मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी


नवीन अभिलाषी,
दाङ, बैशाख १२ । 
निर्वाचनको मिति नै एक महिना पछाडि धकेलिएपछि जिल्लामा दलहरु झन् सक्रिय हुने संकेत गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले निर्वाचनलाई दुई चरणमा गर्ने निर्णय गरेपछि निर्वाचन लक्षित सक्रियता बढाइरहेका जिल्लाका दलहरु चुनावी सक्रियतालाई बढाउने प्रतिक्रिया दिएका छन् ।

सरकारको निर्णय अनुसार प्रदेशनम्वर ३, ४ र ६ मा पहिलो चरणअन्तर्गत पूर्वनिर्धारित बैशाख ३१ मै निर्वाचन हुनेछ, भने प्रदेशनम्वर १, २, ५ र ७ मा भने एक महिनापछि जेठ ३१ गते निर्वाचन हुने भएको हो । निर्वाचनको मिति नजिक आएसँगै दलहरुले आफ्नो क्षमता अनुसारका चुनावी प्रचारप्रसारका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका थिए । ठूला दलहरु निर्वाचनका कार्यक्रमलाई अझ गाउँस्तरसम्म लैजानका लागि समय बढेको बताउछन् भने केहि साना दलहरु भने तत्काल प्रचारप्रसारका कार्यक्रमलाई सामान्य रुपमा अगाडि बढाउने मानसिकतामा देखिएका छन् । बैशाख ३१ लाई अन्तिम समयतालिका मानेर चुनावी माहोल बनाउँदै आएका दलहरुले निर्वाचनको मिति पछाडि धकेलिएसँगै अब दलहरुले एक महिना थप समय पाएका छन् ।

गएको संविधानसभाको चुनावमा जिल्लाको पाँचै निर्वाचन क्षेत्रबाट नतिजा हात पारेको नेपाली कांग्रेसलाई यो निर्वाचनका लागि उम्मेदवार छनौटमा सकस भइरहेको थियो । तर, निर्वाचनको मिति सरेपछि उम्मेदवार छनौटको कामलाई स्थगीत गरेर अन्य कार्यक्रम अगाडि बढाउने बताएको छ । उम्मेदवारका आकांक्षीहरु धेरै भएपछि छनौट गर्न हम्मेहम्मे गरेको कांग्रेसले उम्मेदवार छनौटलाई थाती राखेर चुनावी कार्यक्रमलाई तीब्रता दिने नेपाली कांग्रेसका सचिव शंकर डाँगीले बताउनुभयो । विकासका मुद्धालाई लिएर गाउँ पसेको नेपाली कांग्रेसले विगतमा गरेका कामहरु देखाएर जनतासँग भोट माग्ने गरेको छ, भने कांग्रेस नेतृत्वको सरकारले संविधान जारी गरेको विषयलाई उठाउँदै आएको छ ।

यता नेकपा एमालेले भने अध्यक्ष केपी ओली नेतृत्वको सरकारले राखेको राष्ट्रवादको नारालाई भोट चुनावी नारा बनाएर खटेको छ । पार्टीको प्रचारप्रसारलाई बढी जोड दिएको एमालेले जिल्लाका १० वटा गाउँपालिकाहरुको लागि करिव–करिव उम्मेदवार प्रदेशमा सिफारिस समेत गरिसकेको छ । तर, उनीहरुको नाम भने सार्वजनिक भने गर्न मानेको छैन । घोराही उपमहानगरपालिकाको मेयरका लागि एमालेका नेताहरु भरत अर्याल, नरुलाल चौधरी र सीता न्यौपानेलाई उम्मेदवारका रुपमा प्रदेश बैठकमा सिफारिस गरेको छ, भने तुलसीपुर उपमहानगरपालिकाका लागि हिराचन्द्र केसी, घनश्याम पाण्डे र भगवती शर्माको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेसलाई प्रमुख प्रतिस्पर्धीका रुपमा हेरेको एमालेले पार्टीमा जनलहर प्रवेशको दावी गर्दै आएको छ । गाउँपालिकाको उम्मेदवारको नाम जिल्लाको सिफारिसमा प्रदेशले टुंगो लगाउनेछ भने उपमहानगरपालिका र र नगरपालिकाको उम्मेदवारको नाम भने प्रदेशको सिफारिसमा पार्टीको केन्द्रिय स्थायी कमिटिले टुंगो लगाउने छ ।

त्यसो त नेकपा माओवादीले केन्द्रले आफ्ना चुनावी कार्यक्रमहरुहलाई आक्रामक रुपमा अगाडि बढाएको छ । जनयुद्ध र त्यसपछि भएका परिवर्तनको मुख्य शुत्रधारका रुपमा आफूलाई व्याख्या गर्दै माओवादी केन्द्रले सिंहदरवारलाई गाउँगाउँमा पु¥याउने नाराका साथमा गाउँ पसेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले जिल्लामा खन्याएको बजेटलाई भोट माग्ने अस्त्रका रुपमा प्रयोग गर्दै माओवादीले विकासमा जोड दिँदै आएको छ । माओवादीले घोराही उपमहानगरपालिकाको मेयरका लागि उम्मेदवारका रुपमा माओवादीका पोलिट्ब्युरो सदस्य जीवन गौतमलाई अगाडि सारेको छ । तुलसीपुर उपमहानगरपालिका र राजपुर गाउँपालिका बाहेक सम्पूर्ण गाउँपालिकाहरुको लागि माओवादीले उम्मेदवार घोषणा गरिसकेको छ, भने पार्टीको केन्द्रीय प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेको छ ।

त्यसो त राष्ट्रिय जनमोर्चाले पनि आफ्ना चुनावी कार्यक्रमहरुलाई निरन्तरता दिने भएको छ । एक महिनापछि निर्वाचन पुगेपछि जनमोर्चाले आफ्ना सांगठनिक कार्यक्रमहरु अगाडि बढाउने सचिव गणेश आचार्यले जानकारी दिनुभयो । निर्वाचनको मिति पछाडि धकेलिनुले पार्टीमा भन्दा पनि देशको राष्ट्रियता माथिको प्रहारसँग जोडिएको छ । देशमा निर्वाचन हुन नदिएर कमजोर बनाउने शक्ति सक्रिय देखिएको उहाँको विश्लेषण छ । संविधान बन्न नदिने, बने पनि बिरोध गर्ने र अहिले निर्वाचन हुन नदिने खेल भइरहेको भन्दै जनमोर्चाले त्यहि शक्तिको पछि लागेको सचिव आचार्यले टिप्पणी गर्नुभयो ।

उता जिल्ला निर्वाचन कार्यालयले बैशाख ३१ गतेकै मितिका लागि काम गरिरहेको बताएको छ । केन्द्रबाट कुनै आधिकारिक जानकारी नआएकाले बैशाख ३१ गतेकै लागि काम भइरहेको निर्वाचन कार्यालयले बताएको छ । निर्वाचन कार्यालयका अनुसार जिल्लामा १ सय ५१ वटा मतदानस्थल छन्, भने २ लाख ९१ हजार १ सय ५० जना मतदाता रहेका छन् । र ३ सय ५१ मतदान केन्द्र रहेको जिल्ला निर्बाचन कार्यालयका प्रमुख विजय कार्कीले बताउनुभयो ।

Abroad Study
«
Next
»
Previous