मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

लक्ष्मण शर्मा /
एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ ।
लाटासुधा बोल्न थाल्छन्, चल्न ओठ दुःखको
सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन्
गए भनी नदेखिएका फर्की–फर्की आउँछन्
सुते भनी सम्झिएका सुरुसुरु हिंड्छन्
मरे भनी फ्याँकिएका जुरुजुरु उट्तछन् ।
                                                  गोपालप्रसाद रिमाल,
जब–जब यी पंक्तिहरु मेरो मनमा आउँछन्, तब मलाई नेपालको लामो ऐतिहासिक राजनीतिक क्रान्तिहरुको याद र व्यवस्था परिवर्तन गर्न गरिएका ती क्रान्तिको झझल्को आउने गर्दछ । म आफै राजनीतिमा होमिएको त धेरै भएको छैन । तर, नेपाली समाजको वास्तविक अवस्था, नेपाली समाजमा राजनीतिक शक्तिहरुको उदय र तिनले ल्याएका परिवर्तनहरुको बारेमा थोरधेर अवगत छु । जसरी नेपालको इतिहासमा व्यवस्था परिवर्तनको नाममा राजनीतिक शक्तिहरु उदाए र केही महत्वपूर्ण परिवर्तनहरु ल्याए त्यो आफैमा एउटा गौरवपूर्ण उदाहरण हो । २००७ साल, २०३६ साल, २०४६ साल र २०६२/२०६३ सालमा भएका ठूलाठूला राजनीतिक क्रान्तिहरुले निश्चित व्यक्ति वा दरबारमा भएको अधिकारलाई जनता समक्ष ल्याउने महत्वपूर्ण कार्य गरेकै हो । राज्यको शासकीय स्वरुप र राज्य पूर्ण संरचना जस्ता महत्वपूर्ण विषयमा  जसरी निर्णय र कामहरु हुनुपर्ने हो त्यो चाँही हुन सकेनन् । जस्ले गर्दा जनतामा केही नैरश्यता छाएको छ ।

जनताले आफ्नो शासक आफैले छान्न पाउनुपर्दछ र देशको भौगोलिक बनावट, साधनस्रोतको उपलब्धता पूर्वाधारहरुको विकासको अवस्था र जनसंख्याको आधारमा  राज्यको पूनः संरचना हुनुपर्दछ भन्ने मान्यता, माग वा तर्क छ । जुन सरकारात्मक पनि हो । विगत केही दशक यता राजनीतिक पार्टी वा नेतृत्वको चरित्र माथि बारम्वार प्रश्न उठ्ने गरेको छ । राजनीतिक नेतृत्वमा इमान र नैतिकता छैन । उनीहरु भ्रष्ट छन् । पार्टी वा संगठनमा भ्रष्टाचार, नातावाद, डनवाद जस्ता बिकृतिहरु मौलाएका छन् भन्ने जुन तर्क छ, त्यो सत्य हो । खासगरी विचार र एजेन्डा भन्दा पनि व्यक्तिगत स्वार्थको कारणले गर्दा राजनीतिप्रति मानिसहरुको झुकाव बढ्दो छ । म यो वा त्यो पार्टीमा लाग्दा मलाई या मेरो परिवारलाई के फाइदा हुन्छ भनि अङ्क गणित गरेर पार्टीमा लाग्नेहरुको एउटा ठूलो जमात छ । यहाँ, जस्ले गर्दा सुशासन होइन विकृति र कमाउ प्रवृत्ती हावी भएको छ । हामी विधिको शासन र विकास त चाहन्छांै, तर हाम्रै व्यक्तिगत स्वार्थ त्याग्न सक्दैनांै भने कसरी सम्भव होला त विकास र सुशासन ? सोच्नुपर्ने बेला आएको छ ।

हामी खुब नेता वा नेतृत्वलाई गाली गर्छौं । तर, ती नेताहरुलाई कस्ले चुनेर पठाएका हांै भन्ने कुरा विचारै गर्दैनौं, जब तपाईहरुको भोटले वा तपाईहरुले नै नेतृत्व चुनेर पठाउनुहुन्छ भने नेतृत्वलाई गाली गर्ने नैतिकता तपाईसँग रहदैन । तसर्थ नेतृत्वको चरित्र, उसको पृष्ठभूमि, क्षमता र योग्यता जस्ता कुराहरुको बारेमा विचार गरेर भोट दिनुभयो र नेतृत्व छान्नु भयो भने मात्र विधिको शासन र विकास सम्भव होला । नेपाली समाजको राजनीतिक इतिहासलाई हेर्ने हो भने विपी कोइराला नेतृत्वको पार्टी (नेपाली कांग्रेस) र गिरिजाबाबु नेतृत्वको पार्टी नेपाली कांग्रेसलाई जनताले पूर्ण बहुमत दिएको पाउन सकिन्छ । तर, बिडम्वना कांग्रेसको आन्तरिक द्वन्द्व र खिचातानीले गर्दा सरकार लामो समयसम्म सञ्चालन हुन सकेन । त्यसपछि यता जनतामा ढुलमुले वा अवसरवादको चरित्र मौलाएको पाउन सकिन्छ । जस्को परिणाम कुनै पनि दलले महुमत ल्याउन नसक्नु हो । जनताको चेतना स्तर विकास नभएर हो अथवा अवसरवाद कारणले गर्दा हो, जनताले पटक–पटक विभिन्न राजनीतिक पार्टीहरुलाई परिक्षण गरी हेरे । तर, पूर्ण वा दुईतिहाइ बहुमत दिन चाहेनन् । जस्ले गर्दा आज नेपालमा राजनीतिक अस्थिरता निम्तिएको छ ।

 अब जनताको चेतनास्तर बृद्धि हुन आवश्यक छ । कुनै पनि देशको राजनीतिक स्थिरता वा अस्थिरतामा जनताको मतले निर्णायक भूमिका खेल्ने हुँदा हामी सानो सानो अवसर वा स्वार्थबाट माथि उठ्न सक्नुपर्दछ । विचार, ऐजेण्डा, दस्तावेज, चरित्र, पृष्ठभूमि, योग्यता र क्षमताको नेतृत्व वा पार्टीलाई छान्नुपर्दछ । र सबैले त्यस्ता आचरण भएका व्यक्ति वा पार्टीलाई आफ्नो अमुल्य मत दिएर पठाएका पक्कै पनि कुनै न कुनै दलले बहुमत पाउने निश्चित छ ।

कुनै पनि स्वतन्त्र व्यक्ति वा समाजको यतिबेला नेपालको राजनीतिप्रति सकारात्मक धारणा बन्न सकेको छैन । खासगरी हाम्रो युवावर्ग रानीतिप्रति उदासिन छ । जनताको भोटबाट चुनिएका नेता र जनप्रतिनिधि छान्ने जनताबीच नै ठूलो खाडल छ । नेतासम्म सर्वसाधारणले सहज पहुँच छैन । नेतासम्म पहुँच भएका राजनीतिक  दलका कार्यकर्तासँग पनि नेताको अन्धभक्त हुनुको अर्को बिकल्प छैन । विवेकलाई बन्धकमा राखेर आफ्नो दलको नेताले गरेको जनबिरोधी क्रियाकलापलाई पनि ताली बजाएर समर्थन गर्नुपर्ने बाध्यता राजनीतिक दलको कार्यकर्ताको कर्तव्य हो । भन्ने सुगा रटाइबाट कार्यकर्ता प्रशिक्षित छन् । राजनीतिलाई नै पेशा बनाउने चाहना भएका युवा बाहेक आजका आम युवा त्यसरी अन्धभक्त हुने कुरालाई पनि स्वीकार गर्न सक्दैनन् । त्यसैले बरु उनीहरु राजनीतिप्रति नै उदासिन भइदिने गर्दछन् ।

युवा समाजको सबैभन्दा सचेत वर्ग हो । सचेत वर्ग नै राजनीतिक प्रति निराश हुनु भनेको देशको भविष्यका लागि पक्कै शुभ संकेत होइन । एकातिर राजनीतिक रुपमा मूलधारबाट युवा सधँै उपेक्षित हुनु अर्कोतर्फ राजनीतिक अप्राविधिक, राजनीतिक भ्रष्टचार तथा राजनीतिक नेताहरु बीच एकअर्कामा खुट्टा तानातान जस्ता गतिविधिमा नै राजनीति केन्द्रित भएकाले नेपालको राजनीति युवाको लागि भएन । फलस्वरुप आदर्श राजनीतिक संस्कृतिको विकास, राजनीतिमा जनसहभागिता र राजनीतिक सामाजिकीकरणको कुरा सधँै नारामा मात्र सीमित रह्यो । युवा वर्गको राजनीतिक व्यवस्थाप्रतिको आस्था र झुकाव भएन । भने हालको पुरानो सोचबाट नयाँ नेपाल बन्दैन, नयाँ नेपालका लागि त नयाँ–नयाँ मूल्य मान्यता, सोचाई वा धारणा हुनुपर्छ । आधुनिक र वैज्ञानिक दृष्टिकोण, अभियान र लक्ष्यमात्र युवासँग हुन्छ, नकी पुरातन सोचमा राजनीतिक गरेको र फुलेकाहरुसँग । उनीहरुले त अब अभिभावकीय भूमिका निर्वाह गर्दै युवापुस्तालाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर दिनुपर्दछ ।

दुई दशक लामो अन्तरालपछि नेपालमा स्थानीय निकाय निर्वाचन हँुदैछ । चुनाव हुनु र जनताले स्थानीय तहमा आफ्ना प्रतिनिधि आफैले छान्न पाउनु आफैमा सुखद् छ । विकास निर्माणका सही योजना नबन्नु, बनेका योजना अलपत्र पर्नु र कार्यान्वयन भइहाले पनि बजेटमा अत्यधिक भ्रष्टचार हुनु विगतका जल्दाबल्दा समस्या हुन विकास निर्माणका काम अलपत्र छन् । सायद् वर्षांैदेखिको मेलम्ची खानेपानी आयोजना होस् वा पन्ध्र वर्ष अगाडि खनिएका बाटोहरुमा पटक–पटक डोजर लगाउने काम होस् । कुनै पनि कार्यले तीब्र गति लिन सकेका छैनन् । दश वर्षदेखि विजुली बाल्ने सपना साँचेका दुर्गम क्षेत्रका जनता अझै पनि टुकी बालेर बस्न बाध्य छन् । दिनप्रतिदिन युवा विदेशीदै छन् । खेतबारीहरु त्यसै बाँझै छन् । यसको प्रमुख कारण भ्रष्टाचार र योजना विहिन लगानी नै हो ।

वजेटलाई कसरी सदुपयोग गर्ने भन्दा पनि आएको वजेटलाई कसरी सक्ने भन्ने ध्याउन्न मात्र हुन्छ । विकास गर्न वजेट चाहिन्छ । तर, त्यो भन्दा महत्वपूर्ण योजना र त्यसको सहि प्रयोग नै हो मुलुक गणतन्त्रमा प्रवेश गरेपछि पहिलो पटक स्थानीय तहमा पुनः संरचना गरिएको छ । गाउँपालिका र नयाँ नगरपालिका गठन गरिएको छ । अब निर्वाचित भएर आउने जनप्रतिनिधले जनताले महसुस गर्ने गरी विकास योजना सञ्चालन गर्नुपर्दछ । अनावश्यक सपना बाँड्नु भन्दा पनि आफूले पाँच वर्षमा कसरी काम गर्न सकिन्छ भन्ने कुराको बारेमा राम्रोसँग अध्ययन गर्नुपर्दछ । योजना बनाएर काम गरियो भने सानो वजेटमा पनि धेरै काम गर्न सकिन्छ । विकसित ठाउँ त्यस्तो स्थान हो, जहाँ सम्पूर्ण आधारभूत आवश्यकताहरु पुरा भएका हुन्छन् ।

जस्तो शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगारी, यातायात, खानेपानी, उर्जा, सरसफाई इत्यादि । यी सब कुरा गाउँमा पु¥याउन सबै भन्दा ठूलो समस्या भनेको छरिएको बस्ती र भौगोलिक अवस्था हो, जनतालाई छोटो समयमा विकासको अनुभूति गराउने हो भने सर्वप्रथम बस्तीहरुलाई एकीकृत गर्नुपर्दछ । यसरी पाँच वर्षमा हरेक गाउँ सानो–सानो सहरमा विकास हुनेछन् जहाँ सम्पूर्ण आधारभूत आवश्यकता परिपूर्ति हुनेछ र सबैले परिवर्तनको महसुस गर्नेछन् । जब सम्पूर्ण आधारभूत कुरा पूरा हुन्छन् मानिसहरु अस्तव्यस्त सहर भन्दा गाउँमा बस्न रुचाउने छन् । पछि ठूला विकासका काम गर्न सजिलो हुनेछ र जनप्रतिनिधिलाई अर्को पटक माथिल्लो तहमा चुनाव लड्न बलियो आधार हुनेछ ।    

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post