मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नवीन अभिलाषी,
दाङ, जेठ ६ । नारायणप्रसाद शर्मा र नेत्रलाल अभागी दाङको कम्युनिष्ट आन्दोलनका जुझारु पात्र हुन् । तर, यी दुई बीच कहिल्यै मित्रता देखिएन, यहाँसम्म कि एकले अर्काको कामप्रति सन्तुष्ट जनाउने ठाउँ देख्दैनन् ।

यहि बीचमा नेत्रलाल अभागीले लेखेको कविता हो ‘एउटा चिठी गुन्यूको नाता पर्ने दाइलाई’ शीर्षकको कविता र यो कविता नेत्रलाल अभागी र नारायणप्रसाद शर्मा बीचको आन्तरिक द्वन्द्व देखाउने एउटा झिल्को हो । नारायण गुरुका साली नाता पर्ने विष्णु पौडेलसँग नेत्रलाल अभागीले विवाह गरेका थिए । श्रीमती तर्फबाट नाता पर्ने नारायण गुरुप्रति लक्षित गर्दै अभागीले लेखेको यो लामै कविता हो । यो कविता चर्चित कविता संग्रह ‘सतिसाल मात्र ठिंग उभिन सक्छ’ मा संग्रहित छ । नेत्रलाल पौडेल ‘अभागी’को जीवनको सबैभन्दा महत्वपूर्ण पाटो राजनीतिक जीवन हो । यति हुदाँहुदै पनि अभागीको साहित्यिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान छ ।

वि.सं. २००१ पुस २७ गते दाङ जिल्लाको धर्ना गाविस वडा नं. २ सिसैपुर गाउँमा जन्मिएका नेत्रलाल पौडेलसँग नारायणप्रसाद शर्माको भेट भने धेरै पछि भयो । २०१७ सालतिर भरतपुरमा रहेको विद्यालयका हेडमास्टर थिए रामसुरत झा । उनले विद्यार्थीहरुलाई हेपाहा प्रवृत्ती देखाउने गरेको त्यस समयका विद्यार्थीहरुको आरोप मात्र थिएन हेडमास्टरलाई निकाल्नुपर्छ भन्ने आन्दोलन समेत चलाइरहेका थिए । त्यो आन्दोलनमा काम गरिरहेका नारायणप्रसाद शर्मासहित केहि विद्यार्थीहरु निस्कासनमा पनि परे । त्यसको प्रतिवाद स्वरुप फेरि आन्दोलन गर्दा नारायण गुरु जेल परे । त्यसको तीन वर्षपछि २०२० साल साउनमा छुटे पनि मात्र नारायण गुरु र नेत्रलाल अभागीको भेट भएको थियो । विद्यालयमा भएको त्यो चर्चित विद्यार्थी आन्दोलनको समयसम्म नेत्रलाल गुमनाम थिए । त्यो समय नेत्रलाल मौन थिए । त्यो आन्दोलनमा कुनै पक्षता देखाएका थिएनन् अभागीले ।

नारायण गुरुको भनाईमा त्यसपछि मात्रै अभागी राजनीतिमा आएका हुन् । ‘अभागी अत्यन्तै कमजोर आर्थिक अवस्थाबाट अगाडि आएका हुन् । उनले धेरै दुःख गरेर पढेका हुन् । २०२२ सालतिर जस्तो लाग्छ बी.ए. अनर्सको अध्ययन पुरा गरेपछि उनी बढी बढि चर्चामा आए’, घोराही काठेकोहोलस्थित आफ्नै निवासमा कुरा गर्दै नारायण गुरुले बताए, ‘अभागी मेरो नातेदार हुन् । उनलाई मेरो सालीसँग विवाह गराईदिने, व्यवस्थापन गर्ने काम मैले नै गरेको थिएँ ।’  

वि.सं. २०२३ बाट नेत्रलालले शिक्षण पेसा सुरु गरे । अभागीले शिक्षण पेसा मात्र सुरु गरेनन् । राजनीति जीवन पनि सँगसँगै सुरु गरे । एक किसिमले अभागीको राजनीतिक जीवन र मावि नारायणपुरमा शिक्षण पेसा एकै साथ चल्यो । वि.सं. २०२३ मा केन्द्रको पुष्पलाल समूह निकट रहेर अर्घाखाँची र गुल्मीको संयुक्त प्र.ने.क.पा. जिल्ला कमिटीमा रही काम गर्ने क्रममा उनले वि.सं. २०२३ मा नै कम्युनिष्ट पार्टीको गौरवपूर्ण सदस्यता प्राप्त गरेका हुन् । उनी पार्टी सदस्य बनेपछि त्यहाँ सङ्गठित भएर काम गर्न थाले । यस क्रममा उनले शिक्षण, राजनीति र साहित्य तीनै क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरे । यहि बीचबाट नारायण गुरु र नेत्रलाल अभागी विचको सम्बन्धमा फाटो देखिन सुरु भएको हो ।

‘नेत्रलाल अभागी जागिरे थिए । तर, उनी जागीरे भन्दा पनि बढि राजनीतिक रुपमा सक्रिय देखिन थाले’, गुरु बताउँछन्, ‘तर तत्कालिन प्रशासनलाई यो सह्य हुने कुरै थिएन । जस्ले गर्दा उनी प्रशासनको आँखामा परे ।’ त्यसपछि अभागी शिक्षण पेसामा आबद्ध रहिरहन सकेनन् । उनी भुमिगत भए । हिसाबले जम्माजम्मी ११ वर्ष भूमिगत कठोर राजनीतिक यात्रा उनको राजनीतिक जीवनको उत्कर्ष समय हो ।

गुरु सुनाउँछन्, ‘एक किसिमले भन्ने हो भने नेत्रलाल कमरेड चरम उग्रबामपन्थी थिए, म २०११ सालदेखि २०/२२ सालसम्म पनि चरम उग्रबामपन्थी नै थिएँ । जब म शालिन राजनीतितर्फ गए उनी उग्र बन्दै गए ।’ यहि विषयलाई नारायण गुरुले आफूहरुको बीचमा नमिलेको पाटो सम्झन्छन् । भन्छन्, ‘हाम्रो विचार नै फरक भैसकेको थियो, त्यसपछिका दिनहरुमा म पत्रकारितासँग जोडिएपछि झन् मलाई विभिन्न आरोप लगाए ।’

नारायण गुरु घोराहीबाट प्रकाशनमा आउने नयाँ युगबोध पत्रिकाको जिम्मेवारीमा रहन थाले । उनी भन्छन्, ‘पत्रकारिताको मर्म अनुसार मैले सरकारको खुलेरै बिरोध गर्न सक्दैन थिएँल भने नेत्रलालले लिएको उग्र राजनीतिको खुलेरै सपोर्ट पनि गरेन । जसका कारण नेत्रलाल अभागीले मलाई सुधारवादी, संशोधनवादी जस्ता विशेषण प्रयोग गरेर आरोप लगाए ।’

नारायण गुरु विगत केलाउँदै थप्छन्, ‘त्यो समय पत्रिका मैले सुरुवात भर्खर गरेको थिएँ । पत्रिकालाई हुर्काउनु बाध्यता थियो भने पञ्चायत बिरुद्ध लेख्नु पनि कम साहसको विषय थिएन । एकातर्फ प्रशासनले दुःख दिन्थ्यो भने अर्कोतर्फ मलाई पञ्चायतको सपोर्ट गर्यो भनेर आरोप लगाउँथे ’, गुरु अगाडि भन्दै जान्छन्, ‘जसरी मैले जनयुद्धलाई खुलेर सपोर्ट गरिनँ र बिरोध पनि गरिनँ त्यसैगरी तत्कालिन नेकपा मालेले लिएको कदमलाई पनि मैले खुलेर सपोर्ट नगरेको हो ।’

वि.संं २०३१ मा भएको चौथो महाधिवेशन पश्चात् नेत्रलाल सुदूरपश्चिमको क्षेत्रीय ब्युरोको सदस्य बने । नेत्रलाल यसरी राजनीतिमा आउने क्रममा वि.सं. २०३० श्रावण २५ गतेदेखि पूर्णरूपमा राजनीतिक गतिविधिमा समर्पित हुन भूमिगत जीवनको यात्रा सुरु गरेका थिए । उनी वि.सं. २०३६ साउनमा नेकपा (माले) को केन्द्रीय सदस्य बने । वि.सं. २०३६ अषाढ ४ गतेदेखि दाङ जिल्लामा सुरु भएको आन्दोलनको नेतृत्व नेत्रलालले गरे ।

नेत्रलालको यस्तो आन्दोलन थियो कि वि.सं. २०३६ को दाङको किसान आन्दोलनको नेतृत्व गर्दै नेत्रलालले जमिन्दार, शोषक, सामन्तको भकारी फोडी किसानहरूलाई वितरण गर्थे । उनको नेतृत्वमा शोषकलाई मोसो दल्ने, ज्वालीमा नारी हल गोरु झैँ जोत्ने जस्ता जनकार्बाही पनि भए । उनले किसानहरूलाई सङ्गठित गराई मोही बेदखली विरुद्ध, सार्वजनिक जग्गामा जग्गाधनीको हस्तक्षेप बिरुद्ध किसान विद्रोह गराए । नेत्रलालले यसरी आन्दोलनमा आफू पनि प्रत्यक्ष सरिक भई र पीडित किसानहरूलाई पनि सहभागी गराई आपूm पनि अत्यन्त जनप्रिय बन्दै किसानहरूमा वर्गीय चेतना र राजनीतिक जागरण ल्याउने क्रान्तिकारी भूमिका निर्माण गरे । तर, यस्ता कामबाट आफू सधँै टाढा रहेको नारायण गुरु बताउँछन् । उनी भन्छन्, ‘उनको कामको सपोर्ट नगरेपछि उनले कवितामै घोचपेच गरे ।’

अहिले नारायण गुरु नेत्रलाल अभागीले त्यो समयमा लिएका नीति विचार तथा कार्यक्रमहरु प्रति सन्तुष्ट छैनन् । नेकपा माओवादीले १० वर्ष युद्ध गरेर जसरी सम्झौताको कसीमा आईपुग्यो । त्यो स्तरसम्म पनि नेत्रलाल र तत्कालिन नेकपा मालेको ऐजेण्डा जनताको पक्षमा नदेखिएको गुरुको बुझाई छ । पछि नेकपा मालेले आफ्ना एजेण्डा निर्णय नै गरेर छोडेको घोषणा गरेको भन्दै गुरुले नेत्रलाल उग्र स्वभावका भएको विश्लेषण गर्छन् ।

Abroad Study
«
Next
»
Previous