मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

अजय शर्मा/ अब मेरो स्मृतिमा मात्र रहनु हुनेछ, मेरा साइला बा अर्थात् बा (मकरध्वज उपाध्याय) । मेरा बा यस धर्तीबाट बिदा हुनुभएको आज १३ औँ दिन हो । यस दिनमा उहाँको आत्मले शान्ति पाओस् यहि कामना गर्दछु ।

म सानै थिए मेरो बुबाको दुःखद घटना हुँदा । मेरो मानसपटलमा मेरो बुबाको स्मृति नै छ्रैन । कस्तो हुनुहुन्थ्यो मलाई याद नै छैन । मैले बुबाको अनुपस्थितिमा साइला बा मा मात्र भेटे बाको रुपमा । हामी सबैले उहाँलाई बा भनेर सम्बोधन गथ्यौं ।

मान्छेहरु भन्छन्, ‘आफन्त गुमाउनुको पीडा समयले भुलाउँदै जान्छ’ तर आजसम्म पनि मैले मेरो बुबालाई नसम्झे पनि गुमाउनुको पीडा भूल्न सकेको छैन । न मैले भर्खरै गुमाएका बा लाई भुल्न सक्ने नै छु ।
मेरो बुबाहरु जम्मा चार भाइ र ६ जना दिदी बहिनी हुनुहुन्थ्यो । मैले बुबाको रुपमा साइला बासँग मात्र साक्षात्कार हुन पाएँ । त्यसो त दुई जना फुपूसँग पनि मैले रमाइलो गर्न पाएँ ।


बुबा नहुनुको पीडा सानैमा बुबा गुमाउने मात्र थाहा पाउँछन् । बुबाको स्थान त कसैले लिन सक्दैनन् त्यसको न्यास्रो पुर्ति गर्ने पात्र हुनुहुन्थ्यो मेरा साइला बा । मेरो बुबा मेरा साइला बा को जेठो छोरासँगै जन्मनु भएको रे । बाउँ छोरा एकै समयमा बाउ बनेको अर्थात् छोरा जन्माएको, यसले त्यति बेलाको समाजको जीवन्त चित्रण गर्छ ।

म मम्मीलाई सानामा धेरै दुःख दिन्थे रे । कहि कतै हिड्दा उमेरले बुबा समूहको लोग्ने मान्छे देख्यो त्यहि मान्छेलाई इंकित गर्दै मम्मी त्यो मेरो बुबा हो भन्थे रे । कति पीडा हुँदो हो त्यसरी मैले मम्मीलाई सोध्दा अहिले आएर कहिले काही सोच्छु ।

मेरो बुबा कम्युनिष्ट सिद्धान्त अंघिकार गरेर वर्गीय क्रान्तिबाट समाज परिवर्तनको मार्गमा हिड्नुभएको थियो । मेरा साइला बा विशेष गरेर धर्म कर्म र जजमानी गर्नु हुन्थ्यो । उहाँसँग रहँदा मैले पनि महाभारत, पुराण, गीता, वेदलगायका कुरा सुन्न अवसर पाउँथँे । साँच्चै भन्दा मेरा बुबा र मेरा साइला बा आआफ्नै तरिकाले समाज परिवर्तन र समाज सुधारमा लाग्नु भएको थियो । समाज परिवर्तनको लक्ष्य एउटै थियो यी दुई दाजु भाइको तर माध्यम फरक रोजेका थिए ।

म करिव ३/४ वर्षको थिएँ होला । बिहान भएपछि म सधँैजसो साइला बाकोमा जान्थँे । चिया खाने आशमा । घरमा कहिलेकाही चिया बन्थ्यो । मेरा साइला बाको घरमा दिनभरि जासो चिया बनिरहन्थ्यो । हलिया, कम्लरी हुन्थे उहाँकोमा मान्छे पनि आइरहने । बिहान र बेलुका गाउँभरका भद्र भलादमीको कचहरी चल्थ्यो बा को घरमा । रणबहादुर, खिमबहादुरको जजमानी गर्ने हाम्रा साइला बा त्यतिबेला निकै चल्तीका जजमान हुनुहुन्थ्यो । कसैलाई ग्रह, गोचर, विवाह, ब्रतबन्ध, न्वारनलगायत सबैको तिथि मिति, साइत जुराउनु पर्यो साइला बा कोमा नगई धरै पाउँदैनथे । त्यति बेला हामी दाङ जिल्लाको धर्ना गाविसको सिसौपुर टोलमा बस्थ्यौै ।

एकदिन बिहानै म बा को घरमा पुगे त्यहाँ चिया खाने बेला भएको रहेछ । साइला बा ले मलाई रुचाउनु हुन्थ्यो । ‘ए यो पनि आएछ । खै चिया छ कि नाई ल्याओ त । न भए मेरो छोरो नै हा, ल खा यो चिया’ आफूले खाँदै गरेको चिया दिनु भयो । बा घरको पिढिमा बस्नुभएको थियो । म पनि उहाँ नेर गएर टुसुक्क बसे । बा ले दिनु भएको त्यो जुढो चिया मिठो मानि मानि खाएँ ।

बा को घरमा घोडा पनि थियो । त्यति बेला घोडा राख्नु भनेको अहिले आफ्नै गाडी हुनु भन्दा पनि बढि हुन्थ्यो । साइला बा र उहाँका छोरा अर्थात् मेरा दाइहरु घोडामा चढ्नु हुन्थ्यो । क्या गजव जिन्दगी छ है । जहाँ गयो त्यहाँ गुरु भयो । खान पीन, बस उढ, हाउ भाउ अत्यन्तै मनमोहक । लाग्थ्यो मेरा बा हिरो हुन्न । सबैले पुज्ने सबैले मान सम्मान गर्ने क्या जिन्दगी है मेरा साईला बा को ।

हुन त अहिले बा का समकालिनहरु धेरै जना यस धर्तीमा हुनुहुन्न । ९४ वर्षको उमेरमा निधन भयो मेरा साइला बा को । काफी समय जिउनु भयो । जति समय जिउनु भयो उहाँ आफ्नो सिद्धान्त र कर्मनिष्ठ भएर जिउनु भयो । केही बर्ष अघिसम्म जजमानी र खेत वारीमा सक्रिय मेरा साइला बा, यो उमेरमा पनि निकै सक्रिय जीवन जिउनु भयो ।

अशोक पौडेल/ कुनै घटनाको जानकारी पाएको केही मिनेटमै अनलाइनमार्फत समाचार ब्रेक गर्ने हाम्रो दायित्व थियो । कुनै महत्त्वपूर्ण वा ठूलो घटना हुँदा आफ्नो मिडियामार्फत त्यसलाई छिटो सम्प्रेषण गरेर यो दायित्व पूरा गर्न सबै पत्रकारले हतार गर्छन् नै !

अनलाइनको डेस्कमा बस्नेले रिपोर्टरले फिल्डबाट पठाएको वा जानकारी गराएको समाचारलाई पठाउँछ वा लेखेर पोस्ट गर्छ । तर, एक दिन यस्तो राष्ट्रिय विपत्ति आइलाग्यो, हामी मिडियाकर्मी पनि त्यसबाट पीडित भयौं । भूकम्पले देशलाई छिया–छिया पार्‍यो । हजारौंको ज्यान गयो । तर सानो घटना हुँदा पनि तात्तातै पाठकसम्म पुग्ने बानी लागेका हामी यो घटनाका बेला करिब डेढ घण्टा बाहिरै बस्नु पर्यो ।
.....
शनिबारका दिन भूकम्प आउँदा म अफिस पुगिसकेको थिइनँ । दिउँसो साढे १२–१ बजेसम्म अफिस पुग्ने मेरो सोच थियो । बिहान एकजना बिरामी दिदीलाई भेट्न जोरपाटी पुगेको थिएँ । उहाँसँग बसेर गफ गर्दै थियौं । एक्कासि आवाजसहित हल्लाउन थाल्यो । अनि बिरामीलाई कता के गर्ने ? उनका साना बच्चाहरू थिए । सबै बाहिर भाग्न खोजे । मैले घरभित्रै रोकेँ । कसैलाई ढोकामा बस्न भनेँ । कसैलाई घरको पिलर नजिक !
सबै पाँच जना एउटै ढोकामा थिए । म कोठाभित्र अलमलमा परेँ र थुचुक्क बसेँ । एउटा सानो टि–टेबल थियो, त्यसले टाउको छेकेँ । भुइँतलामै थियौं । बाँचिन्छ भन्ने त लागेको थिएन । तर घर बलियो रै’छ र बाँचियो ।

हामी भूकम्प रोकिएपछि मात्रै बाहिर निस्क्यौं । वरपर केही घर भत्किएका रहेछन् । केही चर्किएका । पर्खालहरू लडेका । हामी भएकै घरको पनि माथिल्लो तलाबाट फूलका गमला र इँट्टा झरेका थिए । बाहिर निस्केको भए के हुन्थ्यो भन्न सकिन्नथ्यो । अगाडि खुल्ला ठाउँ नहुँदा बाहिर ननिस्कनु नै ठिक रहेछ भन्ने लाग्यो ।
पहिले १९९० साल र २०४५ सालका भूकम्पबारे केही पढिएको थियो । त्यस्तै विभिन्न देशमा गएका भूकम्म र यसबाट बच्ने उपाय पनि सुन्दै आएका हौं । तर त्यो दिन आफैले भोग्नुप¥यो ।

भूकम्प कति रेक्टर स्केलको गयो ? कहाँ होला केन्द्र ? कति क्षति भयो होला ? मनमा एकदम हुट्हुटी भयो । जान्न मन लाग्यो । यताउता साथी र आफन्तलाई फोन गर्न खोजेँ, लागेन ।
त्यसपछि के गर्ने ? साँच्चि धरहरा के भयो होला ? सँगै भएका साथी चन्द्र नेपालीसँग सोधेँ । उनले भने, ‘‘धरहरा लड्यो, पक्का !’’

मलाई विश्वास लागेन । तर पनि भूकम्प कत्रो गयो र कति क्षति भयो भनेर अनुमान लगाउने एउटा मात्रै माध्यम धरहरा हो भन्ने लाग्यो । र, अफिस पुग्न पनि ढिला भयो । समाचार राखे कि राखेनन्, अनलाइनमा । ज्यान बँचेपछि आफ्नो जिम्मेवारी सम्झिएँ । भूकम्पको पराकम्पन गइरहेको थियो । तर पनि बाटोमा हेर्दै र फोटो खिच्दै सुन्धारातिर हिँड्यौं ।

सबै मान्छे बाटोमा उभिएका थिए । जोरपाटी–बौद्ध–चाबहिल हुँदै रत्नपार्कसम्म आइपुग्दा बाटोमा केही पुराना घरबाहेक त्यति क्षति भएको पाइएन । त्यसैले त्यति ठूलो क्षति भएजस्तो लागेन मलाई । तर जब पुरानो बसपार्क नजिक आइपुग्दा सधै टलक्क टल्कने धरहरा ढलेको थाहा पाएँ, मनमा एकदमै चिसो पस्यो । मुटु भुक्भुक् हान्यो । मोटरसाइकलको पछाडि बसेर फोटो खिचिरहेका साथी चन्द्रलाई भनेँ, ‘‘बर्बाद भएछ । कति मान्छे के भए होलान् ?’’

धरहरा ढलेको देख्दा नेपालीको मन र गौरव नै लडेको महसुस गरेँ । अर्को कुरा धरहराको फेंदमा बसेर कैयौं पटक गफ गरे पनि धरहरा चढेको थिइनँ । मेरो त्यो रहर पनि पूरा भएन । एकपटक मात्रै त्यो सोचें । बाँकी कति क्षति भयो देशभर भनेर निकै चिन्ता लाग्यो । धरहराबाट घाइते र पुरिएका मान्छेको उद्धार चलिरहेको थियो । कसैले एम्बुलेन्समा त, कसैले बाइकमा घाइतेलाई कुदाउँदै थिए । पुलिसले अगाडि छिर्न रोकेको थियो ।
हामी सहिदगेट पुग्यौं ।  

मलाई अफिसमा के भयो होला भन्ने लाग्यो । मैले सुन्धारा बागदरबारमा रहेको नागरिक न्युजको अफिसमा जाने सोच बनाएँ । त्यसकै अगाडि रहेको सिटिसी मल निकै चर्किएको रहेछ । तर पनि मोटरसाइकल लिएर भित्र गएँ । भित्र जाँदा नागरिकका प्रमुख संवाददाता विश्वमणि सर बाहिरपट्टि बसिराख्नुभएको रहेछ । १÷२ जना गार्ड दाइहरूलाई देखेँ ।

विश्वमणि सर भूकम्प मापन केन्द्रका कर्मचारीसँग कुरा गरेर अनलाइनमा समाचार पोस्ट गर्न पाए हुन्थ्यो भनेर बस्नुभएको रहेछ । उहाँले हातमै कति रेक्टरको भूकम्प गएको र केन्द्र कहाँ भन्ने टिप्नुभएको रहेछ ।
क्षतिको विवरण आउने बेला भएको थिएन । पराकम्पनहरू आइरहेकै थिए । दुई तल्ला माथि चढेर समाचार पोस्ट गर्नु थियो । गार्ड दाइहरू माथि जान डराउनुभयो ।

मैले हेलमेट लगाएकै थिएँ । दुई तल्ला माथि जाने आँट गरें । त्यसैबेला फोटोग्राफर विजय राई दाइ पनि ढलेको धरहराको फोटो लिएर आइपुग्नुभयो । र, गार्ड दाइहरूसहित माथि चढ्यौं ।
अफिसको भर्‍याङ पनि चर्किएको थियो । केही ठाउँमा रगतका टाटा देखिए । हामी मन दह्रो गरेर माथि चढ्यौं ।
ढिलै भए पनि अनलाइनमार्फत आफूसम्म आइपुगेको आधिकारिक जानकारी दिऊँ भन्ने लाग्यो । अनि मैले कम्प्युटर खोलेर लेख्न थालेँ । विश्वमणि सरले भन्नुभयो ।

विजय दाइले धरहराको फोटो दिनुभयो । र, हामीले “नेपालमा ७.६ रेक्टर स्केलको भूकम्प, गोरखा केन्द्रबिन्दु” शीर्षक राखेर समाचार लेख्यौं । विश्वमणि सरले भन्दै गर्दा मेरो हात काँपिरहेको थियो । पराकम्पन आइरहेकै थियो । मैले हेलमेट लगाएकै थिएँ ।  ४ लाइनको समाचार लेख्दा लेख्दै पनि भाग्नका लागि हामी दुई–तीन पटक ढोकासम्म पुग्यौं । तर फेरि फर्केर आउँदै कुर्सीमा पनि नबसी समाचार लेखियो । गार्ड दाइले बेला बेला ‘सर भूकम्प आयो आउनुस्,’ भन्नुहुन्थ्यो । भाषागत त्रुटि हेर्न पनि भ्याएनौं ।  र, धरहराको ढलेको र केही घाइते तथा ज्यान गएकाहरूको फोटो पोस्ट गर्‍यौं । विजय दाइ फोटो दिएर बीच बाटोमा उभिएर ‘अशोक भागौं छिटो’ भन्नुहुन्थ्यो । उहाँले एउटा त फोटो खिच्नुपर्‍यो भनेर क्यामेर क्लिक क्लिक गर्दै अघि बढ्नुभयो ।

पेजमा समाचार पोस्ट गरेपछि फेसबुक पेजमा पनि गर्नुपर्ने । त्यसका लागि फेसबुक खोलेँ । पछि पोस्ट गर्दा त नागरिकको पेजमा नभई आफ्नै पेजमा पो पोस्ट गरिएछ !
त्यो बेलुका मात्रै थाहा पाएँ ।

त्यसपछि पनि पराकम्पन आउन छाडेन । त्यसपछि अफिसको माथि चढ्ने आँट गरिएन ।
 आफू बाँचेपछि थोरै नै भए पनि सूचना दिन सकेकोमा आत्मसन्तुष्टि मिल्यो । त्यतिबेलासम्म मेरो कोठामा बस्ने भाइबहिनीसँग सम्पर्क हुन सकेको थिएन । बहिनी परीक्षा दिन गएकी थिइन् । उनलाई खोज्न म बागबजार नै पुगेँ । भाइ दरबारमार्गमा काम गथ्र्यो । उसलाई पनि त्यहीँ पुगेर भेटेँ ।

गाउँबाट बुबाले पनि बारम्बार फोन गर्नुभएको रहेछ । सम्पर्क हुन सकेको रहेनछ । भूकम्प गएको ३ घण्टापछि सबैसँग सम्पर्क भयो । सबै जना सकुशल नै भएको खबर पाएँ ।  त्यसपछि भूकम्पले के–के क्षति पुर्‍यायो भनेर हेर्न र बुझ्न खोज्यौं । तर खास सूचना पाउन सकेका थिएनौं । बेलुकासम्म अफिस नजिकै बस्यौं । बेलुका ८ बजेतिर सबैजस्तै घरबाहिर चौरमा घरभेटीसहित सबै मिलेर बस्यौं । त्यसरी नै कोठा बाहिरै बसेर १ महिना बित्यो । दिउँसो भूकम्पको दुःखद समाचार लेख्यौं र बेलुका खुल्ला चौरमा बस्यौं । कहिले चाउचाउ मात्रै खायौं । कहिले के !

हामी कुनै क्षति नभएकालाई त खासै केही भएन । त्यस दिनको घटनाबाहेक दुःख बिर्सिंयौं । तर आफ्नो गास, बास र कपास उडेका पीडितहरूको अवस्था अहिलेसम्म पनि उस्तै देख्दा दुःख लाग्छ ।  धरहरा पुनर्निर्माण के हुँदै छ कुन्नि ! बाहिरबाट हेर्दा त्यो भत्किएर बाँकी भएको अवशेषले ओत पाएको छैन । हजारौं मठमन्दिर, सरकारी भवन र स्कुल ढलेकै अवस्थामा छन् ।

दुई वर्षपछि भूकम्पलाई सम्झिँदा पनि सरकारले पुनर्निर्माणको कामलाई गति दिन नसक्नु दुःखद छ ।
पुनर्निर्माणको कामलाई अगाडि बढाएर पीडितको दुःख छिटो बिर्साउन सरकार र पुनर्निर्माण प्राधिकरण सफल होऊन्, शुभकामना !  
लक्की चौधरी/‘सामान्यतः पत्रकारले अरुलाई प्रश्न गर्छ’ भन्ने आमबुझाई छ । पत्रकारले प्रश्नमात्र गर्ने अरुले जवाफमात्र दिनुपर्छ भन्ने पत्रकारिताको धर्म हुँदै होइन । न त त्यो कुनै देशको संविधान, विधिविधान र ऐनमा लेखिएको विषय नै हो । पत्रकार आचारसंहितामा पनि त्यो कुरा उल्लेख छैन । पत्रकार महासंघको विधानले पनि त्यो भन्दैन । ‘पत्रकारले प्रश्न गर्नुपर्छ’ हाम्रो परम्परागत बुझाई हो । पत्रकार अरुभन्दा भिन्नै्, अरुलाई तर्साउँदै हिड्ने अर्कै ग्रहका व्यक्ति पनि होइन । पत्रकारिताको ट्रेण्ड हेर्दा सार्वजनिक सरोकारका ओहदामा बस्नेहरुलाई जिज्ञासा राखेर नागरिकका लागि जवाफ खोज्ने ‘ब्रिज’ मात्र हो । पत्रकारले आफ्नालागि प्रश्न गर्दैन । पाठक, स्रोता, दर्शक या आमनागरिकका लागि गर्छ । यसको अर्थ पत्रकारले मात्र प्रश्न गर्न पाउँछ अरुले पत्रकारलाई प्रश्नै गर्नु हुन्न भनेको होइन । पत्रकारले जसरी अरुलाई जिज्ञासा गरेर कुरा खोतल्छ, त्यसरी नै सर्वसाधारणले पत्रकारलाई प्रश्न तेस्र्याउन छुट छ । पत्रकारलाई जिम्मेवार बनाउन पनि त्यसले मद्दत गर्छ ।

बेलाबखत पत्रकारप्रति थरिथरिका प्रश्न तेर्सिने गर्छन् । तर ती प्रश्नको जवाफ नआउँदै प्रश्न ओझेलमा पर्छन् । कारण, उत्तरदिने निकायले त्यसमा वेवास्ता गर्नु र प्रश्नकर्ताले ‘फ्लोअप’ नगर्नु । पत्रकारलाई प्रश्नगर्दा उल्टै फँसादमा परिने पो होकि ! कतिपयको मनमा मानसिक भय देखिन्छ । पत्रकार अर्कै ग्रहबाट आएका वर्ग होइनन् । पत्रकारलाई प्रश्न नगर्ने हो भने छाडा हुन्छन् । यिनीहरुको मनपरी फष्टाउँछ । अर्थात् ‘पत्रकारले अरुलाई औलामात्र ठड्याउने वर्ग हो, अरुले खुरुखुरु जवाफमात्र दिने हो’ सोच्नु हुन्न । यस्तो सोचले पत्रकार जिम्मेवार बन्दैनन् । पत्रकारलाई परिपक्व र संवेदनशील बनाउने निकाय आमनागरिक, पाठक, श्रोतावर्ग नै हो । पत्रकार पनि नियमले बाँधिएका छन् । यिनकालागि पनि जिम्मेवारी र संवेदनशीलताको पर्खाल छ । कानून, विधिविधान र ऐन नियमभन्दा माथि होइनन् पत्रकार । पत्रकार सबैथोक होइनन् । न त तिनले समाजका सबै पक्षबारे सर्वज्ञान नै राख्छन् । सूचनाका खेतीगर्ने पत्रकारले यिनै समाजका व्यक्तिबाट, वातावरणबाट सूचना उत्पादन गर्छन् र अरुमाझ पस्कन्छन् । हो, पत्रकारले सूचना चिन्छन् अरुले चिन्दैन । मृगले आफ्नो नाभीको सुगन्ध थाहा नपाएजस्तै आमनागरिकले आफूसँग भएको सूचना थाहा पाउँदैनन् । त्यही सूचनालाई पर्गेल्ने क्षमता भएकैले पत्रकार भएको हो । नागरिकभन्दा अलि भिन्न भएको हो । पत्रकारलाई कहाँ–कहाँ प्रश्न तेस्र्याउन सकिन्छ ? हेरौं केही परिदृष्य (

परिदृष्य नं. १–पत्रकार हुन योग्यता चाहिन्छ कि चाहिंदैन ? परीक्षामा पास गर्नुपर्छ कि पर्दैन ?
आमरुपमा उठ्ने जिज्ञासा हो यो । पत्रकारितामा आउन पत्रकारले परीक्षा दिनु नपर्ने नै हो त । यसको जवाफ नागरिकले पाउनु पर्छ । पत्रकारिता पेशामा आउनेहरु पढ्नै नपर्ने होइन । कुनै न कुनै परीक्षा उत्तीर्ण गरेरै आएका हुन्छन् । हो, पत्रकारिताका केही नम्स र विशेषता छन् । पत्रकार हुन आमनागरिकले पढ्ने विषयले मात्र पुग्दैन । पत्रकारिता विषय या अभ्यासमा पत्रकार दक्ष हुनैपर्छ । अरुभन्दा अलि फरक ज्ञान नै पत्रकारको औजार हो । पत्रपत्रिका दर्ताकालागि ऐन नियममा योग्यताक्रम तोकिएको छ । सम्बन्धित क्षेत्रको अनुभवको समयको किटान गरिएको छ । त्यही नियमानुसार पत्रकारले पत्रिका दर्ता गर्छन् र पत्रकार बन्छन् । अर्थात् अरुले दर्तागरेका मिडियागृहमा काम गरेर पत्रकारका दर्जा पाउँछन् । कोही पत्रकारिता विषय अध्ययन गरेर पत्रकार बन्छन् त कोही अभ्यास र अनुभवका आधारमा ।

पत्रकार महासंघको विधानको दफा ४ (१, क) मा पत्रकारको सदस्यता प्राप्त गर्न योग्यताक्रम निर्धारण गरिएको छ । पत्रकारिता वा अरु कुनै विषयमा स्नातक उत्तीर्ण गरी एक वर्षदेखि पत्रकारितामा संलग्नलाई सदस्यता दिने, (ख) पत्रकारिता वा अन्य कुनै विषयमा उच्च माध्यमिक तह वा सो सरह उत्तीर्ण गरी दुई वर्षदेखि पत्रकारिता पेशामा लागेको व्यक्ति । तर महिला, आदिबासी जनजाति, दलित, मधेसी, थारु, मुस्लिम, अपाङ्गता भएका, अल्पसंख्यक, उत्पीडित वा पिछडिएका वर्गका लागि भने एक वर्षको पत्रकारिता अनुभव भए पुग्ने व्यवस्था छ ।

त्यस्तै, प्रेस काउन्सिल नेपालको ०७२ फागुन १९ गतेको बैठकले पत्रकार हुन परीक्षा निर्धारण गर्ने सम्बन्धी एक कार्यदल गठन गरेको थियो । सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिनाको संयोजकत्वमा गठित सो कार्यदलले अध्ययन प्रतिवेदन काउन्सिललाई बुझाई सकेको छ । कार्यदलमा त्रिविअन्तर्गतको रत्नराज्य क्याम्पस पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्याल, पत्रकार गुणराज लुइटेल र दीपक खनाल सदस्य थिए । पत्रकारिता पेशामा प्रवेशपूर्व योग्यता परीक्षणको व्यवस्था के कसरी गर्ने कार्यदललाई कार्यक्षेत्र तोकिएको थियो । कार्यदलले पत्रकारिताकालागि छवटा तत्वको निक्र्यौल गरेको थियो । (क) विशेष किसिमको सेवा प्रदान गर्ने, औपचारिक शिक्षा, तालिम र सीपको आवश्यक्ता । (ख) व्यवसायी र सेवाग्राहीबीचको गोपनीयताको सम्बन्ध (ग) विशेष ज्ञान र सार्वजनिक दायित्व (घ) आचारसंहिताको व्यवस्था र त्यसको अनुगमन (ङ) सार्वजनिक हित सम्बद्र्ध गर्ने दायित्व र (च) व्यावसायिक संगठन र ऐक्यवद्धता ।

कार्यदलले तीनवटा इकाईमा रही पत्रकारले परीक्षा दिनुपर्ने सुझाव दिएको छ । इकाई १ मा २५० पूर्णाङ्कको पत्रकारिताको सामान्य परिचय, इकाई २ मा ५० पूर्णाङ्कको अन्तरवार्ता र इकाई ३ मा १०० पूर्णाङ्कको प्रयोगात्मक परीक्षा । यी तीन प्रकारका परीक्षा लिनुपर्ने सिफारिस कार्यदलले गरेको छ । विद्यालयमा उत्तीर्ण नभएपछि पत्रकार बन्छन् भन्ने आमनागरिकको आरोप छ । त्यसको खण्डनका लागि पनि पत्रकारिता परीक्षामा बस्न कुनैपनि विषयमा स्नातक उत्तीर्ण गरेका विद्यार्थीले परीक्षामा बस्नेपाउने योग्यताक्रम निर्धारण कार्यदलले गरेको छ । यसले पत्रकारिता पेशालाई मर्यादित र जिम्मेवार बनाउने बुझाई कार्यदलको छ । तर सो प्रतिवदेन बुझाएको वर्षदिन बढी भएपनि काउन्सिलले त्यसबारे थप क्रियाकलाप अगाडि बढाएको छैन ।
परिदृष्य नं. २. मिडियागृहको लगानीको स्रोत के हो ? के कति लगानी गर्दा मिडियागृह सञ्चालनमा आउँछ ?

प्रायः पत्रकारले राज्य र सरकारलाई जिम्मेवार बनाउन पारदर्शीताको प्रश्न गर्नेगर्छ । सरकार सञ्चालन गर्नेहरुलाई पारदर्शीताका लागि घच्घच्याउँछ । सार्वजनिक सरोकारका ओहदामा बस्नेमाथि प्रश्न वर्षाउँछ । यसले ती व्यक्तिलाई जिम्मेवार र पारदर्शी बनाउनमा मद्दत पुग्छ । तर पत्रकार स्वयम् कति पारदर्शी छ भन्ने जिज्ञासा नागरिकबाट उठ्छ । त्यसको जवाफ पत्रकारले दिंदैन किन ? के पत्रकारले जे गर्दा पनि हुन्छ त ? त्यसो होइन । पत्रकार आफू पनि जिम्मेवार र पारदर्शी हुनैपर्छ । हाल नेपालमा ठूलठूला मिडियागृह सञ्चालनमा छन् । त्यसमा क(कसको लगानी छ । कति लगानी छ ? कुन आयस्रोतले त्यो गृह सञ्चालनमा छ ? यावत प्रश्नको उत्तर मिडियागृहले दिनु नपर्ने हो त ? त्यसो होइन । पारदर्शी हुनुपर्छ । नागरिकको जिज्ञासा मेट्ने दायित्व मिडियागृह सञ्चालनकर्ताको हो । तर अहिलेसम्म त्यसो हुन सकेको  छैन । मिडियागृहको आम्दानीको स्रोत विज्ञापनमात्र हो कि अरु पनि छ । कस–कसले शेयर लगानी गरेका छन् । यसको जवाफ दिनुपर्छ नागरिकलाई । मिडिया पारदर्शी हुन सकेमात्र अरुलाई जिम्मेवार र पारदर्शी बनाउन सकिन्छ भन्ने हेक्का पत्रकारले राख्नैपर्छ ।

गोरखापत्र, नेपाल टेलिभिजन, रासस र रेडियो नेपाल पूर्ण सरकारी स्वामित्वका सञ्चारगृह हुने । यिनका धेरै विषय सार्वजनिक छन् । वार्षिक बजेट, कर्मचारीले पाउने तलब सुविधादेखि आम्दानीको स्रोत पारदर्शी छन् । तर केही पाटाहरु गोप्य छन् । गोरखापत्र र यसका सहप्रकाशनहरु के कति प्रकाशन हुन्छन् ? कहाँ कहाँ पुग्छन् । यावत विषय अझै सार्वजनिक हुन सकेको छैन । व्यवस्थापन पक्षलाई बाहेक आमसर्वसाधारणलाई यस विषयमा जानकारी छैन ।

निजीस्तरका कान्तिपुर, नयाँ पत्रिका, अन्नपूर्णपोष्ट, नागरिक, राजधानी, समाचारपत्र आदि ब्रोडसिटका पत्रपत्रिकाका, स्याटेलाइट माध्यमबाट प्रशारण भइरहेका टेलिभिजन गृहको लगानीको स्रोत के हो ? के कसरी सञ्चालनमा छन् ? पत्रपत्रिका के कति सम्प्रेषण हुन्छ, पाठकलाई जानकारी छैन । कारण मिडियागृहले ती विषय सार्वजनिक गर्दैनन् । नागरिकको जानकारीको विषय यो हो कि होइन ? आमपाठक, स्रोता र दर्शकले यस विषयमा चासोराख्दा पनि त्यसको जवाफ पाउँदैनन् । मिडियागृहलाई जिम्मेवार र पारदर्शी कसले बनाउने ? आमजिज्ञासा हो यो ।

परिदृष्य नं. ३. पत्रकारका संघ संगठनमा सूचना अधिकारी किन तोकिदैन ? ती संघ संस्थाबारे जानकारी कसले दिने ? संविधानको धारा २७ मा सूचनाको हकबारे व्यवस्था गरेको छ । सार्वजनिक सरोकारका विषय र अन्य विषयमा सूचना पाउने नागरिकको अधिकार हो । राष्ट्रिय सूचना आयोगको वैशाख ७ गते काठमाडौंमा आयोजित राष्ट्रिय सम्मेलनमा सहभागीमध्येबाट केहीले पत्रकार र राजनीतिक दलका संघ संस्थाले सबैभन्दा वढी सूचना लुकाउने गरेको आरोप लगाए । सूचना अधिकारी पनि नतोकिएको गुनासो सुनाए । उठेको जिज्ञासा जायज छ । पत्रकार महासंघको केन्द्रीय कार्यालयमा आजसम्म सूचना अधिकारी तोकिएको छैन । दलको अवस्था पनि त्यस्तै छ । पत्रकारका संघ संस्था सार्वजकि सरोकारको संस्था हो कि होइन ? वहस गर्न सकिएला । तर राजनीतिक दल त नागरिकका चासोको विषय हो । दलका नेता, पत्रकार र पत्रकारिता पारदर्शी हुनैपर्छ । त्यसले अरुलाई पनि पारदर्शी बन्न उत्प्रेरित गर्छ ।

परिदृश्य नं. ४. पत्रकार पक्षीय हुनु पर्छ कि निश्पक्ष ? दलसँग आवद्ध हुनुपर्छ कि पर्दैन ? आमरुपमा यो प्रश्न जवर्जस्त उठ्छ । पत्रकारिता पेशा समाजप्रति उत्तरदायी हुन्छ । पत्रकारकालागि समाचार समाजबाटै आउँछ र सूचना र सामग्रीको उपभोग पनि समाजले नै गर्छ । समाजभन्दा बाहिर पत्रकारिताको अस्तित्वको कल्पनै गर्न सकिदैन । पत्रकार महासंघको विधान, आचारसंहिता, सूचना र सञ्चारसम्बन्धी ऐन नियम सबैमा पत्रकार निश्पक्ष हुनुपर्छ भन्ने उल्लेख छ । कुनै दलीय विचार बोक्नु हुँदैन भनिन्छ । तर पत्रकार आमरुपमा विभाजित छन् । दलीय विचारका नजिक छन् । पत्रकार महासंघको छाता संगठनको नेतृत्वका लागि पनि दलीय विचारका आधारमा प्रतिस्पर्धा हुनेगर्छ । मिडियागृहहरु वैचारिकआधारमा सञ्चालनमा छन् । लगानी पनि त्यहीरुपमा भइरहेका छन् । मिडिया नै विभाजित हुँदा समाजमा सही सूचना सम्प्रेषण हुन सकिरहेको छैन । अरुलाई बाटो देखाउने पक्ष नै विभाजित भइदिंदा समाजले सही बाटो पकड्न सकिरहेको छैन । पत्रकार पत्रकारिता बेलगाम घोडाजस्तो नहोस् भनेरै पत्रकार आचारसंहिता बनेको हो । तर त्यसको पूर्ण कार्यान्वयन छैन । पत्रकारले सत्यतथ्य विषय पस्कनुपर्छ भन्ने मान्यता छ । तर केही विषय व्यक्तिगत स्वार्थमा बङ्ग्याउने गरिन्छ । भूलसुधारमा त्यति ध्यान दिइदैन ।
इन्द्रसरा खड्का/‘प्लीज मेरो बुढोको पछि नलाग्नुस मसँग छोरो छ, फेसबुकमा प्रोफाइल हेर्दा तपाईं पनि यति बुझ्नुहुन्छ जस्तो लाग्छ, प्लीज ।’ नचिनेको नम्बरबाट आएको फोन उठाएर हेलो भन्न नपाउँदै एकै सासमा उताबाट आवाज आयो । केही बोल्ने शब्द नै फुरेन । के भनौं भनौं जस्तै लाग्यो ।
.......................
तालिमका लागि नेपालगञ्ज जाने तयारी गर्दै गर्दा मैले फेसबुकमा स्टाटस लेखें ‘पर्खिबस आउँदै छु, नेपालगञ्ज’ स्टाटसमा कमेन्ट धेरै आए । मैलेपनि सकेसम्म सबैलाई जवाफ दिएँ । त्यही स्टाटसमा अन्सारी थर भएका नेपालगञ्जको केटाले ‘तपाईंलाई स्वागत छ नेपालगञ्जमा कुनै अप्ठयारो परेछ भने म्यासेज गर्नु’ लेखेको रहेछ । मलाई यो कमेन्ट अरुको भन्दा फरक लाग्यो । अनि तुरुन्तै मैले रिप्लाइ दिएँ– हुन्छ धन्यबाद ।
मैले यो रिप्लाइ गरिसकेपछि उसले तुरुन्तै ‘हेलो के छ खबर कहिले आउने हो यता...’ यस्तै धेरै कुराहरु लेखेर पठाउँदै गयो । मैले नि रिप्लाई दिंदै गएँ । उसले ल नेपालगञ्ज आएपछि मसँग घुम्छौ नि ? मैले भनें –हुन्छ नि घुमाउने हो म पनि पहिलो पटक आउँदैछु । नेपालगञ्ज मलाइ थाहै छैन । मैले यति कुरा भनेपछि उसले मलाई भनिहाल्यो – तिम्रो साथी हुन्छन् कि तिमी एक्लै आउने हो ?

मैले १८ जिल्लाका साथीहरु हुन्छौं भनें । कहाँ एक्लै हुनु र ? उसले मेरो जवाफ सुनेपछि ल तिमीलाई नेपालगञ्जमा म घुमाइदिन्छु तिम्रो नम्बर पठाउ त भन्यो । त्यो केटासँग कुराकानी भइसकेपछि म १७ गते नेपालगञ्ज जानका लागि तयार भएर बैतडीबाट निस्कें । एकैदिन नेपालगञ्ज पुग्न असम्भव थियो । पुग्न त पुगिन्थ्यो, तर राती । अफ्ठेरो हुन्छ भनेर म धनगढी नै बसें । धनगढी बसेर पछिल्लो दिन अछाम, दार्चुृलाका साथीहरुसँग भेट भयो । अनि हामी नेपालगञ्जको यात्रामा निस्कियौं ।

बसको यात्रामा हातमा फेरि फेसबुक चलाउन सुरु गरें । यो फेसबुकको लत पनि कस्तो । बरु खान बिर्सने, तर फेसबुक चलाउन बिर्सन नसकिने । मैले फेसबुक अन गरेको मात्र के थिएँ फेरि उसैको म्यासेज देखें । कता पुगियो, खाना भयो त ? यता पुगेपछि खबर गर्नु है । किन रिप्लाई नगरेको यस्तै यस्तै धेरै लेखेर पठाएको थियो । मैले उसको म्यासेजको रिप्लाई नगरेर सिधै फेसबुक बन्द गरें ।

नेपालगञ्जको सिद्धार्थ होटलमा हामी बस्यौं । तालिम भयो, उसित भेट भएन । तालिम सकिएको पछिल्लो दिन हामी फिर्ता हुने तयारीमा थियौं । उसले मेरो नम्बर मेरो फेसबुकको प्रोफाइलमा हेरेर थाहा पाइसकेको रहेछ । म चिसापानी पुगेको बेला नचिनेको नम्बरबाट फोन आयो । मैले रिसिभ गरें, अनि उसले भन्यो – नेपालगञ्ज आएर पनि नभेटेर फर्किने है ? यस्तो पनि साथी । उसले फेरि भन्यो – म अस अन्सारी, के हो साथी नेपालगञ्ज आएर पनी नभेटेर जाने है ?

मैले छिटै फर्कनु पर्ने भएर मिलेन भनें । उसले राम्रोसँग जानु, शुभयात्रा भनेर फोन राख्यो । त्यो दिन म लम्की बसें दिदीको घरमा । फेरि नचिनेको नम्बरबाट फोन आयो – मैले रिसिभ गरें । महिलाको आवाज आयो– तपाईं आज दिनभर मेरो बुढासँग कहाँ कहाँ घुमेको ? प्लिज मेरो बुढोको पछि नलाग्नुहोस् ।  सुन्ने बित्तिकै झनक्क रीस उठ्यो । तर आफैंलाई सम्हालें । तपाईं को बोल्नु भएको हो ? उसले भन्यो – अन्सारीलाई चिन्नुहुन्छ ? हो उसैको बुढी हो ।

अनि मैले ए हो अँ भेटघाट त भएको छैन तर चिन्छु फेसबुकबाट कहिलेकाहिँ कुरा हुन्छ भनें । अनि ती महिलाले भनिन्, “बहिनी तपाईं पत्रकार हो, म जस्तो दुःखमा बाँचेका महिलाहरुको आवाज उठाउन सक्नुहुन्न ? दिनभर केटीहरुसँग घुमेर आउँछ, राती आएर न खान नै दिन्छ न त बस्न नै । मलाई त दिनसम्म दुःख दिएको छ । जहिले पनि कुटपीट गर्छ । सँगै छोरा पनि छ । अलि ठूलो भएपनि छोडेर कतै जान मिल्थ्यो । सानै छ, के गर्नु ।”

त्यसपछि मैले भनें – दिदी तपाईं ढुक्क हुनुहोस म महिला हो । म पनि बुझ्छु महिलाको पीडा । ल त्यसो भए तपाईंलाई म सहयोग गर्छु । तपाईंलाई बुढाले कुटपीट गर्छ भने नजिकैको प्रहरी चौकीमा जानुस् । अनि सबै कुरा भन्नुहोस् । आफूमाथिको हिंसा सहेर नबस्नुहोस् ।

.................
यी महिला त प्रतिनिधि पात्र मात्र हुन् । धेरै महिलाले यसैगरी हिंसा सहेर बस्न बाध्य छन् । महिला अधिकारको क्षेत्रमा काम गर्ने थुपै्र संघसस्था नभएका होइनन् । तर यस्ता पीडित महिलाहरु संघसस्थाको नजरमा किन पर्न सक्दैनन् ? ती महिलाले त आफ्नो पीडा सुनाइन् । यस्तो पीडा अरु महिलाहरुको पनि होला । महिलाका यस्ता पीडा पनि सुनेर उचित सम्बोधन गर्नुपर्ने खाँचो छ ।
लक्ष्मण शर्मा /
एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ ।
लाटासुधा बोल्न थाल्छन्, चल्न ओठ दुःखको
सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन्
गए भनी नदेखिएका फर्की–फर्की आउँछन्
सुते भनी सम्झिएका सुरुसुरु हिंड्छन्
मरे भनी फ्याँकिएका जुरुजुरु उट्तछन् ।
                                                  गोपालप्रसाद रिमाल,
जब–जब यी पंक्तिहरु मेरो मनमा आउँछन्, तब मलाई नेपालको लामो ऐतिहासिक राजनीतिक क्रान्तिहरुको याद र व्यवस्था परिवर्तन गर्न गरिएका ती क्रान्तिको झझल्को आउने गर्दछ । म आफै राजनीतिमा होमिएको त धेरै भएको छैन । तर, नेपाली समाजको वास्तविक अवस्था, नेपाली समाजमा राजनीतिक शक्तिहरुको उदय र तिनले ल्याएका परिवर्तनहरुको बारेमा थोरधेर अवगत छु । जसरी नेपालको इतिहासमा व्यवस्था परिवर्तनको नाममा राजनीतिक शक्तिहरु उदाए र केही महत्वपूर्ण परिवर्तनहरु ल्याए त्यो आफैमा एउटा गौरवपूर्ण उदाहरण हो । २००७ साल, २०३६ साल, २०४६ साल र २०६२/२०६३ सालमा भएका ठूलाठूला राजनीतिक क्रान्तिहरुले निश्चित व्यक्ति वा दरबारमा भएको अधिकारलाई जनता समक्ष ल्याउने महत्वपूर्ण कार्य गरेकै हो । राज्यको शासकीय स्वरुप र राज्य पूर्ण संरचना जस्ता महत्वपूर्ण विषयमा  जसरी निर्णय र कामहरु हुनुपर्ने हो त्यो चाँही हुन सकेनन् । जस्ले गर्दा जनतामा केही नैरश्यता छाएको छ ।

जनताले आफ्नो शासक आफैले छान्न पाउनुपर्दछ र देशको भौगोलिक बनावट, साधनस्रोतको उपलब्धता पूर्वाधारहरुको विकासको अवस्था र जनसंख्याको आधारमा  राज्यको पूनः संरचना हुनुपर्दछ भन्ने मान्यता, माग वा तर्क छ । जुन सरकारात्मक पनि हो । विगत केही दशक यता राजनीतिक पार्टी वा नेतृत्वको चरित्र माथि बारम्वार प्रश्न उठ्ने गरेको छ । राजनीतिक नेतृत्वमा इमान र नैतिकता छैन । उनीहरु भ्रष्ट छन् । पार्टी वा संगठनमा भ्रष्टाचार, नातावाद, डनवाद जस्ता बिकृतिहरु मौलाएका छन् भन्ने जुन तर्क छ, त्यो सत्य हो । खासगरी विचार र एजेन्डा भन्दा पनि व्यक्तिगत स्वार्थको कारणले गर्दा राजनीतिप्रति मानिसहरुको झुकाव बढ्दो छ । म यो वा त्यो पार्टीमा लाग्दा मलाई या मेरो परिवारलाई के फाइदा हुन्छ भनि अङ्क गणित गरेर पार्टीमा लाग्नेहरुको एउटा ठूलो जमात छ । यहाँ, जस्ले गर्दा सुशासन होइन विकृति र कमाउ प्रवृत्ती हावी भएको छ । हामी विधिको शासन र विकास त चाहन्छांै, तर हाम्रै व्यक्तिगत स्वार्थ त्याग्न सक्दैनांै भने कसरी सम्भव होला त विकास र सुशासन ? सोच्नुपर्ने बेला आएको छ ।

हामी खुब नेता वा नेतृत्वलाई गाली गर्छौं । तर, ती नेताहरुलाई कस्ले चुनेर पठाएका हांै भन्ने कुरा विचारै गर्दैनौं, जब तपाईहरुको भोटले वा तपाईहरुले नै नेतृत्व चुनेर पठाउनुहुन्छ भने नेतृत्वलाई गाली गर्ने नैतिकता तपाईसँग रहदैन । तसर्थ नेतृत्वको चरित्र, उसको पृष्ठभूमि, क्षमता र योग्यता जस्ता कुराहरुको बारेमा विचार गरेर भोट दिनुभयो र नेतृत्व छान्नु भयो भने मात्र विधिको शासन र विकास सम्भव होला । नेपाली समाजको राजनीतिक इतिहासलाई हेर्ने हो भने विपी कोइराला नेतृत्वको पार्टी (नेपाली कांग्रेस) र गिरिजाबाबु नेतृत्वको पार्टी नेपाली कांग्रेसलाई जनताले पूर्ण बहुमत दिएको पाउन सकिन्छ । तर, बिडम्वना कांग्रेसको आन्तरिक द्वन्द्व र खिचातानीले गर्दा सरकार लामो समयसम्म सञ्चालन हुन सकेन । त्यसपछि यता जनतामा ढुलमुले वा अवसरवादको चरित्र मौलाएको पाउन सकिन्छ । जस्को परिणाम कुनै पनि दलले महुमत ल्याउन नसक्नु हो । जनताको चेतना स्तर विकास नभएर हो अथवा अवसरवाद कारणले गर्दा हो, जनताले पटक–पटक विभिन्न राजनीतिक पार्टीहरुलाई परिक्षण गरी हेरे । तर, पूर्ण वा दुईतिहाइ बहुमत दिन चाहेनन् । जस्ले गर्दा आज नेपालमा राजनीतिक अस्थिरता निम्तिएको छ ।

 अब जनताको चेतनास्तर बृद्धि हुन आवश्यक छ । कुनै पनि देशको राजनीतिक स्थिरता वा अस्थिरतामा जनताको मतले निर्णायक भूमिका खेल्ने हुँदा हामी सानो सानो अवसर वा स्वार्थबाट माथि उठ्न सक्नुपर्दछ । विचार, ऐजेण्डा, दस्तावेज, चरित्र, पृष्ठभूमि, योग्यता र क्षमताको नेतृत्व वा पार्टीलाई छान्नुपर्दछ । र सबैले त्यस्ता आचरण भएका व्यक्ति वा पार्टीलाई आफ्नो अमुल्य मत दिएर पठाएका पक्कै पनि कुनै न कुनै दलले बहुमत पाउने निश्चित छ ।

कुनै पनि स्वतन्त्र व्यक्ति वा समाजको यतिबेला नेपालको राजनीतिप्रति सकारात्मक धारणा बन्न सकेको छैन । खासगरी हाम्रो युवावर्ग रानीतिप्रति उदासिन छ । जनताको भोटबाट चुनिएका नेता र जनप्रतिनिधि छान्ने जनताबीच नै ठूलो खाडल छ । नेतासम्म सर्वसाधारणले सहज पहुँच छैन । नेतासम्म पहुँच भएका राजनीतिक  दलका कार्यकर्तासँग पनि नेताको अन्धभक्त हुनुको अर्को बिकल्प छैन । विवेकलाई बन्धकमा राखेर आफ्नो दलको नेताले गरेको जनबिरोधी क्रियाकलापलाई पनि ताली बजाएर समर्थन गर्नुपर्ने बाध्यता राजनीतिक दलको कार्यकर्ताको कर्तव्य हो । भन्ने सुगा रटाइबाट कार्यकर्ता प्रशिक्षित छन् । राजनीतिलाई नै पेशा बनाउने चाहना भएका युवा बाहेक आजका आम युवा त्यसरी अन्धभक्त हुने कुरालाई पनि स्वीकार गर्न सक्दैनन् । त्यसैले बरु उनीहरु राजनीतिप्रति नै उदासिन भइदिने गर्दछन् ।

युवा समाजको सबैभन्दा सचेत वर्ग हो । सचेत वर्ग नै राजनीतिक प्रति निराश हुनु भनेको देशको भविष्यका लागि पक्कै शुभ संकेत होइन । एकातिर राजनीतिक रुपमा मूलधारबाट युवा सधँै उपेक्षित हुनु अर्कोतर्फ राजनीतिक अप्राविधिक, राजनीतिक भ्रष्टचार तथा राजनीतिक नेताहरु बीच एकअर्कामा खुट्टा तानातान जस्ता गतिविधिमा नै राजनीति केन्द्रित भएकाले नेपालको राजनीति युवाको लागि भएन । फलस्वरुप आदर्श राजनीतिक संस्कृतिको विकास, राजनीतिमा जनसहभागिता र राजनीतिक सामाजिकीकरणको कुरा सधँै नारामा मात्र सीमित रह्यो । युवा वर्गको राजनीतिक व्यवस्थाप्रतिको आस्था र झुकाव भएन । भने हालको पुरानो सोचबाट नयाँ नेपाल बन्दैन, नयाँ नेपालका लागि त नयाँ–नयाँ मूल्य मान्यता, सोचाई वा धारणा हुनुपर्छ । आधुनिक र वैज्ञानिक दृष्टिकोण, अभियान र लक्ष्यमात्र युवासँग हुन्छ, नकी पुरातन सोचमा राजनीतिक गरेको र फुलेकाहरुसँग । उनीहरुले त अब अभिभावकीय भूमिका निर्वाह गर्दै युवापुस्तालाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर दिनुपर्दछ ।

दुई दशक लामो अन्तरालपछि नेपालमा स्थानीय निकाय निर्वाचन हँुदैछ । चुनाव हुनु र जनताले स्थानीय तहमा आफ्ना प्रतिनिधि आफैले छान्न पाउनु आफैमा सुखद् छ । विकास निर्माणका सही योजना नबन्नु, बनेका योजना अलपत्र पर्नु र कार्यान्वयन भइहाले पनि बजेटमा अत्यधिक भ्रष्टचार हुनु विगतका जल्दाबल्दा समस्या हुन विकास निर्माणका काम अलपत्र छन् । सायद् वर्षांैदेखिको मेलम्ची खानेपानी आयोजना होस् वा पन्ध्र वर्ष अगाडि खनिएका बाटोहरुमा पटक–पटक डोजर लगाउने काम होस् । कुनै पनि कार्यले तीब्र गति लिन सकेका छैनन् । दश वर्षदेखि विजुली बाल्ने सपना साँचेका दुर्गम क्षेत्रका जनता अझै पनि टुकी बालेर बस्न बाध्य छन् । दिनप्रतिदिन युवा विदेशीदै छन् । खेतबारीहरु त्यसै बाँझै छन् । यसको प्रमुख कारण भ्रष्टाचार र योजना विहिन लगानी नै हो ।

वजेटलाई कसरी सदुपयोग गर्ने भन्दा पनि आएको वजेटलाई कसरी सक्ने भन्ने ध्याउन्न मात्र हुन्छ । विकास गर्न वजेट चाहिन्छ । तर, त्यो भन्दा महत्वपूर्ण योजना र त्यसको सहि प्रयोग नै हो मुलुक गणतन्त्रमा प्रवेश गरेपछि पहिलो पटक स्थानीय तहमा पुनः संरचना गरिएको छ । गाउँपालिका र नयाँ नगरपालिका गठन गरिएको छ । अब निर्वाचित भएर आउने जनप्रतिनिधले जनताले महसुस गर्ने गरी विकास योजना सञ्चालन गर्नुपर्दछ । अनावश्यक सपना बाँड्नु भन्दा पनि आफूले पाँच वर्षमा कसरी काम गर्न सकिन्छ भन्ने कुराको बारेमा राम्रोसँग अध्ययन गर्नुपर्दछ । योजना बनाएर काम गरियो भने सानो वजेटमा पनि धेरै काम गर्न सकिन्छ । विकसित ठाउँ त्यस्तो स्थान हो, जहाँ सम्पूर्ण आधारभूत आवश्यकताहरु पुरा भएका हुन्छन् ।

जस्तो शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगारी, यातायात, खानेपानी, उर्जा, सरसफाई इत्यादि । यी सब कुरा गाउँमा पु¥याउन सबै भन्दा ठूलो समस्या भनेको छरिएको बस्ती र भौगोलिक अवस्था हो, जनतालाई छोटो समयमा विकासको अनुभूति गराउने हो भने सर्वप्रथम बस्तीहरुलाई एकीकृत गर्नुपर्दछ । यसरी पाँच वर्षमा हरेक गाउँ सानो–सानो सहरमा विकास हुनेछन् जहाँ सम्पूर्ण आधारभूत आवश्यकता परिपूर्ति हुनेछ र सबैले परिवर्तनको महसुस गर्नेछन् । जब सम्पूर्ण आधारभूत कुरा पूरा हुन्छन् मानिसहरु अस्तव्यस्त सहर भन्दा गाउँमा बस्न रुचाउने छन् । पछि ठूला विकासका काम गर्न सजिलो हुनेछ र जनप्रतिनिधिलाई अर्को पटक माथिल्लो तहमा चुनाव लड्न बलियो आधार हुनेछ ।    

सागर पण्डित / नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको १७ महिना पुगिसक्दा समेत सरकारी स्तरवाट प्रदान गरिने सेवा प्रवाह प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । सुशासन त आकाशको फल आखा तरी मर जस्तै हुन पुगेको छ । नेपालमा धेरै शासन व्यवस्था फेरबदल भएका छन् । हाम्रा राजनीतिक नेतृत्व शासन प्रणाली परिवर्तन गर्न मात्रै सफल हुँदै आए । तर, शासन व्यवस्थाले अंगीकार गरेका मूल्य मान्यताहरुलाई जनताको घरदैलोमा पु¥याउन उनीहरु लगातार रुपमा असफल हुँदै आइरहेका छन् । शासकहरुको स्वार्थीपन, अदूरदर्शीता यसरी नै कायम हँुदै गयो भने संघीय लोकतान्त्रिक गणतन्त्र समेत असफल हुन सक्ने सम्भावनालाई नकार्न सकिदैन । त्यसैले हाम्रा प्रमुख राजनीतिक दलका नेताहरु अब संवेदनशील बन्नैपर्छ । देश र जनतालाई केन्द्रविन्दूमा राखेर मात्रै उनीहरु अगाडि बढे भने  संघीय शासन व्यवस्थाका मूल्य र मान्यताहरुलाई जनताको घरदैलोमा सजिलैसँग पु¥याउन सकिन्छ । राज्यद्वारा प्रदान गरिने सेवाहरु जनताको घरदैलोमा सहज किसिमले पुग्ने र जनतामा राज्य र सरकार हामीसँगै छ भन्ने भावनाको विकास गराउन सकिएमा मात्रै शासन व्यवस्था सफल हुन सक्छ भन्ने कुराको चेत शासकहरुलमा घ्ुस्न जरुरी छ ।

राजनीतिबाट आएका शासकहरुलाई सही दिशामा लैजान हाम्रो कर्मचारीतन्त्र (व्यूराक्रेसी) पनि असफल हुँदै आएको छ । व्यूरोक्रेसी राजनीतिक नेतृत्वको असल सल्लाहकार र सहयात्री हुन् । तर, व्यूरोक्रेसीले आफ्नो त्यो भुमिकालाई राम्ररी आत्मसात गर्न सकेको देखिदैन । कर्मचारी वर्ग पनि देश र जनताको हीतमा भन्दा आफ्नै स्वार्थमा रमाउन उद्दत छन् । केहि अपवादलाई छोडेर अधिकांश कर्मचारीहरु भ्रष्टचारमा लिप्त भइरहेका छन् । उच्च तहका कर्मचारीहरु अख्तियारको दुरुपयोग गर्ने तथा सरकारी साधन स्रोतको उच्चतम दुरुपयोग गर्न खप्पिस भइरहेका छन् । देश र जनताका लागि गरिने काममा भने उनीहरु पूर्ण रुपमा उदासिन देखिने गरेका छन् ।

सेवा प्रवाह र सुशासनलाई अब राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वले एकिकृत रुपमा सहकार्य गरेर सँगै बढाउनु पर्छ । यसका लागि प्रशासनिक पुनर्संरचना गर्ने क्रममा विभिन्न ऐन नियम र कानुनमा नै सेवा प्रवाहको पक्षलाई मुख्य रुपमा समेट्नु पर्छ र सेवा प्रवाह प्रभावकारी रुपमा गर्न नसक्ने कर्मचारीलाई स्पष्ट रुपमा कडा भन्दा कडा कार्वाहीको भागीदार बनाउने गरी कानुन निर्माण गर्नुपर्छ । प्रशासनिक पुनर्संरचना गर्दा सेवा प्रवाह र सुशासनलाई मुख्य मियोका रुपमा स्थापित गर्न सक्नुपर्छ । भ्रष्टचार बिरोधी अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा सुशासनको अवस्था अत्याधिक कमजोर र भ्रष्टचारको अवस्था भने कहालीलाग्दो रहेको आंैल्याएको छ । त्यस्तो तथ्यलाई मनन गरेर अब हाम्रा शासकहरु मुलुकमा सुशासन कायम गर्ने दिशामा एकजुट भएर अगाडि बढ्नुपर्छ । संघीय शासन प्रणाली अनुसार स्थापित भएको संविधानको कार्यान्वयन गर्नु सबैको दायित्व हो ।

प्रशासनिक पुनर्सरचना र संक्रमणकालीन व्यवस्था 
संंवैधानिक रुपमा शासन सञ्चालनका मुलभूत तीन अवस्था रहेका छन् । जस अनुसार सामान्य अवस्था, संकटकालीन अवस्था र संक्रमणकालीन अवस्था रहन्छन् ।
नेपालको संविधान २०७२ मा संक्रमणकालीन व्यवस्था :
–संविधान सभा व्यवस्थापिका संसदमा रुपान्तरण
–मन्त्रिपरिषद्को गठन र विघटन सम्वन्धि व्यवस्था
–संवैधानिक निकाय र पदाधिकारी सम्वन्धि व्यवस्था
–प्रदेश सिमाङ्कनका लागि प्रदेश सिमाङ्कन आयोग
–राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन
–उच्च अदालतको गठन तथा पुनरावेदन अदालतको विघटन
–मिति २०७४ साल माघ ७ गतेभित्र तीन तह (संघ, प्रदेश र स्थानीय तहको निर्वाचन
–स्थानीय तहको  संख्या र सिमाना निर्धारण
–विशेष, संरक्षित वा स्वायत्त क्षेत्र सम्वन्धि व्यवस्था
–संघ, प्रदेश र स्थानीय तहको सरकारी सेवा गठन सम्वन्धि व्यवस्था
–संघीय तथा प्रादेशिक निर्वाचन क्षेत्र निर्धा।ण
–स्थानीय निकाय सम्वन्धि व्यवस्था र निर्वाचन
–सरकारी कर्मचारीको संघ,प्रदेश र स्थानीय तहमा समयोजन

संघीयता कार्यान्वयन र प्रशासन पुनर्संरचनाः सम्वन्धि  संवैधानिक व्यवस्था:
नेपालको संंविधानको अनूसुची ५,६ र ८ मा उल्लेखित संघ, प्रदेश तथा स्थानीय तहको एकल (७९ वा कार्य) तथा अनुुसुची ७ र ९ मा उल्लेखित सहवर्ती अधिकारहरु (४० वटा)  तथा मौलिक हकलगायत संविधानको धारा ५० मा राज्यका ४ वटा निर्देशक सिद्धान्तहरु, धारा ५१ म राज्यका विभिन्न नीतिहरु सम्वन्धमा व्यवस्था गरे अनुसार अघि बढ्नुपर्ने आवश्यकता छ । भने २०७४ साल माघ ७ गते अगावै संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ–धारा २९६ (१) । यसैगरी २०७३ साल फागुन महिनाभित्रै स्थानीय तह गाउँपालिका,नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण गरिसक्नुपर्ने व्यवस्था छ । धारा २९५ (३)

राजश्व स्रोतको बाँडफाँड धारा (६०), राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तिय आयोग गठन, प्रदेश र स्थानीय तहमा सरकारी सेवाहरुको गठन र सञ्चालन धारा ३०२ (१), नेपालको संविधान बमोजिम आवश्यक तथा नयाँ कानून निर्माण तथा विद्यमान कानूनहरुको पुनरावलोकन गर्ने  वा संशोधन गर्ने  तथा खारेजी गर्ने सम्बन्धि धारा ३०४ (१), संविधान बमोजिम मन्त्रालयहरुको संख्या, नाम र क्षेत्राधिकार टुंगाउने विषय धारा ७६ (९) व्यवस्था गरिएको छ । तर, संविधानका धाराका यी व्यवस्थाको वास्तविक रुपमा कार्यान्वयनको पहल थाल्न नसक्नुले संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचनाको विषय ओझेलमा पर्दै जान थालेको छ ।

यसैगरी संविधानको धारा २८५ अनुसार संघीय निजामती सेवा र आवश्यकता अनुसार अन्य संघीय सरकारी सेवाहरुको गठन गर्नुपर्ने प्रावधान छ भने धारा २३४ मा संघ, प्रदेश र  प्रदशे (प्रदेश वीचको विवाद समाधान गर्न एक अन्तर प्रदेश परिषद गठन गरिने व्यवस्था गरिएको छ ।

प्रशासनिक समायोजन गर्दा गर्नुपर्ने कार्यहरु 
–संवैधानिक व्यवस्था अनुसार सरकारी सेवामा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीको बारेमा स्पष्ट व्याख्या (स्वर्णिम व्याख्या) ।
–संविधान जारी भएपछि नियुक्त कर्मचारी सम्वन्धमा स्पष्टता र उनीहरुको समायोजन हुने व्यवस्था ।
–कर्मचारीको समायोजन गर्न आवश्यक विवरणसहितको तथ्याङ्क ।
–संविधानमा व्यवस्था भए बमोजिमको कार्य जिम्मेवारीको विश्लेषण, व्याख्या , वर्गीकरण र तहगत जिम्मेवारी किटान ।
–संघ, प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दी निर्धारण ।
–कर्मचारी समायोजन सम्बन्धी आधार, मापदण्ड र प्रकृया निर्धारण र विस्तृत व्यवस्था ।
–संघीय तथा प्रादेशिक सार्वजनिक सेवा ऐन सम्वन्धि नियमावली तर्जुमा र कार्यान्वयन ।
–प्रादेशिक र स्थानीय तहका सेवामा श्रेणीगत व्यवस्थावाट तहगत प्रणालीमा रुपान्तरण ।
–प्रशासनिक पुनर्संरचना गर्दा अपनाउनु पर्ने सिद्धान्तः सन्निकटताको सिद्धान्त, क्षमता तथा दक्षता र कम्पिेटेन्सीको सिद्धान्त, सांस्कृतिक ज्ञान भाषा सम्बन्धी सांस्कृतिक सिद्धान्त, उपयुक्त संगठनको सिद्धान्त, जनसहभागिताको सिद्धान्त, स्वामित्व सम्बन्धि सिद्धान्त आदि ।

संघीयतामा कर्मचारी समायोजन गर्दा अख्यिार गर्नुपर्ने सिद्धान्त: कानून वमोजिम समायोजन, मनोवल उच्च बनाउने गरि समायोजन, सामाजिक सुरक्षा तथा सेवा सुविधाको ग्यारेन्टी, योग्यता पुगेकाहरुलाई एक तह वढुवा दिन सकिने, मापदण्डको प्रयोग,सेवा प्रवाहमा आधारित ।

सुशासन र सेवा प्रवाहको प्रभावकारिता अत्यावश्यक सर्त 
संघीयता कार्यान्वयन तथा प्रशासनिक पुनर्संरचना का प्रयासहरु थाल्न अब ढिलाई गर्नुहँुदैन । संघीय शासन प्रणालीको मुख्य मान्यता भनेकै जनताको घरदैलोमा सहज किसिमले सरकारी सेवा पु¥याउनु र आम जनतालाई शासन सत्ताप्रति अपनत्व ग्रहण गराउने नै हो । यी सबै कार्यहरुबाट सफलता हासिल गर्नका लागि शासन सञ्चालनका हरेक अवयव, अंगहरु सुशासनयुक्त बनाउनु पर्छ । शासन सञ्चालन गर्ने मुख्य मियोका रुपमा रहेका राजनीतिक तह र प्रशासनिक तहमा व्याप्त भ्रष्टाचारको अन्त गर्न सक्नुपर्छ । भ्रष्टचारमा शून्य सहनशीलताको नीति अख्तियार गर्नुपर्छ । विधिको शासन स्थापित गर्नुपर्छ । पारदर्शीता, जिम्मेवारिता र उत्तरदायित्व वहन गर्ने शासन प्रणाली स्थापित गरिनु पर्छ । नेपालको प्रशासन र राजनीतिमा देखिएको गम्भीर समस्या भनेको आचरणको समस्या हो । नैतिकता दुवै पक्षमा अत्याधिक  क्षयीकरण भएर गएको छ । दुवै पक्षमा भएको नैतिकता र आचरणको क्षयीकरण रातारात सुधार हुन सक्ने विषय होइन । त्यसलाई सुधार गर्ने कुनै कारखाना पनि हँुदैन । त्यसैले यसलाई सुधार गर्नका लागि नागरिक समाजको पनि त्यतिकै बढि महत्वपूर्ण भुमिका रहन्छ । आफ्नो भुमिका अनुसार नागरिक समाज पनि शसक्त भएर निश्पक्षता र तटस्थतातको सिद्धान्त अनुसार अघि बढ्नुपर्छ । राजनीतिलाई नैतिकताको जगबाट अघि बढ्ने तथा कर्मचारीलाई व्यवसायिकताको जगमा बढ्ने किसिमको वातावरण सिर्जना गर्ने काम नागरिक समाजले गर्नुपर्छ ।

संक्रमणकालीन व्यवस्थापनका अन्तर्राष्ट्रिय अभ्यास: संक्रमणकालीन व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय अभ्यास, अनुभव र मान्यताहरुका आधारमा अघि बढ्नुपर्छ । विशेष गरी द्वन्द्वपछिका मुलुकहरुको अभ्यास र नवोदित लोकतान्त्रिक शासन व्यवस्थालाई आत्मसात गरेका मुलुकहरुको अनुभव र अभ्यास हेर्दा चारवटा रणनीति छिटो भन्दा छिटो अख्तियार गरी अघि बढ्नु पर्ने देखिएको छ ।

पहिलो–सबै राजनीतिक दल र शक्तिहरु एउटै कित्तामा उभिएर राष्ट्रिय सरकार बनाउनुपर्छ । सबै जना सोही अनुसार अघि बढेर साझा सहमति गर्नु पर्छ । दोस्रो–परिवर्तनबाट नयाँ कोर आइसकेकाले सबै तहको  निर्वाचन संविधानले तोकेको सीमा अवधिभित्र गर्नुपर्छ । निर्वाचनमा ढिलाई गरियो भने सत्ताको वैधानिकताको प्रश्न उठ्छ । त्यसैले निर्धारित समयमा तीनै तहको निर्वाचन हुनैपर्छ । यसका लागि आवश्यक राजनीतिक वातावरण र कानुन निर्माण गर्नुपर्छ । तेस्रो कुरा विधिको शासन र सुशासन स्थापित गर्न सक्नुपर्छ । सुरक्षाको प्रत्याभूत गराउन सक्नुपर्छ । चौथो कुरा अर्थतन्त्रको सुधार गर्नतिर विशेष ध्यान पु¥याउनु पर्छ । जबसम्म बलियो राज्यसंयन्त्र स्थापना गर्दैनांै र अर्थतन्त्रलाई मजवुत बनाउन सक्दैनांै, तबसम्म संविधानमा व्यवस्था भए अनुसार मौलिक हकहरु स्थापित हुन सक्दैनन् । मुलुक बलियो नहुँदासम्म, अर्थतन्त्रमा सुुधार नहँुदासम्म संविधानमा व्यवस्था भएका कुराहरु कागजी मात्रै हुन सक्ने भएकाले अर्थतन्त्र बलियो बनाउन त्यही अनुसारको काम हुनुपर्छ ।

हाम्रा शासकहरुले यी माथिका चार वटा विषयवस्तुमा गम्भीर ध्यान दिनैपर्छ । अब संक्रमणकाल लम्वाउन हँुदैन । संक्रमणकालबाट मुक्त भएर मुलुकलाई आर्थिक विकासमा केन्द्रित गराउनु पर्छ । विधिको शासनलाई बलियो बनाउनु पर्छ । जनतालाई सुशासनको अनभूति दिलाउनुपर्छ । घरदैलोमा चुस्त दुरुस्त सेवा पु¥याउन सक्नुपर्छ । अनि वल्ल जनताले पनि परिवर्तनको अनुभूति गर्न सक्छन् । जनताले संविधानको धारा उपधारमा के लेखियो त्यो मतलव गर्दैनन् । जनताले उसको घरमा पानी आयो कि आएन् , जनताले आफ्नो आवश्यकता परिपुर्ति भयो कि भएन हेर्ने भएकाले सरकारले राज्यले गरेका संवैधानिक वाचा कवुलहरु पुरा गर्नसक्नुपर्छ । यसका लागि सुशासनमैत्री शासन प्रणाली चाहिन्छ । सामुहिक निर्णय गर्नसक्ने प्रणालीको विकास गर्नुपर्छ ।
(लेखक नेपाल प्रशासन पत्रकार मञ्चका केन्द्रिय अध्यक्ष हुन्)
दीप्तिशिखा चौधरी,      
थारुहरुका लागि माघ महिना, महिनामात्र नभएर माघ संक्रान्तिबाट सुरु भई महिनाभर मनाइने एउटा महान् चाड हो । अर्को शब्दमा थारु समुदायका लागि यो आर्थिक वर्ष प्रारम्भ हो । स्पष्ट शब्दमा भन्ने हो, भने माघी सामाजिक सद्भाव, मेलमिलाप, मानमर्यादा, सेवा र सत्कारको पर्व हो । यसै पर्वका लागि असोज, कार्तिक महिनामै नजिकैको खोला वा नदीमा बाँध बाँधी विभिन्न वनस्पतिका हाँगा पानीमा राखेर माछाका लागि बासस्थान बनाउने गरिन्छ । जसलाई थारु भाषामा ‘भिउरा डर्ना’ भनिन्छ ।

त्यसपछि माघ महिना आउन एक महिना अगाडि जाँड रक्सी बनाइन्छ । यसमा अनदी चामलको जाँड झोलको विशेष महत्व हुन्छ । यस पर्वका लागि पुस महिनामै दुना टपरी बनाउन ‘नम्हेनी’ मालुकाको पात टिपी ल्याइन्छ । घरमा भएका महिलाहरु फुर्सदको समयमा दुना, टपरी खुटिरहेका देखिन्छन् । चट्नी, तरकारी र रक्सी खानका लागि ‘चिह्री डोनी’ सानो आकारको दुनामा मासु, ‘खाज डोस्टी डोनी’ जाँड ठूलो आकारको दुनो र भात खान टपरी चाहिन्छ । गाउँका ‘गरदु¥या’ घरमूलीहरुले यो पर्व नजिकिनु पहिले नै मटवाँको घरमा भेला भएर ‘कचेरी’ छलफल गर्दछन् ।

यसमा कसले कति मासु खाने, सामाजिक कार्यहरु कसरी गर्ने, परिवारको संरचनालगायत यावत विषयमा छलफल आदि गरिन्छ । पुस महिनाको अन्तिम दिन माघी पर्वको पहिलो दिन हो यस दिनमा थारुहरुले सुँगुर मारेर, माछा मारेर, माछा मासु खाई पर्व मनाउने भएकाले यस दिनलाई थारुहरुले ‘जिटा भर्ना डिन’ भन्दछन् । गाउँका गरदु¥याहरु सुँगुर मारी मासु बाँड्दछन् , भने घरका अन्य सदस्यहरु घरघरबाट एकजुट भएर भिउँरामा माछा मार्न जान्छन् । गृहिनीहरु बिहानैदेखि ढिक्री बनाउन व्यस्त देखिन्छन् । वृद्धहरु दुना, टपरी खुट्न व्यस्त हुन्छन् । पराई घर गएकी छोरी÷चेलीलाई सम्झदै कतिले आँशु पनि झार्छन् । ढिक्रीको परिकार धेरै भए पनि माघीमा ‘लठा ढिक्री’ लामो आकारको ढिक्री मात्र बनाइन्छ । बालबालिकाहरु उफ्रिदै रमाइरहेको दृष्यले गाउँ नै रमनिय देखिन्छ ।

दिनभरिको खानाको परिकार बनाउँदाबनाउँदै रात पर्दछ । सबैका घर–घरबाट मिठा–मिठा परिकारको वास्ना आइरहेको हुन्छ । घरका सम्पूर्ण सदस्यहरु ‘वह्री’ बैठक कोठामा गोलबद्ध बसेर विभिन्न परिकारहरु खान सुरु गर्छन् । ‘गरदुरन्या’ घरमूलीको पत्नीले सबैलाई बराबर बाँड्छिन् अनि सबैजना रमाई रमाई खान थाल्छन् । सबैले वर्षभरिको दुःख आजको दिनमा बिर्सन्छन् । सबैको अनुहारमा मन्द मुस्कान देखिन्छ ।

आ–आफ्नो घरमा खानपिई सकेपछि हरेक व्यक्ति एक अर्काको घरमा गई माघी मान्ने क्रम सुरु हुन्छ । यहि अवसरमा वर्षभरिको वैमनश्यता बिर्सन्छन् र मेलमिलापको वातावरण बनाउन सुरु गर्दछन् । जाँड र रक्सीको नसामा लटपटिएको जिव्रोबाट निस्केको अस्पष्ट गीत ‘सखी ए हो ! माघक पिली गुरी जाँर’ गीत सुनिरहूँ जस्तो लाग्छ । वर्षभरिको जीवन संघर्षबाट उन्मुक्तिको अवसर सिद्ध भएको अनुभव गर्दै उनीहरु खानमै ब्यस्त देखिन्छन् । आखाँमा निद्राको साटो आलस्यता देखिन्छ ।

प्रौढ तथा बृद्धबृद्धाहरु “ढुमरु” ध्रुपद गाउँदै गरेको देखिन्छन् । गोलवद्ध भएर मटाँवाको घरमा आगो बालेर आजको दिनदेखि गीत गाउने कार्य आरम्भ हुन्छ । थारु विधान अनुसार थारु शास्त्रीय गीत ढुमरु ‘अट हे लाला रे पुरुवक डेश कुम्हरा वहुट कुम्हरक जाट रहठ रिसाहा’ खानपिनसँगै ढुमरु गाउँदा गाउँदै थारु लोक जीवनको एलार्मले गाउँभरिकालाई उठाउँछ । “कुकुरी काँ” एउटा कुखुरा बोल्ने बित्तिकै गाउँभरिका कुखुराहरु त्यसैगरि बोल्छन् । यससँगै सुरु हुन्छ माघी पर्वको दोस्रो दिन ।

‘ठौं भन ना, ठौं भन ना’ छुन भुल ना, छुन भन ना’ मादल र झ्याली बजाउँदै गाउँका प्रौढ तथा वृद्धहरुको भीड गल्ली गल्लीबाट निस्कन्छ । चिसो मौसममा नुहाउन नजिकैको पधेँरा वा घाटतिर नुहाउन जान्छन् । ‘सखी ए हो ! माघक पिली गुरी जाँर’ अर्थात्ः ए साथी ! माघ पर्वको उल्लासमा मिठो मिठो जाँरको झोल पिएका छौं हामी । यसरी एकजनाले गीतको पंक्ती उठान गर्ने बित्तिकै समूहले पनि छोपी हाल्छन् ।

उफ्रदै गाउँदै पानीघाट पुग्छन्, नुहाउँछन्, द्रब्य दान गरी फर्कन्छन् । बालबालिका, युवायुवतीदेखि प्रौढहरुको पनि बगाल देखिन्छ । हरेक कार्य गर्दा गीत लय हाली हाली गाउँछन् ।
‘बाबाकी सगरवा मुरिया लहान गैनु हाँ,
सखी ए हो ! टोपीया छुटल पानी घाट’ अर्थात् ः बाबा म खोलामा नुहाउन गएँ, तर कुन घाटमा गएँ र मेरो टोपी कहाँ छुट्यो । मैले बिर्से । माघ स्नानपछि घर फर्किन्छन् । छुट्टाछुट्टै ‘ढक्यामा’ हातबाट निर्मित वस्तु राखिएको चामल, उर्दको दाल, नुन, एक–एक पसर निकालेर छुट्टै टपरीमा राख्छन् । जसलाई थाहरुहरु ‘निस्राउ कहर्ना’ भन्दछन् । यो निस्रालाई खिचडी खानका लागि चेलिबेटीलाई दिने प्रचलन छ । त्यसपछि घरको सानो सदस्यले ठूला सदस्यलाई क्रमशः हातमा ढोग गर्दछन् र ठुलाले सानालाई आशिष दिने गर्दछन् ।

त्यसपछि अनदिको रोटी, खिचडी, मासु ढिक्री, जाँडलगायत प्रमुख खाने परिकार बनाई सबैजना मिलेर आगो ताप्दै खान थाल्छन् । जसलाई थारुहरु ‘वासी’ बिहानको नास्ता भन्दछन् । यो चलनले घरपरिवारमा आत्मियता दर्शाउँछ । जुन चलन डङ्गौरा थारुहरुमा पुस्तौँदेखि चलिआएको छ । खाईपिई गर्दागर्दै सूर्यले न्यानो घाम छोड्न थाल्छ त्यसपछि थारुहरु नाँचगान गर्न गाउँको गल्ली गल्लीबाट निस्कन्छन् । उनीहरुको उमेर अनुसार आ–आफ्नो समूह हुन्छन् ‘नाँच नाच्ने नचन्या’ नर्तकीले लहंगा, चोल्या, घुम्टो ‘घुर्घुट’ काँधदेखि कम्मरसम्म सट्की पहिरिन्छन् । त्यसैमा थारु भेषभुषा अनुसार श्रृंगार गर्छिन् । मादले पुरुष या त महिलाले कम्मरमा मादल बाँध्छन् । अरुले झ्याली कस्टार बजाउँदै गीत गाउँदै नाँच्न सुरु गर्छन् । प्रत्येक घरमा नाँच्न गएपछि घरमुलीले स्वागतपूर्वक खानेकुरा दिई माघी मनाउँछन् यसरी थारुहरु वर्षभरिको पिरब्यथा बिर्सन्छन्, जसलाई थारुहरु ‘माघ मान्ना’ भन्दछन् ।

माघ महिनाको दोस्रो दिन र माघी पर्वको तेस्रो दिनलाई थारुहरु ‘माघी डेवानी’ भन्दछन् जुन दिन थारु गरदु¥याहरु ‘मठ’ माटोको भाँडामा जाँड, रक्सी, छिट्नीमा तरकारी लिएर बिहानै ‘मटावाँ’ गाउँको मुली मान्छेको घरमा जान्छन् । यस दिनमा बितेको र वर्षको कार्य समीक्षा, भावी कार्य योजना र नयाँ सम्झौता गर्न दिने हो । यसरी गाउँदेखि घर व्यवस्थापनसम्मका सम्पूर्ण विषयमा गहन छलफल गरिन्छ । आजको दिन कसैसँग रिसरागको सम्बन्ध छ भने जाँडको चुस्कीसँगै मेलमिलाप गरी त्यो तिक्ततालाई बिर्सने गरिन्छ ।
 
माघी पर्वको चौथो दिनलाई ‘जन्नीनक माघ’ महिलाहरुको माघी पर्व भनिन्छ । आजको दिन थारु महिलाहरु पूर्ण रुपमा स्वतन्त्र मानिन्छन् । घरको कामकाज छोडेर घरघर माघी पर्व मनाउँदै जाँड पिउँदै स्वतन्त्रपूर्वक हिड्छन् बोल्छन् । यसरी मानसिक रुपमा रमाउँछन् महिलाहरु । यो पर्वमा आफ्ना छोरी चेलीलाई सम्झन् । विवाहित अथवा जमिन्दारको घरमा काम गर्न बसेकी ‘कम्लहरी’ जो यत्रो ठूलो पर्वमा पनि घर आउन पाएकी छैनिन् । उनीहरुले भनेको वचन मनमा तिखो वाँण रोपेझैँ चसक्क बिझ्छ ।
‘सखी ए हो ! माघक पिलीगुरी जाँर
सेडुंरा ले मङनु वावा सेडुंरा नलेडेल्या रे हाँ
सेडुंरक् कारण वावा छोरीडेवु डेशवा टुहार’
अर्थात् ः ‘बुबा मेरो योवन देखेर तिमीलाई कत्ति पिर लाग्दैन ?
छोरीको राम्रा–राम्रा लुगा लगाउने चाहना होला भनेर ! तिमी मेरो चाहना बुझ्दैनौ भने म घर छोडेर जान्छु ।’

थारु लोक संस्कृतिमा माघी पर्व सम्पूर्ण पीर व्यथा पोख्नेलगायत सामाजिक, आर्थिक रुपमा मेलमिलाप गराउने पर्व हो । यो पर्वले थारुहरुको जीवनको व्यवस्थापन गर्नुका साथै शान्ति र सद्भाव कायम गराउँदछ । जुन भावले समग्र जीवनलाई सरल र सहज बनाइदिन्छ । अन्त्यमा एकपटक ः
‘सखी ए हो ! माघक पिली गुरी जाँर ।’
लक्की चौधरी,
‘सखिए हो ! माघीक् पिबी गुरी जाँर ...’ (साथीसंगी हो ! माघीमा पिऔंला गुलियो जाँड) यो गीतको श्लोकले माघीको पहिचानलाई अहिलेसम्म भरथेग गर्दै आएको छ । थारु माघी पर्वलाई गैर थारु समुदायले बुझ्ने यत्ति हो । कारण, हामीले यस पर्वको महत्व र नयाँ वर्ष किन ? बौद्धिक वहस गर्न सकेनौं । पर्वको दायरालाई फराकिलो बनाउन सकेनौं । सांस्कृतिक कार्यक्रम र खानपिनलाई मात्र जोड दिएर यसको बहुआयामिकतालाई खुम्च्यायौं । गैरथारुको मानसपटलमा माथिको हरफमात्र झुण्डिएको  छ ।

माघी भनेको थारुले जाँर दारु खाने, ढिक्री, मासु परिकार खाएर राम रमाइलो गर्ने पर्वमात्र हो कि भन्ने बुझाई बाहिर छ । तर, माघीको रौनक त्यतिमै सीमित त छैन । नयाँ वर्षकारुपमा मनाइने माघी पर्वलाई किन थारु समुदायले फराकिलो वहस गर्न सकेनन् ? यसका दुईटा कारण छन् । पहिलोः पश्चिमा थारुले बौद्धिक वहस र पर्वको बहुआयामिक पक्षलाई ध्यानै दिएनन् । दिन सकेनन् । रामरमाइलो गरी मात्रै मनाउने प्रयास गरे । दोस्रोः पूर्वीया थारुका लागि यो माघीपर्व खास अर्थ नै राख्दैन । गैर थारु समुदायले जसरी माघ १ गतेलाई माघेसंक्रान्ति मनाउँछन्, त्यतिमात्र हो पूर्वीया थारुले मनाउने । न उनीहरुले बडघर चयन गर्छन्, न गुरुवा, वैदवा, सूचिकार, चौकीदार नै चुन्छन् । पूर्वी थारु समाजमा त्यस्तो कुनै प्रचलन छैन, जुन पश्चिमका थारुले माघीमा गर्छन् । माघीलाई नयाँवर्ष मान्न पनि उनीहरुलाई धौ–धौ छ । कारण, यसको महत्व उनीहरुले बुझ्दैनन् । अहिले महोत्सव ठाउँ ठाउँमा गरेर माघीको महत्वलाई अलि फराकिलो ढंगले पूर्वका थारुले बुझ्ने प्रयास गरेपनि आफ्नै घरमा उनीहरुले पश्चिमका थारुलेझैं माघी मनाउँदैनन् । चाडपर्वमा मीठा परिकार बनाएर खाने त सबैको घरमा हुन्छ ।

एकापसमा रमाइलोका साथै, साथी–भाइबीच भातृत्वप्रेम तथा आदरसम्मान गर्न सिकाउने ‘माघी’ थारु समुदायको नयाँवर्ष हो । नयाँ नीति नियम बनाउने, कार्यान्वयन गर्ने, नयाँ प्रतिवद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने काम माघीमै हुन्छ । यस पर्वले गएको वर्षभरिको कामको समिक्षा समेत गर्छ । जुन काम पूर्वका थारुले गर्दैनन् । एकवर्षे अवधिमा के कति काम भए, के राम्रा भए, के नराम्रा भए । वार्षिक योजना सफल भए कि भएनन् समिक्षा गर्ने चलन बडो राम्रो काम हो । तर यी वहस र समिक्षा सतहीरुपमा हुनेगर्छ गाउँघरमा । छलफलको नाममा रीति पु¥याउनेमै सीमित छ ।

थारु जातिको मौलिकता बोकेको ऐतिहासिक् चाड माघी विकासेपर्व हो । यसले ‘मेरो हैन हाम्रो’ भावनाको विकास गर्छ । पूर्खाको आशीर्वाद, आफूभन्दा ठूलाको आदर र सानालाई मायागर्ने भावनाको विकास गर्छ । वर्षभरिको दुःखसुखका कुरा एकापसमा साटासाट गर्ने, मीठो(मसिनो खाएर आत्मसन्तुष्टि लिने काम यसै पर्वमा हुन्छ । विवाह गरी पराईघर गएका चेलीबेटीलाई उपहार दिने र उनीहरुको सुख–दुःखको कुरा अभिभावकबाट जानकारी लिने काम हुन्छ । चेलीबेटीले आफूले भोगेका समस्या खुलेर राख्छन् र बुबा–आमासँग सुख–दुःखका कुराहरु साटासाट गर्ने अवसर पाउँछन् । वर्षभरि गरिएको मेहनत र प्रगतिबारे एकापसमा जानकारी लिने र समस्याका कुरा एकाअर्कासँग साँटेर मन हलुङ्गो पार्छन् थारु सदस्यहरुले ।    

किन गर्ने बौद्धिक वहसः
माघी पर्व किन नयाँ वर्ष ? विभिन्न तर्क गरिन्छ  । जुन स्वभाविक लाग्छ । तर माघी पर्वमा देखिएका राम्रापक्षको अनुशरुण र गलत विकृतिजन्य प्रचलनको अन्त्यका लागि पर्याप्त वहसको खाँचो  छ  । माघी पर्वलाई परम्परागतरुपमै मनाउने कि त्यसको समयानुकुल परिमार्जन गर्ने, आजको वहसले तय गर्नुपर्छ  । माघी पर्वमा अहिलेसम्म बौद्धिक वहस भएको उदाहरण छैन । यसपर्वको सकारात्मक र नकारात्मक पक्षबारे औंल्याएर कार्यपत्र प्रस्तुत गरेर वहस भएको पाइदैन । माघीपर्व कसरी शुरुभयो ? किन नयाँ वर्षको रुप लियो भन्ने तर्कपनि किंवदन्तीमै आधारित छन् । ‘पूर्खाले यसो भनेका थिए’ भन्ने आधारबाहेक अन्य वैज्ञानिक तर्क थारु अगुवाहरुसँग छैन । पूर्खाको तर्क एउटा आधार हुनसक्ला । तर, उहिल्यैदेखिको मनाउने यस पर्वमा कैयौं यस्ता परिमार्जनका पाटा खड्किएका छन् । जसलाई आजको वौद्धिक वहसबाटै छिनोफानो गरिनुपर्छ । अहिलेको बदलिदो समय र युवावर्गको मागलाई वहसले नै पूरा गर्नसक्छ ।

थारु हुनु र माघी मनाइनु के सम्बन्ध छ ? के यी सँगसँगै शुरु भए ? माघी पर्वलाई नयाँवर्ष किन ? महिनांैपिच्छे यस्ता पर्व थारु समुदायमा छन् । अरु पर्वलाई किन नयाँवर्षको संज्ञा दिइएन ? यस्ता अनुत्तरित प्रश्न वर्गेल्ती छन्, थारु युवाको मनमा । जसको उत्तर खोज्न वहसको खाँचो छ । थारु समुदाय यसै नेपालको आदीबासी हो । सरकारका प्रशस्त ऐन कानून र नियमहरु छन् । थारुले पनि ती ऐन नियमको पालना गरेकै छन् । फेरि किन गाउँमा अलग बडघरको आवश्कयता प¥यो ? किन गाउँ चल्ने ऐन नियम र कार्यविधि फरक बने ? कहिलेदेखि बने ? अरु समुदायमा किन बनेन ? बेलायतमा मौखिक संविधान रहेजस्तै थारुगाउँको बडघरका निर्देशन र नियम किन मौखिक चलनचल्तीमा रहे ? यी यावत यक्ष प्रश्नको उत्तर खोज्नु आजको बौद्धिक जमातको दायित्व हो । हिजोसम्म समाज अशिक्षित थियो । लेख्ने प्रचलन थिएन । गाउँघरमा गरिने नाटकका हरफ पनि अलिखित थिए । कण्ठ गरेर सुनाइन्थ्यो । थारु गुरुवाले जप्ने मन्त्र पनि सबै अलिखित छन् । किन त्यसो भयो ? के यसको कुनै दार्शनिक सम्बन्ध छ । माघीमा स्नानगर्दा किन पैसा चढाइन्छ ? छोरी चेलीलाई निसराउ दिनुको महत्व के हो ? मेलमिलापको पर्व भन्ने तर माघीमै थारु घर फुट्नुको राज के हो ? यस्ता पक्षसमेत बौद्धिक वहसमा उठाइनुपर्छ । जुन आजका युवाले शुरुवात गर्नुपर्छ ।

मयल पखाल्ने पर्वः 
माघी पर्वमा थारु समुदायका सदस्यहरु सकेसम्म अनिवार्य स्नान गर्छन् । तनमन सफा स्वच्छ बनाएर पूर्खाको आशीर्वाद लिन्छन् । माघेसंक्रान्तिका दिन नदी, पोखरी तथा जलासयमा गएर नुहाउँदा जानीनजानी काम गर्नेबेला वर्षभरि गरेको पाप र शरीरको मयल पखालिन्छ भन्ने विश्वास छ । अरुदिन निःशुल्क भएपनि त्यो दिन सःशुल्क स्नान गर्छन् थारुहरुले । जलदेवतालाई पैसा चढाएरमात्र नुहाउने चलन थारु समुदायमा छ । माघीलाई थारु समुदायले मिलनको पर्व मान्छन् । रिसराग त्याग्ने र नयाँ सम्बन्धको सुरुवात गर्ने पर्वकारुपमा लिन्छन् । स्थान गर्दा शरिरको मयल मात्र पखालिने होइन । मान्छेभित्र रहेका गलत भावना, रिस, क्रोध, अहम्ता सबैचिज पखालिन्छ । एकाअर्काबीचको दुश्मनी,  वैमनस्यता र रिसरागको अन्त्यगरी नयाँ सम्बन्ध, भातृत्व निर्माण हुने विश्वास गरिन्छ । त्यसैले पनि यस माघीपर्व थारु समुदायका लागि विशेष महत्व राख्छ ।

माघेसंक्रान्ति मकरसंक्रान्तिसँगै पर्छ । माघ १ गते अशुभ काम गरिदैन । थारुहरु पुसको अन्तिम दिन नै मासुकालागि सुंगुर–बंगुर जीताकोरुपमा मार्छन् । मासुको लागि जीता भरसक गाउँबाटै खोज्ने चलन छ । सम्भव नभए अन्य गाउँठाउँमा गएर पनि सुंगुर–बंगुर खरिदगर्ने चलन छ । गाउँको भलमन्साको घरमा सामुहिक जम्मा भई मासु काटेर भाग लगाई वितरण गरिन्छ । मासु खान पाइने हुनाले सो दिन गाउँघरका केटाकेटीहरु निकै फुरुङ्ग हुन्छन् । माघेसंक्रान्तिका दिन गेडागुडीका चोखो चिजबस्तुहरु घरमा बनाई खाने प्रचलन छ ।

नयाँ नेतृत्वकर्ता चयन
देशको नेतृत्व प्रधानमन्त्रीले गरेजस्तै, थारुगाउँको नेतृत्व एकजना बडघरले गर्छ । जस्लाई थारु समुदायले माघीमै लोकतान्त्रिक प्रक्रियाबाट चयन गर्छन् । गाउँको नेतृत्व कसलाई दिने, उसको पारिश्रमिक कति तोक्ने ? निक्र्यौल गर्छन् । गाउँको नेतृत्वकर्ता (बरघर) गाउँको पूजारी (चिरक्या) र हुलाकीको कामगर्ने (चौकीदार) को नयाँ व्यवस्था गरिन्छ । उनीहरुको वर्षभरिको पारिश्रमिक र जिम्मेवारी गाउँघरका सदस्यहरुको सामुहिक बैठकले तोक्छ । घरको नेतृत्वकर्ता एकजना घरमुलीको पनि चयन गरिन्छ । वर्षभरिको घरको नाफानोक्सानको समिक्षा गरी चित्तबुझ्दो भए घरमुली पुनः एक वर्षकालागि पुनरनियुक्त गर्ने, नभए अर्को व्यवस्था गर्ने प्रचलन छ । घरको अनुशासन कायम घरमुलीले गर्छ भने गाउँको अनुशासन बरघरले । बर्षभरिको कामको जिम्मा लिएको बरघरले काम चित्तबुझ्दो नगरे छलफलबाटै उसलाई बीचैमा परिवर्तन गर्नसक्ने विकल्प पनि खुला हुन्छ । गाउँको साझा नीतिनियम बमोजिम निर्वाचित पदाधिकारीले काम गर्नुपर्ने हुन्छ । माघीदेखि थारुहरुको नयाँ खाताको सुरुवात हुन्छ । तिर्नुपर्ने ऋणहरु चुक्तागर्ने र नयाँ कामको प्रारम्भ गर्छन् । कुलोपानीको उचित व्यवस्थापनको प्रबन्ध मिलाउँछन् । थारुहरु बरघर छनौटगर्दा गाउँको जो सक्षम छ त्यही व्यक्तिको चयन गर्छन् । पुरुष या महिला जो भएपनि हुन्छ । थारु गाउँमा महिलाहरु बरघर हुने प्रचलन उहिलेदेखिको हो । तर संख्यात्मकरुपमा महिला बरघर भएको निकै कम उदाहरण छ । केही गाउँमा गैरथारु पनि बरघर भएका छन् ।

चेलीबेटीलाई निसराउ
माघीमा थारुहरु आफ्ना चेलीबेटीलाई गच्छअनुसार उपहार टक्र्याउँछन् । चेलीबेटीका लागि नछुट्याएसम्म आफू केही खाँदैनन् । कुखुरा बासेपछि शुद्ध जलाशयमा स्नानगरी घरआएर चेलीबेटीका नाममा नुन, चामल, दाललगायतका खाद्यान्नहरु छुट्याएर बाँकी कामको शुरुवात हुन्छ । त्यसको अतिरिक्त नगद, लत्ताकपडा तथा अन्य सामग्री पनि चेलीबेटीलाई उपहारको रुपमा दिइन्छ । विवाहगरी अर्काको घरमा गएका चेलीलाई मात्र सो सामान उपहारस्वरुप दिने प्रचलन छ । जसलाई थारुमा ‘निसराउ’ भनिन्छ । माघीको निसराउ नपाए चेलीबेटीहरु आफू माइतबाट उपेक्षितभएको महशुस  गर्छन् । उपहारले आफ्ना चेलीबेटीसँगको सम्बन्ध सुधारमा ठूलो महत्व राख्छ । तर, अहिले सो उपहारलाई समानतासँग तुलनागर्न थालिएको छ । महिला–पुरुष बरावरीको नाराले सधैंभरि चेलीबेटीलाई माइतीवालाले उपहार दिनुपर्ने पक्षमा प्रश्नचिन्ह लगाउन थालिएको छ । आर्थिक अवस्था दयनीय रहेका माइतीले पनि चेलीबेटीलाई उपहार दिनुपर्ने बाध्यात्मक परिपाटीलाई बदल्नुपर्ने आवाज उठ्नेगरेको छ । निसराउ दिने प्रचलन सांकेतिक सहयोग हो । विवाहबारीमा थारु समुदायले चेलीबेटीलाई कुनै दाइजो दिंदैनन् । दिने प्रचलन छैन । चेलीबेटीले पनि माइतीलाई कज्याएर दाइजो माग्दैनन् । सामान्य खर्चले विवाहबारी सकिन्छ । तर माइतीपक्षकाले समस्या परेकाबेला आफ्ना चेलीबेटीलाई जस्तोसुकै सहयोग गर्न अघि सर्छन् । घरका सदस्यहरुबीचको नाता र माया अटुट रहेको प्रमाणित गर्न कुनै कन्जुस्याई गर्दैनन् । यही थारु समुदायको उदाहरणीय पक्ष हो ।

साताभरी राम–रमाइलो
पुसको अन्तिम दिनबाट सुरु हुने माघीपर्व करिब एक हप्तासम्म मनाइन्छ । पहिलो दिन माघेसंक्रान्ति, दोस्रो दिन खिचडीभात पकाइखाने ‘खिच्रहुवा’ को रुपमा मनाइन्छ । त्यसपश्चात् साताभरि नाचगान गरी रमाइलो गरिन्छ । गाउँमा केटाकेटी, उमेरले अधवैसे तथा बुढाबुढीको अलग–अलग समूह बनाई नाच्छन् । सामुहिक नाचले गर्दा हप्तादिनसम्म गाउँ नै गुञ्जयमान हुन्छ । माघीमा मघौटा, छोक्रा, हुरडंग्वा, झुमरालगायतको नाच नाचिन्छ । नाचमा नचनियाँहरुले जाँडकोझोल र रक्सी प्रसादकोरुपमा पिउँछन् । जसलाई थारुमा ‘छाँकी पिलाएको’ भनिन्छ । नाचेबाफत दक्षिणा असुली त्यसलाई विकास निर्माणको काममा लगानी गर्ने प्रचलन छ । यसोगर्दा एकातिर सामाजिक सदभाव पनि कायम हुन्छ, अर्कोतिर संस्कृतिको जगेर्ना पनि हुन्छ । मनोरञ्जन बाहेकका बाँकी समय हरहिसाव तथा नेतृत्व छनौटगर्ने काममा लगाउँछन् । नाच नाच्दा मादले र नाच्नेको अनिवार्य व्यवस्था गरिन्छ । थारुहरु माघीको अतिरिक्त, दशैं, तिहार, होली, अतवारी, जितिया, सिरुवा, कृष्णाष्टमी, गुरिया, छठ, भजहर लगायतका चाडहरु धुमधामसँग मनाउँछन् ।

दासदासी जीवनको अन्त्य
बिगतमा माघी थारुका लागि अभिसापजस्तै थियो । ठूलाबडा जमिन्दारको घरमा थारु सदस्यहरुलाई कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै शुरु हुन्थ्यो । एउटा कमैयालाई छारागर्ने र अर्कोलाई पशु किनेजस्तै खरिदगरी दासीजिवन जिउन बाध्य पारिन्थ्यो । वि.सं. २०५७ साल साउन २ गते तत्कालिन सरकारले कमैयालाई मुक्त घोषणा ग¥यो । २०७० साउन ३ गते कमलहरी प्रथा अन्त्यको घोषणा ग¥यो । तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । अरुको घरमा सानैदेखि निकै थोरै ज्यालामा कामगर्ने चेलीबेटीलाई कम्लहरी भनिन्छ । यिनीहरुलाई दासदासीकोरुपमा काम लगाइने गरिन्छ । कैयौंको यौनशोषण पनि भइरहेको छ । सरकारले कमैया, कमलरी राख्न नपाउने, राखेमा कानूनबमोजिम दण्डित गर्ने ऐन नियम बनाए पनि त्यसको कार्यान्वयन व्यवहारमा फितलो छ । कानूनको कार्यान्वयन गर्ने निकायमा बसेकाहरुले नै आफ्नो घरमा कमैया कमलरी राख्न थालेपछि त्यसको कार्यान्वयन कमजोर बनेको हो ।

रुपान्तरण आवश्यक
थारु समुदायमा जाँड र दारु नभए पाहुनाको सत्कार हुँदैन भन्ने बुझाई छ । जुन अहिलेको सन्दर्भमा उपयुक्त छैन । इष्टमित्र तथा पाहुनालाई सत्कार र स्वागत गर्ने अन्य विकल्प तमाम छन् । थारुको देवताले पनि जाँड र दारु लिन्छन् भन्ने भ्रम सिर्जना गरिएको छ । त्यस्ता विकृतिलाई हटाई त्यसलाई सुधार्नुपर्ने खाँचो छ । कैयौंले जाँरदारुको ठाउँमा मिठाई, लवाङ, अछेताले पूजापाठ गर्न शुरु गरेका छन् । यसलाई सुधारको सुरुवातकोरुपमा चर्चागर्न सकिन्छ । विस्तारै यसलाई विस्तार गरी देवीदेवता पूजागर्ने  प्रचलन र सामग्रीमा रुपान्तरण आवश्यक छ ।

संयुक्त परिवारमा बस्ने थारुहरु भाइ–भाइ छुट्टिनु परेमा माघीलाई नै गन्तव्य बनाउँछन् । जसले माघीपर्वको महत्वमाथि नै प्रश्नचिन्ह लगाउँछ । एकातिर नयाँ वर्षको रुपमा चाडलाई मनाउने अर्कोतिर ‘भाइफुटे गँवार लुटे’ नेपाली उखानलाई चरितार्थ गर्नेकाम उचित छैन । सुधारको खाँचो छ । माघी पर्वबाटै आफ्ना छोरीचेलीलाई स्कूल पढाउन छाडेर अर्काको घरमा भाँडा माभ्mने काममा लगाउने गलत परम्परा छ । दासदासी जीवनको अन्त्यकालागि थारुले आफ्नै घरबाट त्यसको सुरुवात गर्न सक्नुपर्छ । परिवारका सदस्य पाल्ने अन्य जुूिक्त निकाल्नु पर्छ । आर्थिक अवस्था कमजोर भएका परिवारका अभिभावकले छोरीचेली पाल्नकै लागि अरुको घरमा कमलरी बनाउनु कुनै अर्थमा ठीक छैन । सानो समस्या र गल्तीले दासदासी प्रथालाई आफैले प्रोत्साहन गर्ने परिपाटीको अन्त्य गर्नैपर्छ ।