मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

लक्की चौधरी/‘सामान्यतः पत्रकारले अरुलाई प्रश्न गर्छ’ भन्ने आमबुझाई छ । पत्रकारले प्रश्नमात्र गर्ने अरुले जवाफमात्र दिनुपर्छ भन्ने पत्रकारिताको धर्म हुँदै होइन । न त त्यो कुनै देशको संविधान, विधिविधान र ऐनमा लेखिएको विषय नै हो । पत्रकार आचारसंहितामा पनि त्यो कुरा उल्लेख छैन । पत्रकार महासंघको विधानले पनि त्यो भन्दैन । ‘पत्रकारले प्रश्न गर्नुपर्छ’ हाम्रो परम्परागत बुझाई हो । पत्रकार अरुभन्दा भिन्नै्, अरुलाई तर्साउँदै हिड्ने अर्कै ग्रहका व्यक्ति पनि होइन । पत्रकारिताको ट्रेण्ड हेर्दा सार्वजनिक सरोकारका ओहदामा बस्नेहरुलाई जिज्ञासा राखेर नागरिकका लागि जवाफ खोज्ने ‘ब्रिज’ मात्र हो । पत्रकारले आफ्नालागि प्रश्न गर्दैन । पाठक, स्रोता, दर्शक या आमनागरिकका लागि गर्छ । यसको अर्थ पत्रकारले मात्र प्रश्न गर्न पाउँछ अरुले पत्रकारलाई प्रश्नै गर्नु हुन्न भनेको होइन । पत्रकारले जसरी अरुलाई जिज्ञासा गरेर कुरा खोतल्छ, त्यसरी नै सर्वसाधारणले पत्रकारलाई प्रश्न तेस्र्याउन छुट छ । पत्रकारलाई जिम्मेवार बनाउन पनि त्यसले मद्दत गर्छ ।

बेलाबखत पत्रकारप्रति थरिथरिका प्रश्न तेर्सिने गर्छन् । तर ती प्रश्नको जवाफ नआउँदै प्रश्न ओझेलमा पर्छन् । कारण, उत्तरदिने निकायले त्यसमा वेवास्ता गर्नु र प्रश्नकर्ताले ‘फ्लोअप’ नगर्नु । पत्रकारलाई प्रश्नगर्दा उल्टै फँसादमा परिने पो होकि ! कतिपयको मनमा मानसिक भय देखिन्छ । पत्रकार अर्कै ग्रहबाट आएका वर्ग होइनन् । पत्रकारलाई प्रश्न नगर्ने हो भने छाडा हुन्छन् । यिनीहरुको मनपरी फष्टाउँछ । अर्थात् ‘पत्रकारले अरुलाई औलामात्र ठड्याउने वर्ग हो, अरुले खुरुखुरु जवाफमात्र दिने हो’ सोच्नु हुन्न । यस्तो सोचले पत्रकार जिम्मेवार बन्दैनन् । पत्रकारलाई परिपक्व र संवेदनशील बनाउने निकाय आमनागरिक, पाठक, श्रोतावर्ग नै हो । पत्रकार पनि नियमले बाँधिएका छन् । यिनकालागि पनि जिम्मेवारी र संवेदनशीलताको पर्खाल छ । कानून, विधिविधान र ऐन नियमभन्दा माथि होइनन् पत्रकार । पत्रकार सबैथोक होइनन् । न त तिनले समाजका सबै पक्षबारे सर्वज्ञान नै राख्छन् । सूचनाका खेतीगर्ने पत्रकारले यिनै समाजका व्यक्तिबाट, वातावरणबाट सूचना उत्पादन गर्छन् र अरुमाझ पस्कन्छन् । हो, पत्रकारले सूचना चिन्छन् अरुले चिन्दैन । मृगले आफ्नो नाभीको सुगन्ध थाहा नपाएजस्तै आमनागरिकले आफूसँग भएको सूचना थाहा पाउँदैनन् । त्यही सूचनालाई पर्गेल्ने क्षमता भएकैले पत्रकार भएको हो । नागरिकभन्दा अलि भिन्न भएको हो । पत्रकारलाई कहाँ–कहाँ प्रश्न तेस्र्याउन सकिन्छ ? हेरौं केही परिदृष्य (

परिदृष्य नं. १–पत्रकार हुन योग्यता चाहिन्छ कि चाहिंदैन ? परीक्षामा पास गर्नुपर्छ कि पर्दैन ?
आमरुपमा उठ्ने जिज्ञासा हो यो । पत्रकारितामा आउन पत्रकारले परीक्षा दिनु नपर्ने नै हो त । यसको जवाफ नागरिकले पाउनु पर्छ । पत्रकारिता पेशामा आउनेहरु पढ्नै नपर्ने होइन । कुनै न कुनै परीक्षा उत्तीर्ण गरेरै आएका हुन्छन् । हो, पत्रकारिताका केही नम्स र विशेषता छन् । पत्रकार हुन आमनागरिकले पढ्ने विषयले मात्र पुग्दैन । पत्रकारिता विषय या अभ्यासमा पत्रकार दक्ष हुनैपर्छ । अरुभन्दा अलि फरक ज्ञान नै पत्रकारको औजार हो । पत्रपत्रिका दर्ताकालागि ऐन नियममा योग्यताक्रम तोकिएको छ । सम्बन्धित क्षेत्रको अनुभवको समयको किटान गरिएको छ । त्यही नियमानुसार पत्रकारले पत्रिका दर्ता गर्छन् र पत्रकार बन्छन् । अर्थात् अरुले दर्तागरेका मिडियागृहमा काम गरेर पत्रकारका दर्जा पाउँछन् । कोही पत्रकारिता विषय अध्ययन गरेर पत्रकार बन्छन् त कोही अभ्यास र अनुभवका आधारमा ।

पत्रकार महासंघको विधानको दफा ४ (१, क) मा पत्रकारको सदस्यता प्राप्त गर्न योग्यताक्रम निर्धारण गरिएको छ । पत्रकारिता वा अरु कुनै विषयमा स्नातक उत्तीर्ण गरी एक वर्षदेखि पत्रकारितामा संलग्नलाई सदस्यता दिने, (ख) पत्रकारिता वा अन्य कुनै विषयमा उच्च माध्यमिक तह वा सो सरह उत्तीर्ण गरी दुई वर्षदेखि पत्रकारिता पेशामा लागेको व्यक्ति । तर महिला, आदिबासी जनजाति, दलित, मधेसी, थारु, मुस्लिम, अपाङ्गता भएका, अल्पसंख्यक, उत्पीडित वा पिछडिएका वर्गका लागि भने एक वर्षको पत्रकारिता अनुभव भए पुग्ने व्यवस्था छ ।

त्यस्तै, प्रेस काउन्सिल नेपालको ०७२ फागुन १९ गतेको बैठकले पत्रकार हुन परीक्षा निर्धारण गर्ने सम्बन्धी एक कार्यदल गठन गरेको थियो । सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिनाको संयोजकत्वमा गठित सो कार्यदलले अध्ययन प्रतिवेदन काउन्सिललाई बुझाई सकेको छ । कार्यदलमा त्रिविअन्तर्गतको रत्नराज्य क्याम्पस पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्याल, पत्रकार गुणराज लुइटेल र दीपक खनाल सदस्य थिए । पत्रकारिता पेशामा प्रवेशपूर्व योग्यता परीक्षणको व्यवस्था के कसरी गर्ने कार्यदललाई कार्यक्षेत्र तोकिएको थियो । कार्यदलले पत्रकारिताकालागि छवटा तत्वको निक्र्यौल गरेको थियो । (क) विशेष किसिमको सेवा प्रदान गर्ने, औपचारिक शिक्षा, तालिम र सीपको आवश्यक्ता । (ख) व्यवसायी र सेवाग्राहीबीचको गोपनीयताको सम्बन्ध (ग) विशेष ज्ञान र सार्वजनिक दायित्व (घ) आचारसंहिताको व्यवस्था र त्यसको अनुगमन (ङ) सार्वजनिक हित सम्बद्र्ध गर्ने दायित्व र (च) व्यावसायिक संगठन र ऐक्यवद्धता ।

कार्यदलले तीनवटा इकाईमा रही पत्रकारले परीक्षा दिनुपर्ने सुझाव दिएको छ । इकाई १ मा २५० पूर्णाङ्कको पत्रकारिताको सामान्य परिचय, इकाई २ मा ५० पूर्णाङ्कको अन्तरवार्ता र इकाई ३ मा १०० पूर्णाङ्कको प्रयोगात्मक परीक्षा । यी तीन प्रकारका परीक्षा लिनुपर्ने सिफारिस कार्यदलले गरेको छ । विद्यालयमा उत्तीर्ण नभएपछि पत्रकार बन्छन् भन्ने आमनागरिकको आरोप छ । त्यसको खण्डनका लागि पनि पत्रकारिता परीक्षामा बस्न कुनैपनि विषयमा स्नातक उत्तीर्ण गरेका विद्यार्थीले परीक्षामा बस्नेपाउने योग्यताक्रम निर्धारण कार्यदलले गरेको छ । यसले पत्रकारिता पेशालाई मर्यादित र जिम्मेवार बनाउने बुझाई कार्यदलको छ । तर सो प्रतिवदेन बुझाएको वर्षदिन बढी भएपनि काउन्सिलले त्यसबारे थप क्रियाकलाप अगाडि बढाएको छैन ।
परिदृष्य नं. २. मिडियागृहको लगानीको स्रोत के हो ? के कति लगानी गर्दा मिडियागृह सञ्चालनमा आउँछ ?

प्रायः पत्रकारले राज्य र सरकारलाई जिम्मेवार बनाउन पारदर्शीताको प्रश्न गर्नेगर्छ । सरकार सञ्चालन गर्नेहरुलाई पारदर्शीताका लागि घच्घच्याउँछ । सार्वजनिक सरोकारका ओहदामा बस्नेमाथि प्रश्न वर्षाउँछ । यसले ती व्यक्तिलाई जिम्मेवार र पारदर्शी बनाउनमा मद्दत पुग्छ । तर पत्रकार स्वयम् कति पारदर्शी छ भन्ने जिज्ञासा नागरिकबाट उठ्छ । त्यसको जवाफ पत्रकारले दिंदैन किन ? के पत्रकारले जे गर्दा पनि हुन्छ त ? त्यसो होइन । पत्रकार आफू पनि जिम्मेवार र पारदर्शी हुनैपर्छ । हाल नेपालमा ठूलठूला मिडियागृह सञ्चालनमा छन् । त्यसमा क(कसको लगानी छ । कति लगानी छ ? कुन आयस्रोतले त्यो गृह सञ्चालनमा छ ? यावत प्रश्नको उत्तर मिडियागृहले दिनु नपर्ने हो त ? त्यसो होइन । पारदर्शी हुनुपर्छ । नागरिकको जिज्ञासा मेट्ने दायित्व मिडियागृह सञ्चालनकर्ताको हो । तर अहिलेसम्म त्यसो हुन सकेको  छैन । मिडियागृहको आम्दानीको स्रोत विज्ञापनमात्र हो कि अरु पनि छ । कस–कसले शेयर लगानी गरेका छन् । यसको जवाफ दिनुपर्छ नागरिकलाई । मिडिया पारदर्शी हुन सकेमात्र अरुलाई जिम्मेवार र पारदर्शी बनाउन सकिन्छ भन्ने हेक्का पत्रकारले राख्नैपर्छ ।

गोरखापत्र, नेपाल टेलिभिजन, रासस र रेडियो नेपाल पूर्ण सरकारी स्वामित्वका सञ्चारगृह हुने । यिनका धेरै विषय सार्वजनिक छन् । वार्षिक बजेट, कर्मचारीले पाउने तलब सुविधादेखि आम्दानीको स्रोत पारदर्शी छन् । तर केही पाटाहरु गोप्य छन् । गोरखापत्र र यसका सहप्रकाशनहरु के कति प्रकाशन हुन्छन् ? कहाँ कहाँ पुग्छन् । यावत विषय अझै सार्वजनिक हुन सकेको छैन । व्यवस्थापन पक्षलाई बाहेक आमसर्वसाधारणलाई यस विषयमा जानकारी छैन ।

निजीस्तरका कान्तिपुर, नयाँ पत्रिका, अन्नपूर्णपोष्ट, नागरिक, राजधानी, समाचारपत्र आदि ब्रोडसिटका पत्रपत्रिकाका, स्याटेलाइट माध्यमबाट प्रशारण भइरहेका टेलिभिजन गृहको लगानीको स्रोत के हो ? के कसरी सञ्चालनमा छन् ? पत्रपत्रिका के कति सम्प्रेषण हुन्छ, पाठकलाई जानकारी छैन । कारण मिडियागृहले ती विषय सार्वजनिक गर्दैनन् । नागरिकको जानकारीको विषय यो हो कि होइन ? आमपाठक, स्रोता र दर्शकले यस विषयमा चासोराख्दा पनि त्यसको जवाफ पाउँदैनन् । मिडियागृहलाई जिम्मेवार र पारदर्शी कसले बनाउने ? आमजिज्ञासा हो यो ।

परिदृष्य नं. ३. पत्रकारका संघ संगठनमा सूचना अधिकारी किन तोकिदैन ? ती संघ संस्थाबारे जानकारी कसले दिने ? संविधानको धारा २७ मा सूचनाको हकबारे व्यवस्था गरेको छ । सार्वजनिक सरोकारका विषय र अन्य विषयमा सूचना पाउने नागरिकको अधिकार हो । राष्ट्रिय सूचना आयोगको वैशाख ७ गते काठमाडौंमा आयोजित राष्ट्रिय सम्मेलनमा सहभागीमध्येबाट केहीले पत्रकार र राजनीतिक दलका संघ संस्थाले सबैभन्दा वढी सूचना लुकाउने गरेको आरोप लगाए । सूचना अधिकारी पनि नतोकिएको गुनासो सुनाए । उठेको जिज्ञासा जायज छ । पत्रकार महासंघको केन्द्रीय कार्यालयमा आजसम्म सूचना अधिकारी तोकिएको छैन । दलको अवस्था पनि त्यस्तै छ । पत्रकारका संघ संस्था सार्वजकि सरोकारको संस्था हो कि होइन ? वहस गर्न सकिएला । तर राजनीतिक दल त नागरिकका चासोको विषय हो । दलका नेता, पत्रकार र पत्रकारिता पारदर्शी हुनैपर्छ । त्यसले अरुलाई पनि पारदर्शी बन्न उत्प्रेरित गर्छ ।

परिदृश्य नं. ४. पत्रकार पक्षीय हुनु पर्छ कि निश्पक्ष ? दलसँग आवद्ध हुनुपर्छ कि पर्दैन ? आमरुपमा यो प्रश्न जवर्जस्त उठ्छ । पत्रकारिता पेशा समाजप्रति उत्तरदायी हुन्छ । पत्रकारकालागि समाचार समाजबाटै आउँछ र सूचना र सामग्रीको उपभोग पनि समाजले नै गर्छ । समाजभन्दा बाहिर पत्रकारिताको अस्तित्वको कल्पनै गर्न सकिदैन । पत्रकार महासंघको विधान, आचारसंहिता, सूचना र सञ्चारसम्बन्धी ऐन नियम सबैमा पत्रकार निश्पक्ष हुनुपर्छ भन्ने उल्लेख छ । कुनै दलीय विचार बोक्नु हुँदैन भनिन्छ । तर पत्रकार आमरुपमा विभाजित छन् । दलीय विचारका नजिक छन् । पत्रकार महासंघको छाता संगठनको नेतृत्वका लागि पनि दलीय विचारका आधारमा प्रतिस्पर्धा हुनेगर्छ । मिडियागृहहरु वैचारिकआधारमा सञ्चालनमा छन् । लगानी पनि त्यहीरुपमा भइरहेका छन् । मिडिया नै विभाजित हुँदा समाजमा सही सूचना सम्प्रेषण हुन सकिरहेको छैन । अरुलाई बाटो देखाउने पक्ष नै विभाजित भइदिंदा समाजले सही बाटो पकड्न सकिरहेको छैन । पत्रकार पत्रकारिता बेलगाम घोडाजस्तो नहोस् भनेरै पत्रकार आचारसंहिता बनेको हो । तर त्यसको पूर्ण कार्यान्वयन छैन । पत्रकारले सत्यतथ्य विषय पस्कनुपर्छ भन्ने मान्यता छ । तर केही विषय व्यक्तिगत स्वार्थमा बङ्ग्याउने गरिन्छ । भूलसुधारमा त्यति ध्यान दिइदैन ।

Abroad Study
«
Next
»
Previous