मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

प्रेमबहादुर राम्जा,
दाङ, कार्तिक २८ । दाङ जिल्लामा माहुरीका लागि चरण कब्जा गर्ने चलन रहेको छ । माहुरी चरण कब्जा गर्ने चलनले माहुरी मार्ने र मर्ने क्रम बढेको माहुरी पालन व्यवसायीहरु बताउँछन् ।

जिल्लामा रहेको चरण कब्जा तथा समाजमा हुने पुर्वाग्रहीका कारण माहुरी मार्ने र मर्ने क्रममा हरेक बर्ष बढ्दो अवस्थामा छ । दुई बर्षमा जिल्लाका दुई स्थानमा एक सय ३१ वटा माहुरीका घार सखाप भएका छन् भने तीस लाखभन्दा बढी आर्थिक नोक्सान भएको छ ।

जिल्लामा तोरी र चिउरीको खेतीका कारण माहुरी ब्यबसाय फस्टाएको छ ।माहुरीका लागि आवश्यक पर्ने चरण भए पनि बैज्ञानिक रुपमा ब्यबस्थापन गर्न नसक्दा समस्या रहेको छ । जिल्लाको चरणलाई ब्यबस्थित गर्न सकेमा हालको उत्पादनमा पाँच गुणा बढाउन सकिने नेपाल माहुरी ब्यबसाय महासंघले जनाएको छ ।

थोरै माहुरी हुने कृषकले चरण कब्जा गर्ने चलनले जिल्लाको ब्यबसायमा समस्या उत्पन्न गरेको नेपाल माहुरी ब्यबसायी समितिका अध्यक्ष रामप्रसाद पौडेलले जानकारी दिनुभएको छ । माहुरी चरण निर्देशिका अनुसार काम गर्न पनि अध्यक्ष पौडेलले कृषकहरुलाई आग्रह गर्नुभएको छ । तर, दाङका कृषकहरु यो आरोपलाई स्वीकार गर्दैनन् । लक्ष्मीपुरको सुनपुरमा माहुरी पाल्दै आउनुभएका निर्मलकुमार पौडेलले चरण कब्जा कसैले नगरेको बताउनुभयो । पौडेलले ब्यबस्थित चरणको ब्यबस्था हुनुपर्ने बताउनुभयो ।

गएको बर्ष घोराहीको बाह्रकुनेमा महेन्द्र बुढाको ५६ घार माहुरीमा विष हालेर मारियो, यो बर्ष चितवनबाट दाङको रामपुरमा चराउनका लागि ल्याइएका विष्णु न्यौपाने र हरि भुषालका ७५ घार माहुरीमा विष हालेर मारियो । यस्तै घोराहीको मसिनामा गीता बुढाले चरणका लागि ल्याएका माहुरीलाई चरणका लागि अनुमति दिइएन । उहाँले हाल देउखुरीमा चरणका लागि पुग्नुभएको छ ।

दाङ जिल्लामा कपिलबस्तु, नवलपरासी, चितवन, बाँके, सर्लाही, सुनसरीलगायतका जिल्लाका किसानहरुले माहुरी चरणका लागि ल्याउने गरेका छन् । स्थानीय कृषक, सामुदायिक बन तथा माहुरी राख्नका लागि स्थानीय जग्गाधनीसंग सहमति गरेर ल्याउने गरिएको नेपाल माहुरी ब्यबसाय महासंघका पुर्व अध्यक्ष राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

जिल्लामा राम्रो बाताबरण तथा चरणका लागि ब्यबस्था राम्रो रहेकाले दाङ माहुरी पालनको केन्द्र बन्न थालेको माहुरी पालन किसानहरुको भनाई छ । हावापानी, चरण, बाताबारण सबै विषयको अवस्था राम्रो रहेकाले जिल्लामा किसान तथा बाह्य जिल्लाका किसानहरु दाङमा केन्द्रित हुने गरेको अम्बिकेश्वरी माहुरीपालन सहकारी सस्थाका अध्यक्ष मीनराज घिमिरेले जानकारी दिनुभएको छ ।

किसानले पालेका माहुरीको सुरक्षामा चरण कब्जा तथा पुर्वाग्रहीले समस्या हुदै आए पनि जिल्ला कृषि विकास कार्यालय दाङले सबै किसानहरुलाई सहकार्यका साथ ब्यबसाय गर्न आग्रह गरेको छ । प्राविधीक सहयोग हुने भन्दै जिल्ला कृषि विकास कार्यालय दाङका कृषि विकास अधिकृत भरतमणी पोखरेलले जानकारी दिनुभयो ।

जिल्लाका सबै स्थानमा चरणको सम्भावना रहेको छ । जिल्लाका घोराही, तुलसीपुर, पवननगर, त्रिपुरलगायतका स्थानहरु माहुरी पाल्नका लागि पकेट क्षेत्रका रुपमा रहेका छन् । जिल्लामा मात्रै १२ हजार भन्दा बढी माहुरीका घार रहेको र त्यसमा अन्य जिल्लाबाट चार हजारदेखि पाँच हजारसम्म माहुरीका घारहरु भित्रीने गरेका छन् ।

जिल्लामा रहेका माहुरी पालन किसानहरुले सामुदायिक बनलाई रोयल्टी तिर्दैनन् तर, जिल्ला बाहिरबाट चरणका लागि जिल्लामा ल्याइने माहुरी पालन किसानहरुले सामुदायिक बन वरपर माहुरी राखे बाफत दुई सयदेखि माथि रकम तिर्ने गरेको चितवनका किसान विष्णु न्यौपानेले जानकारी दिनुभएको छ ।

गएको बर्ष एक सय पचास टन मह उत्पादन गरिएकोमा यो बर्ष तीन सय भन्दा बढी मह उत्पादन गर्ने लक्ष्य लिइएको अम्बिेश्वरी माहुरीपालन सहकारी सस्थाका अध्यक्ष मीनराज घिमिरेले जानकारी दिनुभएको छ । जिल्लामा तीन सयदेखि तीन सय पचास रुपैयामा प्रतिकिलो मह विक्री गर्ने चलन रहेको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post