मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २३ – नयाँ संरचना अनुसार दाङमा दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ वटा गाउँपालिकासहित १० वटा स्थानीय तहहरु कार्यान्वयनमा आएका छन् । दुई उपमहानगरपालिकामा जिल्ला सदरमुकाम रहेको घोराही उपमहानगरपालिका र राप्ति अञ्चल सदरमुकाम रहको तुल्सीपुर उपमहानगरपालिका रहेका छन् ।

दाङमा २ लाख ९१ हजार ९ सय ४१ मतदाता रहेकोमा महिला मतदाता १ लाख ४८ हजार २ सय ३१ र पुरुष मतदाता १ लाख ४३ हजार ७ सय ८ रहेका छन् । त्यसमध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा ७८ हजार ६ सय ४७ मतदाता रहेका छन् भने तुल्सीपुर उपमहानगरपालिकामा ७७ हजार १ सय ३६ मतदाता छन् ।
सरकारले आउँदो वैशाख ३१ का लागि घोषणा गरेको स्थानीय तहको चुनावमा जिल्लामा दर्ता भएका २७ दलहरु मध्ये प्रमुख तीन दलहरु चुनावी अभियानमा लागेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र चुनावी कार्यक्रमसहित टोटटोलसम्म पुगेका छन् ।

ऐतिहासिक पृष्ठभूमि
घोराही उपमहानगरपालिकामा साबिकका घोराही र त्रिपुर नगरपालिका गरी दुई नगरपालिका र रामपुर, लक्ष्मीपुर, धर्ना, सौडियार र सैघा गाविसलाई समेटिएको छ । जिल्ला सदरमुकाम केन्द्र रहेको यो उपमहानगरपालिका पञ्चयातकाल २०३५ साल माघ १५ गते त्रिभुवननगर नगरपञ्चायातका रुपमा घोषणा भएका हो । दोस्रो जनआन्दोलनपछि २०६५ कात्तिक २० गते त्रिभुवननगरपालिका नाम संशोधन गरी घोराही नगरपालिका भएको हो । सरकारको पछिल्लो घोषणाअघि घोराही नगरपालिकामा ११ वडा थिए ।

पछिल्लो घोषणाले त्रिपुरनगरपालिकासहित ५ वटा साबिकाका गाविस समेटिएको छ । साबिकको सैघा गाविस बाहेकका सबै स्थान समथर क्षेत्रमा पर्दछ भने सैघा गाविस अहिलेको १९ नम्बर वडा भने पहाडी दुर्गम क्षेत्रमा मानिन्छ । यो उपमहानगरपालिकाले पञ्चायतकालमा संस्थापक प्रधानपञ्चका रुपमा गजराज शर्मालाई लामो समयसम्म प्रधानपञ्चका रुपमा पायो । त्यसपछि पञ्चयातकालमै यज्ञबहादुर बुढाथोकी प्रधानपञ्च बन्नु भएको हो ।

२०५४ सालको स्थानीय चुनावमा नेकपा एमालेका अमरबहादुर डाँगी मेयर बन्नु भएको थियो । त्यतिबेला एमालेकै दामोदर अधिकारी उपमेयरमा निर्वाचित हुनु भएको थियो । राजाले गराएको शाही चुनावमा बलिभन्द्र राना मेयर हुनु भएको थियो । संस्थापक प्रधानपञ्च गजराज शर्मा र पूर्वप्रधानपञ्च यज्ञबहादुर बुढाथोकीको निधन भइसकेको छ भने पूर्व मेयर अमरबहाुदर डाँगी अहिलेपनि सक्रिय राजनीतिमा हुनुहुन्छ ।

साबिकका तुल्सीपुर नगरपालिकासहित पवननगर, डुरुवा, फूलबारी, मानपुर र बिजौरी गाविस अहिलेको तुल्सीपुर उपमहानगरपालिमा पर्दछन् । यो उपमहानगरपालिकामा पनि १९ वटा वडा रहेका छन् । सबैभन्दा धेरै मतदाता वडा नम्बर ६ मा रहेका छन् । यो उपहानगरपालिकामा पहिलो चुनावमा मेयरमा शंकर आचार्यले र दोस्रो स्थानीय चुनावमा एमालेका ढुण्डीराज लामिछाने बिजयी हुनु भएको थियो । पहाडी जिल्ला सल्यान र रुकुम प्रवेशद्वारा रुपमा यो उपमहानगरपालिका पर्दछ ।

कति छन त मतदाता ?
घोराही उपमहानगरपालिकामा दाङकै सबैभन्दा धेरै मतदाता रहेको स्थानीय तह हो । यसमा ७८ हजार ६ सय ४७ मतदाता रहेका छन् । १९ वडा रहेको यस उपमहानगरपालिकामा वडागत रुपमा १५ नम्बर वडामा सबैभन्दा धेरै १९ हजार ७ सय ५७ र सबैभन्दा कम वडा नम्बर १९ मा ६ हजार ७ सय ४८ मतदाता रहेका छन् । तुल्सीपुर उपमहानगरपालिकामा ७७ हजार १ सय ३६ मतदाता रहेका छन् ।

चुनावी चलहपलह
सरकारले चुनावको मिति घोषणा गरे लगत्तै नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी जिल्ला नेतृत्वसहित कार्यक्रम बनाएर वडाको टोलतहसम्मै पुगेका छन् । गाउँमा दिनहुँ जसो दलका राजनीतिक कार्यक्रम हुने गरेका छन् । गाउँटोलमा आफ्ना कार्यकर्ताहरुलाई जम्मा गरेर चुनावी भोषणादेखि, पार्टी प्रवेश र टोलकमिटी गठन, पुर्नगठन र बिस्तारसम्मका कार्यक्रम दलहरुले गर्दै आएका छन् ।

गाउँबस्तीसम्म चुनावी सरगर्मी पनि बढेको छ । दिनहुँजसो हुने कार्यक्रमदेखि सार्वजनिक स्थल, चियापसलसम्म चुनावी छलफल हुने गरेका छन । कुन दलबाट कसले टिकट पाउला र कसले टिकट पाए जित्छन भन्ने अडकलबाजी पनि सुरु भएका छन् ।

कस को छ त चर्चा ?
दाङका दुई उपमहानगरपालिकामा स्थानीय चुनावमा प्रमुखको आकांक्षीमा पुरानै पुस्ता बढी देखिएका छन् । आकांक्षा देखाउनेहरुमा पार्र्टी नेतृत्व सम्हालिसकेका पूर्व तथा वर्तमान नेतृत्व, पार्टीको लाइनमा बसेका युवा र पहिलेदेखि नै लाभको पद नपाएका पार्टीका नेताहरु छन् । घोराही उपमहानगरपालिकामा कांग्रेसबाट पूर्व सभापति विरकेशरी गौतम, पूर्व उपसभापति अर्जुन श्रेष्ठ, वर्तमान क्षेत्रीय सभापति भुपबहादुर डाँगी र पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरेको नाम नगर प्रमुखका लागि चर्चामा छ ।

यसैगरी नेकपा एमालेबाट घोराही उपमहानगरपालिकाबाट पूर्व सभासद शान्ता चौधरी, पूर्व जिल्ला अध्यक्षहरु नरुलाल चौधरी, लक्ष्मण आचार्य, पूर्व नगरप्रमुख अमरबहादुर डाँगीको नाम चर्चामा छ । त्यस्तै, घोराहीमा पोलिटब्यूरो सदस्य जीवन गौतम, केन्द्रीय सदस्य निर्मल आचार्य, नारायणी शर्माको नाम चर्चामा रहेको छ ।
यसैगरी तुल्सीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट पूर्व सांसद गेहेन्द्र गिरी, जिल्ला सभापति किर्तीबहादुर खडका, पूर्व जिल्ला सभापति घनश्याम रेग्मी, नेता तेजबहादुर बस्नेत, क्षेत्रीय सभापति जगतबहादुर खड्का, पूर्व नगर सभापति किरण शाहको नाम चर्चामा छ ।

नेकपा एमालेबाट तुल्सीपुरमा प्रमुखमा पूर्व उपनगर प्रमुख घनश्याम पाण्डे, वर्तमान सचिव हिराचन्द्र केसी र नवराज लामिछानेको नाम चर्चामा छ । माओवादीबाट तुल्सीपुरमा पूर्व अध्यक्ष तथा सभासद कुवेर वली, उप संयोजक रामजी चौधरी, गिरिराज केसी र शेशुराम भण्डारीको नाम चर्चामा छ ।

के भन्छन त प्रमुख दलका जिल्ला नेतृत्वले ?
चुनावको मिति नजिकिँदै गर्दा पनि दलहरुले भने उम्मेद्वारको टुङ्गो लगाउन सकेका छैनन् । सबै नाम चर्चाका नाम मात्रै भएको र आधिकारिक निर्णय आफूले समय आए गर्ने बताउँछन् । नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले अहिले आफूहरु प्रचारप्रसारमा रहेको बताउनुभयो । कांग्रेसले अहिले जिल्लाभर नै टोलटोलमा कार्यक्रम गरिरहेको र कार्यकर्ताबाटै कस्लाई टिकट दिए चुनाव जित्छ भने आफूहरुले जानकारी लिइरहेको बताउँनुहुन्छ । चैत मसान्तसम्म चुनाव लड्नेहरुको टुङ्गो दाङ कांग्रेसले गर्ने दाबी खड्काको छ ।

चुनाव लड्नेहरुको विषयमा एमालेका कुरा पनि कांग्रेसको भन्दा खासै फरक छैन । आफूहरु पनि चुनाव जित्ने गरी गाउँगाउँमा पुगेको एमाले जिल्ला नेतृत्व बताउछ । चुनावमा जस्को राम्रो छ उसैलाई उमेदवार बनाउने तयारीमा लागेको एमाले दाङका अध्यक्ष टिकाराम खड्का बताउनुहुन्छ । नेकपा माओवादी केन्द्रले दाङको स्थानीयतहका वडा स्तरमा कार्यक्रमलाई तीव्र पारेको जनाएको छ । उम्मेद्वारमा अहिले केही भन्न नसकिने र यो महिनाको अन्तिमसम्म मोटामोटी टुङ्गो लगाइने माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतम बताउनुहुन्छ ।

इतिहास कस्तो थियो त ?
मुख्य तीन दलका चर्चित नेताहरुले जितेको स्थान पनि दुई उपमहानगरपालिका भित्र पर्छन् । निर्वाचन क्षेत्र नम्बर २ र ३ घोराही उपमहानगरपालिका भित्र पर्दछ भने ४ र ५ तुल्सीपुरमा । २०४६ सालयता कांग्रेसका बलदेव शर्मा मज्गैया र खुमबहादुर खड्का, एमालेका शंकर पोख्रेल, माओवादीका कृष्णबहादुर महराहरुले चुनाव जितेका क्षेत्र यिनै दुई उपमहानगरपालिकाभित्र पर्दछ ।

पछिल्ला दुई चुनाव मध्ये पहिलो संविधानसभा चुनावमा दाङका ५ वटै क्षेत्रमा माओवादीले र दोस्रो संविधानसभा चुनावमा ५ वटै क्षेत्रमा कांग्रेसले जितेको थियो । आसन्न स्थानीय तहको चुनावमा दुवै उपमहानगरपालिकामा मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा एमाले नै हुन् । स्थानीय चुनावमा कांग्रेस र एमालेको पल्ला बराबरी जस्तै छ । माओवादी भने दुई दलको तुलनामा कमजोर रहेको विश्लेषण गरिन्छ ।  अन्य दलहरुको प्रभाव नगन्य मात्रै छ । 
                                                                                                                                 हेमराज शर्मा/उज्यालो 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post