मालिका गाउँपालिकाका ९ र दार्मा गाउँपालिकाका ३६ विद्यालयले यस्तो अभियान सुरु गरेका हुन् । ‘हामीले अहिले ३ कक्षासम्मका लागि यो अभियान संचालन गरेका छौँ’ नवजागरण आधारभुत विद्यालय भल्चौरका प्रधानाध्यापक जगबहादुर केसीले भने ‘यो अभियानका कारण विद्यार्थी उपस्थिति दर बढेकाले हामीले पूरै विद्यालयमा यो अभियान संचालन गर्ने सोच बनाएका छौँ ।’

महिनाको अन्तिम दिन विद्यार्थीको हाजिरी रेकर्डको प्रतिशतको आधारमा अविभावकहरुलाई विद्यार्थीहरुसँग कार्ड पठाइन्छ । महेन्द्र माध्यमिक विद्यालय जिमालीका शिक्षक हेमराज केसीले भन्नुभयो ‘अविभावकलाई कार्ड दिँदा छोराछोरीप्रतिको जिम्मेवारीबोध तथा विद्यालयप्रतिको सम्बन्ध समेत प्रगाढ भएको पाइयो ।’ उहाँले विद्यालयमा पहिलेको तुलनामा कार्ड दिन थालेपछि विद्यार्थि उपस्थितिदर बढेको बताउनुभयो । ‘घरबाट विद्यालय जान हिँडेका विद्यार्थी विद्यालय आए नआएको समेत ट्रयाकिंग हुन्छ’ शिक्षक केसीले भन्नुभयो ‘अहिले त सबै विद्यार्थीले आफ्ना अभिवभावकलाई हरियो कार्ड दिनका लागि नियमित आउछन् ।’

मंसिरदेखि सुरु गरिएको अभियानमा शैक्षिक सत्रको अन्तिम सम्ममा विद्यार्थीको उपस्थितिमा समेत उल्लेख्य सुधार आएको देखिएको छ । पुसमा ४५ विद्यालयका ७ सय ३५ अविभावकले रातो कार्ड पाएकोमा चैत महिनामा घटेर ३ सय ५८ अविभावकहरुल मात्रै रातो कार्ड पाएका छन् । ‘यस अभियानले विद्यालयमा गतिलो छाप छोडेको छ’ जिल्ला शिक्षा कार्यालय अन्तर्गत गोठिवन श्रोतकेन्द्रका श्रोतव्यक्ति जंगबहादुर बुढाले भन्नुभयो ‘धेरै विद्यालयले कक्षा ३ मात्र नभइ आउँदो शैक्षिक सत्रदेखि पूरै विद्यालयमा अवलम्बन गर्ने जानकारी दिएका छन् ।’

विद्यालयमा विद्यार्थी नियमित हुन थालेपछि पढाइमा समेत सुधार हुँदै गएको उहाँले बताउनुभयो । सेभ द चिल्ड्रेनकी जिल्ला कार्यक्रम संयोजक विमला सुवेदीले विद्यार्थीले सिक्नका लागि पहिलो सर्तमा नियमित विद्यालयमा हाजिर हुनुपर्ने भएकोले शैक्षिक सुधारको लागि यो अभियान थालिएको बताउनुभयो । विद्यालयले कार्ड मात्रै दिँदैनन् नियमित तीन दिनसम्म विद्यार्थी विद्यालय आएन किन आएन भनेर खोजिनिति समेत गर्छन् ।

जिल्ला शिक्षा कार्यालय सल्यानले विद्यालयको हाजिरी परीक्षण गरेर अविभावकलाई कार्ड दिने अभियान राम्रो भएको भन्दै यसलाई जिल्लाभर लागु गर्नका लागि आफूहरु लागिपरेको जनाएको छ ।
                                                                                                                         पुरुषोत्तम गिरी/उज्यालो 

Abroad Study
«
Next
»
Previous