मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

ओमप्रकाश गुप्ता
सिसहनिया चैत २४ । राप्ती गाउँपालिका–७ छोट्की सिसहनियाका रामपती चौधरी आफ्नै घर आँगनमै रहेको बाटो कालोपत्रे हुने भएपछि खुसी हुनुभएको छ । ‘घर आँगनबाटै गाडी चढ्न पाइएला भनेर सोचेको थिइन, तर अब छिटै नै गाउँबाटै गाडी चढ्न पाइने भयो’ चौधरीले भन्नुभयो, ‘बाटो बन्ला भनेर सोचेको थिएन । तर, अब हामी जस्ता किसानहरुलाई अझ सजिलो हुने भएको छ ।’

उहाँले थप्नुभयो, ‘हामीले उत्पादन गरेको तरकारी टाउकोमा राखी हिडेर सिसहनिया बजार पुग्नुपथ्र्याे । तर, त्यो समस्याको पनि अन्त्य हुने भएको छ ।’ चौधरी जस्तै सोही ठाउँकै सुनिता चौधरी पनि घरआँगनबाटै बाटो मर्मत तथा कालोपत्रे हुने भएपछि खुसी हुनुभएको छ । बाटो कालोपत्रे भए अब सिधै गाडीबाटै गोवरडिहा तथा सिसहनिया बजार जान सजिलो हुने भएको चौधरीले बताउनुभयो । देउखुरीको सिसहनिया बजारदेखि गोवरडिहा जोड्ने सहिद मार्ग मर्मत तथा फराकिलो गर्ने काम सुरु भएको छ ।

निर्वाचन क्षेत्र विकास पुर्वाधार विषेश कार्यक्रमअन्तर्गत सांसद गंगा थारुको सांसद विकास कोषको २० लाखको लागतमा पहिलो चरणमा बाटोको दायाँबाँया गरी १२ देखि १५ मिटर चौडाईसहितको बाटोलाई फराकिलो बनाउने, फिलिङ गर्ने र ग्रावेल गर्ने काम तीब्र गतीले अगाडि बढाइएकोे बाटो निर्माण अनुगमन समितिका संयोजक नन्दकुमार चौधरीले बताउनुभयो । बाटो फराकिलो गर्ने क्रममा राप्ती नदीसम्मको बाटोे छेउछाउमा रहेका भौतिक संरचना तथा रुखहरु सरकारी प्रकृया तथा नक्सा  बमोजिम हटाइने र दायाँ बायाँ नाला खन्ने रेखाङ्कन गर्ने काम समेत भएको चौधरीले बताउनुभयो ।

बाटो फराकिलो बनाउन आम स्थानीय जनताको सहयोग मिलेको छ । तर, कही कही केहि व्यक्तिहरुको घर बाटोमा परेकाले थोरै समस्या देखिएको छ । तर, त्यसको समाधानका लागि समेत पहल भइरहेको चौधरीले बताउनुभयो । यो बाटो निकट भविष्यमै भारतको पचपेडवासम्म पु¥याउने लक्ष्य रहेको संयोजकले बताउनुभयो । बाटो ग्रावेल भए लगत्तै कालोपत्रेको काम समेत अगाडि बढाइने बताइएको छ । जिल्ला समन्वय समितिको आर्थिक वर्ष २०७३/०७४ को ६ लाख ४० हजारको बजेटबाट कालोपत्रेको काम सुरु हुने बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेशकुमार चौधरीले बताउनुभयो ।

कालोपत्रेका लागि ओभरसियरबाट अनुगमन तथा नक्साङ्कनको काम भइसकेको बताइएको छ । टेण्डर प्रक्रिया सुरु हुनासाथ कालोपत्रेको काम अगाडि बढ्ने समेत बताइएको छ । बाटो कालोपत्रे भए सो रुटमा नियमित गाडी सञ्चालनमा समेत आउने बताइएको छ । बाटो मर्मतको काम सुरु भएपछि यतिबेला छोट्की सिसहनियाँ, बड्का सिसहनिया, अर्नहनपुर र सिसहनियाँ बजारवासीहरु समेत खुसी भएका छन् । उता सोही बाटोअन्तर्गत राप्ती नदीमा बन्न थालेको पक्की पुल निर्माणको काम तीब्र गतिले अगाडि बढाइएको छ । ४ करोड ८१ लाखको लागतमा ८ सय मिटर लामो तथा ९.५ मिटर चौडाई रहेको उक्त पुलको ठेक्का पाएको अनक कम्पनीले जनाएको छ । सो पुल नेपालकै दोस्रो लामो पक्की पुल हुने समेत बताइएको छ ।

पुल निर्माणको पहिलो चरणमा पिलर बनाउने, ग्याविन बिछ्याउने सामग्री, प्राविधिक सामग्री, स्काइभेटरलगायत मजदुरहरुको टोलीले काम गरिरहेको छ । पुल निर्माण र बाटो मर्मत तथा कालोपत्रे हुने भएपछि सिसहनिया र गोवरडिहावासी हर्षित समेत भएका छन् । गोवरडिहाको मध्य भागको राप्ती नदीमा पक्की पुल नहुँदा वर्षातमा जोखिमपूर्ण नदी तर्नुपर्ने तथा कालाकाटे हुँदै भालुवाङ र गढवा हुँदै लमही भएर आउने जाने बाध्यता रहेको थियो । जोखिमपूर्ण यात्राकै कारण राप्ती नदीमा बगेर दर्जनौंले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता समेत रहेको गोवरडिहाबासी बताउँछन् । पुल निर्माण भए पछि गोवरडिहा गाविसका अधिकांश गाउँबस्ती र सिसहनिया गाविसका हजारौँ स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post