मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी


दाङ, बैशाख ४ । दाङलाई प्रादेशीक राजधानी बनाउने चर्चा चलिरहेको बेला जिल्लाका अधिकांश ठाउँहरुमा भइरहेका विकास निर्माणका कार्यहरुले गति लिन सकेका छैनन् । सडकदेखि पुल निर्माणसम्म भइरहेका विकास निर्माणको गतिमा ढिलासुस्तिसँगै चरम लापरबाही देखिएको छ ।

समयमै योजना सम्पन्न गर्नतर्फ भन्दा निर्माण व्यवसायिहरु योजनाको म्याद थप्न लागिरहेका छन् । म्याद सकिन लागेका योजनाको म्याद थप्न उनीहरुले डिभिजन सडक कार्यालय दाङका प्रमुख हँुदै सांसददेखि मन्त्रीसम्मले पटक–पटक दवाव दिएको स्रोतको भनाई छ । जिल्लाका विभिन्न ठाउँहरुमा सडक तथा पुल निर्माणको जिम्मा लिएका निर्माण कम्पनीहरुले समयमै काम नभ्याएर देखाएकोे चरम लापरबाही तथा सम्बन्धित निकायको अत्यन्तै कमजोर अनुगमनले विकास निर्माणका कामले गति लिन नसकेको जिल्लाका सरोकारवालाले गुनासो गरेका छन् । जिल्लाको कमजोर प्रशासनका कारण पनि निर्माण कार्यले त्यति गतिलो ढङ्गवाट अगाडि बढ्न नसकेको सर्वसाधारणको भनाई छ ।

घोराही–तुलसीपुर सडक खण्डमा दोहोरो, तेहोरो ओहोरदोहोर गर्नेक्रममा दाङका प्रमुख जिल्ला अधिकारीदेखि स्थानीय विकास अधिकारीसम्मले धेरैपटक पुल तथा सडक निर्माणको दुर्दसा देखे पनि नदेखेझंै गरी कुनै पनि एक्सन नलिदा झनै समस्या उत्पन्न भएको छ । त्यसो त डिभिजन सडक कार्यालय र कटुवाखोलामा निर्माणाधीन पुल रहेको स्थानको दुरीसमेत नजिकै छ । तर, सडक कार्यालयले आँखा चिम्लिएझैं गरेका कारण निर्माण कार्यमा ढिला भएको सर्वसाधारणहरुले बताएका छन् ।

सडक कार्यालयले समयमै विकास निर्माणका कामहरु सम्पन्न नगर्ने निर्माण कम्पनीलाई सामान्य स्पष्टिकरण सोध्ने आँट हालसम्म गरेको छैन । पटक–पटक यस क्षेत्रका अगुवा, स्थानीयबासीले पुल पुलेसा तथा सडक निर्माणमा चासो दिएर सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत त्यसको बस्तुस्थिति बारेमा राम्रोसँग बुझ्ने काम पनि भएको छैन ।

काम नगर्ने निर्माण कम्पनीलाई कालोसुचिमा राखेर कारबाही गर्ने सम्मको कारबाही गर्ने अधिकार सम्बन्धित निकायको भए पनि त्यो काम भएको छैन । सदरमुकाम घोराही जोड्ने कटुवाखोला पुलको समयमै निर्माण कार्य नहुँदा सर्वसाधारणलाई आवतजावतमा निकै समस्या भएको छ । पैदल यात्रुहरुले धुलो सहदै ओहोरदोहोर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । घोराही लमही सडक खण्डमा थुप्रै पुलहरु निर्माणका लागि ठेक्का आह्वान भएका छन् । निर्माण कम्पनीले सुरुमा नै काम गर्ने भनेर पेश्की लिए पनि त्यो बराबरको काम फिटिक्कै गरेका छैनन् । पेश्की रकम खर्च भई सकिदासमेत काममा कुनै प्रगति नभएको पाइएको छ । वर्षायाममा दिनहुँजसो खोलाले गाडी रोकिए, खोलाले बगाउँदा मानिसको मृत्यु भयो भन्ने समाचारहरु यहाँका सरोकारवालाले नपढेका पनि होइनन् । तर, काम भने अपेक्षा अनुसार अघि बढ्न सकेन् ।

यसपूर्व धेरै पटक नागरिक समाज दाङको तर्फबाट सचिव चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघको तर्फबाट उपाध्यक्ष नारायण भुसाललगायतका यस क्षेत्रका अगुवाले स्थानीय प्रशासन, डिभिजन सडक कार्यालयको एकपटक मात्र नभई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि ध्यान दिएको पाइएन् । पुल निर्माण कार्यलाई अघि बढाउन स्थानीय प्रशासनसँगै दाङ क्षेत्रनम्वर ३ बाट सभासदमा जीत्नुभएका राजु खनालको उत्तीकै भुमिका हुनुपर्नेमा त्यसो नपाइएको नागरिकहरुले गुनासो गर्न थालेका छन् ।

त्यतिमात्र होइन, निर्माण व्यवसायीहरुले अर्काको नामको फर्म लिएर अत्यन्तै लो विलोमा टेण्डर हाल्ने, काम पुरा नगरी बीचमा नै अलपत्र पारी एकले अर्कालाई बिक्री बितरण गर्ने जस्ता कार्य पनि विकास निर्माणका लागि चुनौति रहेको डिभिजन सडक कार्यालय दाङले जनाएको छ । तत्कालिन भौतिक योजना तथा निर्माणमन्त्री हालका गृहमन्त्री बिमलेन्द्र निधीले शिलान्यास गर्नुभएको कटुवाखोला पुलको निर्माण कार्यले वर्षौं बितिसक्दासमेत सोचेअनुरुप उपलब्धी हासिल गरेको छैन, भने निर्माणाधीन पुलको हविगत दयनीय छ ।

वर्षौं बितिसक्दासमेत निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमै योजना सम्पन्न गरेर हस्तान्तरण गर्न सकेको छैन । उक्त दुवै पुल निर्माण कार्यको गति त ढिला छदैछ, त्यसमा पनि स्टिमेट अनुसारको वालुवा प्रयोग नगरी बबईका माटोेसहीतको वालुवा शंकरमाली निर्माण सेवा निर्माण कम्पनीले प्रयोग गरेको र गुणस्तरहिन कार्य गरेको विषयमा यसअघि सञ्चारमाध्यममा समाचार सार्वजनिक भइसकेको छ । कटुवा खोलामा पुलमा तत्कालका लागि आवतजावतलाई सहज बनाउन डाइभर्सन राम्रो नभएको र सर्वसाधारण झन् ठूलो सास्ती बेहोर्नुपरेको छ ।

त्यसैगरी घोराही र तुलसीपुरमा निर्माण गर्ने भनिएकोे फोरलेन सडकको बिस्तारको कार्यले अभियानको प्रगति खासै देखिएको छैन । पत्रे खोलामा भने पुलको निर्माणको कामले तीब्रता पाउन सकेको छैन । उक्त खोलामा पुल निर्माण भन्दै डिभिजन सडक कार्यालय दाङले यसअगाडि नै शंकरमाली निर्माण सेवा कम्पनीलाई पेश्की रकम भने उपलब्ध गराइसकेको छ । सडक कार्यालयले कानुनमा रही १० प्रतिशत पेश्की रकम पुल तथा सडक निर्माणका लागि दिने गर्दछ । ठूल्ठूला पुल तथा सडक निर्माणका लागि आफ्नो कम्पनीले नभ्याउने भएपछि यस क्षेत्रका निर्माण व्यवसायीहरुले अर्काको कम्पनीको नामबाट टेण्डर हाल्ने र अपेक्षितरुपमा काम नगर्ने गर्दा समस्या पछिल्लो समयमा थप बल्झदै गएको नागरिक समाज दाङका सचिव चन्द्रराज पन्तले बताउनुभयो ।

उहाँले यसतर्फ निर्माण व्यवसायीहरु साझा संगठन दाङ निर्माण व्यवसायी संघ र स्थानीय प्रशासनले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । निर्माण व्यवसायीले एउटा काम पुरा नगरी अर्को काममा टेण्डर हाल्न पाउने प्रावधानका कारण काममा थप ढिलाई हुने गरेको सचिव पन्तको अनुभव छ ।   त्यस्तै घोराहीको फोरलेन सडक निर्माण, कटुवा खोलाको पुल निर्माण र पत्रे खोलाको पुल निर्माणका लागि दाङका निर्माण व्यवसायी पदमराज शर्मा र काठमाडाँैका दिवाङ्कर मलेगुले अर्काको फर्म लिई शंकरमाली निर्माण सेवा काठमाडाँैबाट टेण्डर हाल्नुभएको  थियो । त्यहाँमात्र नभई सोही कम्पनीले जिल्ला प्राविधिक कार्यालयको गोवरडिहा–गढवा जोड्ने सडकको पिच र जिविसअन्तर्गतकै गढवा–राजपुरको नयाँ सडकको जिम्मा लिए पनि अहिले उम्किदा त्यहाँका स्थानीयबासीले कम्पनीलाई काम गर्न नदिने यसपूर्व नै चेतावनी दिइसकेका छन् ।

त्यस्तै जिल्लामा अन्य विभिन्न निर्माण कम्पनीले एउटा काम पुरा नगर्दै अर्को कामका लागि टेण्डरसमेत हालेका छन् । घोराहीको सडक बिस्तारका लागि करीव ४ करोडमा शंकरमाली निर्माण सेवा काठमाडौँसंँग सम्झौता भएको थियो । तुलसीपुरको सडक बिस्तारको जिम्मा काठमाडाँैको गौरी पार्वती निर्माण कम्पनीले लिएको डिभिजन सडक कार्यालय दाङले जानकारी दिएको छ । यसैबीच डिभिजन सडक कार्यालय दाङले पुल तथा सडक निर्माणमा लापरबाही देखाउर्ने निर्माण कम्पनीहरुलाई जरीवाना गरी कारवाही गर्दै आएको बताएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post