मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नवीन अभिलाषी,
दाङ, जेठ ९ ।
दाङको उत्तर–दक्षिण भएर बग्ने दुई दर्जन बढी खोलाहरु अहिले सुख्खा छन् । वर्षाको समयमा सडकखण्ड नै अवरुद्ध हुने गरी उर्लिने यी खोलाहरु अहिले मरुभूमि जस्तो देखिन्छन् । दश÷बाह्र वर्ष पहिले बाह्रै महिना बग्ने खोलाहरु बिस्तारै सुक्दै गएका छन् । खानेपानी तथा सिंचाईका लागि वर्षौंदेखि प्रयोग हँुदै आएको पानीको सतह भासिदै जान थालेपछि दाङ मरुभूमिकरण बन्न थालेको छ ।

जिल्लाको पानीको स्रोतका रुपमा रहेका यहाँका खोला तथा नदीहरु नै सुक्न थालेपछि स्रोत बचाउन चुनौति थपिएको छ । हरित जिल्लाका रुपमा विकास गर्नुपर्छ भन्ने अवधारणाको विकास भइरहेको जिल्लामा पछिल्लो पटक अव्यवस्थित रुपमा सञ्चालनमा आएका उद्योग, कलकारखानाहरुका कारण पनि पानीको स्रोत बचाउन समस्या भइरहेको जानकारहरु बताउँछन् ।

राप्ती र बबई नदी जिल्लाका दुई प्रमुख नदीहरु हुन् भने मुख्य खोलाहरुमा वौलाहा खोला, गहते खोला, पातुखोला, काला खोला, ग्वार खोला, पत्रे खोला, हापुर खोला, गुर्जे खोला, सेवार खोला, कटुवा खोला, सिस्ने खोला मुसोट खोला, अर्जुन खोला हुन् । तर, अहिले दुई चार खोलाहरु छोडेर सबै खोलाहरु सुकेर गएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईञ्जिनियर तिलक न्यौपानेले बताउनुभयो ।

त्यस्तै दाङलाई सिञ्चित बनाई राख्ने ताल तलैयाहरु पनि हुन् । तर, पछिल्लो समय यस्ता तालहरु पनि क्रमशः सुक्दै जान थालेपछि यसले जिल्लाको जैविक विविधतामा पार्ने प्रभावको समेत चिन्ता गर्न थालिएको छ । जिल्लाका जखेरा ताल, बाह्रकुने ताल रिहार, चरिङ्गे दह, सिमी छहरा, छहरा, पुरन्धारा जस्ता पानीका स्रोत तथा स्थानहरुमा पानीको मात्रा कम देखिन थालेको छ ।

वर्षातको समयमा मात्र पानी देख्न पाइने त्यो भन्दा अन्य समयमा सुख्खा रहदा दाङ मरुभूमि बन्ने खतरा बढ्दै गएको नागरिक समाज दाङका सचिव चन्द्रराज पन्तले जानकारी दिनुभयो । पानीका स्रोतहरुको विनासका कारण जाँदा मानिसहरुको स्वच्छ पानीमाथिको पहुँच गुम्दै गएको उहाँको भनाई छ । जिल्लामा अहिले पनि धेरै घरपरिवारहरु कुवा, ईनारको पानीमा निर्भर छन् । तर, पानीको सतह भाँसिदै गएपछि गर्मी मौसममा पानीको हाहाकार बढेको छ । बस्तीको बीचमा उद्योगहरु सञ्चालन हुनु, खोला तथा नदीको मापदण्ड बिपरित उत्खनन् हुनु, वनजंगल मासिदै जानुले पानीका स्रोतहरु सुक्दै गएको खानेपानी डिभिजनका ईञ्जिनियर न्यौपानेले बताउनुभयो ।

पानीको मुहानका रुपमा रहेका खोलाहरुबा अत्यधिक मात्रामा ढुङगा, वालुवा उत्खनन र दोहन भएकै कारण पानीको सतह भासिएको उहाले बताउनुभयो । दाङ सुक्नुको कारण धेरै भए पनि त्यसको प्रमुख कारण भनेको खोलाहरु उत्खनन् नै भएको उहाँको भनाई छ । खोलाहरुबाट ढुंगाजन्यबस्तुहरु उत्खनन गर्न अपनाउनु पर्ने निश्चित मापदण्ड अवलम्वन गर्न नसक्दा दाङको जैविक अस्तित्व संकटमा पर्न थालेको जानकार बताउँछन् । उत्खनन्का कारण चुरे समेत संकटमा परेको छ । पछिल्ला केहि वर्ष यता चुरेको रुखहरु मासिएर नांगो डाँडामा परिणत भएका छन । जस्लाई हेर्दा केहि वर्षमै ती पहाडहरु खण्डहरका रुपमा रहनेछन् ।

अहिले सहरी क्षेत्रको भौतिक विकास र औद्योगीक कलकारखानाको अव्यवस्थित स्थापना तथा सञ्चालन गर्दा त्यसको असर जंंगल क्षेत्रमा परेको छ । त्यसमाथि दाङ जिल्ला सिमेन्ट उद्योगको हव बन्न थालेको छ । महाभारत पर्वतमा रहेको चुुुनढुुंगा खानीलाई केन्द्र बनाएर दाङलाई सिमेन्ट उद्योगको हव बनाउन थालिएको छ । जिल्लाका उद्योगीहरु समेत दाङ जिल्लालाई सिमेन्टको उद्योगको हव बनाउने केहि उद्योग मन्त्रालयमा समेत सिफारिस गरिएको खुल्न आएको छ ।

दाङ सिमेन्ट इन्डस्ट्रिजले पुरन्धाराको हापुरेमा, सोनापुर सिमेन्ट उद्योग प्रालिले दुधरासमा, घोराही सिमेन्ट उद्योग प्रालिले लक्ष्मीपुरको गोग्लीमा, सम्राट सिमेन्ट कम्पनी प्रालिले देउखुरीको सतवरियामा र रोल्पा सिमेन्ट प्रालिले दाङलाई केन्द्र मानेर रोल्पाको बुढागाउँ काउलेचौरबाट सिमेन्ट उत्पादन गरिरहेका छन् । यसरी जथाभावी रुपमा सिमेन्ट उद्योगहरु सञ्चालनमा आउँदा यसले डरलाग्दो खतरा निम्त्याइरहेको सिमेन्ट उद्योग क्षेत्र प्रभावितहरुले गुनासो गर्दै आएका छन् । दाङको उत्तर क्षेत्रमा रहेको महाभारत पर्वतहरुबाट जथाभावी रुपमा चुनढुङगा निकाल्दा पानीका मुहानहरु सुक्ने र दाङ मरुभूमि हुने सम्भावना बढेको छ । चुनढुङ्गा खानी खानेपानीको स्रोत भएकाले जिल्लामा पानीको सा्रेत बचाउन चुनढुंगा बचाउनुपर्ने सरोकारवालाहरुले माग राख्दै आएका छन् ।

त्यसो त जिल्लामा रहेका पानीका मुहानहरुको संरक्षणका लागि खास पहल भएको पाइदैन । सरकारी योजनामा पनि अहिले पानीका मुहान तथा स्रोतको संरक्षणका लागि कुनै कार्यक्रमहरु छैनन् । तर, पानीको आपुर्तिका लागि बैकल्पीक योजनाहरु भने जिल्लामा सञ्चालनमा छन् । त्यस्तै जिल्लामा सिंचाई तथा खानेपानीका लागि उच्च जलाशयको अवधारणा समेत अगाडि सारिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले बताउँछन् । तुलसीपुरको पातुखोला, ग्वार खोला र घोराही नजिकैको कटुवा खोलामा उच्च जलाशय निर्माण गरी पानीको संकलन तथा सिंचाईका लागि त्यसलाई प्रयोग गर्ने गरी कार्यक्रमहरु अगाडि बढेका छन् ।

Abroad Study
«
Next
»
Previous