मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

डा. गोविन्द केसी शनिबारदेखि दाङमा सत्याग्रह सुरु गर्न लाग्नुभएको  छ । सरकारसँग यसअघि भएका सम्झौता कार्यान्वयन र प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउन संसदमा दर्ता गरिएको प्रस्ताव फिर्ता लिनुपर्ने माग डा. केसीका छन् । सरकारसँग यसअघि भएका सम्झौताअनुसार दाङमा तत्कालै मेडिकल कलेज खोल्ने भनिए पनि अहिलेसम्म काम सुरु नभएको भन्दै सोही स्थानमा सत्याग्रह सुरु गर्न लागेको उहाँले बताउनुभयो । शुक्रबार अबेरसम्म पनि त्रिवी शिक्षण अस्पतालमा बिरामीको सेवामा रहनुभएका केसीले कुरा गर्दै माग पूरा गरेर मात्रै दाङबाट फिर्ता हुने बताउनुभयो ।
यस्तो छ, उहाँसँग गरिएको कुराकानी ।

शनिबारदेखि काठमाडौं बाहिरबाट सत्याग्रह थाल्न लाग्नुभएको हो ?
काठमाडौं बाहिरका माग पूरा गर्न बाहिरबाटै अनसनमा बस्न लागेको हुँ । काठमाडौंमा बस्ने अवस्था नभएपछि काठमाडौं बाहिर पनि बस्नुप¥यो नि, हैन र ?

तपाइँ दाङमै अनसन बस्न लाग्नुभएको हो ?
अहिलेसम्म म अस्पतालमा नै छु । तर, शनिबारसम्म दाङ पुग्छु ।

तपाई पटक–पटक अनसनमा बस्नुभएको छ । तपाईले गरेका अनसनबाट केही परिवर्तन भएका छन् कि छैनन् ?
मलाई सरकार र नेताहरुले त पेलेरै लैजानुपर्छ भन्ने सोचेका छन् । तर, पेलेर लैजाने कोशिस गरे पनि दबाबको कारणले गर्दा सोचेजति गर्न सकेका छैनन् । दबाबले गर्दा केही सम्झौता कार्यान्वयनमा पनि आएका छन् । नेपाली जनताले पनि केका लागि लडेका रहेछन् भन्ने कुरा थाहा पाए, यो पनि उपलब्धि हो । जनताले गुणस्तरिय शिक्षाबाट के कारणले बञ्चित भएका रहेछौं भन्ने थाहा पाए । त्यो पनि ठूलो कुरा हो । एकीकृत चिकित्सा शिक्षा ऐन अहिले संसदमा पुगेको छ । जुन प्रतिवेदनको आधारमा बनेको हो । त्यसमा अहिले संसदमा पार्टी र माफियालाई सहयोग पुग्नेगरी संशोधनको प्रयास भैरहेको छ । हामीले त्यसमा जनतामुखि बुँदा थपेर पारित गर्नुपर्छ भनेका छौं । संसद्सम्म पुग्यो, संसदीय समितिसम्म त पुग्यो । महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिमा रहेका सदस्यहरु पनि निजी मेडिकलमा लगानी भएकाहरु नै छन् । उनीहरुमा ‘कन्फ्क्टि अफ इन्ट्रेष्ट’ देखिन्छ । जनताका लागि बोलिदिने को ? महाभियोग लाग्नुपर्ने मान्छे संसदमा छन् । तर, जो सुशासनका लागि लडेको छ उसैका लागि महाभियोग लगाउँछन् यो विडम्बना छ । बाधा व्यवधान सबैतिर छ । माफिया र नेता मिलेर विथोल्न लागेका छन् । अब विथोल्न सक्दैनन् ।

तपाईले दाङ नै सत्याग्रहका लागि रोज्नुपर्ने कारण के ?
दाङ दुई वर्षअघिको अनसनमा सरकारसँग सम्झौता गरेका थियौं । नेपालमा तीनवटा सरकारी र १८ वटा निजी मेडिकल कलेज छन् । संसारमा कहिँ पनि यस्तो हुँदैन । यो संवेदनशील क्षेत्र हो । निजी क्षेत्रमा कम्प्रमाइज हुन्छ भनेर धेरै सरकारी मेडिकल हुन्छन् । सरकारी मेडिकल बढी र निजी मेडिकल कम हुनुपर्ने हो तर नेपालमा त्यस्तो छैन ।

नेपालमा के भयो भने जोसँग करोडौं रुपैयाँ छ उसैका छोराछोरीले मेडिकल शिक्षा पढ्न पाउने भए तर पैसा नहुनेका छोराछोरीले पाउने भएनन् । सरकारसँग भएको सम्झौताअनुसार दाङमा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो । पाँच वर्षभित्र सबै प्रदेशमा मेडिकल कलेज निर्माण गर्ने तर पहिले दाङमा बनाउने भनिएको थियो । तर अहिलेसम्म केही पनि भएन । सबैभन्दा पहिले दाङमा बनाउने भनिएको थियो । बरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालो धनलाई सेतो बनाउन लागिएको बि एण्ड सी कलेजलाई सम्बन्धन दिने प्रयासमा छन् । उनले मन्त्रिपरिषमा यो प्रस्ताव लगेका थिए । तर, केही मन्त्रीको विरोधले गर्दा त्यो पारित हुन सकेन । हामीले नलडेको भए पहिले नै दिने रहेछन् ।

सुदुरपश्चिममा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो त्यसलाई रोकेर शेरबहादुर देउवा पनि माफियासँग मिलेर अर्को मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्छ भन्ने पक्षमा छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेता राजनेता मनमोहन अधिकारीको नाम बिक्री गरेर निजी सम्पत्ति कमाउनेलाई सम्बन्धन दिनुपर्छ भनेर लागिपरेका छन् । यी सबै मिलेर ऐन आउन दिएका छैनन् । संविधान समाजवादउन्मुख भए पनि दलहरु त्यसको विरोधमा छन् । यी सबै माफियासँग मिलेर व्यापार गरेका छन् ।

सरकारी मेडिकल कलेज खोल भनेर हामीले भन्दा पनि उनीहरुले भन्नुपर्ने हो । यो अवस्थाको अन्त्यका लागि पटक पटक लड्नुपरेको छ । यीनै नेताहरुले अर्बौं कमाउन सरकारी मेडिकल कलेज रोकेका छन् । दाङमा पहिले नै खोल्ने भनिएको थियो । तर, निजी मेडिकल कलेज खोल्न दौडधुप गरेर त्यहाँ खोल्न नदिने षडयन्त्र गरियो ।

त्यहाँ मेडिकल कलेज भएको भए गरिबका छोराछोरीले पनि पढ्न पाउने थिए । म दाङमा सत्याग्रहमा बसेर तिमीहरुले देश लुटेका छौ, ऐन बन्न दिँदैनौ । यो ठाउँमा पहिले नै मेडिकल कलेज बन्नुपर्ने तर अहिलेसम्म किन बन्न सकेन भनेर भन्छु । त्यहीँ बसेर लड्छु। त्यहाँका जनतासँग ऐक्यवद्धता जनाउन पनि त्यहाँ गएर लड्न लागेको हुँ । म माग पूरा भएपछि मात्रै फर्किन्छु ।

सुशीला कार्की्विरुद्धको महाभियोग प्रस्ताव फिर्ता गर्नुपर्ने हुन्छ । यो देशमा जो भ्रष्ट छन् तिनैले जेहेन्दार र निर्भिक व्यक्तिलाई महाभियोग लगाउन लागिपरेका छन् । उनलाई महाभियोग लगाएर अब आउने न्यायाधीशलाई पनि तर्साउन लागिपरेका छन् । यो हुनै दिनुहुँदैन ।  सुशासन नष्ट हुन दिनुहुँदैन । मैले मेरो कर्तव्य बुझेर सत्याग्रहमा बस्न लागेको हुँ ।
                                                                                                                                         बाह्रखरीबाट

Abroad Study
«
Next
»
Previous