मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नवीन अभिलाषी
दाङ, जेठ ११ । दाङको घोराहीमा अहिले दैनिक ६ लाख लिटर खानेपानी अपुग हुँदै आएको छ । खानेपानीको स्रोतको तुलनामा पछिल्लो समय जनसंख्याको बृद्धिका कारण अहिले घोराहीमा दैनिक ६ लाख लिटर खानेपानीको समस्या हुँदै आएको घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बताएको छ ।
       
घोराहीमा पछिल्लो १० वर्षमा जनसंख्या बृद्धि अत्यधिक बढेको, वन जंगलहरु मासिदै गएको र खोलाहरुमा भइरहेको उत्खनन्का कारण पानीका स्रोतहरुमा असर परेकाले पानी स्रोतहरु खोज्नु पर्ने देखिएको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देवीबहादुर डिसीले बताउनुभयो । अहिले वजार ईलाकाहरु मध्य माथिल्लो भरतपुर, पुरानो वसपार्क, झिँगौरा, शान्तिसुधा विद्यालयको पछाडि लगायतका केहि स्थानमा खानेपानीको समस्या रहेको छ । ती क्षेत्रहरुमा सामान्य रुपमा पानी वितरण गरिएको भए पनि त्यहाँका सम्पूर्ण उपभोक्ताहरुलाई सहजै रुपले दैनिक क्रियाकलाप गर्न पुग्ने गरी पानी वितरण गर्न नसकिएको संस्थाका अध्यक्ष डिसीले बताउनुभयो ।

अहिले संस्थाले दैनिक ३४ लाख लिटर खानेपानी वितरण गर्दै आएको छ । ५ हजार ५ सय ५० वटा निजी धारा र ३३ वटा सामुदायीक धारामार्फत् ५२ हजार भन्दा बढि जनसंख्यालाई पानी खुवाउँदै आएको संस्थाले अपुग रहदै आएको पानीको आपुर्तिका लागि ठूला आयोजनाहरु निर्माणको कामलाई तीब्रता दिँदै आएको छ । एशियाली विकास बैंकको सहयोगमा संस्थाले सञ्चालन गरेको कार्यक्रमअन्तर्गत केहि आयोजनाहरु अहिले अन्तिम चरणमा रहेको पनि संस्थाले बताएको छ ।

एशियाली विकास बैंकको ७० प्रतिशत र उपभोक्ताहरुको ३० प्रतिशत लगानीमा निर्माण सुरु गरिएको आयोजनाको कुल लागत करिव ७ करोड रुपैया रहेको छ । ३० प्रतिशत उपभोक्ताको लगानीअन्तर्गत ५ प्रतिशत संस्थाले बेहोरेको छ, भने बाँकी २५ प्रतिशत नागरिक लगानी कोषमार्फत् कार्यक्रम सञ्चालन भएको संस्थाका सचिव सुमन शर्माले जानकारी दिनुभयो ।

अपुग पानीको परिपुर्तिको लागि संस्थाले अहिले बोरिङ निर्माण, ट्यांकी निर्माणको कामलाई अगाडि बढाइरहेको बताएको छ । अहिले ४ वटा बोरिङ खन्ने काम भइरहेको छ भने एउटा होभरहेड ट्यांकीको निर्माण कार्य जारी रहेको छ । त्यस्तै दुई वटा रिजर्भ ट्यांकीको काम पनि सुरु गरिएको छ । यी आयोजनाहरुको काम अबको ६ महिनाभित्र सकिने संस्थाले बताएको छ ।

संस्थाले बुधबार कार्यालयमै एक कार्यक्रमको आयोजना गरी संस्थाले गरेका कामहरुको बारेमा पत्रकारहरुलाई जानकारी दिइएको छ । संस्थाका अध्यक्ष देविबहादुर डिसीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाले अहिलेसम्म गरेका कामहरुको बारेमा जानकारी दिएको हो । संस्थाले गुलरिया, विकासनगर टोल, प्रहरी बोर्डिङ स्कुल गुलरियाको उत्तरतर्फ र मेरिगोल्ड स्कुल नजिकै बोरिङ निर्माण गरिएको र त्यसको अन्तिम तयारी भइरहेको जनाएको हो । यस्तै गुलरियामा ४ सय ५० घनमिटर अर्थात ४ लाख पचास हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण भइरहेको संस्थाका कोषाध्यक्ष ध्रुव केसीले जानकारी दिनुभयो ।

संस्थाले घोराहीका विभिन्न स्थानमा पाइप बिछ्याउने कामलाई पनि निरन्तरता दिँदै आएको छ । स्वर्गद्वारी रेडियोको दक्षिणबाट पूर्वतर्फको विपी चोकसम्म ५ सय मिटर नयाँ पाइप बिछ्याइएको छ । जसबाट माथिल्लो भरतपुर र शंकरनगर टोलमा पानी बितरणमा सहज हुने अपेक्षा गरिएको छ । यस्तै विभिन्न साइजका पाइपहरु आएको र उपभोक्ताहरुको माग अनुसार पाईपहरु ल्याइने बताएको छ ।

नयाँ पाइपहरु आएपछि करिव ३० देखि ३५ टोलमा नयाँ पाइपहरु बिच्छ्याउने संस्थाले लक्ष्य राखेको छ । यहि आर्थिक वर्षभित्रमा सम्पूर्ण पाइपहरु बिछ्याएर उपभोक्ताको माग पुरा गर्ने योजना रहेको संस्थाले बताएको छ । साथै विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुलाई स्थलगत अवलोकन गराउँदै संस्थाले अब केहि महिनापछि उपभोक्तालाई सहज रुपले खानेपानी आपूर्ति गर्नका लागि भइरहेका कामहरुको बारेमा जानकारी दिएको छ । खानेपानी आयोजनाअन्तर्गत सञ्चालन भइरहेका कामहरुको बारेमा अवलोकन गराउँदै अबको केहि महिनापछि घोराहीमा हुँदै आएको खानेपानीको अपुगलाई हटाउने संस्थाका सचिव शर्माले जानकारी दिनुभयो ।

सडकले गरेन समन्वय
घोराहीको रतनपुर चोकदेखि दक्षिणतर्फको सडक निर्माण गर्ने क्रममा खानेपानीको पाइपलाई व्यवस्थापन गर्न समस्या देखिएको छ । सडक निर्माण गर्ने निकायले आफूहरुसँग समन्वय नगरी सडक खन्दा बिछ्याइएको खानेपानीको पाइपलाई व्यवस्थापन गर्न नसकिएको घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बताएको छ । खानेपानीको पाइप भन्दा गहिरो हुने गरी सडक खनेर ह्युमपाइप बिछ्याउन खोज्दा खानेपानीको पाइप निकाल्न पनि नमिल्ने र त्यहि राख्न पनि नमिल्ने अवस्था रहेको छ । त्यसको व्यवस्थापनका लागि सडक आफैले काम गर्न नसक्ने जानकारी गराएको छ, भने यता खानेपानी संस्थाले पनि बजेटका कारण काम गर्न नसकेको बताएको छ ।

Abroad Study
«
Next
»
Previous