मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

अभिलाष राजभण्डारी,
दाङ, मंसिर २२ । बाक्लो सुरक्षा घेराका बीचबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार दाङको देउखुरीस्थित राप्ती नदीमा निर्माण हुन लागेको पुलको शिलान्यास गर्नुभएको छ । दाङका मात्रै नभई बाँकेबाट ल्याइएका चार भ्यान सुरक्षाकर्मीहरुको बाक्लो सुरक्षा घेराभित्र रहेर प्रधानमन्त्रीले पुलको उद्घाटन गर्नुभयो ।


संविधान संशोधनको प्रस्ताव फिर्ताको माग गर्दै प्रतिपक्ष एमालेको भातृ संगठन अनेरास्ववियु र युवा संघले जिल्ला बन्दको आह्वान गरेको थियो । बन्दबाट सुनसान बनेका सडकमा टायर बलिरहेका थिए । बन्द र अर्कोतिर हुस्सुले छोपेको आकाशलाई चिर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार बिहान १०ः४० वजे राप्तीको बगरमा अवतरण हुनुभयो ।


नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन तहको सुरक्षाका बीचमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको एनए–०५६ नम्वरको हेलिकोप्टरमार्फत् पुलको उद्घाटन गर्न देउखुरी आउनुभएको थियो । पछिल्लो समय राजनीतिका कारण उत्पन्न भएको परिस्थितिलाई मूल्याङ्कन गर्दै जिल्ला सुरक्षा समितिले सुरक्षा व्यवस्थालाई कडा बनाएको थियो । प्रचण्ड आउने थाहा पाएर त्यहाँ पुगेका माओवादीका नेता कार्यकर्ता तथा सर्वसाधारणहरुलाई समेत पुल शिलान्यास स्थलमा जानका लागि प्रहरीले कडा जाँच गरेको थियो ।


प्रधानमन्त्री प्रचण्डलाई देउखुरीमा दङालीहरुले फूल, माला र स्वागतद्वार राखेर सम्मान एवं स्वागत गरेका थिए । देउखुरीको सिसहनियाँ—महदेवा जोड्न राप्ती नदीमा निर्माण गर्न थालेको पुलको शिलान्यास प्रचण्डले हिन्दु धार्मिक विधि अनुसार सम्पन्न गर्नुभयो । शिलान्यास गरेको सिसहनियाँ —महदेवा जोड्ने पुल देशकै दोस्रो लामो पुल भनिएको छ । यसअघि बर्दियाको कोठियाघाटमा कर्णाली नदीको भंगालो गेरुवा नदी माथि १ हजार १५ मिटर लामो पुल निर्माण गरिएको थियो । अहिले दाङको सिसहनियाँदेखि महदेवा जोड्ने ८ सय ६० मिटर लामो पुल निर्माणका लागि प्रधानमन्त्रिले शिलान्यास गर्नुभएको हो ।


पुलको निर्माण अनक—लुम्वीनी—वाई.पी जे÷भीले गर्ने जिम्मा लिएको छ । ९२ करोड रुपैयाँको लगानीमा पुलको निर्माण कार्य २०७७ असार २८ गतेभित्र सक्ने लक्ष्य राखिएको ईञ्जिनियर नवीन महर्जनले बताउनुभयो । राप्ती नदीको यो खण्डमा पुल नहुँदा निकै समस्या देखिएको थियो । सिसहनियाँदेखि गोबरडिहा जोड्ने यो नदीमा पुल बनेपछि आवागमनमा निकै सहज हुने स्थानीयहरुले अपेक्षा राखेका छन् ।


एक किलोमिटर टाढैदेखि कडा चेकजाँच
प्रधानमन्त्रीलाई स्वागत गर्न पुगेका स्थानीयहरु पाइलैपिच्छे गरिएको चेकिङबाट हैरान देखिन्थे । द्वन्द्वकाललाई स्मरण गराउने गरी गरिएको चेकिङले स्थानीयहरु मात्रै होइन कार्यक्रमका लागि निम्त्याइएका अतिथिहरुले समेत हैरानी बेहोरेका थिए ।


Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post