मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

अजय शर्मा,
काठमाडौं, मंसिर २३ । अबको केही साताभित्र नेपालको भारतसँग रहेको इन्टरनेट निर्भरता हट्ने भएको छ ।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चनी र नेपाललाई स्थलीय केवल मार्ग बाट जोड्न नेपाललाई आईपी सर्भिस उपलव्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
भारत हुँदै प्रयोग गरिएको रुटबाहेर अन्तर्राष्ट्रिय कनेक्टीभिटीका लागि यो अर्को महत्वपूर्ण विकल्प भएको समाचार आजको गोरखापत्रमा छापिएको छ ।
हाल नेपालमा भारतबाट भैरहवा, रक्सौल र वीरगन्ज नाकाबाट अप्टिकल फाइबरमार्फत इन्टरनेट ल्याइएको छ ।
अहिले नेपालले भारतका वीएसएनएल, टाटा, एयरटेल भारत पन्जाव र रिलायन्स कम्पनीबाट इन्टरनेट ल्याइरेहेको छ । चीनसँगको इन्टरनेट कनेक्सनबाट भारतसँग निर्भरता हट्नेछ ।
टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले चीनसँग बुधबार भएको सम्झौताले नेपालमा इन्टरनेटको अर्को वैकल्पिक मार्गको ढोका खुलेको बताउनुभयो ।  ‘अब चीनबाट इन्टरनेट आएपछि इन्टरनेट सस्तो हुन्छ वा हुँदैन यसै भन्न सकिँदैन ।  इन्टरनेटको मूल्य त बजारले निर्धारण गर्ने विषय हो’ उहाँले भन्नुभयो ।
प्रवक्ता वैद्यले “केही प्राविधिक तयारी पूरा हुने चरणमा छन्, सबै प्राविधिका प्रक्रिया सम्पन्न भएपछि चीनबाट इन्टरनेट ल्याउछौँ ।  अबको करिब २÷३ साताभित्र चीनबाट इन्टरनेट आउँछ” भन्नुभयो ।  साथै उहाँले भारत र चीनबाट आउने दुवै इन्टरनेट सेवा समानान्तर रूपमा सञ्चालन हुने जानकारी दिनुभयो ।
उक्त सम्झौतापत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेड (सीटीजी) का कार्यकारी उपाध्यक्ष ओउ यानले २०७३ मङ्सिर २१ गते हङकङमा हस्ताक्षर गर्नुभएको टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार केही समयअघि मात्र नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल अप्टिकल फाइबरमार्फत जोडिएका थिए ।  त्यसपछि हाल यो सम्झौता सम्पन्न भएको हो ।  चीनसँग स्थल मार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुनेछ ।
अब चिनियाँ मार्गबाट पनि इन्टरनेट आबद्धता सम्भव भएको छ ।  यसअघि भारतीय मार्गबाट मात्र सो सम्भव थियो ।  नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूर सञ्चार सेवाप्रदायकसँग जोडिएकोमा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आबद्ध हुन सहज भएको टेलिकमले जनाएको छ ।
उक्त सम्झौता गर्न आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्यले, नेपाल टेलिकमले यो थप रुटबाट लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबका रूपमा स्थापित गर्न सकिने अपेक्षा गर्नुभयो ।
टेलिकमका अनुसार सीटीजीका कार्यकारी उपाध्यक्ष ओउ यानले चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार कार्य गरिरहेको र यसबाट नेपाल–चीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताउनुभयो ।  उहाँले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिबद्धता  व्यक्त गर्नुभयो ।


Abroad Study
«
Next
»
Previous