मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी


घनश्याम पोख्रेल,
(प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय दाङ )
यो मनोसामाजिक समस्या भनेको के हो ?
मानिसका विविध क्रियाकलापलाई समाज र वातावरणमा प्रभाव पार्दछ  भने समाज र वातावरणमा हुने विविध घटनाले मानिसमा पनि प्रभाव पार्दछ । यतिमात्र नभएर उनीहरुको दैनिक क्रियाकलाप, परिवार, साथीभाइ, नातागोता आदिसँग सम्बन्ध, आर्थिक अवस्था जस्ता सामाजिक तत्वहरुले उनीहरुको सोच, व्यवहार र विकासमा प्रभाव पारिरहेको हुन्छ । यहि सामाजिक गतिविधि, घटनाक्रम आदिका कारणले व्यक्तिमा देखिने समस्या नै मनोसामाजिक समस्या हो । गरिबी, बेरोजगारी, मृत्यु, प्राकृतिक प्रकोप, हिंसा, द्वन्द्व, यौनशोषण, बिछोड, बिस्थापन बदनामी आदि सामाजिक घटनाहरु हुन भने मानसिक दवाव, डर, त्रास, असक्षमता, उदासिपन, चिन्ता, नराशा, कमजोर आत्म सम्मान, दिक्दारीलगायत शारिरीक समस्या, खान मन नलाग्ने, निन्द्रा नलाग्ने जस्ता समस्याहरु जस्को चिकित्सकिय परिक्षणमा कुनै कारण पत्ता लाग्दैन यस्ता सामाजिक घटनाले निम्त्याएको अवस्थालाई मनोसामाजिक समस्या हुन् ।

दाङमा मनोसामाजिक समस्याका बिरामी कति छन् र अवस्था कस्तो छ ?
मनोसामाजिक समस्या भएका बिरामीहरु यति नै छन् भनेर ठ्याक्कै भन्न सक्ने अवस्था रहदैन । यो समस्या दाङको, नेपालको मात्र समस्या होइन यो विश्वकै समस्या हो । तर, यस्ता बिरामीहरु दाङमा पनि कम छैनन् । दशवर्षे युद्ध सकिएको नेपालमा फेरि देशलाई नै हलचल बनाउने गरी भुकम्प गयो । यसले मनोसामाजिक समस्याका बिरामीहरु बढायो । मनोसामाजिक समस्या भएका बिरामीहरु खुलेर बाहिर नआउने भएका कारण यसको एकिन तथ्यांक छैन । कडा खालका समस्या भएकाहरु देखिन्छन् । सामान्य खालको समस्या भएका तर उच्च खानदान भएका व्यक्तिहरु देश बाहिर गएरै उपचार गराउने गरेको पाइन्छन् । तर, सामान्य आर्थिक अवस्था भएका परिवारका बिरामीहरु पछिल्लो समयमा बाहिर आउन थालेका छन् ।

मनोसामाजिक समस्या भएका विरामीहरु बाहिर आउन नसक्नुको कारण के हो ? 
मनोसामाजिक समस्या भएका बिरामीहरुलाई हाम्रो समाजले सहज रुपले स्वीकार गर्न सकेको छैन । मनोसामाजिक समस्या भनेको बहुलाउनु हो भन्ने धारणा राख्ने र तल्लो स्तरबाट मुल्यांकन गर्ने नराम्रो परिपाटी छ । त्यसकारण बरु जिल्ला बाहिर लगेर उपचार गराउने तर नजिकैको स्वास्थ्य चौकीमा नदेखाउने परिपाटी छ । जुन आर्थिक अवस्था र शिक्षा कमजोर भएका परिवारका बिरामी छन् । उनीहरुलाई आफूमा मनोसामाजिक समस्या छ भन्ने बारेमा नै जानकारी छैन । जस्का कारण बिरामीको तथ्यांक यकिन छैन । तर, हामीले यातना पीडित सरोकार केन्द्र सिभिक्ट नेपालसँगको सहकार्यमा काम गरिरहेका छौं । ग्रामिण क्षेत्रका स्वास्थ्य चौकीमार्फत् हामीसँग सम्पर्कमा आएका बिरामीहरु १ हजार २ सय २६ जना छन् । यो संख्या निक्कै कम हो । यो भन्दा धेरै संख्या बाहिर छ जो सम्पर्कमा आउन सकेको छैन ।

पछिल्लो समयमा धेरै सुनिने शब्द डिप्रेसन अर्थात् उदासिनता भनेको के हो ?
व्यक्तिको दैनिक जीवनमा एक दुई दिन नरमाइलो हुन सक्छ । र यस्तो नरमाइलो पनि बिस्तारै आफै हराएर जान्छ । यो सामान्य प्रक्रिया हो । यदि दुई हप्ता भन्दा बढि समयसम्म मन दुःखी, खिन्न, उदास, नरमाइलो महसुस भई व्यक्तिको दैनिक क्रियाकलापमा वाधा पु¥याउँछ, भने त्यस्तो समस्यालाई उदासिनता अर्थात् डिप्रेसन भनिन्छ । धेरैजसो उदासिनताका बिरामीहरु के कारणले उदास हुन्छन् भन्ने चिकित्सा विज्ञानले पनि पत्ता लगाउन सकेको छैन ।

यस्ता समस्याहरु मानिसको जीवनमा किन आउँछन् ?
यसका केहि कारणहरु छन् । यो बायोलोजिकल, जेनेटिक र अन्य सामाजिक कारणहरुले गर्दा मानिसहरु मनोसामाजिक समस्यामा पर्ने गरेको पाइएको छ । व्यक्तिको मनोबैज्ञानिक पक्ष जस्तै अनुभूति, सोचाई, विचार, विश्वास, धारणा, भावना, ईच्छा शारिरीक व्यवहार, ज्ञान, चेतना र सामाजिक तत्वहरु जस्तै हाम्रो बाहिरी वातावरण, साथीभाइ, परिवार, समाज, विद्यालय, संस्कृति, मूल्यमान्यताले हाम्रो सोचमा प्रभाव पार्छन् । त्यसमा बायोलोजिकल, जेनेटिक र साइकोसोसियल फ्याक्टर सहयोग गर्छ । जस्का कारण मानिसहरु मनोसामाजिक समस्याको सिकार हुने गरेका छन् । त्यसको पछाडि गरिबी, बेरोजगारी, मृत्यु, प्राकृतिक प्रकोप, हिंसा, द्वन्द्व, यौनशोषण, बिछोड, बिस्थापन, बदनामी जस्ता कारणहरुले मानिसमा डिप्रेसन आउने गरेको पाइन्छ ।

मनोसामाजिक समस्या भएका बिरामीहरुको उपचार, परामर्शका लागि जिल्ला जनस्वास्थ्य कार्यालय र यस मातहतका निकायहरुले के कस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ?
अहिलेको प्रमुख काम भनेको चेतना जागरणको विषय नै हो । केहि शिक्षा प्राप्त गरेका व्यक्तिहरु उपचारका लागि बाहिर जान्छन् । तर, केहि त्यस्ता व्यक्तिहरु छन् जस्ले आफूमा मनोसामाजिक समस्या भएको समेत थाहा पाउँदैनन् उनीहरुलाई चेतना दिनु पहिलो काम हो । अहिले जिल्ला समन्वय समिति, यातना पीडित सरोकार केन्द्र (सिभिक्ट) नेपाल र जनस्वास्थ्य मिलेर मनोसामाजिक समस्या भएका बिरामीहरुको पहिचान, उनीहरुको उद्धार, परामर्श र उचित उपचारका लागि समेत काम भइरहेको छ । खासगरी केहि समयदेखि यहाँ सिभिक्ट नेपालले जिल्लाका ग्रामिण क्षेत्रमै परामर्श गर्ने, सामान्य उपचार गर्ने व्यवस्था मिलाएको छ । ग्रामिण क्षेत्रमा रहेर काम गर्दै आउनुभएका ६ सय बढि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मनोसामाजिक समस्याको बारेमा काम गर्नका लागि तालिम प्रदान गरिएको छ । जिल्लाका तीन स्थानमा परामर्श केन्द्रहरु राखिएको छ । अझ कडाखालको मानसिक समस्या भएका बिरामीहरुको लागि घोराही र तुलसीपुरमा मासिक रुपमा विशेषज्ञ डाक्टरहरुबाट उपचार सेवा सुरु गरिएको छ । हामीले यस क्षेत्रमा सहयोग गर्ने काम गर्दै आएका छौं । तर, सरकारी रुपबाटै ठूलै बजेट बिनियोजन गरेर कार्यक्रम सञ्चालन भने हुन सकेको छैन ।

समाजमा जरा गाडेर बसेको यति डरलाग्दो समस्याका लागि सरकारले किन कार्यक्रम तथा बजेट छुट्याउन सकेको छैन होला ?
सरकारले प्राथमिकताको आधारमा काम गर्ने हो । अहिलेसम्म सरकारले यो विषयलाई त्यति प्राथमिकता दिन नसकेको भए पनि अबका दिनहरुमा भने मनोसामाजिक समस्याको विषयमा पनि चासो दिएको छ । दिगो विकास लक्ष्यहरु पुरा गर्नका लागि पनि सरकारले विभिन्न रणनीतिक योजनाहरु बनाएको छ । अब सरकारले मानसिक स्वास्थ्यको क्षेत्रमा सरकारले लगानी गर्न सुरु गरिसकेको छ । मानसिक स्वास्थ्यमा लगाएको बजेटलाई खर्च भन्दा पनि लगानीका रुपमा बुझ्ने गरिएको छ र बुझ्नु पनि पर्छ । सरकारले अहिले औषधिहरुको सुचीमा समेत मानसिक स्वास्थ्य समस्याको समाधानका लागि औषधिहरु पनि राखेको छ । भर्खर मात्र तुलसीपुरमा रहेको अञ्चल अस्पतालमा मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ डाक्टरको पदपुर्ति भएको छ । घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा पनि केहि समयभित्रै हुन्छ । त्यस पछि स्वास्थ्य चौकीहरुमा परामर्शदाताहरु रहने छन् । यसरी सामान्य समस्या भएका बिरामीहरुका लागि परामर्श, चेतनामुलक कार्यक्रमहरु र कडा खालका बिरामीहरुका लागि औषधि र विशेषज्ञ सहितको उपचार सेवा हुने भएपछि यो समस्या कम हुन्छ भन्ने विश्वास छ ।

मनोसामाजिक समस्याबाट बच्नका लागि एउटा मानिसले आफ्नो जीवन शैलीलाई कसरी अगाडि बढाउनुपर्छ ? 
निकै राम्रो प्रश्न सोध्नुभयो । मानिसहरुको जीवन शैली अत्यन्तै अव्यवस्थित छ । भौतिक आशक्तिले डुबेको जीवन शैली छ । जस्का कारण हामीले अर्कोको जीवनशैलीसँग आफूलाई तुलना गरेर हेर्ने गरेका छौं । जहाँ आफू निरास हुनुपर्छ । अरुको देखासिकीले गर्दा हामीले कुण्ठा, पीडाहरु भोग्दै आएका छौं । अर्को कुरा हामीले योजना बनाएर काम गर्ने गरेका छैनौं । प्रत्येक मानिसले आफ्नो क्षमता अनुसार काम गर्ने हो भने डिप्रेसन नै आउँदैन । क्षमता अनुसारको काम नहुँदा पनि आफूभित्र खिन्नता सुरु हुन्छ । शारिरीक समस्या तथा जटिलता, दुव्र्यसनी, सकारात्मक सोच नराख्दा पनि धेरै मानिसहरु अहिले डिप्रेसनको सिकार भएर बाँच्न बाध्य भएका छन् ।

आज परेको विश्व स्वास्थ्य दिवस र यो मनोसामाजिक समस्याको सन्दर्भलाई कसरी जोड्न सकिन्छ ? 
नेपाल सरकारले पनि प्रत्येक वर्ष विश्व स्वास्थ्य दिवस मनाउँदै आएको छ । यो वर्षको दिवसको नारा नै डिप्रेसनको बारेमा कुरा गरौं भन्ने रहेको छ । मनोसामाजिक समस्या अहिले देशको मात्र समस्या नभएर विश्वकै प्रमुख समस्याको रुपमा रहेका छ । सन् १९९० को तथ्यांक अनुसार विश्वकर्मा ४ सय १६ मिलियन मानिसहरु डिप्रेसनको समस्याबाट ग्रसित छन् भने २०१६ मा यो संख्या बढेर ६ सय १८ मिलियन पुगेको छ । नेपालमा पनि बर्षेनी यो संख्या बढ्दै गइरहेको छ । मनोसामाजिक समस्याको क्षेत्रमा हामीले दाङमा केहि राम्रा कामहरु पनि गरेका छौँ । सिभिक्ट नेपालले यसमा ठुलो सहयोग गरेको छ । यो विषयमा अझै चेतना जगाउन आवश्यक छ ।
                                                                                                                    प्रस्तुती: नविन अभिलाषी

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post