दाङ, चैत २५ । रोजगारी लागि विदेशिएका युवाहरू विदेशबाटै आफ्नो जन्मथलोको विकास अभियानमा जुट्न थालेका छन् । घोराही उपमहानगर पालिका वडा नम्वर १८ गिठेपानी, फुर्सेखालीवाट रोजगारका लागि गएका युवाले यस्तो अभियान थालेका हुन् ।
रोजगारीका क्रममा युके आर्मीमा रहेका दिपक घर्तीले आप्mनो गाउँमा केही गर्नुपर्छ भनेर अभियान सुरु गरेका छन् । उनले सामाजिक सञ्जालमा गिठेपानी, फुर्सेखालीबाट रोजगारका लागि विदेसिएका युवाहरू र गाउँमै रहेका केही युवालाई समेटेर गु्रप बनाएर कुराकानी सुरु गरेका थिए । विस्तारै गिठेपानी, फुर्सेखालीबाट रोजगारीका लागि विदेश गएका युवाहरू क्रमिकरूपमा उक्त गु्रपमा सहभागी बन्दै गएका थिए ।
गु्रप कुराकानीमा गाउँको विकासका बारेमा छलफलसमेत गर्न थालेका उनीहरूले रकमसमेत संकलन सुरु गरेका थिए । घर्तीले भने– हाम्रो गाउँको विकास हाम्रो पनि दायित्व हो । त्यसैले यस अभियान सुरु गरिएको हो । रोजगारीका लागि विदेश बसेपनि आफ्नो जन्म स्थानको माया मान नसक्ने पनि उनले बताए । उनले भने, ‘विदेशको विकास देखेर केही गर्नुपर्छ भन्ने भावनाको विकास भएको हो ।’ यसरी भावनाको विकास भएपछि आफूले सामाजिक सञ्जालमार्फत गाउँमा रहेका युवासँग छलफल चलाएको बताए । गाउँको आवश्यकताअनुसार विकासको काम अघि बढाउने उनले बताए । उनका अनुसार विदेशमा रहेर अभियानलाई अघि बढाउन धनबहादुर बुढा, निस्पत घर्ती, जीवन बुढा, विष्णु क्षत्री, विकास पुन, अमर नेपाली, वसन्त पुन, इखमान पुन, श्रीधन बुढाले सहयोग गरेका छन् भने गाउँका युवाले समेत सहयोग गरेका छन् ।
अभियानमा हालसम्म ४१ जनाले सहयोग गरी सकेको अभियानका अगुवा गिररोदन एमसीले बताए । एमसीका अनुसार हालसम्म करिब ४ लाख रुपैयाँ संकलन भएको छ । कतिपयले रकमसमेत पठाइसकेका छन् । भने कतिपयले पठाउने प्रतिबद्धता जनाएका छन् । एमसीले भने, ‘सबैले रकम पठाउन खोज्नुभएको छ तर हामीले यहाँ केही काम सुरु गरेपछि पठाउनुहोला भनेर रोकेका छांै ।’ उनका अनुसार पहिलो काम गाउँमा रहेका सबै बिजुलीको खम्बामा सौर्यबत्ती जडान गर्ने योजना रहेको छ । त्यसका लागि स्थानीय टोल विकास संस्थासँग छलफल गरेर अघि बढ्ने बताए । त्यसपछि खानेपानीको व्यवस्थापन, एम्बुलेन्स सञ्चालन, पुस्तकालय स्थापना, बास्केटबल, व्याडमिन्टन, फुटबल मैदान निर्माण, गरिब विद्यार्थीलाई निशुल्क शिक्षा, हेरक वर्ष एसइईका विद्यार्थीलाई २ महिनासम्म निशुल्क ट्युसन, गाउँमा निशुल्क वाइफाई, सरसफाइ सामग्री सहयोग, प्रतिक्षालय निर्माणलगायत रहेका छन् । यस प्रकारको अभियानले गाउँको विकासमा महत्वपूर्ण सहयोग पुग्ने अभियानका अर्का अगुवा ऋषि खत्रीले बताए ।
त्यस्तै विदेश र स्वदेशमा रहेका युवाबीच एकताबद्ध हुने वातावरण बनाउनका लागि फाउन्डेसन दर्ता गर्ने सोचमा रहेको समेत उनले जानकारी दिए ।