मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नवीन अभिलाषी,
दाङ, माघ १ । आज माघे संक्रान्ति पर्व । परम्परागत रुपमा मनाइने यो पर्व दाङलगायत देशभर घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइदैछ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।

आजको दिन पारिवारिक सदस्य, आफन्त तथा साथीभाइसँगै बसेर गयराति नै पकाइएको तरुल, चाकु, लड्डु तथा घिउलगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने चलन छ । प्रत्येक वर्ष माघे संक्रान्तिको अवसर पारेर परिवारमा सम्पूर्ण सदस्य एकै ठाउँमा भेला भई घिउ, चाकु, तिलको लड्डु, तरुल, सखरखण्डलगायतका परिकार बनाएर एकापसमा रमाइलो गर्दै खाने प्रचलन छ ।

माघे संक्रान्तिको अवसरमा दाङलगायत देशमा विभिन्न पवित्र तिर्थ स्थलहरुमा मेला पनि लाग्ने गर्दछन् । दाङको बाह्रकुने दह, रिहारलगायतका क्षेत्रमा ठूलो मेला लाग्दै आएका छन् । यसवर्ष पनि घोराही नगरपालिका–७ मा रहेको बाह्रकुने दह र सतवरिया गाविस–८ रिहारमा रहेको बगारबाबा धार्मिक स्थलमा मेलाको आयोजना गरिएको छ । दाङको साथै छिमेकी जिल्ला तथा भारतबाट समेत मेला भर्नका लागि आउने गरेको पाइएको छ ।

आजै थारु समुदायको माघी पर्व पनि सुरु भएको छ । पश्चिम नेपालको तराई तथा पहाडी क्षेत्रमा विशेष रुपमा यो पर्व मनाउने गर्छन् । प्रत्येक वर्षको माघ १ गते मनाइने यो पर्वमा गएका वर्षभरिमा गरिएका कामको समीक्षा गरिनुका साथै आगामी वर्षभरि गरिने कामको विषयमा छलफल र बाँडफाँड गर्ने गरिन्छ । यो पर्वमा विशेष गरी थारु समुदायले आज बिहानै उठी नुहाइधुवाइ गरी मान्यजनलाई ढोग गरी आशीर्वाद लिने चलन रहेको छ ।

आजको दिन विभिन्न किसिमका परिकार बनाई आफ्ना दिदीबहिनीलाई निश्राउ अर्थात् कोसेली दिने चलन रहेको छ । कोसेलीमा चामल, नुन, दाल, ढिक्री, अनदीको भात, माछा, मासु, लत्ताकपडालगायतका सामान रहेको हुन्छ । विवाह भएर गएका दिदीबहिनीलाई घरमा बोलाउने घरमा आउन नसकेको अवस्थामा बहिनीकै घरमा गएर सो कोसेली सँगसँगै आफूले सक्ने जति दक्षिणा दिने गरिन्छ । साथै यो पर्वको अवसरमा गाउँमा नयाँ अगुवा अर्थात् वडघर चुन्ने समेत गरिन्छ ।

माघी पर्वसँगै थारु जातिमा अधिया, बटैया लगाउने चौकीदार गरुवा चुन्ने पनि गरिन्छ । केही समय पहिले मालिकको घरमा काम गर्दा जिल्ला बाहिर र जिल्लामै साहु महाजनको घरमा आफ्ना छोरीलाई कमलरीका रुपमा पठाउने चलन रहेको थियो । तर, अहिले त्यो चलन हटिसकेको छ । गाउँघरमा कामको बाडँफाँड र अगुवा चुन्ने काम हुँदै आएको छ ।

त्यस्तै माघी पर्वमा नाचगान गरी रमाइलो गर्ने पनि चलन रहेको छ । थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एव खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् ।

Abroad Study
«
Next
»
Previous