राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा अनसन बस्ने बताउनुभएका डाक्टर केसीले आफ्नो सुरुको अनसनका क्रममा दाङमा मेडिकल कलेज स्थापना गर्ने विषयमा सहमति भएको बताउनुभयो । ‘मेरो पहिलो अनसनका क्रममा प्रत्यक विकास क्षेत्रमा एउटा मेडिकल कलेज स्थापना गर्ने सहमति भएको थियो । मुलुक संघीयतामा गइसकेपछि प्रत्यक प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने सहमति भएको थियो । यी दुवै सहमतिमा दाङमा मेडिकल कलेज स्थापना गर्नुपर्ने उल्लेख भएको थियो, ‘डाक्टर केसीले भन्नुभयो, ‘दलका नेताहरुकै कारण सहमति कार्यान्वयन भएको छैन । अब सहमति कार्यान्वयन गराएरै काठमाडौं फर्कन्छु ।’
उहाँले आज साँझ ४ वजेदेखि आफ्नो एघारौं अनसन सुरु हुने बताउनुभयो ।
दाङ नै सत्याग्रहका लागि किन ?
नेपालमा तीनवटा सरकारी र १८ वटा निजी मेडिकल कलेजहरु छन् । सरकारी मेडिकल कलेज बढी र निजी मेडिकल कलेजहरु कम हुनुपर्ने आम मान्यता रहे पनि नेपालमा भने निजी मेडिकल कलेजहरु बढि छन् । दुई वर्ष अघिको अनसनमा सरकारसँग सम्झौता भएको थियो । सरकारसँग भएको सम्झौता अनुसार दाङमा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो । पाँच वर्षभित्र सबै प्रदेशमा मेडिकल कलेज निर्माण गर्ने सम्झौता अनुसार दाङमा पनि त्यो आयोजना सुरु हुनुपर्ने थियो । तर, अहिलेसम्म मेडिकल कलेज निर्माण बारे कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेन । सबैभन्दा पहिले दाङमा मेडिकल बनाउने सम्झौता रहेको थियो । बरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालो धनलाई सेतो बनाउन लागिएको बि एण्ड सी कलेजलाई सम्बन्धन दिने प्रयास गरेको देखियो ।
सुदूरपश्चिममा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो । त्यसलाई पनि रोकेर शेरबहादुर देउवाले अर्को मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने पक्षमा उभिए । ‘सरकारी मेडिकल कलेज खोल भनेर हामीले भन्दा पनि उनीहरुले भन्नुपर्ने हो’, डा. केसी भन्नुहुन्छ, ‘यो अवस्थाको अन्त्यका लागि पटक पटक लड्नुपरेको छ । यिनै नेताहरुले अर्बौं कमाउन सरकारी मेडिकल कलेज रोकेका छन् । दाङमा पहिले नै खोल्ने भनिएको थियो । तर, निजी मेडिकल कलेज खोल्न दौडधुप गरेर त्यहाँ खोल्न नदिने षडयन्त्र गरियो ।’
सरकारसँग भएको सम्झौता अनुसार दाङमा पहिलो मेडिकल कलेज सञ्चालन गर्नुपर्ने अनुसार डा. केसी दाङबाटै दवाव दिन चाहनुभएको छ । यो ठाउँमा पहिले नै मेडिकल कलेज बन्नुपर्ने तर अहिलेसम्म किन बन्न सकेन भनेर उहाँले सरकारलाई प्रश्न गर्न खोज्नुभएको छ । त्यहाँका जनतासँग ऐक्येवद्धता जनाउन खोजेको भन्दै माग पूरा भएपछि मात्रै आफू फर्किने योजनामा केसी रहनुभएको छ ।
