‘सन् १९५० को सन्धि असमान रहेको भन्नेमा दुवै पक्ष सहमत भए। सार्वभौम राष्ट्रलाई सुहाउने गरी सन्धिमा रहेका असान्दर्भिक प्रावधान हटाई समयानुकूल बनाउन दुवै पक्ष सहमत भएका छन्’, बैठकमा सहभागी एक सदस्यले भने। बैठकको सुरुमा नेपाली पक्षले सन् १९५० को सन्धिमा रहेका असमान र असान्दर्भिक बुँदा सूचीबद्धरुपमा प्रस्तुत गरेको थियो।
एउटै बैठकबाट सबै कुरा टुंगोमा पुगिँदैन। १९५० को सन्धिभित्रका विषयवस्तुमा सकारात्मक छलफल भएको छ, ती सदस्यले भने। बिहीबारको बैठकमा भारतीय पक्षले १९५० को सन्धि तथा अन्य द्विपक्षीय सम्झौताबारे आफ्नो धारणा राख्ने जनाइएको छ। गत असारमा काठमाडौंमा सम्पन्न इपिजीको पहिलो बैठकमा सन् १९५० को नेपाल(भारत शाख्ति तथा मैत्री सन्धि छलफलमा प्रवेश गराइएको थियो।
