मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, बैशाख ४ । निर्वाचन आयोगले दाङसहित ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश चुरामणी खड्काको नेतृत्वमा घोराहीको बार एशोसियशनमा निर्वाचन कार्यालय खोलिएको हो ।

जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयको नेतृत्व न्यायाधीशले गर्नुहुनेछ, भने गाउँपालिका र नगरपालिकामा न्याय प्रशासन सेवाका उप सचिवलाई जिम्मेवारी तोकिनेछ । न्यायाधीश चुरामणी खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत तुलसीपुरका न्यायाधीश श्रीमणकुमार गौतमले कार्यालयको बोर्ड अनावरण गरी कार्यालय स्थापना भएको घोषणा गर्नुभएको हो ।

यस्तै जिल्लाका गाउँपालिका र नगरपालिकामा भने आगामी बैशाख १२ गते कार्यालय खोलिने छ । कार्यक्रममा बोल्दै न्यायाधीशद्वय चुरामण खड्का र श्रीमणकुमार गौतमले जनतालाई अधिकार सम्पन्न बनाउने अभियानमा रहेको भन्दै चुनावलाई सफल बनाउन सबैलाई आग्रह गर्नुभयो । नागरिकहरुलाई उत्साहित बनाउँदै भयरहित वातावरणमा चुनाव गर्नुपर्ने दायित्व रहेको र यसमा बढी राजनीतिक दलहरु जिम्मेवार बन्नुपर्ने उहाँहरुको भनाई छ । त्यसैगरी प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्ने सबैको दायित्व भएको बताउनुभयो ।

भयरहित वातावरणमा चुनाव हुने र सुरक्षामा कसैसँग कुनै सम्झौता समेत नहुने भन्दै उहाँले जनताहलाई ढुक्क हुन आग्रह गर्नुभयो । त्यसैगरी कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले एक सय ५१ मतदान स्थल रहने र ३ सय ५१ केन्द्र तोकिएको जानकारी दिनुभयो । २ लाख ९१ हजार १ सय ५० जना मतदाताहरु रहेको भन्दै उहाँले नामावली सहितको परिचय पत्र केही दिनमा आउने बताउनुभयो । कार्यक्रममा बोल्ने राजनीतिक दलका नेताहरुले चुनावलाई ऐतिहासिक बनाउनेमा प्रतिबद्धता जनाएका थिए ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post